मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, July 22, 2010

प्रचण्ड अर्थात् कम्युनिस्ट भविष्य : दिल साहनी

कम्युनिस्ट आन्दोलनलाई सही तरिकाले हाँकेका भए पुष्पलालपछि अर्का ठूला कम्युनिस्ट नेता मोहनविक्रम नै हुन्थे l

मैले १९७३ तिर कालिम्पोङमा पारसमणि प्रधानलाई एउटा प्रश्न गरेको थिएँ । त्यो प्रश्न थियो- तपाईंले अहिलेसम्मको जीवनमा प्राप्त गरेको महत्त्वपूर्ण शिक्षा के हो ? उनले आफ्नो सामुन्ने राखेको पुस्तक पल्टाएर त्यसमा लेखेको कुरा मलाई देखाउँदै भनेका थिए - 'हे ईश्वर ! मलाई आफ्ना मान्छेबाट बचाऊ ! परचक्रीबाट बच्ने उपाय त म आफैँ गरिहाल्छु ।'

म यो कुराको स्मरण नेपालको कम्युनिस्ट नेताहरूको सन्दर्भमा गरिरहेको छु । मैले नेपाली कम्युनिस्ट आन्दोलनमा धेरै नेतालाई भेट्ने मौका पाएँ र तिनीहरूका नजिकसम्म पुगेँ । मैले नजिकबाट चिन्ने, जान्ने धेरै कम्युनिस्ट नेता छन् । तिनीहरूको सूची तयार पार्ने हो भने त्यो निकै लामो हुन्छ । तर पनि मैले धेरै नजिकबाट चिन्न ज्ाान्न पाएका नेताहरू हुन् पुष्पलाल, मोहनविक्रम सिंह, चित्रबहादुर केसी, मदन भण्डारी, जीवराज आश्रति, सीपी मैनाली, राधाकृष्ण मैनाली, वामदेव गौतम, झलनाथ खनाल, प्रदीप नेपाल, ईश्वर पोखरेल, केपी शर्मा ओली, नारायणमान बिजुक्छे, बलराम उपाध्याय, राम श्रीस आदि । मैले मनमोहन अधिकारी, माधव नेपाल, तुलसीलाल, निर्मल लामा, विष्णुबहादुर मानन्धर आदिलाई कम देखेँ, कम चिनेँ । कम्युनिस्ट पार्टीका संस्थापकमध्ये मैले चिनेका अर्का नेता निरन्जन वैद्य पनि एक हुन् । मैले माधव नेपाललाई नजिकबाट भेटेको पञ्चायतकालमा मात्र हो । बहुदलकालमा प्रत्यक्ष भेटेको छैन । मैले मनमोहनलाई जति भेटे पनि म उनको नजरमा परिनँ । मैले पुष्पलाल र मनमोहन अधिकारीमा के भिन्नता पाएँ भने पुष्पलालले कुनै व्यक्तिलाई एकपल्ट भेटेपछि उसलाई आफ्ना आँखामा बन्द गरेर राख्दा रहेछन् । मनमोहनले त्यसरी आफूले भेटेको व्यक्तिलाई खासै महत्त्व दिँदा रहेनछन् । मोहनविक्रमसित मैले धेरै पल्ट भेट्न पाएँ । खासगरी पञ्चायतकालमा उनी बुटबल आउँदा मलाई कुराकानी गर्न बोलाउँथे पनि । तर पछि जब म उनको आलोचक बनेँ, उनले मसित सम्पर्क राख्नै छाडे । दार्जीलिङमा गएको बेलामा केही साथीहरूसहित नेपाली कम्युनिस्ट नेता रतनलाल ब्राह्मण (माइला बाजे)लाई भेट्न उनको पार्टी कार्यालयमा पुगेका थियौँ । त्यहाँ भेट हुन नसके पनि उनी कलकत्ता उड्ने बेलामा अलिकति समय निकालेर हामीहरूसँग साहित्य सेमिनार चलिरहेको गोरखा दुःख निवारक सम्मेलन हलमा पुगी भेट र कुराकानी गरे । मैले माइला बाजेलाई धेरै नभेटे पनि उनमा एक सक्षम कम्युनिस्ट नेतामा हुनुपर्ने गुण पाएँ ।

म जति एमाले नेताहरूलाई चिन्दछु, त्यति माओवादीकालाई चिन्दिनँ । माओवादीका शीर्षस्थ नेता प्रचण्डसित आक्कलझुक्कल भेटबाहेक राम्रोसँग कुराकानी गर्नसमेत पाएको छैन ।

अहिलेसम्मका मैले सबभन्दा बढी भेटेका, जानेका, चिनेका, बुझेका र नजिकिएका नेता पुष्पलाल हुन् भने कम भेटेका, जानेका, चिनेका र बुझेका नेता पुष्पकमल हुन् । मलाई लाग्दछ, नेपाली कम्युनिस्ट आन्दोलनका यी दुवै ठूला हस्ती र सबभन्दा ठूला नेता हुन् ।

नेपालको कम्युनिस्ट आन्दोलनमा ठूला नेता हुने सम्भावना भएका एउटा नेता सीपी मैनाली हुन् । तर उनलाई माले र एमालेहरूले नै घेरा हालेर अहिले वामपुड्के अवस्थामा पुर्‍याएका छन् । झापा आन्दोलनका नायक, प्रसिद्ध नक्खु जेलब्रेकका मस्तिष्क सीपी आफ्ना सहयोद्धाको घेराबन्दीमा परेरमात्र होइन, आफ्नै इगो र गलत विचारले मरिचजस्तै चाउरिन पुगेका छन् । एमालेहरू मदन भण्डारीलाई हाइहाई गर्दछन्, तर मलाई उनको वैचारिक विचलनले पनि उनीहरूले भनेजस्तो नेपाली कम्युनिस्ट आन्दोलनको त्यति ठूला नेता लाग्न सकेनन् । बरु उनको गलत विचारले एमालेलाई 'कांग्रेस' बनायो । कम्युनिस्ट आन्दोलनका अर्का आशालाग्दा नेता मोहनविक्रम हुन् । सायद नेपाली कम्युनिस्टमा सबभन्दा कम्युनिस्ट साहित्य पढ्ने नेता कि पुष्पलाल हुन् कि मोहनविक्रम । पुष्पलालले इमानदारीपूर्वक नेपाली कम्युनिस्ट आन्दोलनमा आफ्नो योगदान पुर्‍याए, तर मोहनविक्रमको जिन्दगीभरको काम नै कम्युनिस्ट आन्दोलन भाँड्ने र त्यसका उदाउँदा नेतालाई बदनाम गर्ने हुन पुग्यो । कम्युनिस्ट आन्दोलनलाई सही तरिकाले हाँकेका भए पुष्पलालपछि अर्का ठूला कम्युनिस्ट नेता मोहनविक्रम नै हुन्थे । मोहनविक्रमले सुरुका केही वर्ष पुष्पलाललाई कांग्रेसको पुच्छर भनेर बिताए, गद्दार पुष्पलाल लेखेर बिताए । पुष्पलालकै पालामा झापा आन्दोलन उठ्यो । मोहनविक्रमको बल, बुद्धि र कलम झापा आन्दोलनको जमेर विरोध गर्दैमा बित्यो । उनले झापा आन्दोलनलाई वामपन्थी उग्रवाद भन्दै विरोध गरे । झापा आन्दोलनपछि नेपालको कम्युनिस्ट आन्दोलनमा सबभन्दा ठूलो आन्दोलन वा क्रान्ति दसवषर्ीय जनयुद्धलाई मान्न सकिन्छ । जनयुद्ध सुरु भएयता मोहनविक्रमले माओवादीलाई उग्रवादी वा सामाजिक फासीवादी भन्दै तिनको भण्डाफोरमा नै धेरै वर्ष बिताए, धेरै ऊर्जा खर्च गरे । मोहनविक्रमले हिजो कांंग्रेस र कम्युनिस्टलाई बलियो बनाउने ठाउँमा राजा र पञ्चायतलाई बलियो बनाए । आज माओवादीलाई बलियो बनाउने ठाउँमा यथास्थितिवादी र प्रतिगामीलाई बलियो बनाउँदै छन् । मोहनविक्रमले पुष्पलाल, झापा आन्दोलन र माओवादी जनयुद्धको विरोध गर्नाको सट्टा आफैँले सही तरिकाले नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व गरेका भए उनलाई नेपालको महान् कम्युनिस्ट नेताका रूपमा स्वीकार गर्न कसैलाई पनि आपत्ति हुने थिएन । तर, उनको काम नै बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरूलाई पनि बनाउन दिँदैन जस्तो भएको छ । यो दुःखद् विषय हो ।

नेपाली कम्युनिस्ट आन्दोलनले दर्जनौँ नेता जन्माएको छ । तर, ती नेताहरूमा हिजो एउटा सुयोग्य कम्युनिस्ट नेताका रूपमा पुष्पलाल निस्के भने आज प्रचण्ड निस्केका छन् । यतिबेलाको नेपालमा प्रचण्डको दाँजोको कुनै पनि कम्युनिस्ट नेता छैनन् । यदि उनको दाँजोको कुनै अर्को कम्युनिस्ट नेता छन् भने त्यस्तो नेता माओवादीमै छन् । प्रचण्डको टक्करमा यतिबेला नेपालमा कुनै बुर्जुवा नेतासमेत छैनन् । जसरी नेल्सन मन्डेला त्यसै नेल्सन मन्डेला भएका होइनन्, त्यसरी नै प्रचण्डलाई प्रचण्ड उनको तीन दशक लामो भूमिगत जीवनले बनाएको हो । उनलाई प्रचण्ड दसवषर्ीय जनयुद्ध र उन्नाइसदिने जनआन्दोलनले बनाएको हो । उनलाई प्रचण्ड एमाओवादी पार्टी र जनताका न्यानो माया र व्यापक जनसमर्थनले बनाएको हो । प्रचण्डमा एउटा सुयोग्य नेतामा हुने क्षमता थियो, तर त्यो क्षमता एक्लै केही हुँदैनथ्यो । तर, यो हामी नेपालीको दुर्भाग्य हो- प्रचण्डको क्षमता र योग्यतालाई संसद्वादी दलहरू, विशेषगरी कांग्रेस र एमालेहरू तहसनहस गर्न दाम्लो छिनालेर लागेका छन् । देशीविदेशी शक्तिहरू प्रचण्डलाई घेराबन्दीमा पार्न कम्मर कसेर लागेका छन् । प्रचण्डलाई घेराबन्दीमा पारेर समाप्त गर्न खोज्ने कुराको पछाडि सिंगो माओवादी पार्टीलाई तहसनहस पार्ने कुआकांक्षाले काम गरिरहेको छ । उनीहरू त्यसका लागि माओवादीको नेतृत्व पंक्तिमा नै फुट ल्याउने कसरत पनि गरिरहेका छन् । उनीहरूको लक्ष्य बाहिर र भित्र दुवै ठाउँबाट प्रचण्डमाथि प्रहार केन्दि्रत गर्नु रहेको छ । प्रचण्ड वा माओवादीलाई कमजोर पार्नु भनेको मुलुकको स्वाधीनता, लोकतान्त्रिक गणतन्त्र र राज्यको अग्रगामी पुनरसंरचनालाई कमजोर पार्न खोज्नु र मुलुकमा शान्ति स्थापना हुन नदिनु हो । संविधान लेख्न नदिनु र देशलाई गृहयुद्धतिर धकेल्न खोज्नु हो ।

अहिले यथास्थितिवादी र प्रतिगामीबीच कुनै पनि हालतमा माओवादीका कुनै पनि नेताको नेतृत्वमा सरकार बन्न नदिने अघोषित सल्लाह भएको छ । कांग्रेस वा अन्य यथास्थितिवादी वा प्रतिगामी शक्तिको यस्तो चाहना रहनु पनि स्वाभाविक नै हो । सबभन्दा अस्वाभाविक र अचम्मलाग्दो कुरो त के छ भने आफूलाई एक नम्बरको कम्युनिस्ट ठान्नेहरू पनि माओवादीका विरुद्धमा खनिएका छन्, प्रचण्डलाई घेराबन्दीमा पार्न कम्मर कसेर लागेका छन् ।

म यो भन्दिनँ कि प्रचण्ड दूधले नुहाएका दोषरहित व्यक्ति हुन्, उनमा कुनै पनि प्रकारको कमीकमजोरी छैन, उनले कुनै पनि गल्ती गरेका छैनन् । तर, पनि म के आत्मविश्वासका साथमा भन्दछु भने प्रचण्ड यतिबेला नेपालका एकमात्र सबभन्दा सुयोग्य र सक्षम नेता हुन् । अहिलेको अवस्थामा उनको विकल्प माओवादीले मात्र दिन सक्दछ । मुलुकलाई यतिबेला प्रचण्डको नेतृत्व आवश्यक छ ।

dilsahani@gmail.com

0 comments: