बैठक सकारात्मक भएको श्रेष्ठको दाबी—
विश्वमणि पोखरेल, काठमाडौं, साउन १७- प्रधानमन्त्री पदका लागि संसदमा चुनाव हुन केही घण्टा बाँकी रहँदा माओवादी नेताहरु मधेसी मोर्चासँग निर्णयाक वार्ता बिना निष्कर्ष टुंगिएको छ। बैठक सकेर बाहिर निस्किएका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार अब मोर्चामा रहेका दलहरुको आन्तरिक बैठक बसेर समर्थन गर्ने-नगर्ने बारे निर्णय गर्नेछन्।
तराई मधेस लोकतान्त्रिक पार्टीको संसदीय दल कार्यालयमा भइरहेको वार्तामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु बाबुराम भट्टराई, मोहन बैद्य, नारायणकाजी श्रेष्ठ सहभागी थिए। मोर्चामा रहेका मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम नेपाल तथा नेपाल सद्भावना पार्टीका शीर्ष नेताहरु बैठकमा सहभागी थिए।
'मोर्चाका मागबारे हामीले राखेको अवधारणा प्रस्ट्याएका छौं', उपाध्यक्ष श्रेष्ठले भने- 'उहाँहरुले बैठक गरेर निर्णय दिन्छौं भन्नुभएको छ, स्थिति सकारात्मक छ।'
१० बजेदेखि सुरु भएको वार्ताले आज हुने प्रधानमन्त्री चुनावमा माओवादी अध्यक्ष दाहालको भाग्य फैसला गर्न सक्ने अनुमान गरिएको थियो। संसदमा २ सय ३७ मत रहेको माओवादीलाई प्रधानमन्त्री बन्नका लागि ६३ मत आवश्यक छ। मधेसी मोर्चासँग आवद्ध चार दलसँग ८२ मत छ।
मोर्चाभित्रको उपेन्द्र यादव पक्षले दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने बताइरहेको चर्चा बाहिर आएका छन्। तमलोपा अध्यक्ष महन्थ ठाकुर पक्षधर नेताहरु दाहाल नेतृत्वको सरकारलाई समर्थन नगर्ने अवस्थामा रहेको स्रोतले बतायो। 'माओवादी सरकार बन्ने अवस्था भए मोर्चा विभाजित हुनसक्छ', एक मधेसी नेताले भने- 'तर देशलाई अनिर्णयको बन्न दिनु हुँदैन भन्ने हाम्रो मान्यता हो।'
आज चार बजे प्रधानमन्त्री पदका लागि संसदमा तेस्रो पटक चुनाव हुँदैछ। (nagariknews)
Monday, August 2, 2010
माओवादी-मोर्चा बैठक निष्कर्षबिहीन
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment