बर्लिन- जर्मनीले उरुग्वेविरुद्ध खेल्ने तेस्रो स्थानको खेलको भविष्यवाणी अक्टोपसले शुक्रबार गर्ने सम्भावना छ। अक्टोपसले जर्मनीले खेल्ने खेलको मात्र भविष्यवाणी गर्दै आएको छ। के फाइनल खेलको पनि अक्टोपसले भविष्यवाणी गर्ला त? थकित महसुस नभएमा मात्र अनौठो शक्ति मानिएको समुद्री जीव अक्टोपसले विश्वकप फाइनलको भविष्यवाणी गर्नेछ। ‘हामी उनलाई थप भार दिन चाहँदैनौं,' अक्टोपस राखिएको एक्वारिएमका एक प्रवक्ताले भने, ‘थकित नदेखिए र भोकाइ महसुस भएको खण्डमा मात्र अक्टोपसले भविष्यवाणी गर्नेछ।' दुई देशको झन्डाले बेरिएको जारभित्र राखेको जुन खाना अक्टोपसले खान्छ त्यही देशले नै खेल जित्ने भविष्यवाणी छ। दक्षिण अफ्रिकी विश्वकपमा जर्मनीले खेलेको सबै ६ खेलमा सही भविष्यवाणी गरेपछि पाउल नामको अक्टोपसले विश्वव्यापी चर्चा पाएको छ। अक्टोपसले दक्षिण अफ्रिकी विश्वकपमा अस्ट्रेलिया, घाना, इङ्ल्यान्ड र अर्जेन्टिनामाथि जर्मनीले विजय पाउने तथा समूह चरणमा सर्बिया तथा सेमिफाइनलमा स्पेनसँग पराजित हुने भविष्यवाणी गरेको थियो, जुन सबै सही सावित भएको थियो। अक्टोपसको भविष्यवाणीअनुरुप नै स्पेनसँग सेमिफाइनलमा जर्मनी पराजित भएपछि बर्लिनमा उपस्थित ३ लाख ५० हजारमध्येको एक भीडले पाउल र उनकी आमालाई गालीगलौज गरेको थियो। इन्टरनेटमा केही प्रशंसकले पाउललाई ‘बार्बिक्यु' बनाएर खाने धम्की दिएका छन्।

0 comments:
Post a Comment