आइतबार दिउँसो बागबजारस्थित मिडिया मिसनमा नयाँ पार्टी घोषणा गर्ने कार्यक्रम थियो । मोहनविक्रम सिंह र चित्रबहादुर केसीले नेतृत्व गरेको नेकपा (मसाल) एवं राष्ट्रिय जनमोर्चालाई फुटाएर कलाधर देवकोटा अध्यक्ष र डिलाराम आचार्य महासचिव रहेको अर्क राष्ट्रिय जनमोर्चा गठन भएको घोषणा गरियो । देवकोटाद्वारा जारी वक्तव्यमा यस्तो भनियो, ‘अबका दिनमा राष्ट्रिय जनमोर्चाले गरेका जिम्मेवारी राष्ट्रिय जनमोर्चा नेपालले बहन गर्ने कुरा सहर्ष जानकारी गराउन चाहन्छौँ ।’ त्यसैगरी मसालका तर्फबाट डिलाराम आचार्य उर्फ सुरेन्द्रका नाममा जारी अर्को वक्तव्यमा पनि भनियो, ‘अबका दिनमा नेकपा-मसाल)ले गरेका जिम्मेवारी पुनर्गठित (मसाल)ले बहन गर्ने सार्वजनिक जानकारी गराउन चाहन्छौँ ।’
पत्रकार सम्मेलनमा नयाँ मसालका महामन्त्री डिलाराम आचार्यले चर्को भाषण गर्दै आफ्ना निवर्तमान नेता मोहनविक्रम सिंहलाई गाली मात्रै गरेनन्, आफैले तीसवर्षसम्म काम गरेको पार्टीको एउटै पनि सकारात्मक भूमिकाको कुरा नगरी जनविरोधी एवं प्रतिक्रियावादीसम्म भने । उनी बोलिरहँदा यस्तो लाग्थ्यो कि डिलाराम आचार्य यसअघि मसालमा थिएनन्, जसका कारण मसालले विगतमा गरेका कुनै पनि गलत कार्यको उनी र उनको समूहले जिम्मेवारी लिनु नपरोस् । विगतमा मसालले जति गल्ती गर्यो त्यसको सबै दोष डिलारामले मोहनविक्रम सिंहलाई लगाए । डिलाराम र कलाधर देवकोटाहरू भनिरहेका थिए, मसालभित्र वैचारिक संघर्ष एवं अन्तरपार्टी संघर्ष गर्नेहरूलाई सहिष्णु व्यवहार गरिएन । यतिका वर्षसम्म मोहनविक्रम सिंहको दायाँ हात भएर बसेका आचार्य, न्यौपाने र देवकोटाहरूले अन्तरपार्टी संघर्ष गर्नेहरूलाई कस्तो व्यवहार गर्ने गरेका थिए ? यसमा उनीहरू पनि मोहनविक्रमभन्दा फरक भने थिएनन् । मसालभित्र विवाद भइरहेका वेला नितान्त पारिवारिक भेटका लागि दसैँमा खसी लिएर तराई झरेका दीनानाथ शर्मा एवं उनकी छोरीलाई कुटुँलाजस्तो गर्ने कलाधर देवकोटाहरूले नै यतिवेला मसालको इतिहासलाई गाली गर्नु र आफूलाई चोखो देखाउन खोज्नु आकाशतिर र्फकेर थुक्नुजस्तो मात्रै हो । हाम्रो वामपन्थी आन्दोलनमा आफू त्यहाँ रहुन्जेल ठीक र छाडेपछि गलत भनेर खोइरो खन्ने चलन निकै पुरानो हो र यो मनोरोगको पछिल्लो सिकार यतिवेला डिलाराम, कलाधर र गिरिधारीलाल न्यौपानेहरू भएका छन् भन्ने कुरा आइतबारको उनीहरूको प्रस्तुतिले देखाएको छ ।
