प्रकाश लम्साल
ब्यानरमा प्रस्ट लेखिएको छ- 'श्री ५ युवराजाधिराज सरकार ।’ यही मञ्चमा बसेर पारसले पञ्चायतकालमै स्थापना भएको विद्यालय उद्घाटन गरे ।
नयाँ पत्रिका, बारा, १५ साउन
पूर्वयुवराज पारसले 'श्री ५ युवराजाधिराज'को हैसियतमा २२ वर्ष पुरानो विद्यालय उद्घाटन गरेका छन् । पञ्चायतकालमै स्थापना भएको विद्यालयको उद्घाटन गर्न पारस बारा पुगेको वेला समर्थकहरूले राजा आऊ देश बचाऊ भन्ने नारा पनि लगाए ।
बाराको प्रस्टोका गाविसस्थित श्री नेपाल राष्ट्रिय निम्नमाध्यमिक विद्यालय भवनको उद्घाटन गर्न पारस शनिबार २ बजे हेलिकोप्टरबाट प्रस्टोका पुग्दा राजावादीको नेतृत्वमा उनको जयकार भएको थियो । उनी हेलिकोप्टर अवतरण गर्नासाथ 'राजा आऊ देश बचाऊ' भन्दै नारा घन्काइएको थियो ।
हातमा पारस र हिमानीका फोटोअंकित प्लेकार्ड, ब्यानर बोकेका विद्यार्थी र अभिभावकले पारस र राजपरिवारको जयजय गाएका थिए । 'श्री ५ युवराजाधिराज पारसकी जय' अंकित टिसर्ट लगाएका राजावादीले विद्यार्थी तथा अभिभावकको नेतृत्व गरेका थिए ।
टिसर्ट र झन्डामा मात्र होइन, मञ्चमा लगाइएका दुईवटा ब्यानरमा पनि पारसलाई 'श्री ५ युवराजाधिराज' भनेर सम्बोधन गरिएको थियो । सँगै राखिएको नेपालको झन्डामा पनि चन्द्रको ठाउँमा पारस र सूर्यको ठाउँमा हिमानीको फोटो छापिएको थियो ।
पूर्वराजा ज्ञानेन्द्रले पछिल्लो तीन महिनामा तीन जिल्लाको सयर गरेका छन् । उनले जनकपुर, नेपालगन्ज, बारा र काभ्रेका मन्दिरको दर्शन गर्दैर् आफ्ना समर्थकलाई 'दर्शन' दिएका छन् । यही मेसोमा पूर्वयुवराज पारसले पनि पुरानै भए पनि विद्यालय उद्घाटन गरेर 'राजभक्तहरू'लाई 'दर्शन' दिएका छन् ।
पारसले नेपाल राष्ट्रिय निम्नमाध्यमिक विद्यालयको भवनको शनिबार दिउँसो रिबन काटेर उद्घाटन गरे । विद्यालय व्यवस्थापन समितिको अनुरोधमा उनी हलिकोप्टरबाट २ बजे प्रस्टोका पुगेका थिए । करिब एक घन्टापछि उनी काठमाडांै फर्किएका छन् ।
०४५ सालमा स्थापना भएको विद्यालय भवनको केही भाग अघिल्लो वर्ष मात्र थपिएको थियो । नयाँ भाग थपिएको भन्दै व्यवस्थापन समितिले पारसबाट उद्घाटन गराएको हो । पारसले उद्घाटन गर्ने पक्का भएपछि विद्यालय व्यवस्थापन समितिले गत साता मात्रै सो भवन रंग्याएको थियो ।
भवन पूरा भएपछि पूर्वयुवराजलाई बोलाएर उद्घाटन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणजी साहले बताए । 'विद्यालयका अभिभावक र स्थानीय बासिन्दाको अनुरोधमा पूर्वयुवराजबाट विद्यालय भवनको उद्घाटन गराइएको हो,' साहले भने ।
विद्यालयमा थप कक्षाकोठा र कम्पाउन्ड बनाउन सहयोग पाइने आशामा पनि पूर्वयुवराजबाट उद्घाटन गराइएको विद्यालयका प्रधानाध्यापक सम्पत साहले बताए । 'आगामी वर्षदेखि उच्च माध्यमिक कक्षा सञ्चालनमा ल्याउने तयारी छ, उहाँ (पारस) बाट पनि सहयोग हुने आशामा छौँ,' प्रधानाध्यापक साहले भने ।
विद्यालय भवन उद्घाटनपछि पूर्वयुवराजले विद्यालय भवनको निरीक्षण र कार्यालय कोठामा बसेर व्यवस्थापन समितिका पदाधिकारी एवं शिक्षक, कर्मचारीहरूसँग छलफलसमेत गरेका थिए । भेटघाटमा स्थानीय बासिन्दा र सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको थियो ।
छलफलको क्रममा विद्यालयको थप भवन निर्माण गर्नेबारेमा कुराकानी भएको विद्यालयका एक शिक्षकले बताए । 'यतिउति भन्ने ठेगान छैन, तर युवराज (पारस)ले यथाशक्य सहयोग गर्ने वाचा गर्नुभएको छ,' उनले भने ।
पारसले विद्यालय परिसरमा रहेको रामजानकी, हनुमान, शंकर र जिनाद बाबाको मन्दिरसमेत दर्शन गरी पूजाआजा पनि गरे ।
कार्यक्रमस्थलमा राष्ट्रिय सरोकार मञ्च नेपाल, मुस्कान सेना नेपाल, शिवसेना र अन्य राजावादी संघ/संगठनका कार्यकर्ताको उपस्थिति थियो । कार्यक्रम सफल पार्न तीन सयभन्दा बढी स्वमंसेवक परिचालन गरिएको मञ्चका बारा जिल्ला सदस्य धर्मेन्द्रप्रसाद साहले बताए ।
स्वयंसेवकहरूले पारसको फोटोसहित 'श्री ५ युवराज पारस वीरविक्रम शाहदेव जिन्दावाद' लेखिएको टिसर्ट लगाएका थिए । कार्यक्रमस्थल वरपर सशस्त्र र जनपथका पाँच सयभन्दा बढी प्रहरी परिचालन गरिएको थियो ।




0 comments:
Post a Comment