मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, February 25, 2011

'सरकार मात्र होइन, हामी पनि जिम्मेवार हुनुपर्छ'


"यो शहर हाम्रो हो । सरकार मात्र होइन, यसलाई सभ्य र सुसंस्कृत बनाउनका लागि हामी पनि जिम्मेवार हुनुपर्छ ।"

लगभग १८-२० वर्ष उमेरका १५-२० जना पोर्तुगीस युवायुवतीहरुको भनाइ हो यो । यिनीहरु हातमा ब्रुश, कुचो, बेल्चा, बाल्टी, प्लाष्टिकका थैली समाएका छन्, हरेकले हातमा पञ्जा लगाएका छन् ।

रमाइलो लाग्नेगरी गल्लीमा रहेका फोहोर सफा गर्दै छन् । मलाई चासो लाग्यो यिनीहरु सायद विद्यार्थीहरु पो हुन् कि ? कुनै अवसर पारेर यसरी सरसफाई गर्दै होलान् । समूह नजिक गएर पोर्तुगीस भाषामा सोधे : तपाई अंग्रेजी बोल्नु हुन्छ होला कि ?

एउटी केटी र अर्को केटा बोल्दैन रहेछन् । तिनीहरुले तेश्रो एउटी केटीलाई देखाए । उनी कारोलिना रहिछन् । उनको अभियानबारे बुझ्ने प्रयास गरे । उनीहरु एउटा संस्थामा आवद्ध रहेछन् । थुप्रै युवाहरु संस्थामा आवद्ध हुन रमाउँदा रहेछन् । सेन्ट्रो मोभमेन्टो नामक यो संस्थाले पोर्तुगलको राजधानी शहर लिस्बोनको मार्टिम मोनिज आसपासमा काम गर्दो रहेछ ।

"हामीहरु हरेक शुक्रबार साढे ११ देखि साढे १२ बजेसम्म हप्तामा १ दिन सरसफाई गर्ने गर्छौ । हप्तैपिच्छे एउटा एउटा ठाउँ छनौट गरेर सफाइ गर्ने गरिन्छ ।" कारोलिनाले भनिन् : "यस्तो अभियान हामीले जनवरीदेखि जुलाईसम्म चलाउने गर्दछौ । साथीहरुसँग गल्लीको सरसफाई गर्न पनि एकदम रमाइलो लाग्छ ।"

 कारोलिना मसँग कुरा गर्दै गर्दा अरु युवायुवतीहरु हाँस्दै रमाउँदै ब्रुश घोट्दै थिए, झाडु लगाउदै थिए । बिछाइएका ढुङ्गाहरु टल्काइदै थियो, फोहोर पानीसमेत सुकाएर सफा गरिदै थियो । सफाइ यत्ति मिहेनत लगाइएको देखिन्थ्यो कि मानौ त्यहाँ कडा निरीक्षणमा पास हुनुपर्नेछ । यो उनीहरुको स्वयंसेवी नमूना सरसफाई अभियान रहेछ । मैले बडो राम्रो काम गर्नुहुने रहेछ भनेर तारिफ गर्दा उनले भनिन् :"हाम्रो अभियानबारे केही लेख्नुभयो भने नेपाली भाषामै भए पनि मेरो इमेलमा तपाईको वेबसाइटको लिङ्क पठाउनु होला है योगेन्द्रजी ?" मैले हवस् भनेर जवाफ दिएँ । 

Saturday, February 19, 2011

नेपाल सरकारका वेबसाइटहरुको हरिबिजोग

माधवकुमार नेपाल मन्त्रीमण्डलका ठाकुरप्रसाद शर्मा अझै नेपालका मन्त्री बहाल रहेका छन् भन्दा तपाईलाई विश्वास नलाग्न सक्छ । तर कुरो साँचो हो कि शर्मा अझै वातावरण मन्त्रीमा छन् । यो कुरा नेपाल सरकारको वातावरण मन्त्रालयको वेबसाइटले उनको फोटोसहित देखाइरहेको छ ।

संसार सूचना र प्रविधिको युगमा दौडिरहेको छ । यो युगमा नेपाल सरकारका २६ वटा मन्त्रालयहरुको वेबसाइट सञ्चालन हुनु राम्रो कुरो हो । वेबसाइटहरुले मन्त्रालयका गतिविधि र सेवा सुविधाबारे जानकारी दिन सक्छन् । संसारका जुनसुकै ठाउँमा रहेका नेपाली वा विदेशीले सम्बन्धित मन्त्रालयका सार्वजनिक चासोका विषयमा जानाकारी प्राप्त गर्न वेबसाइटमा हेर्न वा पढ्न सक्दछन् ।

विडम्बना हाम्रो देशको राजनीति गतिलो नहुँदा सरकारका सेवासुविधाको सर्वसाधरणको पहुँच पुग्न सकेको छैन । सीमित वर्गको हालिमुहालीका कारण राजनीतिक संघर्षहरु हुँदै आइरहेका छन् र शान्ति प्रक्रियाले अझै निकास पाउन सकेको छैन । जस्तो नेताहरुको व्यवहार मन्त्रालयहरुका वेबसाइटहरुको अवस्था पनि उस्तै उस्तै रहेको पाइन्छ ।



२६ मन्त्रालयहरुमध्ये रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, उर्जा मन्त्रालय, सिंचाइ मन्त्रालय, संघीय मामिला, सविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालय, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, भूमिसुधार तथा व्यवस्था मन्त्रालय र भौतिक योजना तथा निर्माण मन्त्रालय गरी १३ मन्त्रालयहरुको वेबसाइटमा नेपाली सामग्री राखिएका भए पनि अंग्रेजीमा निर्माण भएका छन् अर्थात नेपालीमा हेर्न पाइने विकल्प छैन । मन्त्रालयहरुका वेबसाइट हेर्दा हाम्रो राष्ट्रिय भाषा अंग्रेजी रहेको भान पर्छ ।

'शिष्ट र नम्र व्यवहार : सेवाग्राहीको अधिकार' भन्ने धेरैजसो मन्त्रालयको वेबसाइटको नारा रहेछ । वातावरण मन्त्रालयको वेबसाइटले अझै पुरानै मन्त्री छन् भन्छ भने नेपालीहरुलाई शिक्षित बनाउने जिम्मेवारी बोकेको शिक्षा मन्त्रालयको वेबसाइटको जिम्मा पाएकोले शुद्धाशुद्धिमा ध्यान दिन सकेको देखिदैन । पलपलमा अद्यावधिक हुने कुरालाई त सबै मन्त्रालयले बिर्सेका रहेछन् भन्दा अत्युक्ति नहोला ।

सूचनाजस्तो संवेदनशील विषयमा ध्यान नदिनु पक्कै पनि हरिबिजोग हो र यस्ता गल्तिबाट भयानक समस्याहरु आइपर्न पनि सक्छन् । यसर्थ यी वेबमा रहेका सुधारात्मक पक्षहरुमा नेपाल सरकारले तत्काल ध्यान दिनुपर्छ कि ?

- योगेन्द्रमिलन छन्त्याल

Friday, February 18, 2011

नेपालका मन्त्रालयहरुको वेबसाइट

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
रक्षा मन्त्रालय
परराष्ट्र मन्त्रालय
सूचना तथा संचार मन्त्रालय
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
गृह मन्त्रालय
वाणिज्य तथा आपूर्ति मन्त्रालय
अर्थ मन्त्रालय
कानून तथा न्याय मन्त्रालय
उर्जा मन्त्रालय
सिंचाइ मन्त्रालय
संघीय मामिला, सविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालय
शान्ति तथा पुनर्निर्माण मन्त्रालय
स्थानिय विकास मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
श्रम तथा यातायात व्यवस्था मन्त्रालय
सामान्य प्रशासन मन्त्रालय
भूमिसुधार तथा व्यवस्था मन्त्रालय
शिक्षा मन्त्रालय
वन तथा भूसंरक्षण मन्त्रालय
उद्योग मन्त्रालय
कृषि तथा सहकारी मन्त्रालय
भौतिक योजना तथा निर्माण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
वातावरण मन्त्रालय
विज्ञान तथा प्रविधि मन्त्रालय
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय

Thursday, February 17, 2011

टुकुटुकु पाइला (गीत)

अप्ठ्यारा बाटाहरुमा टुकुटुकु पाइला चालिदेऊ 
घुमाउरा घुम्तीहरुमा सरसरी अघि बढीदेऊ 

जन्मभूमिको सपनालाई साकार परिदेऊ 


पूर्खाहरुको योजनालाई सफलीभूत गरिदेऊ 
अप्ठ्यारा बाटाहरुमा....

चिप्ला हुन्छन बाटाहरु होशियारसाथ पाइला चालिदेऊ
दोबाटा होलान यात्रामा कति वुद्धि लगाइ अघि बढीदेऊ
अप्ठ्यारा बाटाहरुमा....

अँध्यारा वस्तीहरुमा झलमल्ल दीयो बालिदेऊ
फैलाउदै चेतना लहर देशभक्त भइ अघि बढीदेऊ   
अप्ठ्यारा बाटाहरुमा....

Monday, February 14, 2011

'भ्यालेन्टाइन डे,' प्रेम प्रस्ताव राख्ने उपयुक्त अवसर

योगेन्द्रमिलन छन्त्याल


तपाईले कुनै केटा वा केटी मन पराउनुभएको छ ? अनि प्रेम प्रस्ताव राख्न सक्नुभएको छैन ? त्यसो भए सुवर्ण अवसर आज हो l आज प्रेम दिवस अर्थात् 'भ्यालेन्टाइन डे' l हरेक वर्षको १४ फेब्रुअरीका दिन 'भ्यालेन्टाइन डे' मनाइने गरिन्छ ।

विश्वका करोडौं प्रेमीप्रेमिकाले प्रेम दिवसका रूपमा मनाउने 'भ्यालेन्टाइन डे' ले विश्वव्यापी मान्यता पाएको र नेपाली समाजमा समेत जरो गाडिसकेको छ । देश र संस्कृतिको सीमा छिचोल्दै नेपाली युवामाझ लोकप्रियता पाएको छ । प्रेमीप्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदि आदानप्रदान गर्नुका साथै यस दिनलाई प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रूपमा लिने गरिन्छ ।

संसारका लाखौ युवायुवती आजबाट नयाँ जीवनको शुरुवात गर्दछन l तपाई हामीले मन परेकालाई प्रेम प्रस्ताव राख्न सकिन्छ । यस दिन राखिएका प्रेम प्रस्तावलाई प्रेमी वा प्रेमीकाले सहजै इन्कार गर्न सक्दैनन भन्ने जनविश्वास छ ।

आजको दिनमा रोमियो जुलियट, लैला मझ्नु र सारजहा मुमताजजस्ता प्रसिद्ध प्रेम कहानीहरुलाई स्मरण गर्दै आफ्नो प्रेमकहानी पनि यस्तै दीगो र भविष्य उज्ज्वल होस् भनेर कामना गर्ने प्रचलन पनि रहेको छ ।

'यदि तपाई कसैलाई पहिलो पटक प्रेम प्रस्ताव राख्दै हुनुहुन्छ भने पहिले आफुमा आत्मविश्वास बढाउनुस । यदि अस्वीकार गरेमा आफुलाई सम्हाल्ने धैर्यता विकाश गर्नुस ।' जर्मनीकी २३ वर्षीया आन्या म्हुलर भन्नुहुन्छ : 'पूरा आत्मविश्वासकासाथ प्रेम व्यक्त गर्नुभयो भने पक्कै पनि तपाईले सकारात्मक जवाफ पाउने सम्भावना धेरै हुन्छ ।'

चितवन घर भइ हाल दुबईमा रहनुभएका ३५ वर्षीय हिरामणी पोखरेलले यों संसार नै मायापीरति गाँस्दै एक आपसमा खुशी बाँडेर आनन्दमा रम्नुपर्ने बताउँनुहुन्छ : "आज प्रेम दिवसमा मैले आफ्नो जीवनसंगीनीलाई सम्झेको छु l उनलाई मायालु बोलिबाट फोन गर्दै प्रेम दर्शाउँदै छु l नेपालीहरूले माया प्रेम व्यक्त गर्ने दिनको रुपमा मान्नुपर्छ जस्तो लाग्दैन l माया प्रेम भन्ने चीज अन्तर आत्माबाट प्रस्फुटित हुन्छ l बिस्तारै प्रेमिकालाई अवगत गराउन सकिन्छ, बिदेशीको नक्कल नै गरी यों दिन कुर्नु पर्दैन जस्तो लाग्छ मलाई l"

संखुवासभा घर भइ बेल्जियममा रहनुभएका ४१ वर्षीय युवराज गुरुङ यो दिनको जुन सम्मान गर्नुपर्ने पृष्ठभूमि छ, त्यसैको कारण आफूले प्रेम दिवस मनाउने बताउनुहुन्छ l "सिपाहीको योगदानको दिन हृदयका अनुभवहरु आदानप्रदान गरेर मनाउनुपर्ला l" उहाँको तर्क रहेको छ l



"४-५ वर्ष पहिलेदेखि प्रेम दिवसबारे थाहा भए पनि आजको प्रेम दिवस कसरी मनाउने भन्ने योजना बनाएको छैन l नेपालीले यो दिवस मनाउनैपर्छ भन्ने छैन l" सुनसरीकी ३२ वर्षीय इकुकुमारी राइले भन्नुभयो : "यो पाश्चात्य संस्कृति हो नेपालका आफ्नै संस्कृति छन् l प्रेम दिवस मनाउनु उपयुक्त छैन l" ९-१० वर्ष पहिलेदेखि प्रेम दिवसबारे थाहा पाए पनि यसबारे अरु थाहा नभएको बताउंनुहुन्छ सिन्धुपाल्चोककी केशांग ओमु लामा l २७ वर्षीय विवाहित लामा भन्नुहुन्छ "तर श्रीमानलाई ह्याप्पी भ्यालेन्टाइन डे भन्नुपर्ला र अलिकति उपहार आदानप्रदान गर्नुपर्ला l"

तेस्रो शताब्दीको अन्त्यतिर रोमन साम्राज्यमा दुवै आँखा गुमाएकी एक साधरण जेलरको छोरीलाई प्रेम गरेको अभियोगमा भ्यालेन्टाइन नाम गरेका पादरीले मृत्यु दण्डको सजाय भोग्नु परेको घटना सबैका निम्ति उदाहरणीय बनेको छ । आफ्नो दुवै आँखा प्रेमीकालाई दान गरी गौरवसाथ मृत्युलाई अंगालेको दिन फेब्रुअरी १४ अर्थात 'भ्यालेन्टाइन डे' ले सच्चा प्रेमको जरुरतको महत्व दर्शाउदछ l

गुलाफको फूल उपहार

यो दिन विश्वभरि करोडौँ डलरको गुलाफको फूलको व्यापार हुने गर्दछ । तपाईले गुलाफ उपहार दिदै हुनुहुन्छ भने रंगको अर्थबारे जानकारी राख्दा राम्रो हुन सक्छ l भ्यालेन्टाइन डे' मा सबैभन्दा धेरै रातो रङको गुलाफ आदानप्रदान हुन्छ । यो शान्ति, प्रेम, मनोभावना र क्षमताको प्रतीक हो l फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो ।

गुलाबी गुलाफ मित्रता र मुटुको धड्कनको प्रतिक मानिन्छ । गुलाबी रङको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ भन्नु हो । पहेँलो गुलाफचाही मित्रताको प्रतीक मानिन्छ । मित्रता दिवसका दिन पहेँलो गुलाफ प्रदान गरिन्छ तर पनि हिजोआज मित्रताको प्रतीकका रूपमा 'भ्यालेन्टाइन डे' मा पनि यसको प्रयोग हुन थालिसकेको छ । सेता गुलाफ साँचो प्रेम र स्वच्छ हृदयको प्रतीक हो l भावुकताले
भरिएको सन्देश दिनमा सेतो गुलाफले महत्वपूर्ण भूमिका खेल्छ ।

कसैलाई फूल वा उपहार दिने योजना नबनाउनेहरुलाई भने 'भ्यालेन्टाइन डे' को कुनै आइतबार छैन l साथीहरुको अभिव्यक्ति र सलबलपछि म भने दोधारमा पर्नैपर्ने स्थितिमा पुगे अनि फेसबुकमा यस्तो स्टाटस टांसे : ' ‎'भ्यालेन्टाइन डे' मा कल्लाई इलु भन्नु नि ? आफ्नी नेपालाँ छट्पटाउँदै होलिन् । उनैलाई सम्झदै यो वर्ष पनि मन बाँध्न पर्नेभो । भन्या' जस्तो भै'छ भने आगौ एउटा एकान्त बगैचामा लिएर जानुपर्ला उनलाई । अनि मनको कुरा गर्नुपर्ला, सपनाको कुरा गर्नुपर्ला । भ्यालेन्टाइन हो रे, यही सोचियो आज । Anyway, Happy Valentine Day मित्रहरु !!
(तस्वीर : अनलाइनखबरबाट)

Saturday, February 5, 2011

"पोर्तुगलमा आप्रवासीका लागि प्रक्रिया र नेपालीहरुको अवस्था"

नमस्कार एवम हार्दिक अभिवादन ! समाचार, विचार, सूचना र मनोरञ्जनको नेपाली वेभसाईट सहयात्रा डट कम, तपाईको आफ्नै रेडियो दर्शन नेपाल एफएम पोर्चुगल, संसारभरका नेपालीहरुको आफ्नै आवाज, अनलाइन रेडियो टाइटन क्यानाडा र धौलागिरी आसपासका १७ जिल्लाहरुमा लोकप्रिय रेडियो, सयपत्री एफ.एम. ९१.६ मेगाहर्जको नेपाली कार्यक्रम "हाम्रो चाहना" का साथ आज पनि यहाँ समक्ष आइपुगेको छु म योगेन्द्रमिलन छन्त्याल l म पोर्तुगलको लिस्बोन शहरबाट बोलिरहेको छु ! आजको कार्यक्रमम "पोर्तुगलमा आप्रवासीका लागि प्रक्रिया र नेपालीहरुको अवस्था" विषयमा छलफल गर्दैछौ ! साथमा हामीसंग मीठा मीठा नेपाली गीतहरु पनि छन l कार्यक्रम अवधिभर हामीलाई साथ दिनुहुन्छ भन्ने विश्वास गरेका छौ l
...............................................................................
फरक फरक परिवेश, फरक फरक अवस्था, फरक फरक वातावरण, फरक फरक शहर, फरक फरक देशमा आ आफ्नै कथा, व्यथा र संघर्षका अनुभवहरु संगाल्दै लाखौ नेपालीहरु प्रवासमा जीवन बिताइरहेका छन् l अझै दिन दिने हजारौ युवाहरु विदेश पलायन हुदैछन l तपाई बस्ने शहरमा थुप्रै कथाहरु होलान l हामी बस्ने शहरमा उस्तै छ नेपालीहरुको सपना l हाम्रा गाउँमा पनि नयाँ नयाँ संघर्ष र परिवर्तनका प्रयासहरु भैरहेका छन् रे l

कसैको अवस्था अलिक सहज होला, कसैको तुलनात्मक रुपमा अलिक कठिन l तपाईलाई थाहा छ, नआत्तिनुस जिन्दगी संघर्ष हो रे र संघर्षको फल मिठो हुन्छ रे ! संघर्ष गर्दै संसारभर छरिएका नेपाली दिदीदाजु, बहिनीभई सबैको चाहना समेटेर हामी यो कार्यक्रम संचालन गर्ने गर्दछौ l

यसै क्रममा आज एशिया र युरोपका विभिन्न मुलुकहरुमा रहेका नेपालीहरुको गन्तव्य शहर लिस्बोन, पोर्तुगलको रोस्सियोमा यो कार्यक्रम तयार गर्दैछौ l हामीले अहिले ४ जना नेपाली युवाहरुसंग "पोर्तुगलमा आप्रवासीका लागि प्रक्रिया र नेपालीहरुको अवस्था" बारे छलफल गर्न जुटिरहेका छौ l हामीसँग अहिले यसबारे छलफल गर्न विगत साढे २ वर्षदेखि पोर्तुगलमा बस्दै आउनुभएका पर्वतका साथी बाबुराम भुसाल हुनुहुन्छ । उहाँले यहाँको रेजिडेन्स पर्मिट पाइसक्नुभएको छ । अरु ३ जना नयाँ साथीहरु हुनुहुन्छ काठमाण्डौका प्रतिमा थापा, नवलपरासीका सतिश खनाल र सुनसरीका कला राई । आउनुहोस् उहाँहरुसँग भलाकुसारी शुरु गरौ ।
…......(बाबुराम, प्रतिमा, सतिश र कलासँगको कुराकानी)...................…..................................

सबैको आ-आफ्नै सपना l सपना पूरा गर्नलाई कहाँबाट कहाँ धाउनुपर्ने, के बाट के बन्नुपर्ने, सबै कुरा भोग्नुपर्ने l तपाई पनि जिन्दगीमा धेरै पटक यो कुरा सोच्नुहुन्छ हैन र ? सुन्नुहोस यो नेपाली गीत त्यसपछि हामी फेरि प्रसंगलाई जोड्ने नै छौ l
…..........................................................

हर रात सपनीमा …..................................

कार्यक्रममा फेरि स्वागत छ यहाँलाई l हाम्रो चाहनाको दशौ शृंखलामा छौ हामी आज lविद्यार्थी, युवा, शिक्षक, व्यापारी, कलाकार, वकिल, पत्रकार, डाक्टर, पाइलट, इन्जिनियर, नेता, अधिकृत, प्राध्यापक सबै तह तप्काका लाखौ दक्ष र उत्पादनशील मानवीय स्रोत विदेश पलायन भएको पाइन्छ l हाम्रो देशका यी खम्बाहरु विदेशका गल्लीगल्लीमा हण्डर र ठक्कर खादै भविष्यको खोजीमा सुस्केरा फालिरहेका भेटिन्छन l बाटोघाटो, चोकचौतारो, सडकगल्ली जताततै समस्या खेपिरहेको र देशलाई सम्झिरहेको कुराहरु सुनिन्छन l सबैले दोष दिन्छन वर्तमान राजनीतिलाई । फेरि हामी ४ जना नेपाली युवाहरुसंग "पोर्तुगलमा आप्रवासीका लागि प्रक्रिया र नेपालीहरुको अवस्था" बारे छलफल गरौ । यो चरणमा हामी पोर्तुगलमा नेपालीहरुको अवस्था र इमिग्रेशन प्रक्रियाबारे छलफल गर्ने प्रयासमा छौ । आउनुहोस् हामी पनि रोस्सियोमा रहेका साथीहरुसँग छलफलमा जुटौ । .....(बाबुराम, प्रतिमा, सतिश र कलासँगको कुराकानी).....
.......................................................................
२) मरिन्छ कि विदेशमै बहिनी भेट हुनै गाह्रो छ …...............

तपाई भर्खर मात्र समाचार, विचार, सूचना र मनोरञ्जनको वेभसाईट सहयात्रा डट कम, ptnepal.com वा radiotitan.com लग अन गर्नुभएको छ वा सयपत्री एफ.एम. ट्युन गर्नुभएको छ भने हामी साथमा छौ कार्यक्रम हाम्रो चाहनामा l यस कार्यक्रममा तपाईको चाहना, प्रवासीको चाहना वा नेपालमा रहनुभएकाहरुको चाहना, समग्रमा हामी सम्पूर्ण नेपालीहरुको चाहना समेटिन्छ l तपाईका चाहना पनि भनुं भनुं लागेका छन् भने कृपया, हामीलाई जानकारी गराउनुहोला l हामी यहाँको चाहना सकेसम्म छिटो कार्यक्रममा समेट्ने छौ l तपाईको साथमा छु म योगेन्द्रमिलन छन्त्याल, म अहिले पोर्तुगलको लिस्बोन शहरबाट बोलिरहेकोछु l यहाँले फेसबुकमा हाम्रो चाहना सर्च गरेर पनि यस कार्यक्रमका सबै अंकहरु सुन्न सक्नुहुनेछ l साथै chhantyal-blog लगायत दर्जनौ वेभसाईट र blog हरुबाट चाहेको बेला जुनसुकै समयमा संसारभर यो कार्यक्रम सुन्न सक्नुहुन्छ l हामी "पोर्तुगलमा आप्रवासीका लागि प्रक्रिया र नेपालीहरुको अवस्था" विषयमा छलफल गरिरहेका छौ l

सबै उत्पादनशील मानवीय स्रोत विदेशतिर भाग्दैछ, कारण के हो ? के का लागि यस्तो भएको हो ? को जिम्मेवार छ ? यी समस्या समाधानका लागि कसले के के गर्नुपर्छ ? यसबारे हामी फेरि विगत साढे २ वर्षदेखि पोर्तुगलमा बस्दै आउनुभएका पर्वतका साथी बाबुराम भुसाल, उहाँले यहाँको रेजिडेन्स पर्मिट पाइसक्नुभएको छ । अरु ३ जना नयाँ साथीहरु काठमाण्डौका प्रतिमा थापा, नवलपरासीका सतिश खनाल र सुनसरीका कला राईसंग कुराकानीको क्रमलाई जोड्दैछौ । आउनुस् फेरि उहाँहरुको विचार सुनौ l ..(बाबुराम, प्रतिमा, सतिश र कलासँगको कुराकानी)...
…........…...............................
३) भुल्यौ कि परदेशी …................


आँटले नहांसे पनि दाँतले हाँस्नुपर्छ, हृदयले तिरस्कार गरे पनि दुइ हातले नमस्कार गर्नुपर्छ l भिमनिधि तिवारीको भनाइजस्तै विदेशमा अनगिन्ति समस्याहरु छन् । पीडामा छट्पटिनुपर्छ । तर नेपालमा रहेकाहरु भने सोच्ने गर्नु हुन्छ पैसा त पर्स्याउला जस्तो जम्मा पार्न सकिन्छ होला पोर्तुगलमा पनि । कस्तो छ त वास्तविक अवस्था आ उनुहोस् गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य एवं पोर्तुगल नेपाल मैत्री संघका अध्यक्ष मकर हमालजीसँग छलफल गरौ यिनै सेरोफेरोमा l ..(मकर हमालसँगको कुराकानी)..
…..............................................................
४) सबैभन्दा धेरै मलाई …...........................

तपाईसंग छुट्न मन त थिएन तर के गर्नु ? थाहै नपाइ samaya सकिएछ l अनि त बिदा माग्नै पर्छ मैले l कार्यक्रमलाई साथ दिनुभएकोमा हार्दिक धन्यवाद l यसपछि रेडियो टाइटन र सयपत्री एफ.एम. का नियमित कार्यक्रममा पनि साथ दिदै रहनुहोला l के हाम्रो चाहनामा तपाईको चाहना पनि समावेश भएको छ ? छैन भने के गर्नुपर्ला ? सल्लाहसुझाव वा प्रतिक्रिया पठाउनका लागि हाम्रो इमेल ठेगाना रहेको छ : hamrochahana@gmail.com l भ्रष्टाचार गर्न बन्द हुनुपर्छ, रोजगारीको स्रिजना हुनुपर्दछ । खुट्टा तानातानको संस्क्रितिको अन्त्य हुनुपर्दछ । देशकालागि राजनीति हुनुपर्दछ, व्यक्तिगत स्वार्थका राजनीति गर्ने संस्क्रितिको अन्त्य हुनुपर्दछ । शान्ति प्रक्रियालाई छिटोभन्दा छिटो टुङ्गोमा पुर्‍याउनुपर्दछ । देशमा यस्तो वातावरण बनाउनुपर्दछ कि देशबाहिर रहेका दक्ष र उत्पादनशील मानवीय स्रोत देशमै फर्किउन् । अर्को अंकमा नयाँ विषयमा छलफल लिएर आउंनेछौ, प्रतिक्षा गर्नुहोला । आजको "हाम्रो चाहना" को प्रस्तुतिबाट म योगेन्द्रलाई आज्ञा दिनुहोस, नमस्कार !

बड़ादशैंको शुभकामना विशेष

हाम्रो चाहना - नवौ श्रृंखला
................signature tune.......................

नमस्कार एवम हार्दिक अभिवादन ! तपाईको आफ्नै रेडियो दर्शन नेपाल एफएम पोर्चुगल, संसारभरका नेपालीहरुको आफ्नै आवाज, अनलाइन रेडियो टाइटन क्यानाडा, धौलागिरी आसपासका १७ जिल्लाहरुमा लोकप्रिय रेडियो, सयपत्री एफ.एम. ९१.६ मेगाहर्ज र समाचार, विचार, सूचना र मनोरंजनको वेभसाईट सहयात्रा डट कमको नेपाली कार्यक्रम "हाम्रो चाहना" का साथ आज पनि यहाँ समक्ष आइपुगेको छु म योगेन्द्रमिलन छन्त्याल l म जर्मनीको हाम्बर्गबाट बोलिरहेको छु l आजको कार्यक्रममा बड़ादशैंको शुभकामना विशेषमा छलफल गर्दैछौ l साथमा तपाईका शुभकामना सन्देश पनि समावेश गर्ने छौ l हामीसंग दशैं तिहारसम्बन्धी मीठा मीठा गीतहरु पनि छन l कार्यक्रम अवधिभर हाम्रो साथमा रहनुहुने विश्वास गरेका छौ ..................
-----
एउटै गाउँमा ३-४ वटा लिङ्गे पिङ्गहरु मच्चिदै होलान् । ठाउँ ठाउँमा विशेष मेलाहरुको आयोजना गरिदै होलान् । आयोजकहरु मेलालाई राम्रो बनाउन योजना बनाउदै होलान् । युवायुवतीहरु मेला आउने दिन गन्दै होलान् । बेसीमा धान झुलेका होलान्, खेतमा मकै सुक्न शुरु गरेका होलान् । सबै किसानहरु खुशी भैरहको बेलामा ठ्याक्कै आईपुगेको छ यो वर्षको दशैं तिहार !
चिसो चिसो हावाले बारीको ढिकमा फक्रेका कोमल सयपत्री र मखमली फूललाई ढलमल ढलमल नचाइरहेका होलान् । गाउँघरका ढुङ्गे र खरले छाएका घरहरु सेतो कमेरो, रातो माटो र ब्यात्रीका कालो रङले सिङ्गारिएका होलान् । अलिक तल शहरी क्षेत्रमा पनि इनामेलका रङ र रङ्गीचङ्गी सजावटले नेपालीवस्तीहरु झिलीमिली भएका होलान् । बाध्यता, विवशता र कमाउने सपना बोकेर विदेशिएका र पल्टने लाहुरेहरु दशैं तिहार मान्न घर फर्कदैहुनुहुन्छ होला । त्रिभुवन विमानस्थलमा ट्याक्सी चालकहरु झगडा गर्दै होलान् । जीपपार्कमा भरियाहरु बाकस खोसाखोस गर्दै होलान् ।
गाउँमा उजेली भाउजुको रङ बल्ल पहिलेजस्तै उज्यालो भयो रे ! नत्र "बुढो नहुँदा त उजेली अँधेरी मात्र भएकी हैन गलेर मर्नै पो लागेकी छ त, किन यस्तो चिन्ता गर्दिहोली ?" भनेर सबै दिदीबहिनीहरुले जिस्क्याउने गर्दथे रे । उजेली भाउजु हिजोआज विजय दाइसँग विगतका कुरा गर्नुहुन्छ होला । खेत र वन पनि जानुभएको छैन । दिनभरि घरमै बस्नुहुन्छ । मान्छेहरु देखिए मुसुक्क मुस्कुराउनु हुन्छ ।
चाडपर्व जब नजिकिन्छ, परदेशीको झल्को लाग्छ घरपरिवारलाई । कोही आउदा पनि आफ्नै मान्छे पो आयो कि भन्ने लाग्छ । आफ्नो मान्छे घर फर्केमा दशैंतिहार कत्ति रमाइलो हुने थियो भनेर छिट्टै फर्कन परदेशीलाई अनुरोध गर्ने गर्दछन् । परदेशीलाई पनि विदेश बस्न रहर त कहाँ हुनु नि ? जे छ जिन्दगी परिवारकै खुशीमा छ, त्यसैले दशैँतिहार धोको फेरेर मनाउने बाचा गरेका हुन्छन् परदेशीहरु चाडपर्व आउनुभन्दा पहिले चाहि ।
------------------------------------------------------------
अब हामी बिदेशिएका दाइलाई दशैंमा घर फर्कन एउटी नेपाली चेलीले लेखेको पत्र प्रस्तुत गर्दैछौ l नेपाली चेली सुबिसुधा आचार्यको पत्र :
मेरो मनभित्रको दादा,
ह्रदयको स्पन्दनदेखिकै न्यानो सम्झना ।
दादा हजुरलाई यो पत्र लेख्ने बेलासम्म सम्पूर्ण नेपालीको महानचाड दशैँ दैलोबाट भित्रिसकेको छ मझेरीमा पसारो पर्न । सबैको नजरमा दशैँ आएको छ शङ्ख फुक्दै भएपनि, बाजा बजाउदै भएपनि यात ऋणको सुनामीनै ल्याएर किन नहोस् तर हाम्रो परिवारमा दशैको कुनै छनक छैन l यसो भनौँ, हामी कहाँ दशै संघार ठेलाबाट भित्रनै मानेको छैन । मलाई लाग्छ यो सबै हजुरकै अभाव, रित्तोपनाले गर्दा भएको हो ।
सुर्यको प्रज्वलित किरणमा आफ्नो उन्मुक्त बैस घोप्टाएर मस्किने बारीको सयपत्री पनि फुङ्ग उडेको आभाष भएको छ हुनसक्छ ऊ पनी बिचलिच छ तपाइको अभावमा । बिहानीको कुमारी हावासँग लहरिने केराका पातहरु पनि मौन मौन छन् मजस्तै ।
दादा, हजुरले जलकुण्डबाट पहिलो पटक च्याँ को आवाजसँग स्पर्स गरेको माटोलाई बिदाइको हात हल्लाएर धर्ती छाडेको पनि आज पाँच वर्ष पूरा भैसकेछ, हुन त पाँच वर्ष भनेको पाचौँ चुड्की समय हो मिलन र खुशीमा बिताउने हो भने तर बिछोड, अभाव अनि कोही कसैबाट टाडिएका पलहरु निकै निकै लामा, अत्यासिला र कहालिलाग्दा हुने रैछन् । भन्नेले सजिलै भन्छन् पाँचवर्ष तर हजुरको अभावले चिमोट्ने यी पाँच हिउँद पाँच जुनी भएका थिए, छन् र हुनेछन् ।
दादा, दमले ग्रस्त बाबा ख्वाक्क ख्वाक्क खोकेरै भएपनि हुक्कामा तमाखु तान्दै हरदिन फलैँचाबाट धमिला आँखा त्यही परको गोरेटोमा हुत्याउँन छाडेका छैनन् । शीत तप्कने बिहान बिहानै भाउजूले दैलो पोतेको गोबर र माटोको गन्ध फोक्सैदेखि तानेर चिलिम अठ्याउँदै फलैँचा कुर्न भ्याइसकेका हुन्छन् तपाईकै प्रतिक्षामा । उदास अनुहार, बेलाबेला लिएको लामो निस्वास अनि खुईयको सुस्केराले निरासा र बिछोडको हस्को मसम्म ल्याएर टाँस्ने गर्छ पटकपटक ।
हरेक बिहान उदाउने सुर्यसँगै हजुर फर्कने आशाका पालुवा लहलह हल्किन्छ उहाँको मनमा । तर बिडम्बना हल्केका ती आशाका मुना सुइरोबाट पातमा परिणत नहुँदै अस्ताउँदो सुर्यको राता लाचारी प्रकाशसँग तुहिन्छ उहि पृथ्बीको गर्भमै कहिले नजन्मने गरी, आखीर यो आशाको गर्भपतन कहिलेसम्म ?

२) दशैँतिहारमा घर फर्कने बाचा गराउदै एउटी नेपाली चेली र उहाँको परदेशीको सांगीतिक संवाद सुन्नुस् अब । कुराकानीमा जमरा लगाउने रहर पोखिएको सुनिन्छ, समयमा फर्कन नसकेको भए पनि माया मारेको हैन भनेर सम्झाइन्छ आफ्ना प्यारीलाई । सुनुहोस् बाँकी यो लोकगीतमा
--------------------------------------------------

तपाई भर्खर मात्र समाचार, विचार, सूचना र मनोरंजनको वेभसाईट सहयात्रा डट कम, ptnepal.com वा radiotitan.com लग अन गर्नुभएको छ वा सयपत्री एफ.एम. ट्युन गर्नुभएको छ भने हामी साथमा छौ कार्यक्रम हाम्रो चाहनामा l यस कार्यक्रममा तपाईको चाहना, प्रवासीको चाहना वा नेपालमा रहनुभएकाहरुको चाहना, समग्रमा हामी सम्पूर्ण नेपालीहरुको चाहना समेटिन्छ l तपाईका चाहना पनि भनुं भनुं लागेका छन् भने कृपया, हामीलाई जानकारी गराउनुहोला l हामी यहाँको चाहना सकेसम्म छिटो कार्यक्रममा समेट्ने छौ l तपाईको साथमा छु म योगेन्द्रमिलन छन्त्याल, म अहिले जर्मनीको हाम्बर्गबाट बोलिरहेकोछु l फेरि सुबिसुधाजीको पत्रको बांकी अंश :
आमाको सवालमा म कसरी शाब्दिक वर्णन गराँै ? लाग्छ जति लेखेपनि कमै हुनेछ । हो दादा, हजुरको जनमी, ममतामही माता सुकेनास लागेको बच्चा भन्दा पनी बेढङ्गले सुक्दै गएकी छिन् दिन प्रतिदिन । हातमा गोल्डफल्याक चुरोटको ढुटो नै किन नहोस् कहिल्यै खाली हुँदैन । सधैँ सधैँ चुरोटको धमिलो धुवाँ जस्तै तपाई फर्कने झिनो आशा मडारी रहेको हुन्छ वरपर । किटको कराइमा कोदाको ढिंडो मस्काउँदा होस् या कैँचीले परालको भुस्सा काट्दा नै किन नहोस् टोलाइरहेकी, लोलाइरहेकी र गहिरो सोचाइमा डुबिरहेकी नै हुन्छिन् । दादा यो पालीको दशैँमा आमा आफ्नै हातले देबीथानको बलौटे माटो ल्याएर भडार कुनामा फिजाएर जौ र गहुँ रोपेकी छिन् हजुर फर्कने आशमा । उसो त काली बाख्रीको पहिलो बेतको सिगारे खसी पनि कुनै ग्राहकलाई आँखासम्म लाउन नदिई खुव सुम्ठ्याएर राखेकी छिन् हजुर फर्केर आफ्नै हातले मार हान्नु हुन्छ भनेर ।
थाहा छ दादा ? हजुर बिदेशिने वर्षको दशैँमा खसी मार हान्दा पहिलो पटक नछिनेपछि बाबा रिसले बुरुक्क बुरुक्क उफ्रदै गौडोको कुविण्डो ल्याएर सिमलीको सिन्काको खुट्टा बनाइ दैलोमा आफैले बडो जोसका साथ मार हानी रगत बगेन रे भन्दै अबीर दलेको अहिल्यै जस्तो लाग्छ । कति सून्दर थिए ती पलहरु आँखामा सधैँ सधैँका लागी सजाइरहुँ जस्तो ।
दादा ! माल्टा आँपको ठूलो रुख भ‘को सुर्कोलाई बगैँचा बनाएका छौँ र यो वर्ष मैले धेरै जातका फूल रोपेकी छु जुन सारै सून्दर र रमणीय पनि छ उसो त फुलपाती भित्राउन चाहिने जयन्ती फूल त्यहीँ बेजोडले झाङ्गिएर फुलेको छ ढकमम्म । अस्ती उदास चेहेरामा बाबा भन्दै हुनुहुन्थ्यो यो साल ठुले नआए त फुलपाती पनि भित्राउँदिन र भंडारमा राखेको जमरासमरा सबै थुन्चेमा उठाएर ठाडो दोबाटोमा लगेर घोप्टाइदिन्छु । त्यो पल उहाँको मुख कागती निचोरेको जस्तो सारै बिरक्त लाग्दो भएको थियो ।
यो साल त भाउजु धेरै उत्साहित बन्नु भएको छ हजुरको आगमनको प्रतिक्षामा । हिजोमात्र बजारबाट हजुरलाई मनपर्ने गुलाबी रङ्गको व्लाउज र लुंगी ल्याउनु भ‘को छ दशैको दिन आफूले लगाउन भन्दै । उहाँको मुहारमा छाएको उदासिनताले पलपल चिमोटिरहन्छ मलाई । तपाई गएदेखि हाँस्न बिर्सेकी भाउजू, यो दशैँमा तपाई आउनुहुन्छ भनेर हाँस्ने अभ्यास गर्दैछिन् । दादा एउटा नारीलाई विवाह भएको एक महिना नबित्दै लोग्ने बिदेशिनु र पाँच पाँच वर्षसम्म नफर्कनुको पीडा सायद हजुर कल्पना गर्न सक्नु हुन्न किनकी हजुर मर्द न पर्नु भो । हरेकरात ढोकाको खापाबाट चियाएकी छु मैले उहाँको बेचैनी र छटपटीलाई ।
उहाँको जीवन भोगाइमा समुन्द्रको लहर कहिल्यै उठेन परिवर्तित हलचल ल्याउन पोखरीको पानी जस्तो सधैँ स्तब्ध रहिरहनु हुन्थ्यो आफैँमा हराएको जस्तो परिबेसमा । नढाटी भन्नु पर्दा हजुरले चिन्ता लिनुहोला, पिर गर्नुहोला भनेर मैले नभनेकी हुँ हजुर गएको साल देखि यता जमरा पनि राखिन्छ, दशैको सबै किनमेल हुन्छ तर दशैँ मानेका छैनौँ । उभ्रिए र हल्केको जमरा एकपटक पनि थुन्चे खोलेर नहेरी पधेरामा बगाएका छाँै, दशैँलाई भनेर साँचेको खसी पनि दशैँ पछि सहरबाट आउने बगरेलाई बेचिदिने गर्थ्यौ । थालमा अक्षेता मुछेर मझेरीमा राख्न नपाउँदै आमा भावविहोल भएर सुकसुकाउन थालेपछि भ¥याङको खुड्किलामा बसी बाबा पनि हिक्क हिक्क गर्न थालेपछि चुलाको कुनैबाट भाउजूको रुवाइको डाकोले भित्तो छेडन सुरु गर्छ अनि कसरी लगाउन सक्छौँ हामी टिका । हो दादा मैले मुछेको अक्षेता धेरै पल्ट मलखाल्टामा घोप्टाएकी छु ।
सबै भन्दा सानी, कान्छी म ब्यावहारिकताको कुठुरो फुकाउन नसक्दै हजुर बिदेशिनु भो । मैले यहीँनेर नबुझेको कुरा कुन त्यस्तो अभावको भुकम्पले उथलपुथल ल्याएको थियो र हजुर सून्दर घर स्नेही परिवारलाई माउ मरेको चल्ला जस्तो बनाएर बिदेशिनु भो ।

३) सबैले निधारमा टिका कानमा जमरा वा गलामा माला पहिंरिदा पक्कै पनि आमबुवा, दिदीबहिनीहरुलाई आफ्ना छोरा वा भाइदाजुको याद आउनु स्वभाबिक हो l देशलाई नै सुनसान पारेर करीब २० लाख नेपाली दाजुभाई विदेशिएकोमा आमबुवा दिदीबहिनीहरू भन्ने गर्छन् l अब गाउँवस्ती नै सुनसान पारेर विदेश जानुहुँदैन, विदेशमा रहेकाहरु पनि फर्केर देशका लागि केही गर्नुपर्छ । साँच्चीकै देह्सका लागि सोच्ने बला आएन र ? कति दिन विदेशको मुख ताक्ने हामीहरु ? तर परदेशीको व्यथा यस्तो छ, कलाकार जीवन शर्मासंग बुझौ होला ......
-----------------------------------------------------

स्रोता, यहाँलाई फेरि स्वागत छ कार्यक्रम हाम्रो चाहनामा l तपाई अनलाइन रेडियो दर्शन नेपालको ptnepal.com , टाइटनको radiotitan.com र समाचार, विचार, सूचना र मनोरंजनको वेभसाईट सहयात्रा डट लग अन गरेर यो कार्यक्रम सुन्दैहुनुहुन्छ l यसैगरी धौलागिरी आसपासका १७ जिल्लाहरूमा सयपत्री एफ एम ९१.६ मेगाहर्ज बागलुंगबाट यो कार्यक्रम सुनिरहनुभएको छ l साथमा छु म योगेन्द्रमिलन छन्त्याल l यहाँले फेसबुकमा हाम्रो चाहना सर्च गरेर पनि यस कार्यक्रमका सबै अंकहरु सुन्न सक्नुहुनेछ l साथै chhantyal-blog लगायत दर्जनौ वेभसाईटहरुबाट संसारभर यो कार्यक्रम सुन्न सक्नुहुन्छ l
फेरि एकपटक नेपाली चेली सुबिसुधाको पत्रको बांकी अंश :
मैले अहिले आएर बुझ्दैछु पारिघरे भैरेको जस्तो साहु लागेको पनि थिएन न त गैराघरे कान्छाको जस्तो देउता लागेर खेतबारी पहिरोले नै बगाएको थियो । कस्तो सपनाको खेती हल्काउने सोचाइमा बिदेशिनु भो यो प्रश्नको जवाफ हामी कसैलाई पनि थाहा छैन । लडीबुडी गरेर खान पुग्ने अन्न उब्जने खेतबारी त बाबाले जोहो गरेकै थिए । हजुरले अहिले बिदेशीभूमीमा बगाएको भन्दा पचास प्रतिशत कम पसिना मात्र यहाँ बगाएको भए त यहाँ पनि हाम्रो चार आत्मा सजिलै हाँसीखुशी बाँच्न सकिन्थ्यो होला नि । थाहा छ दादा हजुरले कमाएर पठाएको पैसाले बनाएको औंठी र सिक्री नियाल्दै झन झन दिर्घ रोगी भका छन् बाबा । आमाको त के कुरा बनाएर ल्याइदेको दुईचार दिन मेरो र भाउजूको करैले भिरेकी थिइन् आमाले माडवरी र नौगेडी त्यसपछि त फुकालेर सन्दुकमा बिरालाको बिष्टा मिल्काएझैँ मिल्काइदिएकी छिन् र भन्छिन् –“मैले कहिल्यै पनि छोरासँग पैसा र गहनाको सुख मागिन, आँखा सामुन्ने देख्न पाउनु र सधैँझैँ साँझमा टुकी बालेपछि आमा भन्दै भित्र पसेके हेर्न पाएँ पुग्छ ।”
दादा हाम्रो मनलाई पानी बिनाको माछाझैँ भुट्याएर नै हजुरले कमाएर पठाउनु भएको पैसाले शहरमा बल्लबल्ल तिनआना तिनपैसा जग्गा त किनेका छौँ तर के गर्ने त्यो घडेरी बरिपरिका बासिन्दालाई पोहोर फाल्ने डम्पिङसाइट भएको छ हाम्रो घडेरी, अव एक त शहरमा घर बनाउने सपना नसजाए पनि हुन्छ महङ्गीले निकै उचाइ समातेको छ, हामी जस्तो सर्वसाधारणले घर बनाउन सम्भव छैन । अर्कोकुरा घर बनाइहाले पनि बत्ती र पानीको सधैँ अभाव छ भन्छन् । बाह्रै महिना मैन बत्तीको उज्यालोले खोज्नुपर्ने भबिष्य भो दादा चाहिँदैन हामीलाई । फेरी मिनरल वाटरको बोतलको पानीले जीवन कसरी भिजाउन सकिएला र ? शहरमा घर भएका रैथानेहरु पनि भट्टाभट उपत्यका बाहिरका जिल्लाहरुमा बसाइ सर्दैछन् जग्गा किनेर । हामी यहाँ हात्तीको सुड जस्तो मुलको स्बच्छ पानीमा डराइ डराइ टाउको थापेर नुहाएको मान्छे त्यो टुकुनीको नापोको पानीमा कसरी चित्त बुझाउन सकौला र ? फेरि यहाँको करेसाबाट छानी छानी ताजा सागसब्जी टिपेर खाने आदत लागेको हामी पन्ध्रदिनको ओइलाएर सडेको सागसब्जीमा निर्भर रहन पनि सक्दैनौ । फेरि वातावरणी प्रदुषणले मगज कुहिन्छ दादा मेरो त शहरमा ।
अनि भन्नुस् त यत्रो वर्ष हामीलाई रुवाएर, तडपाएर कमाएको पैसाबाट नै हामी खुशी, सुखी रहन सक्दैनौ भने कस्को लागी कमाउनु हुन्छ प्राण हल्केलामा राखेर पैसा । दादा भौतिक सुख नै सर्वेसेवा हैन सबैभन्दा ठूलो त आत्मिक सुख हो जुन हजुरको अभावमा अनुपस्थितिमा हामी कहिल्यै प्राप्त गर्न सक्दैनौ ।
दादा के अझै पनि हजुर घर फर्केने सुरसारमा हुनुहुन्न, अस्ति रेडियोबाट “फर्कि बरु आउ दाजु घर, बुढीआमा रोइरैछन् धरर…..”भन्ने गीत बारीमा खनायो÷खनियाको स्याउला झार्दै गर्दा सुनेकी थिएँ, थाहा नपाई आँखा भरिसकेँछ तव टेक्नुपर्ने कापे नभेटेर झण्डै खसेकी थिएँ धन्न हातले अर्को हाँगो समाउन भ्याइछु नत्र हजुर फर्कदा मालाले सजिएको क्रितिम बहिनीसँग मात्र भेट गर्न पाउनु हुन्थ्यो । हामी हजुरको अभावमा पानी पानी भएका छौँ दादा, हजुरले कमाएको डलरको डसनाले स्नेहको पछयौरीको काम कहिल्यै दिदैन । सुखको सानदार भवन भन्दा ममताको झुपडीमै फुल्छ खुशी ओठभरी, दादा ।
यो वर्ष त हजुर फर्कनु हुन्छ भनेर गाउँका काले, उमेश, पोक्चेले गैराको बाँसको झ्याङबाट सप्रेको ठुलाठुला बाँस ढालीसकेका छन् त्यसो त तपाइकी बालसखा चमेली दीदी र भाउजूले पाटको डोरी बाटेर गजबको काम्रो बनाएर लुकाएका छन् । एकमहिना पहिल्यै सुशिला, उर्मिला अनि बिनोससँग मिलेर ठूलो भिरबाट बाबियो पनि काटेर ल्याएका छौँ । सानु काका, ठुलो बुबा, पारीघरको थापा र खोल्साको भट्टराइ भएर ठुलो खर्कमा पिङको लठ्ठा पनि बाटी सकेका छन् । हजुरको आगमन हुने आशामा सिङ्गो गाउँनै रोमाञ्चित भएको छ, बिन्ति दादा यो दशैँमा जसरी भएपनि घर फर्कनुस् नत्र सयपत्री, जयन्ती र त्यो हजुरको आगमनलाई पर्खेर बसेको वरपीपलको सम्म मन दुख्ने छ हाम्रो त परैजाओस् ।

दादा ! बुबाको उदास मुहार, आमाको रुन्चे अनुहार र भाउजूको थकित अवस्था म ज्यादा हेर्न सक्नेछैन, यो दशैमा पनि हजुर घर फर्कनु भएन भने यो बहिनीलाई बहीनी भन्न पाउनु हुनेछैन, यो भनाइलाई अनुरोध, धम्की वा चेतावनी जे सम्झनुस् छुट छ म मात्र यति चाहन्छु टिकाको दिनसम्म हजुर संघार ठेलाबाट भित्रीसकेको हुनुपर्छ । बस् दादा ! अव अगाडि पत्रलाई लम्याउन चाहिनँ हजुरको आगमनमा सधै आँखा गोरेटोमा बिच्छयाइरहने उही अभागीनी बहिनी ।
सुबिसुधा, नेपालबाट
४) तर बाध्यता, विवशता र धन कमाउने रहरमा विदेशबाट दशैंतिहारमा घर फर्कन नपाएकाहरु आमा र बहिनीलाई टिका जमरा र मालाको प्रयोगमा नरुन अनुरोध गर्न बाध्य छन् । यसरी :
-------------------------------------------------------------------------
तपाई अनलाइन रेडियो दर्शन नेपालको ptnepal.com , टाइटनको radiotitan.com र समाचार, विचार, सूचना र मनोरंजनको वेभसाईट सहयात्रा डट लग अन गरेर यो कार्यक्रम सुन्दैहुनुहुन्छ l यसैगरी धौलागिरी आसपासका १७ जिल्लाहरूमा सयपत्री एफ एम ९१.६ मेगाहर्ज बागलुंगबाट यो कार्यक्रम सुनिरहनुभएको छ l साथमा छु म योगेन्द्रमिलन छन्त्याल l यहाँले फेसबुकमा हाम्रो चाहना सर्च गरेर पनि यस कार्यक्रमका सबै अंकहरु सुन्न सक्नुहुनेछ l साथै chhantyal-blog लगायत दर्जनौ वेभसाईटहरुबाट संसारभर यो कार्यक्रम सुन्न सक्नुहुन्छ l


अब बड़ादशैको अवसरमा तपाईहरुबाट प्राप्त शुभकामना सन्देशहरू लिदैछौ हामी,
Harka Chamling dhannebad dasaiko upalakchheko shuvakamana sahit redio program hamro chahana ko utarotar pragatiko kamana gardachhu.

Parshu Mishra
चाड आय जस्तो लाग्छ -कता कता यो मन भित्र ।
संस्कार संग मेल खाने -छैन कतै धार्मिक मित्र ।।
बढे जस्तो लाग्छ मलाई - नास्तिक को बाहुल्यता ।
आफ्नै टाढा लाग्छ मलाई -पार्टिबाजले कता कता ।।
धर्म संग आस्था राख्ने - हिन्दू भन्न शरम मान्ने ।
कस्ता धार्मिक भेटें मैले -चाड बाड पारी रक्सी तान्ने
विजया दशमी २०६७सालको सुखद उपलक्ष्यमा हार्दीक मंगलमय शुभकामना

Krishna घिमिरे/इंडिया : bijaya dasami 2067 ko upalaxya ma mera aafanta jan tatha meri sani malai dherai yad garera baseki holin ani sabai nepali daju bhai didi bahini haru sabai ma sukha santi tatha sambridhi ko mangal maya subhakamana byakta garda6u.

Gopal Budhathoki गरिब नेपालीलाई महंगीले थिचेको, सचेत नेपालीलाई राजनीतिक अन्योलताले पिरोलेको, देश आर्थिक रुपमा बर्वाद भएको ! यो दुखद क्षणमा गह्रौ मस्तिष्कले भए पनि दशैँ ....२०६७ ..! शुभ–कामना ......!! हामी सबैको जय होस्.

Prabin थपलिया, Sherbahadur डाँगी, Yadu N. Sapkota आफनो परिवार सँग बस्न दुःख सुख बाँढन अनि चाडवाड हाँसीखुशी मनाउने चाहना कस्लाई हुदैन तर चाहदा चाहदै पनि कहिलेकही त्यो संभव नहुन सक्छ तर के गर्नु हामी परिवारबाट टाढा बस्न विवश छौ विश्वका कुना काप्चामा रहनु भएका नेपाली दाजुभाई दिदीबहिनीहरु जहाँ जस्तो अवस्थामा रहनु भएको छ त्याही नै हाँसी खुशी दशैं मनाउनु होला विजया दशमी २०६७सालको सुखद उपलक्ष्यमा हार्दीक मंगलमय शुभकामना

Mohan Gurung · i wanna thanks 1st to the 'HAMRO CHAHANA' PROGRAM n wish to all the nepalies who r staying in nepal n out of nepal who wherever stay b happy n celebrate very well our big dashain n diwali

धन मगर (बाग्लुङ) : सम्पूर्ण बिदेश मा रहनु भयका अनी नेपाल मा रहनु भयका आफन्त हरु साथै मित्र महानुभाव हरु यबम फेस बुक मा हुनुभयका जान अन्जान साथीहरुमा बिजया दशमी २०६७ को सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना! बिशेष गरी रेडियो कार्यक्रम हाम्रो चाहना लाई धन्यवाद दिदै उत्तर उत्तर प्रगतीको कामना गर्दछु !
Raju Pandit सम्पूर्ण नेपाल मा रहनु भयका अनि विदेश मा हुनुभएका नेपाली दाजु भाई तथा दिदि बहिनि हरु मेरो हितैसी मित्रहरु यबम संपूर्ण साथी मा शुभ विजया दशमी २०६७ को सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना। बिसेष गरी रेडियो कार्यक्रम "हाम्रो चाहना"लाई उत्तर उत्तर प्रगति को कामन भन्न चाहन्छु
भगवान चोखाल : म्याग्दी नेपाल.!!{"हाल दोहा कतार"}
आँशु दिन,महिना अनि वर्ष बिते यो साथी बिरानो ठाउमा ।
यस बर्षको दशै तिहार पनि घकिन्न्दै छ रे साथी मेरो सानो गाउमा।।
कुन दिनमा विदेश पसेछु साथी दुखी मेरो कर्म।।।
कसले सुनी देला,कसले भुझी देला गरिब भगवान को मर्म।
रून्छीन होला मेरी आमा यो परदेशी लाई पर्खी बस्दा।।
माफ़ गर्नु है आमा म परदेशी लाई।।।
बाध्यता ले र बिबसताले गर्दा आउन सकिन।।।धन्यवाद

Merit Stationers : desh bidesh ma rahanu bhayeka aam nepali aama buba, dajubhai,didi bahini haruma sukha,santi,sammriddi tatha uttarottar pragati, tatha hamra bigreka neta haruma desh prati alikati bhayepani sumarga ko bato nawa duurga bhawani le dekhai deun... ma mitra bandhu bhandari ,butwal bat yehi mangalmaya subhakamana

Lekh Bahadur यसपालिको दशैमा पनि यस्तै भयो ।।
अर्को सालको दशैमा
हाम्रो माहान पर्ब दशैको पाबन सु-अबसरमा देश,परदेशमा रहनु हुने सम्पुर्ण ईष्टमित्र दाजुभाई,दिदिबहिनि र मेरा सम्पुर्ण मित्रहरुमा......हार्दिक मंगलमय शुभकामना ।।

----सम्पूर्ण नेपाल मा रहनु भयका अनि विदेश मा हुनुभएका नेपाली दाजु भाई तथा दिदि बहिनि हरु मेरो हितैसी मित्रहरु यबम साथी मा शुभ विजया दशमी २०६७ को सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना। बिसेष गरी रेडियो कार्यक्रम "हाम्रो चाहना"लाई उत्तर उत्तर प्रगति को कामन भन्न चाहन्छु /टिकाराम घिमिरे गोरखा छोप्रक -२ ,

'Balman Chhantyal' Happy Vijaya Dashami to all

Gaurab Sim टीका होस नीधार्मा,
जमरा होस कानमा,
सुख होस परीवार्मा,पुरा होस मनोकामना,
यही छ वीजया डशमी को शुभकामना

Khim Chhantyal : sabai sathi haru lai vijaya dashami ko hardik mangal maya suakamana

Kharka पून : myagdi thadakhani ward no 5 : wife tirtha kumamari chhantyal 6ori tajina ra aama buba ma pani dashain ramro sanga manaunu hola bhanne sandesh.

के गर्नु ? साथीहरुको शुभकामना सन्देशहरुले मुटुमै विगतका यादहरु बल्झन्छन् । आँशु झर्न खोज्छ, अरु मान्छेहरुदेखि लाज लाग्छ अनि मुश्किलले आँखामै सुकाउने प्रयास गर्छु । तर 'अचेल किन निन्याउरो देखिनुहुन्छ नि ?' भन्ने प्रश्नको उत्तर लुकाउने गर्छु ।
किनकि मेरो अनुपस्थितिमा मेरी आमाले मेरो कपडा र फोटोलाई टिका लगाइदिनुभएको थियो रे योभन्दा पहिलेको एउटा दशैंमा । अझ जेठाको फोटोलाई पहिले लगाउनुपर्छ उमेरको क्रम अनुसार भनेर मेरो फोटोले पहिलो प्राथमिकता पाएको थियो रे ! यो वर्षमा पनि तिहारमा बहिनीले उपहार दिएको टोपी पहिरिने भयो मेरो फोटोले ! मेरो बिन्ति छ, मेरी प्यारी आमा र बहिनीले दशैं तिहारमा म र माहिला भाइ घरमा नभएकोमा आँशु पटक्कै नझारुन् ।
बरु आमाको आशिष र बहिनीको सुभेच्छामा मेरो समस्या समाधान भयो भने अर्को दशैं मान्न पक्कै आउनेछु । भाइ र मैले सल्लाह गर्छौ घर फर्कन तर केही बाध्यताहरु छन् । आशा गरौ, हाम्रो मनोकामना पूरा हुनेछ र देशको राजनीतिले पनि निकास पाउनेछ । अनि त सपरिवार देशमै रमाउने छौ, आफ्ना पसिना आफ्नै माटोमा सिञ्चने छौ ।

साहिली भाउजुलाई भने १२ वर्षदेखि अरबियन मुलुकमा रहनुभएका सहिला दाइ फर्किए हुन्थ्यो भन्ने आशा किन नहुँदोहोला र ? तर यो वर्ष फर्कनुहोला भन्ने विश्वास भने छैन । नजिकिएको दशैंले मुटु चर्कन्छ, यादका ओ इलाएका घाउहरु कोट्टिने गर्छन्, चहराउछन्, कता कता दुखाइ त कता कता नानाभाँटीका कल्पना। अनि त बलिन्द्र धारा आँशु बग्दछन् । यसो फोनसोन गर्ने, सञ्चोबिसञ्चोको खबर पठाउने गरे पनि त चित्त बुझ्थ्यो ।
केटाकेटीलाई भने केको चिन्ता नि ? हाँस्छन्, नाच्छन्, गाउछन्, खेल्छन् । विदेशिएका बाबाको पनि चासो छैन, काकाको पनि मतलब छैन । तर पनि दशैंको बेला ढिपी गर्दै बाबाकाकाकाबारेमा प्रश्नैप्रश्न तेर्स्याउँदा थुप्रै आमाहरुलाई भक्कानो छोडेर रुने बनाउँछन् । आमाले राता राता आँखाबाट बगेका आँशु थाम्नै नसकेर मिजेत्रोले पुछ्दै रुन्छिन्, दहिने मुठ्ठीले मुटुमा ढुक्ढुकाउँछिन् अझ साह्रो धड्कन्छ मुटु, अझ दुख्छ छाती, अझ चर्कन्छ मन ।
सबैतिरबाट दशैं तिहार मान्न गाउँ फर्केका केटाकेटीहरु आँगनमा खेल्दैछन् । ८ वर्षीय रामुले अञ्जानमा घमण्ड गर्छ : हाम्रो बाबाले ठूलो खसी किन्नुभाको छ । दशैंमा लगाउने झिनको पायट, जाकेट र जुत्ता किन्दिनुभाको छ । १३ बर्षिय रोशन विचरा केही भन्न लागेको जसरी ओठ फर्फर बनाउँछ । रोशनको आमा साहिली भाउजुले झ्यालबाट रोशनको चेहरा देखेपछि झन् आँशुका ढिक्काहरु बरल्ल बरल्ल झार्छिन् ।
साने दाइजस्तो सधै मिहेनत र दुख गर्ने गाउँले कोही छैन । नेपालमै रहनुहुन्छ । तर दशैमा बच्चाहरु र चमेली भाउजुको साना साना मागहरु पूरा गर्न नसक्दा दशैं उहाँका लागि भार बन्छ । उहाँले सोच्नुहुन्छ दशैं दशा बनेर आउँछ उहाँका लागि । दशैंमा देखासिकी गर्ने र आफ्नो हैसियतभन्दा बढी खर्च गर्ने चलन पनि छन् । भन्ने गरिन्छ : "दशैंमा ऋण नलागेर कहिले लाग्छ ?" कतिपयको धारणा हुन्छ दशैंमा मारकाट गरिनुहुँदैन । जुवातास, कृत्रिम बजार अभाव, तड़कभड़कजस्ता कुराहरुलाई सुधार गर्न जरुरी छ ।
५) चाडपर्वमा हुनेखानेकाहरु खानलाउनमा तडकभडक देखाइदिन्छन् । गरिबका जहानबालाहरुको पनि दशैंतिहारमा राम्रो खाने मिठो लगाउने रहर हुनु अन्यथा पक्कै होइन । गाऊंका गरिब किसानहरू दोकानमा गएर १२ माना चावल उधारो माग्दा साहुले नपत्याउदा होलान l यसो हुंदा गरिब घरमूलीहरुको भने दशैं होइन दशा आउछ भन्छन् कलाकार योगेश्वर अमात्य
----------------------------------------------------

फेरि यहाँहरुको शुभकामना सन्देशहरु लिंदैछौ हामी :
Kattel Khagendra malai pani yahi subakamana badi dinu hola hai la.....
Yogendra Magar Have a Enjoyful days with HAPPY BIJAYA DASHAMI.

Sita Subedi : गजल " बडा दसैं"
भन्न मन लाग्छ कतै अब्बल रहोस बडा दसैं //
मिठो कुरा खान पाए बब्बाल रहोस बडा दसैं ///

मिलाउने मिल्ने कुरा, यी नेतालाई सिकाउनु छ /
यो सालमा संविधानको, सब्बाल रहोस बडा दसैं //

जहिले पनि उन्नति र प्रगतिको कुरै छैन /
यसपाली त बिकासमा, डब्बल रहोस बडा दसैं //
नरुनु परोस कोहि ऐले , दुखि हुदै यहाँ फेरी
चिताएको पुगोस मनमा, सब्बल रहोस बडा दसैं //

हेम दाहाल Happy bijayadashami and Dipawali to all my friends and others who knows me .

Narayan Gaire Happy Vijaya Dashami to all Hindus & Nepali!

टिकाराम घिमिरे गोरखा छोप्रक -२ , ...हाल साउथ कोरिया छनान: सम्पूर्ण नेपाल मा रहनु भयका अनि विदेश मा हुनुभएका नेपाली दाजु भाई तथा दिदि बहिनि हरु मेरो हितैसी मित्रहरु यबम संपूर्ण फसबूक का साथी मा शुभ विजया दशमी २०६७ को सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना। बिसेष गरी
रेडियो कार्यक्रम "हाम्रो चाहना"लाई उत्तर उत्तर प्रगति को कामन भन्न चाहन्छु /
Rajan Budha Thoki बडा दसैँ को शुभकामना सम्पूर्ण राजन भनि चिन्नेहरुमा अनि बिशेस गरि हाम्रो रेडियो चाहाना कार्याक्रम लाई

Deepak Gautam happy dashain 2067

Sama Raut सम्पूर्ण नेपाल मा रहनु भयका अनि विदेश मा हुनुभएका नेपाली दाजु भाई तथा दिदि बहिनि हरु मा शुभ विजया दशमी २०६७ को सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना। बिसेष गरेर अध्यन को सिलशिला मा ढाका मेडिकल कलेज मा अध्यनरत छोरी "सुजना राउत "लाई उत्तर उत्तर प्रगति को कामना मेहनत नै सफलता को सिढी हो भन्न चाहन्छु /

Priya Joshi happy bajay dashami&diwali to your an all nepali

Yasoda Siwakoti thanks jehosh ramro prougream rakhnu bhako rahechha ,bideshma rahanu bhayeka nepaliharu jo pariwar saga yo chad manauna saknu nabhaye pani aafno sandesh marfat subhakamana dina paunu pani thuko kura ho thank you so much ,Yogendra ji
Ananda Chhantyal sarbaprthata redio hamro chahana ko sanchlak yogendra milan jyu bijae dasamiko hardik suvakamana ani mero uk ma rahanu hune daju bhauju ra chhora haruma ra nepalma hune sampurna pariwarma hadik mangalmae suvakamana sandesh dina chahanchhu.

Mim Chhantyal myagdi 7 malkabang now from malaysia..........

sampurna mero desh bidesh ma rahanu bhaye ko daju bhai tha dd bahini haruma bijaye dasami ko hardik mangal maye shubha kamana ra sathai hamro chahana redio lai muru muri dhanybad kina ki eauta parbas ma rahera pani karekram chalunu bhaneko sano tino kuro hoina tesaile alda best yogindra milan g n happy bijaye dasami ra shubha dipawoli!
Him Chhantyal मल्कबंग १ म्याग्दी, हाल मलेशियामा कार्यरत
सर्बप्रथम हामी भौतिक शरीर प्रत्यक्षरुपमा भेट प्रश्तात नभएपनि संचारको दुनियाँले हामीलाई नजिक बनाईदिएको मेरो प्रिय मित्र हरुलाई सम्झना गर्दै हिन्दु लम्बिहरुको चार्ड वडा दशैँ तथा दिपावलीको पावन अवसरमा समस्थ नेपालीहरुमा सुख, समृद्दी,शु-स्वास्थ...्यको कामना गर्दछु l साथै हाम्रो छन्त्याल समुदायलाई प्रत्यक पाईला-पाईलामा डोर्याईरहनु हुने छन्त्याल छलफल मंचका पढाधिकारी ज्युहरु, ''हाम्रो चाहना रेडियो कार्यक्रम'' जर्मनमा कार्यरत मित्र योगेन्द्र ज्यु लगायत अन्य साथिहरुमा यो २०६७ सालको बिजय दशमी तथा दिपावलीले अझ प्रगाड माया, सदभाब, र उत्तोरतर प्रगति सहित हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु l.
deepak bogati malaysia namaskar mero pane dasai ko suvakamana 6 shamasta nepali daju bhai haruma.....
६) परदेशीहरुलाई भने चाडबाड आउँदा अरु बढी घरको यादले सताउछ । चाडबाड नआए पनि हुन्थ्यो भनि सोच्न बाध्य हुन्छन् उनीहरु । सात समुन्द्र पारि रहेकाहरु बालबच्चा र आफ्नी प्यारीले के गर्दै होलान् भनेर चिन्ता लिन्छन् । परदेशमै रोइरहेका छन् उनीहरु, धन कमाएर फर्कने सपना पूरा नहुँदा कहिले फर्कने हो स्वदेश उनीहरु आफैलाई पत्तो छैन, यस्तै छ गन्तव्यविहिन र अनिश्चित भविष्य ...............

तपाईसंग छुट्न मन त थिएन तर के गर्नु ? थाहै नपाइ १ घण्टा सकिएछ l अनि त बिदा माग्नै पर्छ मैले l कार्यक्रमलाई साथ दिनुभएकोमा हार्दिक धन्यवाद l यसपछि रेडियो टाइटन र सयपत्री एफ.एम. का नियमित कार्यक्रममा पनि साथ दिदै रहनुहोला l के हाम्रो चाहनामा तपाईको चाहना पनि समावेश भएको छ त ? छैन भने के गर्नुपर्ला ? सल्लाहसुझाव वा प्रतिक्रिया पठाउनका लागि हाम्रो इमेल ठेगाना रहेको छ : hamrochahana@gmail.com l साथै यहाँले कार्यक्रम हाम्रो चाहना, सयपत्री एफ.एम. ९१.६ मेगाहर्ज पोष्ट बक्स नं. - २९, बागलुंग नगरपालिका - २ बागलुंगको ठेगानामा पत्र पठाउनु भयो भने पनि हाम्रो हात पर्नेछ l नयाँ वर्षमा हाम्रो देशमा सबैको आवाज सुन्ने र सबैको चाहनाको सम्मान हुने वातावरण निर्माण होस् । देशमा शान्ति, सुव्यवस्था र अमनचयन कायम होस् । सुख, शान्ति र सन्तुष्टिमा जीउने वातावरण बनोस l तपाईको सु-स्वास्थ्य, दीर्घायु तथा उतोरोतर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना l अर्को हप्ता संघीय शासनप्रणाली बारेको समसामयिक छलफल लिएर आउंनेछौ, प्रतिक्षा गर्नुहोला । आजको "हाम्रो चाहना" को प्रस्तुतिबाट म योगेन्द्रलाई आज्ञा दिनुहोस, नमस्कार ! ...................................

----------------------------------------------------