आइतबार मसाल फुटाउने कार्यक्रमको रमिता हेर्न उपस्थित हुँदा यो पंक्तिकारलाई आफ्नै पुराना दिनको याद आयो । ०५७ सालतिर यो पंक्तिकार नेकपा -मसाल) को मोरङ सेक्रेटरी एवं अखिल छैटौँको केन्द्रीय सदस्य थियो । जतिखेर यो पार्टी र विशेषगरी मोहनविक्रम सिंहले जनवादी क्रान्ति सम्पन्न गर्दैनन् भन्ने लाग्यो, त्यसपछि हामीले मसाल छाडेको घोषणा गर्यौँ । त्यसरी मसाल छाड्नेहरूमध्ये निर्मल र चेतनले हाल धनकुटामा माओवादी नेताको परिचय बनाएका छन् । हामीले मसाल छाडेको केही समयपछि दीनानाथ शर्माले पनि विद्रोहको घोषणा गरी धनकुटा आएर तुलसी ओझा र हेमराज भण्डारीलाई कन्भिन्स गरे । मोरत्त्मा हेमराज र दीनानाथसित कुरा भएपछि हामीले पनि दीनानाथ शर्मालाई साथ दियौँ । तर, यो पंक्तिकारको तर्क के थियो भने आफूहरूलाई पनि मसाल, राजमो वा अखिल छैटौँ भन्दै दाबी गरेर नहिडौँ, बरु नयाँ ढंगबाट, नयाँ शिराबाट अघि बढौँ । तर, दीनानाथको विचार थियो- मसाल र त्यसका सबै जनवर्गीय पुनर्गठन गर्ने र समानान्तर कमिटीहरू बनाउँदै जाने । अन्नतः अखिल छैटौँको समेत बुटवलमा भेला गरेर समानान्तर कमिटी बनाइयो र कृष्ण अधिकारीलाई कारबाहीको घोषणा गर्दै यो पंक्तिकारलाई केन्द्रीय अध्यक्षको घोषणा गरी छाडियो । तर, यो सबै योजना दीनानाथ शर्माले माओवादीमा प्रवेश गर्नका लागि भित्री गठबन्धनबमोजिम नै बनाएका रहेछन् । अन्ततः यो पंक्तिकारले शर्माको योजनाको फड्के किनारामा हस्ताक्षर गरेन र नेपाली कम्युनिस्ट आन्दोलनभित्रको यो घिनौनी खेलबाट आफूलाई पन्छाउनु उचित ठान्यो । त्यसवेला ‘ल है साथी हो, मसाल छाडियो’ भनी बिदा माग्दा नवलपरासीको विद्यार्थी बैठकमा मोहनविक्रम भगवान्जस्तै असल हुन् भनेर पंक्तिकारसित तर्क गर्ने रामसिंह श्रीसले पनि यतिवेला मसाल छाडिसकेका छन् । त्यस्तै, मसाल छाडेको भनेपछि धरानमा कुकुरलाई जस्तै दुव्र्यवहार गर्ने हिमलाल पुरी पनि यतिवेला रामसिंह श्रीसलाई समेत छाडेर अर्कै चुलो बनाई बसेका छन् । यतिवेला मोहनविक्रमलाई आलोचना गरेर नथाक्ने केबी फुदोङ, घनश्याम राई र केशव नेपालहरू हामीजस्ता त्यसवेलाका मोहनविक्रम सिंहका आलोचकलाई कस्तो व्यवहार गर्थे भन्ने कुरा अहिले स्मरण गर्दा अनौठो लाग्छ । यतिवेला मोहनविक्रमलाई संकीर्ण, अन्तरसंर्घषलाई नपचाउने अनि पार्टी फुटाउने भनेर जसरी नयाँ जोगीहरूले आरोप लगाइरहेका छन्, पार्टीभित्र रहँदा यिनीहरू पनि कम संकीर्ण र एकांकी थिएनन् । वास्तवमा यिनीहरूले नै मोहनविक्रमलाई घेरेर राखेका थिए । गिरिधारीलाल, डिलाराम, रामसिंह र हिमलाल पुरी सबैजना सिंहका निकटस्थ हुन् ।
पार्टी फुटेपछि मोहनविक्रमलाई संकीर्ण भन्नेहरूले किन कुशलतापूर्वक पार्टी चलाएर देखाएनन् ? दीनानाथले किन माओवादीमा लगेर आफ्ना सेनामेना मिसाए ? रामसिंहको पार्टी किन दुई/चार वर्ष नचल्दै फुट्यो ? हिमलालहरू किन यतिवेला रामसिंहलाई मोहनविक्रमजस्तै संकीर्ण भनिरहेका छन् ? अनि रामसिंहले किन नवराज सुवेदीजस्तो ऊर्जावान् नेतालाई आफूसित राख्न सकेनन् ? आखिर मोहनविक्रम भन्दा के फरक भए रामसिंह ? डिलाराम या अरू कुनै रामहरूले ३० वर्षको आफ्नो राजनीतिक जीवनमा गुटबन्दी, संकीर्णता र पदलोलुपताबाहेक अर्थोक के गरे ?
इतिहासमा व्यक्तिहरूको मूल्यांकन द्वन्द्ववादी ढंगबाट गरिनुपर्छ । नेपालका पुराना वामपन्थी नेता मोहनविक्रम सिंहको मूल्यांकन गर्दा हिजो उनलाई भगवान्जस्तै हुन् भन्ठान्नेहरू अहिले किन प्रतिक्रियावादीसम्म भनिरहेका छन् ? गिरिजालाई चाँहि महान् राजनेता भन्नु अनि मोहनविक्रमलाई गद्दार भन्नु कत्तिको उपयुक्त होला ? यसबारे सबैले ठण्डा दिमागले सोच्नैपर्ने हुन्छ ।
सिंहका केही कमजोरी नै छैनन् भन्ने होइन । जतिवेला रामसिंह र डिलारामहरू मोहनविक्रमको भजन गाइरहेका थिए, त्यसवेला हामीले उनको विचार र उनको व्यवहारको कडा आलोचना गरेका थियौँ । तर, आजभन्दा १० वर्षअघिको परिस्थिति र अहिलेको परिस्थितिमा ठूलो फेरबदल आइसकेको छ । सिंहको उमेर ७५ कटिसकेको छ, डायबिटिजको बिरामीसमेत रहेका सिंह आफैँ राजनीतिबाट अवकाश लिएर अनुसन्धान एवं लेखनमा लाग्न इच्छुक छन् । उनलाई डिलाराम र गिरिधारीलालहरूले सेरेमोनियल नेताका रूपमा राखेर पार्टीको कमान्ड आफैँ सम्हाल्न सक्ने अवस्था पूरै थियो । तर, यसो गरिएन र माओवादीको उक्साहटमा लागेर भित्री सल्लाहअनुसार, पार्टी फुटाउने काम गरियो । तर, विचरा डिलारामहरू संघीयताको प्रश्नमा भने मोहनविक्रमकै विचारको फेर समातिरहेका छन् । दोस्रो कुरा, मोहनविक्रम सिंहमाथि एउटा लेनदेन केसलाई लिएर उनको जीवनको उत्तरार्धमा आएर आर्थिक आरोप लगाउने काम पनि डिलाराम आचार्यहरूले गरिराखेका छन् । यो नेपालका कम्युनिस्टहरूको असहिष्णु राजनीतिको पराकाष्ठा नै हो । जसले ५० वर्षभन्दा बढी कम्युनिस्ट आन्दोलनमा बितायो, के उसलाई दिइने पुरस्कार यही हो ? हाम्रा वाम नेताले कस्तो संस्कारको विकास गर्न खोजिरहेका छन् ? पुष्पलालले पनि त नेपालमा क्रान्ति गरेनन् नि, उनलाई चोर, फटाहा भन्ने कि सम्मान गर्ने ? तुलसीलाल अमात्य, मनमोहन अधिकारी कुन क्रान्तिकारी हुन् र ? तर, उनीहरूमाथि नेपाली वाम आन्दोलनका नयाँ पुस्ताले उनीहरूको कमजोरीका बाबजुद सहानुभूति राख्ने कि नराख्ने ? मोहनविक्रम सिंहका पछिल्ला विचारहरू सही भएनन् होला, उनका विचारले नयाँ पुस्तालाई सम्वोधन गरेन होला, उनका केही व्यक्तिगत कमी-कमजोरी पनि रहे होलान् । तर, यत्तिकै आधारमा नेपाली वाम आन्दोलनका धरोहरमाथि ठाडो मुन्डो लगाएर थुक्नु भनेको गैरकम्युनिस्टलाई हँसाउनु मात्रै हो ।
मोहनविक्रम सिंह यतिवेला शारीरिक रूपमा पनि अशक्त बन्दै गएका छन् । उनी अब कति नै बाँच्लान्, उनले अब कम्युनिस्ट आन्दोलनलाई न त अघि बढाउन नै सक्छन्, न सिध्याउनै सक्छन् । चित्रबहादुर केसी पनि कम्युनिस्ट आन्दोलनका ज्येष्ठ नागरिक भइसकेका मान्छे हुन् । यी दुवै नेतालाई यतिवेला थुक्ने होइन, नमस्कार गर्ने र उनीहरूबाट आशीर्वाद लिने वेला भइसकेको छ । हिजो हामीले विद्रोह गर्दाको वेलाजस्तो अहिलेको अवस्था छैन । हिजो मोहन वैद्य, प्रचण्ड, निर्मल लामा, राम कार्की, डा. बाबुराम भट्टराई, दीनानाथ र प्रकाशहरूले जसरी विद्रोह गरे, अहिले त्यस्तो अवस्था छैन । डिलाराम र कलाधरको वक्तव्यमा ०२८ सालयताका सबै फुट गलत थिए भनिएको छ, तर, उनीहरू आफैँले ०६७ साल असार ३२ गते मसाल फुटाएको घोषणा गरेका छन् । यतिवेला मसाल फुटाउने होइन कि मोहनविक्रमलाई सम्मानका साथ अवकाश दिएर, उनलाई पार्टीबाट भत्ताको व्यवस्था गरी अनुसन्धानमा लाग्ने मौका दिएर डिलारामहरूले पार्टी चलाउन सक्नुपथ्यो । तर, मर्न लागेका आफ्ना अभिभावकलाई भीरबाट फालेर ‘यो बूढो फटाहा हो’ भन्ने नीति डिलारामहरूले लिए ।
नेपालका कम्युनिस्ट नेताहरूमा मानवीयता भन्ने कुरो पनि पटक्कै हुन्न कि क्या हो ? नेताहरू कार्यकर्तालाई सित्तैमा काम लगाउँछन् र आफू ऐयासी जीवन बिताउँछन् । कार्यकर्ताले पार्टी छाड्यो भने विचरा भोकले ग्यास्टि्रक भएको भोको कार्यकर्तालाई पनि आर्थिक अनियमितता गरेको आरोप लगाउँछन् । एउटा जमिनदार परिवारबाट सम्पत्ति त्यागेर कम्युनिस्ट बनेका मसाल नेता सिंहलाई यतिवेला डिलारामहरूले बबुर खरेलकाण्डमा आर्थिक बदमासी गरेको आरोप लगाइरहेका छन् । यसमा सिंहको उदारतासम्बन्धी कमजोरी पक्कै छ । तर, जीवनभर गरेको योगदानको तुलनामा उनले गरेको यो गल्ती क्षम्य छ कि छैन ? सिंहले गरेको गल्ती पार्टीले किन सच्याएन ? दिल्लीमा बबुरसित गला जोडेर हिँडेका गिरिधारीलालले किन बबुर खरेललाई चिन्दिनँ भनेर खुलेआम भन्न सके ? के नेपालका कम्युनिस्ट हृदयविहीन रोबटहरूको जत्था हुन् ? प्रश्न गम्भीर छ । गिरिधारीलाल न्यौपाने भनेका भारतमा कुल्ली गर्न गएका नेपाली युवाहरूको पसिनाबाट लेबी उठाएर ऐयासी जीवन बिताउँदै आएका मान्छे हुन् । उनले दिल्लीमा लिएको महँगो फ्ल्याटमा गरीबका छोराहरूको पसिनाको थोपा छ कि छैन ? के उनीहरूले मोहनविक्रम सिंहलाई भ्रष्ट भन्न सुहाउँछ ? आचार्य र न्यौपानेहरू प्रवासी कुल्ली-दरबानहरूबाट लेबी उठाएर ठेकेदारी राजनीतिमा लाग्ने मान्छे हुन् भन्दा के हुन्छ ?
यौन र प्रेमका विषयमा मोहनविक्रमको बढी नै आलोचना हुने गर्दछ । भरत दहालदेखि लिएर यही पंक्तिकारले समेत विगतमा यसबारे लेखेकै हो । तर, सिंहका यौन विचारहरू यतिखेर र्फकेर हेर्दा निकै अग्रगामी लाग्न थालेका छन् । पे्रम सकिएपछि परिवारबीच सम्बन्धविच्छेद हुनुपर्छ भन्नु र त्यसै गर्नु, एउटैसित टाँसिइरहनुको साटो मानिसको जीवनमा विवाह र सम्बन्धविच्छेदलाई स्वाभाविक र परिवर्तनशील ठान्नु, प्रेम भएपछि यौनसम्बन्धलाई जायज मान्नु अनि यौन गल्तीलाई सामन्तवादीले जस्तो गम्भीर नैतिकताको मापदण्ड नबनाई सामान्य गल्ती मात्रै ठान्नुजस्ता सिंहका यौनसम्बन्धी विचारलाई हजुरबा पुस्ताका नाति विचार मान्न सकिन्छ । सिंहलाई जलजलासित प्रेम गरेबापत कारबाही गर्ने प्रचण्डले आफ्नै छोराको विवाह दुई वर्ष पनि नटिकेको देख्नुपर्यो । अनि छोराको दोस्रो विवाहमा प्रचण्ड मजाले नाचेको पनि देख्नुपर्यो । आखिर प्रचण्डपुत्र प्रकाशको यो व्यवहार कुनै गल्ती होइन, प्रभासित प्रेम भएन, पारपाचुके भयो । पारपाचुके भएपछि अर्काे बिहे गर्नु पनि गलत कार्य होइन । आखिर सिंहको पनि यस्तै मान्यता रहेछ, जुन अहिलेको हाम्रो पुस्ताका लागि सामान्य भइसकेको छ । भनेपछि सिंहको पे्रम, दाम्पत्य जीवन र उनले विवाह अघिपछि राखेका यौनसम्बन्धलाई लिएर उनलाई खेद्नु बेकार हो कि होइन ? समयले यसलाई बेकार ठहर्याइदिएको छ । युवापुस्ताले सिंहलाई असल प्रेमीका रूपमा अवश्यै व्याख्या गर्नेछ । अझ उनको प्रेम-उपन्यास ‘जलजला’को प्रतीक्षा पनि यो पुस्ताले गरिरहेको छ ।
सिंहले हाल अपनाइरहेको राजनीतिक विचारका सम्बन्धमा कुरा गर्दा उनले संघीयताबारे राखेको विचारसित, उनले माओवादीका सम्बन्धमा व्यक्त गरेको रुखो धारणासित कसैको असहमति हुन सक्छ । तर, यसै आधारमा सिंहलाई खुइल्याउनु न्यायपूर्ण हुँदैन । सबै फूललाई फुल्न दिनुपर्छ, सबैखाले विचारको सम्मान गर्नुपर्छ । नयाँ जोगीहरू यतिवेला अरूलाई जसरी संकीर्ण भएको आरोप लगाइरहेका छन्, तर उनीहरू आफैँ सिंहका बारेमा हदैसम्मको संकीर्ण एवं पूर्वाग्रही देखिँदै छन् । यो पंक्तिकार मोहनविक्रम सिंहका राजनीतिक विचार एवं सोचाइसित गम्भीर रूपमा असहमत छ र यो असहमति आजभन्दा १० वर्षअघि ०५७ सालबाटै सार्वजनिक रूपमै व्यक्त गर्दै आएको हो । तर, यो वेला शारीरिक रूपमा अशक्त भइसकेका सिंहलाई गोद्ने होइन, उनलाई सहयोग गर्ने र उनका मृत्युवाणी ध्यानपूर्वक सुन्ने वेला हो । ज्येष्ठ नागरिकलाई सम्मान गर्ने वेला हो । तर, नयाँ जोगीहरू जसले जीवनभर मोहनविक्रमलाई घेरामा राखेर यस्तो बनाए, तिनै अहिले पानीमाथिको ओभानो बनेर जग हँसाउने काम गरिरहेका छन् । नयाँ जोगीहरूले बुर्जुवाबाट सिकून् । गणतन्त्र आइसक्दा पनि कृष्णप्रसाद भट्टराई अझै राजावादी नै छन्, तर सबै कांग्रेस नेताहरू भट्टराईलाई मानवीय हिसाबले सम्मान गर्छन् । इतिहासमा सबै मान्छेले सधैँ योगदान गरिरहन सक्दैन । तर, उसले जति योगदान गर्छ, त्यसलाई सबैले सराहना गर्नुपर्छ । मर्नेवेलासम्म उसले किन योगदान गरेन भनेर कसैको पनि सकारात्मक योगदानलाई बिर्सनुहुँदैन । के मोहनविक्रम सिंहको योगदान नेपाली कम्युनिस्ट आन्दोलनमा अलिकति पनि छैन त ? नयाँ जोगीहरूलाई प्रश्न ।


0 comments:
Post a Comment