मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, July 18, 2010

हिमालमै पाइनछाड्यो यार्सा

महेन्द्रनगर/ यार्सागुम्बा खोज्न छाडेर द्रौपदी बुढाथोकी घर फर्किसकेकी छिन् । साउन महिनाको पहिलो सातासम्म हिमालमा बस्ने उनका छिमेकी पनि असारमध्यतिरै घर फर्केका छन् । अनि छेउछाउका समथर फाँट र भिरहरू रित्ता भएका छन् ।

यार्सागुम्बा नपाइएपछि बालबच्चासहित हिमाल पुगेका यार्सा संकलक निराश भएर घर फर्केका हुन् । मौसम परिवर्तनका कारण हिमाली बहुमूल्य जडीबुटी यार्सागुम्बामा पनि असर परेको छ । जसका कारण यार्सा संकलन गर्ने समयमा यार्सा नै सकिएको छ । 'यसपालि खत्तम भयो, कीरा (यार्सागुम्बा) मिलेन । पहिले नै सकिए' दार्चुलाको राप्ला गाविस-७ दुम्लिङकी द्रौपदीले भनिन् । १३ वर्षदेखि लगातार यार्सा संकलन गर्दै आएकी ४२ वर्षीया द्रौपदी साउन पहिलो सातासम्म हिमालमा बस्ने गरेकी थिइन् । 'यस्तो त कहिले भएन,' उनले निराश हुदै भनिन् ।

विगत वर्षहरूको तुलनामा यो वर्ष यार्सागुम्बा पाइएको छैन । यार्सा संकलकहरू यार्सा संकलन गर्ने समय नसकिँदै हिमालबाट तल झरिसकेका छन् । विद्यालय बन्द गरेर हिमालतिर लागेका शिक्षक, विद्यार्थी, घरकुरुवा छाडेर परिवारै लगेर यार्सा संकलनमा गएका दार्चुलाको उत्तरी क्षेत्रका बासिन्दा निराश भएर घर फर्केका छन् । 'यो वेला कति मान्छे हुन्थे । अहिले कोही छैन,' दुधिवन क्षेत्रमा यार्सा संकलक समूहका अध्यक्ष दलुसिंह जोहारीले यार्सागुम्बा नपाइएको बताउँदै भने, 'यसपालि किरै (यार्सागुम्बा) पाइएन । खै के भएको हो, कुन्नि पाइनै छाड्यो ।' सबै यार्सा संकलक घर फर्किसकेको दार्चुला जिल्ला वन कार्यालयले जनाएको छ ।

हिमाली बहुमूल्य जडीबुटी यार्सागुम्बा दार्चुलाको उत्तरी क्षेत्रका व्यास, खण्डेश्वरी, घुसा, राप्तालगायतका ६ गाविसमा पाइने गरेको छ । दार्चुला र छिमेकी जिल्लाका बासिन्दासमेत यार्सा संकलन गर्न सो क्षेत्रमा जाने गरेका छन् । प्रत्येक वर्ष वैशाखदेखि साउनसम्म यार्सा संकलन गर्ने गरिन्छ । विशेषगरी वैशाख १५ देखि असार मसान्तसम्म यार्सा संकलन गर्ने उत्तम समय भएको दार्चुलाका निमित्त डिएफओ खगेश्वर ठाकुरले जानकारी दिए । तर, यसपालि यार्सा नपाइँदा संकलकहरू असार दोस्रो साता नै घर फर्किसकेका छन् ।

मौसम परिवर्तनको असर यार्सा उत्पादनमा परेको छ । गत वर्षको तुलनामा यार्साको उत्पादन घटेको छ भने गुणस्तरमा कमी आएको छ । वन कर्मचारी खटाएर यार्सागुम्बा पाइने क्षेत्रमा गरिएको अनुगमनमा गुणस्तरीय यार्सागुम्बा पनि नपाइएको दार्चुला जिल्ला वन कार्यालयले जनाएको छ । 'क्वालिटीको माल छैन,' निमित्त डिएफओ ठाकुरले भने, 'खडेरीको असर परेजस्तो छ ।' जिल्ला वनले खटाएका 'रिपोर्टर'हरूका अनुसार, कतै पनि राम्रो यार्सा नभेटिएको खबर आएकोे निमित्त डिएफओ ठाकुरको भनाइ छ । सबै यार्सा संकलक घर फर्किसकेको जानकारी दिँदै निमित्त डिएफओ ठाकुरले आप\mना रिपोर्टर पनि हिमालबाट फर्किसकेको बताए ।

जिल्ला वन कार्यालय दार्चुलाको तथ्यांकअनुसार, ०६४ मा ५७३ किलोग्राम यार्सा संकलन भएको थियो भने ०६५ मा ७८३ किलोग्राम । त्यस्तै, गत वर्ष ८७३ किलोग्राम यार्सा संकलन भएको थियो । तर, यस वर्ष आधाजति यार्साको उत्पादन घट्ने जिल्ला वन कार्यालयले अनुमान छ । 'बढीमा पाँच सय किलोग्रामको हाराहारीमा पुग्ला,' निमित्त डिएफओ ठाकुरले भने । यौन तथा शक्तिवर्द्धक जडीबुटीका रूपमा प्रयोग हुने यार्सागुम्बाको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलोग्राम ६ लाखभन्दा बढी रहेको छ । जिल्ला वनको स्वीकृतिमा बेचविखन हुने यार्साबाट प्रतिकिलोग्राम १० हजारका दरले गत वर्ष ८७ लाख ३० हजार राजस्व संकलन भएको थियो ।

यार्साको उत्पादनमा कमी आएपछि राजस्व संकलनमा कमी आउनुका साथै स्थानीय बासिन्दाले आर्थिक समस्या झेल्नुपर्ने भएको छ । दार्चुलाको उत्तरी क्षेत्रका बासिन्दा यार्सागुम्बामै निर्भर छन् । उनीहरू जेठ र असार दुई महिना यार्सागुम्बा संकलन गरेर वर्षभरि जोहो चलाउने गरेका छन् । जसले गर्दा यार्सा उत्पादनमा आएको कमीको प्रत्यक्ष असर सो क्षेत्रका बासिन्दामा पर्ने गरेको छ । (nayapatrika)

0 comments: