काठमाडौ, श्रावण १६ - एमाले नेता केपी ओलीले माओवादीजस्तो 'आतंककारी' गतिविधिमा संलग्न नभएकाले कांग्रेस नेतृत्वको सरकार बनाउन सहयोग गर्नुपर्ने बताएका छन् । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेललाई एमालेले सहयोग गर्नु हुँदैन भन्ने कुनै आधार नभएको उनले उल्लेख गरे ।
'कांग्रेसको नेतृत्व बकाइदा हुन्छ, ऊ सशस्त्र पार्टी हो र ?' उनले पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार भने, 'उसको नेतृत्वमा सरकार हुनै हुन्न भन्ने हाम्रा आधार के हुन् ?'
उनले कहिलेसम्म अर्को पार्टीको नेतृत्व हुँदैन र सरकारमा नजाने भनेर बसिरहने भन्दै नेतृत्वमाथि प्रश्न गरे । पार्टीले तोकेको मापदण्डमा कांग्रेस रहेकाले उसको नेतृत्वमा सरकार बन्न सक्ने धारणा ओलीको थियो ।
उनले शनिबारै आयोजित अन्य कार्यक्रमहरूमा पनि पार्टी नेतृत्वले केन्द्रीय कमिटीको बैठक नडाकेर षड्यन्त्रको आशंका जन्माएको धारणा राखे । सरकारबारे पार्टीले नयाँ निर्णय लिनुपर्ने उल्लेख गर्दै उनले भने, 'केन्द्रीय कमिटीको बैठकलाई निरन्तरता नदिएर, पर धकेलेर, तर्किन/उम्कन खोजेर फरक ढंगले केही गतिविधि गर्न खोजेको हो कि भन्ने आशंका जन्माएको छ ।'
उनले कुर्सी र पदका लागि पार्टी फुटाउन खोजिएको आरोप लगाउँदै त्यस्तलाई ठेगान लगाउने बताए । 'केही मान्छे छन्, ती एमालेभन्दा अरूलाई बढी क्रान्तिकारी मान्छन् । एमालेका भन्दा अरूका नीति सही देख्छन्,' उनले भने, 'अरूका तथाकथित आन्दोलनका गाडीमा इन्धन हाल्छन् र आफ्ना वक्तव्य, हस्ताक्षर पर्चा दिएर गाडी चलाउन भन्ने मद्दत पुर्याउँछन् ।' उनले सञ्चारमाध्यम र समाचारमा वितण्डा मच्चाउनेहरूलाई सहयोग पुग्ने गरी अभिव्यक्ति दिँदै हिँडेको भन्दै विरोध गरे ।
खनाल भन्छन्-अहँ, निर्णय फेरिँदैन
एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमति नबनेको अवस्थामा कुनै पनि दललाई समर्थन नगर्ने बताएका छन् । कसैले कांग्रेसलाई समर्थन गर्ने भन्ने दिएका अभिव्यक्ति नितान्त व्यक्तिगत भएको उनले उल्लेख गरे ।
'केही साथीहरूले बहुमतीयमा जानुपर्छ, कांग्रेसलाई मत हाल्नुपर्छ भन्नुभएको छ, ती नितान्त व्यक्तिगत विचार हुन्,' उनले कान्तिपुरसँगको अन्तर्वार्तामा शनिबार भने, 'ती विचारको दिशातर्फ एमाले जान सक्दैन ।'
पार्टीले सर्वसम्मतिले राष्ट्रिय सहमतिको पक्षमा उभिने निर्णय गरेकाले त्यसमा 'चट्टान' जस्तै भएर उभिने उनले बताए । कसैले पनि कारणसहित बैठक बोलाउन माग नगरेको उल्लेख गर्दै उनले आवश्यक परेका बेलामा राष्ट्रिय मुद्दामा छलफल गर्ने जनाए । 'बैठक बोलाउन कसैले आग्रह गरेको छैन । आग्रह भयो र बैठक बस्यो भने पनि निर्णय परिवर्तनको कुनै गुञ्जायस छैन,' उनले भने, 'एमाले अहिले राष्ट्रिय सहमतिका पक्षमा जसरी उभिएको छ, यो चट्टानी निर्णय हो ।'
केन्द्रीय कमिटीमा अल्पमत भएर आलटाल गर्न खोजेको आरोपको पनि उनले खण्डन गरे । कुनै पनि मुद्दामा केन्द्रीय कमिटीमा अहिलेसम्म मतदान नभएकाले को अल्पमतमा, को बहुमतमा भन्ने बुझ्न नसकिने उल्लेख गरे । उनले माओवादीलाई सरकारमा समर्थन नगरे पनि उसलाई निषेध गरेर जान नहुने धारणा राखे । 'माओवादी र कांग्रेससँग एकता र संघर्षको नीति राख्नुपर्छ,' उनले भने, 'माओवादी सुधि्रएको छैन तर यसको अर्थ ऊसँगको सहकार्य बन्द गर्नुपर्छ भन्ने एकपाखे, एकलकाटे र निषेधवादी राजनीति एमालेले गर्दैन ।' उनले प्रतिक्रियावादीहरूले पार्टीभित्र टुटफुट गराउन खोजेको बताए । (कान्तिपुर)
Sunday, August 1, 2010
ओली भन्छन्-कांग्रेसलाई समर्थन हुन्छ,खनाल भन्छन्-अहँ, निर्णय फेरिँदैन
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment