मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, August 2, 2010

लेखिका रुने, वक्ता पनि रुने, अतिथि स्तब्ध

गिरीश गिरी, काठमाडौं, साउन १६- एकातर्फ लेखिका रोइरहने, अर्कातर्फ वक्ता रोइरहने, यो देखेर अतिथिमध्ये कोही रुने त कोही स्तब्ध हुने। माओवादी युद्धमा सरिक तारा राईले लेखेको पुस्तक 'छापामार युवतीको डायरी'लाई उनीसँगै जेल परेका आमाछोरी सभासद् धर्मशीला र अग्रणी चापागाईं शनिबार राजधानीमा विमोचन गर्दै थिए।

'जुन बेला यो जेलमा आई, १३-१४ वर्षकी, मायालाग्दी, कठै आमाको काख छोडेर आइछे भन्ने लाग्यो,' लेखिकाबारे धर्मशीला भन्दै थिइन्, 'त्यसपछि डेढ वर्षकी छोरीसँगै यसलाई पनि मैले जेलैमा हुर्काएकी थिएँ।'

यति भन्न नपाउँदै दुवैतिर रुवाबासी सुरु भयो। 'दसवर्षे भोगाइको कथा धेरैले लेख्ने कोशिस गरे,' धर्मशीला सम्हालिएर बोलिन्, 'तर, यतिको सरल भाषामा सबैलाई स्पर्श गर्ने गरी आएको यो नै पहिलो पुस्तक हो।'

इलाम पञ्चकन्याकी तारा मामाघरमा बसेर ६ कक्षा पढ्दै गर्दा साथीहरूको लहैलहैमा २०६१ सालको अन्त्यतिर छापामार शिविर पुगेकी थिइन्। पुस्तकमा वर्णन गरिएअनुसार नारीलाई विभेद गर्ने केही रक्स्याहा आफन्तले दिएको यातना र सेना लगाएर समात्न लगाइदिने धम्कीका कारण उनी माओवादी बनेकी थिइन्। शिविर पुगेको ३ महिना १९ दिनमै उनी सेनाको घेराबन्दीमा परिन्।

१५ खण्डमा बाँडिएको पुस्तक यसै घटनाबाट सुरु हुन्छ। त्यसपछि सैनिकको कब्जामा परेकी उनले केही खण्डसम्मै ब्यारेकको वर्णन गरेकी छिन्।

'युद्धकालमा पक्राउ परेका माओवादीलाई सैनिकले गरेका व्यवहारबारे अनेक टिकाटिप्पणी हुने गरेका छन्,' पुस्तक समीक्षा गर्दै लेखक कृष्ण धरावासीले भने, 'तर, त्यो बेला सैनिकमा रहेको मानवीयताको वर्णन यस पुस्तकमा इमान्दारीसाथ गरिएको छ।'

रुखो व्यवहार गर्ने केही तल्लो ओहदाको सेनाबारे लेख्दै ताराले ब्यारेक बसुन्जेल 'सानु' भनेर सम्बोधन गर्ने एक अन्जान अधिकृतको पनि उल्लेख गरेकी छन्। मुटुकी रोगी उनले राम्रोसँग खाना र औषधी खाए-नखाएकोदेखि उनको भविष्यबारे चिन्ता लिने ती अधिकृत पुस्तकका नायकजस्तै देखिन्छन्।


पुस्तककी नायिका उनै धर्मशीला बनेकी छिन् जससँग इलाम र मोरङ दुवै कारागारमा सँगै बस्दाका वर्णन पढिरहँदा ताराले वास्तविक आमा जेलमै भेटेको भान पार्छ। बिरामी तारालाई एकपटक समयमा अस्पताल नलैजाँदा उनले जेलै थर्किने गरेर सुरक्षाकर्मीसँग गरेको झगडाले मन छुन्छ।

'यसलाई इलाम जेलबाट सारेर लैजाँदा मसँग म्याक्सीभित्र लगाएको एउटा पेटिकोटमात्र थियो,' धर्मशीलाले पुस्तकमा छुटेको एउटा घटना सुनाइन्, 'त्यो पनि खोलेर दिएपछि बल्ल झसंग भएकी थिएँ, अनि लाज पनि लाग्न थाल्यो।'

आफूलाई जन्म दिने बाले सानैदेखि अलग राखिदिँदा बाआमाको माया नपाई छट्पटिएर हुर्केको सुनाउँदै ताराले जीवनका यिनै अनुभवले आफूलाई लेखिका बनाएको कार्यक्रममा बताएकी थिइन्।

'छ कक्षा मात्र पढेकी २० वर्षे युवतीले यति राम्रो कृति पनि लेख्न सक्छे भन्ने उदाहरण बनेको छ यो पुस्तक,' कार्यक्रममा अर्का समीक्षक हरि अधिकारीले भने, 'आफ्नो आस्थाप्रति अडान राख्दाराख्दै पनि इमानदारीसाथ यत्ति सरल भाषामा उनले उच्चस्तरको पुस्तक दिएकी छिन्।'

डेनमार्कका राजदूत फिन थिल्स्टेडले युद्ध पीडितहरूको अवस्था बुझ्दै जाँदा इलाममा तारासँग भेट हुँदाको क्षण वर्णन गरेका थिए। 'केटाकेटीहरू राम्ररी कुरा नबुझेरै युद्धमा होमिएको घटनाले म चिन्तित छु,' उनले भने, 'उनीहरूले पढ्न र अभिभावकको माया पाउने अधिकार सुरक्षित बनाउन सबै लागिपर्नुपर्छ।'

पछिल्ला घटनाक्रमले माओवादी पार्टीबाट विरक्तिएर बसिरहेको बेला तारालाई इलाममै भेट्ने गायक गणेश 'रसिक'को पहलमा पुस्तक तयार भएको हो।

१ सय ५० रुपैयाँ मूल्यको पुस्तक प्रथम संस्करणमा ११ सय प्रति छापिएको छ। 'सबै पुस्तक गइसकेको छ,' प्रकाशक रत्न पुस्तक भण्डारका दुर्गाप्रसाद श्रेष्ठले भने, 'छिट्टै दोस्रो संस्करण निकाल्दै छौं।' (NAGARIKNEWS)

0 comments: