काठमाडौं, साउन ७ (नागरिक)- इराकमा कार्यरत सबै नेपाली कामदार १८ दिनभित्र निकालिने भएका छन्। अमेरिकी केन्द्रीय कमान्डले सबै कम्पनीलाई मंगलबार पत्र पठाई नेपाली र फिलिपिनीलाई २० दिनभित्र कामबाट हटाउन आदेश दिएको छ।
यो आदेशबाट इराकका रहेका हजारौं नेपाली कामदार प्रभावित हुने छन्। सरकारले इराक जान प्रतिबन्ध लगाए पनि त्यहाँका विभिन्न कम्पनीका ३० हजार नेपाली रोजगारीमा रहेको अनुमान छ।
अमेरिकी कमान्डले भदौ २ भित्र आफ्ना कामदार अमेरिका, अन्तर्राष्ट्रिय, स्थानीय र सम्बन्धित देशको कानुनअनुसार छ वा छैन भन्ने सुनिश्चित गर्न आदेश दिएको छ।
कानुनअनुरुप नभएका कामदारलाई काम लगाउने कम्पनीलाई तत्काल कडा कारबाही गर्ने चेतावनीसमेत केन्द्रीय कमान्डले जारी गरेको स्मरणपत्रमा छ।
नेपाली तथा फिलिपिनी सरकारले आफ्नो नागरिकलाई इराक भ्रमणमा प्रतिबन्ध लगाएकाले त्यस्ता व्यक्तिको उपस्थिति सम्बन्धित र आतिथ्य दुवै देशको कानुन उल्लंघन हुने पत्रमा उल्लेख छ।
२०६१ भदौ १६ मा काठमाडौंको हिंसात्मक घटनापछि सरकारले नेपालीलाई इराक जान प्रतिबन्ध लगाएको छ। वैदेशिक रोगजारीको सिलसिलामा इराक पुगेका १२ नेपालीको सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्नाले अपहरणपछि हत्या गरेको विरोधमा राजधानीलगायत देशका विभिन्न स्थानमा वैदेशिक रोगजार व्यवसायी संस्था, सञ्चार माध्यम एवं मस्जिदको तोडफोड भएको थियो।
कमान्डको निर्देशनमा तीन साताको अनुसन्धानले इराकमा काम गर्न प्रतिबन्ध लगाएका आठवटा तेस्रो मुलुकका कामदार एउटा कम्पनी छाडेर अर्कोमा गएको जनाएको छ।
स्मरणपत्रमा २० दिनपछि प्रत्येक कम्पनीको अनुगमन हुने र उल्लंघन गर्ने कम्पनीलाई कडा दण्ड गर्ने चेतावनी दिइएको छ। नियम उल्लंघन गर्ने बाह्य कम्पनीका हकमा भने भुक्तानी रोक्ने र कालो सूचीमा राखिने जनाइएको छ।
फर्कन चाहनेलाई प्रहरी कार्यालय र अध्यागमन कार्यालयमा बहिर्गमन भिसा उपलब्ध हुने इराकस्थित अमेरिकी दूतावासले जनाएको छ।
Friday, July 23, 2010
इराकका ३० हजार नेपाली निकालिने
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment