काठमाडौं, श्रावण २० - न्यायाधीशले पैसा खाएर फ्रान्सेली कुख्यात अपराधी चार्ल्स शोभराजविरुद्ध फैसला गरेको आरोप लगाउने शोभराज पत्नी निहिता र सासू शकुन्तला थापा बिहीबार थुनामुक्त भएका छन् । बयान नसकिएको भन्दै उनीहरुलाई थुनामा राख्न सर्वोच्च अदालतले बुधबार आदेश दिएको थियो ।
बार एसोसिएसनको जिम्मामा शुक्रबार पुनः उपस्थित हुने गरी सर्वोच्चले रिहा गर्न आदेश दिएको हो । म्याद सकिने अन्तिम दिन उपस्थित सासू शकुन्तलामाथि बयान लिंदै गर्दा बुधबार समय सकिएकाले न्यायाधीशद्वय रामकुमार प्रसाद साह र बलराम केसीको संयुक्त इजलासले हिरासतमा राख्न आदेश दिएको थियो ।
बिहीबार भएको बयानमा शोभराज पत्नी निहिताले आफूले शोभराजसँगको सम्बन्धले आवेशमा अदालतको अपमान गरेको भन्दै माफी मागेकी थिइन् ।
गत शुक्रबार रामकुमार प्रसाद साह र गौरी ढकालको संयुक्त इजलासले चार्ल्स शोभराजलाई पाटन पुनरावेदन अदालतले सुनाएको जन्मकैदको फैसला सदर गरेपछि निहिता र उनकी आमा शकुन्तलाले पैसा खाएर न्यायाधीशले फैसला सुनाएको आरोप लगाएका थिए । त्यसविरुद्ध अदालतको अपहेलना गरेको भन्दै अधिवक्ता शान्ता सेढाइँ र राजन अधिकारीले मुद्दा दायर गरेका थिए ।
(ekantipur)


0 comments:
Post a Comment