मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Tuesday, July 27, 2010

टुट्दै छ जनताको धैर्य

दलका सत्ताकेन्द्री क्रियाकलापले जनताको धैर्य टुट्दै छ । जनता अधैर्य भए भने यिनका लागि पनि शुभ हुनेछैन ।

देश अनेकौँ समस्याको भुमरीमा नराम्ररी फसिरहेको छ । जनता ती समस्यासँग जुध्न नसक्ने अवस्थामा पुगिसकेका छन् । महँगी डरलाग्दो रूपमा दिन दुगुना रात चौगुनाका दरले बढिरहेको छ । आमजनताको क्रयशक्ति घट्दो छ । शान्ति सुरक्षाको अवस्था खस्कँदो छ । दिनदहाडै राजधानीमै डिएसपी कार्यालयनजिकै व्यवसायी मारिन्छन् । फेरि अर्का एकजना सञ्चार उद्यमी देवीप्रसाद धितालको हत्या भयो । यस्ता घटनाको सेरोफेरोमा जनता ढुक्कले निदाउन सक्ने अवस्था छैन । यस्ता अनेकौँ मानव सिर्जित समस्याका साथमा प्राकृतिक प्रकोप पनि एकैसाथ ओइरिएको छ । देशको तराई क्षेत्रका अधिकांश बस्ती चुर्लुम्मै डुबेका छन् । कैयौँले अकालमा ज्यान गुमाएका छन् भने कैयौँ घाइते छन् । साथै, हजारौँ परिवार बाढीबाट विस्थापित भएका छन् । तर, तिनले राज्यबाट यथोचित माया पाउन सकेका छैनन् । बाढीपीडित बस्तीमा खाद्यान्न, औषधि, लत्ताकपडा, भाँडाकुँडा आदि सहयोगको तीव्र खाँचो छ । तर, पीडितका पीडामाथि सरकारको ध्यान पुग्न सकेको छैन । पीडितहरू कतैबाट राहत पाइने प्रतीक्षामा जसोतसो बाँचिरहेका छन् ।

एकातिर यस्ता अनेकौँ समस्याबाट आमनेपाली सताइएका छन् भने अर्कातिर राष्ट्रसामु अन्य कैयौँ विकराल समस्या पनि ज्युँका त्युँ छन् । झन्डै दुई महिनाअघि नै घोषित भइसक्नुपर्ने नयाँ संविधान निर्माणको गति ठप्प छ । दुई वर्षभित्र जनतालाई नयाँ संविधान दिने वाचा गरेर संविधानसभामा पुगेका दल र नेताहरूले घोषित मितिमा संविधान दिन नसकेकोमा जनतासित माफीसम्म नमागी आफ्नो आयु आफैँ थपेका छन् । थप एक वर्षका लागि थपिएको आयुबाट पनि झन्डै दुई महिना चोइटिइसक्यो । तैपनि, दलहरू संविधानको ँस’सम्म कोर्न आतुर देखिन्नन् । भाषणमा बडा मीठा शब्दमा संविधान निर्माणका कुरा गरे पनि व्यवहारमा भने यिनले संविधान निर्माणको मुद्दा नै बिर्सिसकेका हुन् कि जस्तो भान हुन थालेको छ । देशले झन्डै १० वर्ष लामो गृहयुद्ध झेल्यो । दसौँ हजारको बित्थामा ज्यान गयो । बल्लतल्ल देशमा शान्तिको झिनो आशा पलाएको थियो । तैपनि, माओवादी लडाकु समायोजन र पुनस्र्थापन गरी शान्ति-प्रक्रियालाई पूर्णता दिन दलहरू पटक्कै जागरुक छैनन् । आखिर किन ? के चाहन्छन् हाम्रा जिम्मेवार राजनीतिक दल ?

दलहरू मिले यस्ता समस्या चुड्कीका भरमा हल हुन सक्छन् । संविधान छोटो समयमै बन्न सक्छ । लडाकु समायोजन पनि सजिलै हुन सक्छ । शान्ति-प्रक्रियाले पूर्णता पाउनेछ । दलहरू एक भइदिने हो र यिनले आफ्नो स्वार्थका लागि नसोची राष्ट्र र जनताका लागि सोचिदिने हो भने महँगी, असुरक्षा, बेरोजगारीजस्ता समस्या कुनै समस्यै होइनन् । तर, के गर्नु, यतिखेर दलहरू आँखा चिम्लेर प्रधानमन्त्री कप कुर्सीदौडमा कुदिरहेका छन् । यिनका अघि, पछि, दायाँ, बायाँ चारैतिर प्रधानमन्त्रीको कुर्सीमात्र छ । कुर्सीसामु देश र जनता यिनका लागि केही पनि होइनन् । सहमतीय प्रधानमन्त्री चुन्न नसकेपछि यिनले बहुमतीय प्रणालीबाट पनि दुई-दुईपटकसम्म एउटा प्रधानमन्त्रीसम्म चुन्न सकेनन् । अब १७ साउनको टुंगो पनि नजिक आउँदै छ । यस्तै पाराले त त्यो मिति पनि बित्थामा गुज्रने देखिन्छ । यिनका क्रियाकलापले जनताको धैर्य टुट्दै छ । जनता अधैर्य भए भने यिनका लागि पनि शुभ हुनेछैन । दलहरूले वेलैमा सोचून् । (nayapatrika editorial)

0 comments: