मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, August 4, 2010

अपहरणकारी र सुरक्षाकर्मीबीच गोली हानाहान

रामनारायण विश्वास, नयाँ पत्रिका, सप्तरी, १८ साउन, अपहरित व्यक्तिलाई मुक्त गराउने क्रममा मंगलबार बिहान सप्तरीको खोक्सर प्रवाहा गाविसमा सुरक्षाकर्मी र अपहरणकारीबीच दोहोरो गोली चलेको छ । अपहरणकारीले प्रहरीलाई छलेर अपहरित व्यक्तिलाई आफ्नै साथ लगेका छन् ।

कल्याणपुर-५ निवासी भिखन चौधरी गत शनिबार राति अज्ञात हतियारधारी समूहको अपहरणमा परेका हुन् । घरमा सुतिरहेको अवस्थामा स्थानीय भसराज उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका चौधरीलाई राति करिब ११ बजे हतियारधारी समूहले अपहरण गरेको हो । 'तपाईंसँग केही बुझ्नु छ भन्दै घरबाट बाहिर लगे,' चौधरीका परिवारजनले बताए ।

चौधरी अपहरणको खबर पाएपछि स्थानीय प्रशासनले बढाएको प्रहरी गस्ती टोली र अपहरणकारीबीच मंगलबार बिहान तीन बजे गोली हानाहान भएको हो । खोक्सर प्रवाहा-९ स्थित मकैबारीमा अपहरित चौधरीसहित अपहरणकारी लुकेर बसेको सुराकीका आधारमा सशस्त्र र जनपद प्रहरी टोली सर्चमा निस्केको थियो । तर, गस्ती टोली मकैबारीमा पुग्नुअघि नै अपहरणकारीले गोली चलाएको प्रहरीले जनाएको छ ।

अपहरणकारीले गोली चलाएपछि सुरक्षाकर्मीले पनि जवाफी फायर गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक भुवनेश्वर साहले नयाँ पत्रिकालाई बताए । उनका अनुसार दुवैतर्फबाट चार राउन्ड फायर भएको थियो । दुवैतर्फबाट गोली चले पनि कुनै पक्षमा मानवीय क्षति नभएको प्रहरी निरीक्षक साहले जानकारी दिए ।

गोली चलाउँदै भागेका अपहरणकारीले प्रहरीलाई छलेर अपहरित चौधरीलाई सँगै लगेका छन् । घटनापछि जिल्ला प्रहरी कार्यालयद्वारा गएको थप प्रहरी टोली सो क्षेत्रमा परिचालन गरे पनि अपहरणकारीलाई पक्राउ गर्न सकेको छैन ।

अपहरित चौधरीका परिवारजनले उनको सकुशल रिहाइका लागि पहल गरिदिन मानवअधिकारवादीसँग आग्रह गरेका छन् ।

अपहरणपछि कुनै सम्पर्क नभएको पनि परिवारजनले बताएका छन् ।

तीन सातायता सप्तरीमा तीन बालकसहित पाँचको अपहरण भएको छ । अपहरितमध्ये अधिकांश मोटो रकम फिरौती तिरेर मुक्त भएका थिए । एकजनालाई भने परिवारको सहयोगमा प्रहरीले मुक्त गराएको थियो ।

0 comments: