काठमाडौं, श्रावण १७ - एमालेले तटस्थ बस्ने निर्णय गरेको र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा माओवादीलाई समर्थन गर्ने/नगर्ने टुंगोमा नपुगेकाले सोमबार हुने तेस्रो चरणमा पनि प्रधानमन्त्री चयन हुने सम्भावना कम छ । प्रधानमन्त्री चयनका लागि संसद्मा सोमबार तेस्रो पटक मतदान हुँदैछ । प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएको एक महिना पूरा भइसकेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेसी मोर्चाले मात्र सघाए पनि बहुमत पुर्याउने छन् भने एमाले तटस्थ बस्ने भएकाले कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले मधेसी मोर्चाको समर्थन पाए पनि बहुमत पुग्दैन । माओवादीलाई ६३ मत र कांग्रेसलाई १ सय ८७ मत आवश्यक पर्छ ।
मोर्चाभित्र माओवादीलाई समर्थन गर्ने/नगर्ने विवाद छ । यो अवस्थामा मोर्चाले साझा निर्णय नगरे र विभाजन आएमा मधेसी जनअधिकार फोरम र साना दलको समर्थन जुटाएर बहुमत पुर्याउने कसरतलाई माओवादीले अन्तिम समयसम्म प्रयास गर्नेछ ।
मोर्चाले माओवादीसँग आठवटा 'बटम-लाइन' निर्धारण गर्दै त्यसबारे सोमबार बिहान छलफल गर्नेछ । मोर्चाका अनुसार उक्त छलफलमा दुवै फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीका अध्यक्ष मात्र रहनेछन् ।
छलफलको निक्र्योलसहित मोर्चाको पुनः बस्ने बैठकले प्रधानमन्त्रीको चुनावमा मतदान गर्ने वा तटस्थ बस्ने निर्णय गर्नेछ । मोर्चाको आइतबार दुईपल्ट बैठक बसेको थियो । पहिलोमा माओवादी जबाफ र दोस्रोमा कांग्रेसबारे छलफल भए पनि मोर्चा कुनै निष्कर्षमा पुग्न नसकी अनिर्णित रह्यो ।
'मोर्चाले साझा निर्णय गर्न सकेन भने एउटा हिस्साले हामीलाई समर्थन गर्नेछ,' माओवादीका एक नेताले भने, 'मधेसी मोर्चाको एउटा हिस्सा र साना दल समर्थनमा हामी बहुमत पुर्याउन सक्छौं ।' फोरमभित्र पनि अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष जयप्रकाश गुप्ताबीच पनि माओवादीलाई समर्थन गर्ने/नगर्ने विषयमा एकमत छैन ।
'प्रधानमन्त्री निर्वाचनबारे केही भन्ने अवस्था छैन,' उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कान्तिपुरसँग भने, 'मधेसी मोर्चाले गर्ने निर्णयमा भर पर्छ ।' मधेस मुद्दाका आधारमा मोर्चाले माओवादीबाहेक अरूलाई समर्थन गर्न नसक्ने तर्क उनको छ । 'मुद्दाको आधारमा हामीलाई समर्थन गर्न नपर्ने कारण देख्दैनौं,' उनले भने, 'हामीलाई समर्थन नभए अरू नै कारण हुन सक्छ ।' उनले भारततिर संकेत गरे ।
यसअघि साउन ५ र ७ मा भएको मतदानमा दाहाल र पौडेल दुवै पटक बहुमत जुटाउन असफल भएका थिए । कुनै एक उम्मेदवारले बहुमत प्राप्त नगरेसम्म मतदानको प्रक्रिया दोहोरिँदै जाने संसद् नियमावलीको व्यवस्थाअनुसार सोमबार तेस्रो पटक पनि दाहाल र पौडेलबीच प्रतिस्पर्धा हुन लागेको हो ।
एमाले अध्यक्ष झलनाथ खनालले दाहाल र पौडेल दुवैलाई आ-आफ्नो उम्मेदवारी फिर्ता लिएर राष्ट्रिय सहमतिको सरकार गठनको वातावरण बनाउन आग्रह गर्दैआएका छन् ।
संसद् सचिवालय स्रोतका अनुसार प्रधानमन्त्रीका दुवै उम्मेदवार नयाँ प्रक्रियाका लागि तयार छैनन् । माओवादी अध्यक्ष दाहालले शनिबार सभामुख सुवास नेम्वाङसँग भेटी निर्वाचन र निकासबारे छलफल गरेका थिए ।
माओवादी एक नेताका अनुसार दाहाल संसद् नियमावली संशोधन गर्ने पक्षमा छैनन् । त्यसो गर्दा माओवादीको सरकार बन्ने सम्भावना झन् क्षीण हुने उनको विश्लेषण छ । उपाध्यक्ष बाबुराम भट्टराईले पनि नियमावली संशोधन गरेर भए पनि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने धारणा सार्वजनिक गरिसकेका छन् ।
नियमावलीको व्यवस्थाअनुसार सोमबार कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा सभामुखले अर्को निर्वाचनका लागि बैठकको तिथि तोक्नु पर्छ । सोमबार दिउँसो बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले त्यससम्बन्धी निर्णय गर्नेछ । 'सोमबारको मतदान पनि दलहरू आ-आफ्नो निर्णयमा पुनर्विचार गर्न सक्छन्,' संसद् सचिवालयका एक वरिष्ठ अधिकारीले भने ।
एमाले सभासद तथा अधिवक्ता अग्नि खरेल भने अहिलेको गतिरोधको निकास सहमतिबाट निकाल्न सकिने बताउँछन् । 'राजनीतिक सहमति भएमा मतदानको प्रक्रिया सुरु हुनुअगावै दुवै उम्मेदवारले समय माग गरी आफ्नो उम्मेदवारी फिर्ता लिन सक्छन्,' उनले कान्तिपुरसँग भने, त्यसपछि नयाँ प्रक्रिया सुरु हुन्छ ।' नयाँ प्रक्रियामा हुने सहमतिसँगै शान्ति र संविधानको मुद्दामा सहमति बन्नुपर्ने उनी बताउँछन् । (
कान्तिपुर)
Sunday, August 1, 2010
प्रधानमन्त्रीका लागि तेस्रो निर्वाचन आज
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment