मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, August 2, 2010

के एमाले फुट्दै छ ? : प्रदीप नेपाल

जबजलाई अंगिकार मात्रै गरिदिएको भए पनि नेकपा एमालेले 'उभयलिंगी', 'अडान नभएको आलुपार्टी' जस्ता व्यंग्यात्मक अभिव्यक्तिहरूको तारो बन्नुपर्ने थिएन

यो प्रश्न हो नेकपा एमालेका इमानदार कार्यकर्ताहरूको, एमालेका शुभेच्छुकहरूको । यो प्रश्न हो सूर्य चिह्नमा मतदान गर्ने लाखौँ मतदाताको ।

यो कठिन घडीमा किन एमाले फुट्ने कुरो उठ्यो ? किनभने एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालको बहुमतको सरकार ढाल्ने काममा सबैभन्दा ठूलो भूमिका नेकपा एमालेकै वरिष्ठ नेताहरूले निर्बाह गरे । माओवादी अध्यक्ष प्रचण्डको लोलीमा बोली मिलाउँदै नेकपा एमालेका एक जना उपाध्यक्ष वामदेव गौतमले माधव नेपालको सरकारलाई इतिहासको सबैभन्दा निकम्मा सरकार भएको र त्यसलाई तुरुन्त ढाल्नुपर्ने भाकाका भाषणहरू ठोक्दै हिँडे । तिनले पार्टीको बैठकमा पेस गरेका प्रतिवेदनहरूमा माओवादीकै भाकामा सरकारको विरोध गरे । पछिल्लो कालमा त तिनले ०६७ साल जेठ १४ गतेसम्म माधव नेपालले राजीनामा नदिए पार्टीबाट विद्रोह गर्ने, एउटा नयाँ मञ्च बनाउने र सरकारको विरोध गर्ने हौवा नै फैलाए । वामदेव गौतमसँगको गुटबन्दीमा लागेकाहरूले त्यसलाई टेलिफोन, इमेल र एसएमएसमार्फत आफ्नै साथीभाईलाई तर्साउने काम गरे । वामदेव गौतमको सरकारविरुद्धको अभियान यति सर्वव्यापि भयो कि नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगसमेतले गौतमलाई आत्मालोचना गरेर आफूलाई सुधार्ने निर्देशन दियो ।

वामदेव गौतमले एक पल्ट पार्टी फुटाइसकेको र फुटेर गएका तीन चौथाइ सदस्य माओवादी पार्टीतिर सप्लाई गरेको राजनीतिमा चासो राख्ने जोकोहीले पनि जानकारी पाएकै विषय हो । त्यसैले वामदेव गौतमका कारण एमाले फुट्छ कि भन्ने चिन्ता पार्टीव्यापि भएको हो ।

अलिअलि गल्ती अहिलेका अध्यक्ष झलनाथ खनालबाट पनि भएको छ । यद्यपि एमालेमा मन्त्रीको जागिर खान कमिटी बैठक गरेरै पठाउने तर मन्त्री भैसकेपछि आफूले योग्य र क्षमतावान् ठानेर पठाएको मन्त्रीको धतुरो झार्ने परम्परा निकै पहिलेदेखि नै बसेको हो । तर, पार्टीको अध्यक्ष भैसकेपछि, झलनाथ खनालले, आफैँले प्रस्ताव गरेको माधव नेपालको प्रधानमन्त्रीत्वलाई चुनौती दिन मिल्दैनथ्यो । अध्यक्ष खनालले नेकपा एमालेको सरकारलाई आफ्नै सौताको सन्तानका रूपमा हेरेको र व्यवहार गरेको सबैले थाहा पाएकै विषय हो । अध्यक्ष खनालको यही व्यवहारको स्मरण गरेर माधव नेपालले झलनाथ खनाललाई बहुमतीय सरकारको प्रधानमन्त्री हुन नदिएका हुन् भनेर धेरैले टिप्पणी गरेका हुन् । यद्यपि बहुमतीय प्रणालीमा जानुहँुदैन र संविधान निर्माणका लागि कम्तिमा पनि संविधानसभाको दुईतिहाइ अर्थात ४०१ को बहुमत चाहिन्छ भन्ने स्वीकारोक्ति सबैभन्दा पहिले अध्यक्ष खनालबाटै आएको हो । ४०१ को प्रस्ताव पारित भैरहँदा माधव नेपाल बैठकबाट बाहिर निस्किएका थिए भने के.पी. ओली पक्षधरहरू प्रदीप नेपालले गल्ती गर्‍यो भन्दै दिक्दारी पोख्दै थिए ।

झलनाथ खनाल त पार्टी फुटाउने हिम्मत गर्नै सक्दैनन् एमालेभित्र । वामदेव गौतमले पनि ०५४ सालमा पार्टी फुटाएर खेपेको सास्ती अहिले नै बिर्सिए होलान् भन्ने निष्कर्ष निकालिहाल्न अहिले सकिँदैन । त्यसैले अहिले एमाले फुट्दैन ।

त्यसोभए नेकपा एमालेभित्र यस्तो कच्याङकुचुङ किन ?

सामान्यीकरण गरेर भन्दा सबै पार्टीभित्रै यस्तै कच्याङकुचुङ हुन्छ भनिदिँदा पनि हुन्छ । तर, त्यसो गरेर एमालेको समस्यालाई खुलस्त ढंगले बाहिर निकाल्न सकिँदैन । गुटबन्दी कुन पार्टीमा हुँदैन र भनेर एमालेका कार्यकर्तालाई सम्झाउँदा पनि एमालेको हितचाहिँ हुँदैन । सबै पार्टीहरू यही समाजका उपज हुन्, र समाजमा हुने राम्रानराम्रा विचारहरूको शिकार पार्टीले पनि हुनुपर्छ भनेर उम्किन पनि मिल्दैन । फोहोरलाई कालो प्लास्टिकले छोपेर फोहोरबाट बच्नुपर्छ भन्ने टिप्पणीकारको मान्यता नभएको हुनाले एमालेका समस्यालाई छर्लंग पारिदिनु लेखकीय इमान हुन्छ । हिम्मत हुँदा एकीकृत माओवादीभित्रका सैद्धान्तिक एवम् राजनीतिक विचलन र विवादहरू, कांग्रेसभित्रको गुटबन्दीका बारेमा स्वतन्त्र ढंगले तत्तत् पार्टीनजिक रहेकाहरूले लेखिदिए भने नागरिक पनि प्रस्ट हुन्थे ।

एमालेका ठूला नेताहरूको सबैभन्दा गम्भीर समस्या भनेको राजनीतिक विचलन हो । जनताको बहुदलीय जनवाद -जबज) लाई नेकपा एमालेको आठौँ राष्ट्रिय महाधिवेशनले पार्टीको मार्गदर्शक सिद्धान्त बनायो । नेपालको कम्युनिस्ट आन्दोलनमा यो असाध्यै ठूलो छलाङ थियो । जबजले अंगिकार गरेका मूल्य र मान्यतालाई आत्मसात गरेको भए ०६५ सालको फागुनदेखि नै नेकपा एमाले एउटा प्रभावशाली, स्वतन्त्र, स्वाभिमानी जनताको प्रतिनिधि पार्टीका रूपमा अघि बढ्न थाल्नेथियो । तर, एमालेका वरिष्ठ नेताहरूका लागि जबज हात्तीको बंगारो या बौद्धिक विलासमात्र हुन पुग्यो । जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मानिसकेपछि एमालेले अर्को पार्टीको नेतृत्वको सरकारमा सामेल हुनै हुँदैनथ्यो । निर्वाचनमा पराजित भैसकेपछि मन्त्री या प्रधानमन्त्री हुने कुरामा आशक्ति देखाउनै हुँदैनथ्यो । सबैसँग प्रतिस्पर्धा र प्रतिपस्र्धाबाट अग्रता भन्ने मान्यता बोक्ने जबजलाई अंगिकार मात्रै गरिदिएको भए पनि नेकपा एमालेले 'उभयलिंगी', 'अडान नभएको आलुपार्टी' जस्ता व्यंग्यात्मक अभिव्यक्तिहरूको तारो बन्नुपर्ने थिएन ।

नेकपा एमालेका नेताहरूले अहिले पनि, अर्थात पछिल्लो पटकको प्रधानमन्त्रीको खेलमा आइपुग्दासम्म पनि जनताको बहुदलीय जनवादलाई आफ्नो व्यवहारमा लागू गर्न सकिरहेका छैनन् । 'राष्ट्रिय जिम्मेवारी, 'दायित्व बहन' जस्ता बेकामे शब्दहरू प्रयोग गरेर कार्यकर्ता र जनतालाई ढाँटिरहुन्जेल एमालेका वरिष्ठ नेताहरूले जबजलाई आफ्नो व्यवहारमा मार्गदर्शक सिद्धान्त बनाउन सक्ने कुनै सम्भावना देखिँदैन । नेकपा एमाले अहिलेको राजनीतिमा तेस्रो ठूलो पार्टी हो । त्यसै अर्थमा मुलुकको दायित्वको भारी पनि तेस्रै नम्बरमा लिनु एमालेको नैतिक कर्तव्य हुन्छ । राजनीतिक इमानलाई बोकेर भन्नुपर्दा मुलुकलाई अहिलेको सङ्कटबाट बाहिर निकाल्ने पहिलो दायित्व भनेको माओवादी पार्टीको हो, र सङ्कटको स्रोत पनि त्यही पार्टी हो । दोस्रो दायित्व भनेको कांग्रेस पार्टीको हो । यी दुई पार्टीले हामीले केही गर्न सकेनौँ भनेर गुहार मागे भने मात्रै तेस्रो पार्टीको हैसियतमा नेकपा एमालेले दायित्व स्वीकार गर्ने हो ।

एमालेको दोस्रो तर अत्यन्तै गम्भीर समस्या भनेको गुटबन्दी हो । गुटबन्दी आधारभूत रूपमा दासत्व हो । एकाध जमिन्दार र पाँचदस कमैया बनाउने काम हो पार्टीभित्रको गुटबन्दी । तर, केही नेता तथा कार्यकर्ताहरू यो जमिन्दारी र कमैयाको सामन्ती चेतनालाई सहर्ष स्वीकार गरेर गुटबन्दी गरिरहेका छन् । राजनीति र विचारलाई सकार्नेहरू न जमिन्दार बन्न तयार हुन्छन्, न त दास नै । तर, आफूप्रति विश्वास नभएकाहरू, सिद्धान्तप्रति विश्वास नभएकाहरू, स्वार्थी र लोभीहरू स्वविवेकलाई मारेर मालिक तथा दासको मनोविज्ञानमा उभिएर कर्म गर्न थाल्छन् । नेकपा एमालेभित्रको गुटबन्दी जसरी प्रो-माओवादी र प्रो-कांग्रेस भएर विभाजित भएको छ, त्यो साह्रै घीनलाग्दो, लज्जाजनक र नालायकीको उदाहरण हो ।

यो तीतो टिप्पणी लेख्दा मैले धरानको मञ्चमा भाषण गरिरहेका कार्यकर्ताहरूको अनुहार सम्भिmइरहेको छु । पोखराको गोष्ठीमा चियाब्रेक हुँदा चिन्ताको अनुहार उघारेर पिरोलिने कार्यकर्ता र शुभेच्छुकहरूको अनुहार देखिरहेको छु । हाम्रा नेताहरू सिंहदरबारको केन्द्रमा नाचगान गरिरहेका छन्, तर तल्लै तहसम्मको पार्टी निरास, उदास, हतास छ । यो निरासा, उदासी र हतासाले तिनीहरूलाई अकर्मण्य, उद्विग्न र चेतनाहीन बनाउँदै लगेको छ ।

जथाभावी प्रधानमन्त्री र मन्त्री हुने लोभबाट ठूला, साना सबै नेताहरू मुक्त नहुने हो भने नेकपा एमाले पनि नेकपा माओवादी, कांग्रेस, सबै मधेसवादी दल, यहाँसम्म कि कमल थापाको राप्रपा नेपालभन्दा भिन्न हैसियतको हुन सक्दैन । सम्भिmयून् एमालेका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव हुने नेताहरूले 'मदन भण्डारी न त राजा थिए, न मन्त्री, तर बाँचुन्जेल उनले नै नेपालको राजनीतिमा राज गरिरहे' भन्ने दुनियाँको टिप्पणी । सम्भिmयून् एमालेका स्थायी कमिटीका सदस्यहरूले कुनै शीर्ष पदमा नरहेर पनि नेपालको सर्वेक्षणमा मदन भण्डारी नै 'नेपाली राजनीतिका शीर्षपुरुष' चुनिएका थिए । (nayapatrika)

0 comments: