अचेल सबैका मुखमा एउटै थेगो छ- 'देश अनिर्णयको बन्दी भयो !' तर कसैले भन्दैनन्- उनीहरूले कुन, कस्तो र कसका लागि निर्णय खोजेका हुन् ? जनताले जिताएका सभासदले छानेको कुनचाहिँ सरकारले देशका लागि के निर्णय गरेको छ ? कुन माइकालाल प्रधानमन्त्री हुँदा हर्कबहादुरहरूको चुलो बालिदिएको छ ? कुन अधिकारसम्पन्न सरकार प्रमुखले कान्छीमायाहरूको नाङ्गो छोपिदिएको छ ? कुनचाहिँ बहुमतवालाले देश सोचेको छ ? अनि किन चिन्ता लिनु अनिर्णयको ?
यिनीहरू त धोकेबाज हुन् । अनेक नाटकमा देशको सम्पत्ति रित्याउन पुगेका हन्तकालेहरू हुन् । सबैको चुरीफुरी आफ्नो पेट भर्न हो । टाउको दुखाइ सकेसम्म धेरै कुम्ल्याउन हो । देखावटी पीर र चिन्ता भुँडी भर्न हो । देशलाई अनिर्णयको बन्दीबाट निर्णयको मुक्ति दिलाउने जुक्तिका लागि कहाँ हो र !
पार्टीले सभासद्बाट निकालिदिन्छ भन्ने हल्ला सुन्दा मालेकी शारदा नेपालीले आत्महत्या प्रयास गरिन् । हस्ताक्षरसम्म गर्न नसक्ने उनलाई राज्यले महिनाको करिब ६० हजार रुपैयाँ दिन्छ । त्यो टुट्नु भनेको उनका लागि प्राणै गएबराबर हो । छ सय एकको पल्टनमा उनीजस्ता धेरै छन् । समयमा संविधान बनेर अलि पहिल्यै 'जागिर' गएको थियो भने उनीहरूको हालत के हुन्थ्यो ? अनि समयमा संविधान बनाएर आफू जागिरमुक्त हुन कसले चाहला ?
हरेक शनिबार प्रायः टोलटोलमा खसी काटिन्छन् । कानदेखि आन्द्रासम्म मिसाएर गाउँलेले भाग लगाउँछन् । नरमकरम मिलाएर बाँडीचुँडी खान्छन् । देश त्यस्तै 'शनिबारीय खसी' भइरहेको छ अनि संविधानसभा त्यसरी नै बाँडीचुँडी लुछ्ने टोल । कहिलेकाहीँ हुने झगडा कसैले अलि बढी फल मासु लियो भन्ने विषयमा मात्र हो । कसैलाई एक टुक्रो हड्डी कम भयो भने पनि आन्दोलनमा उत्रन्छ । सबैलाई बराबर परुन्जेल कसैले टाउकै दुखाउँदैन । उनीहरूको भोज र मोज टुलुटुलु हेरिरहेका जनतालाई कामचलाउ हुँदा वा नहुँदामा के फरक ? कागलाई बेल पाक्यो हर्ष न बिस्मत् !
नेताहरूको पाराले देशै कामचलाउ भइसक्यो, प्रधानमन्त्रीको के कुरा ! बरु यो बेला सबै दल प्रधानमन्त्रीको लडाइँमा लागेकाले सडक शान्त छ । न कतै आन्दोलन छ, न कतै बन्द । नेपालले खोजेको यस्तै शासन व्यवस्था हो । सरकारबाट कसैलाई कुनै आस छैन । डाडुपन्यु हातमा हुनेहरूको लठिभद्र ताल देख्दा जनता अब विकास चाहँदैनन्, भएको विकासको विनाश नहोस् भन्ने कामना गर्छन् । जब यो सरकार कामचलाउ भयो, आन्दोलनको मुख देख्नुपरेको छैन । जनताले चाहेको यही हो । त्यसैले भन्नैपर्छ- बरु कामचलाउ ठीक छ ।
अधिकारसम्पन्न सरकारले पनि यहाँ केही गरेर देखाएको छैन । जनताको कर क्वाप्लाक्क खान किन चाहियो लाइसेन्सवाला सरकार ? अवसरहरूमा आफ्ना मान्छे भर्ना गर्न किन चाहियो शपथ खाएकै सरकार ? कामचलाउलाई पनि त्यस्ता काम गर्न कहाँ रोकिएको छ ? के गर्न पाएन यो सरकारले ? कहाँ बाधा पुग्यो कामचलाउ हुँदैमा ?
कसले भन्यो, यहाँ जनताको शासन छ ? यहाँ त सिंहदरबारभरि लामखुट्टे, उडुस र उपियाँ सल्बलाइरहेका छन् । उनीहरूले रगत चुस्दाचुस्दा देशैलाई संक्रमित बनाइसकेका छन् । अझै लाज नमानी नाथे कुर्सीका लागि झगडा गरिरहेका छन् । कुर्सीमा बसे पनि, सोफामा ढल्के पनि वा पलङमा पल्टे पनि रगत चुस्न बानी परेकालाई के फरक पर्यो र ! जुन ओहदामा बसे पनि भुँडी पुन्टुक्क पार्न पाइन्छ भने किन चाहियो त्यो आरामदायी कुर्सी नै !
तिमीहरू साँच्चै देशका लागि चिन्तित छौ भने सहमतीय सरकार बनाएर समयमा संविधान बनाइसक । संविधान र शान्ति प्रक्रिया टुंगोमा पुग्न नसक्ने खन्चुवा सरकार निर्माण गर्न किन गरिरहन्छौ रातोदिन रडाको ? तर अहँ नेताहरू देशको चिन्ताभन्दा पदका भोका छन् ।
उही समीकरणमा नेतृत्व मात्र फेर्ने अनि छरछिमेकीलाई खुसी पार्ने नाटक गर्नु थियो भने नेपालले राजीनामा नगरेकै भए के हुन्थ्यो । गरे, ठीकै छ । अब काम चलाउन उनैलाई राखिरहँदा के बिगि्रयो ? अहिले उम्मेदवार बनेका दुईमध्ये एकजना तीन सय एकको समर्थनमा प्रधानमन्त्री भए भने नेपालभन्दा कसरी उत्तम हुन्छन् ? अझ माओवादी प्रतिपक्षमै राखियो भने कसरी संविधान बन्छ र शान्ति प्रक्रिया टुंगोमा पुग्छ ? कति पंगु बनाउँछौ जनतालाई, कति हेप्छौ आफ्ना मतदातालाई ?
माधवकुमार नेपाल त्यसै पनि ढंगमान् छन् । राजीनामा दिएर पनि उनी सत्ता टिकाइरहेका छन् । यो उनको खुबी हो । उनले गिनिज बुकमा नाम लेख्न लायक दुइटा कीर्तिमान बनाएका थिए । अब तीनटा पुर्याए । १. दुई ठाउँबाट हारेर पनि प्रधानमन्त्री हुन सफल २. नौ महिनाभन्दा बढी प्रधानमन्त्री हुने नेपाली कम्युनिस्ट र, ३. सबैभन्दा लामो समय कामचलाउ तर तेस्रो कीर्तिमान शाहीकालमा सूर्यबहादुरले पाएको अवसरभन्दा केही बढी मात्र हुँदै छ । झीनो फरकको कीर्तिमान जहिल्यै तोडिन सक्छ । त्यसैले 'दुःखले आज्र्याको' उनको कीर्तिमानलाई मजबुत हुन दिन महिनौं कामचलाउ राख्नुपर्छ । त्यो देशको गौरव हो । विश्वमा धेरैखाले कीर्तिमान बनाएर अर्को कीर्तिमान राख्नसके हाम्रो देशको इज्जत ्रबढ्नेछ । त्यसैले भनौं- 'कामचलाउ सरकार जिन्दावाद !'
akhanda@kantipur.com.np
Sunday, August 1, 2010
कामचलाउ जिन्दावाद : अखण्ड भण्डारी
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment