मुख्य दल अझै आन्तरिक विवादमा
माधव ढुङ्गेल, काठमाडौं, असार ३१- बहुमतीय प्रधानमन्त्रीको निर्वाचन नजिकिए पनि प्रमुख दलले बुधबारसम्म प्रधानमन्त्रीको उम्मेदवार तय गर्न सकेका छैनन्। नेतृत्व दाबी गर्दै आएका तर सहमतीय प्रधानमन्त्रीमा समझदारी बनाउन चुकेका एकीकृत माओवादी, कांग्रेस, एमाले र ‘मधेसवादी' दलमा अहिले प्रधानमन्त्री को बन्ने भन्ने आन्तरिक विवाद चर्केको छ।
विवादकै कारण दलहरू अनिर्णयको बन्दी छन्।
सभामुख सुवासचन्द्र नेम्वाङले बहुमतीय प्रणालीका आधारमा प्रधानमन्त्रीको निर्वाचन यही साउन ५ गते तोकेका छन्। त्यसका लागि ४ गते नै उम्मेद्वारी दर्ता गर्नुपर्नेछ।
भावी सरकारको नेतृत्वबारे छलफल गर्न बुधबार दिउँसो बस्ने गरी बिहान तय भएको तीन दलका शीर्षनेताको बैठक पनि बस्न सकेन। संविधानसभा भवन, नयाँ बानेश्वरमा सभामुख नेम्वाङले बुधबार बिहान बोलाएको अनौपचारिक बैठकमा तीन दलबीच दिउँसो बैठक बस्ने सहमति भएको थियो।
प्रधानमन्त्री माधवकुमार नेपाल सरकार कामचलाउ भएको १५ दिन भइसकेको छ। राष्ट्रपतिले सहमतीय सरकार निर्माणका लागि दिएको १२ दिनको समय पनि तीन दिन बितेको छ। प्रधानमन्त्रीको चुनाव हुँदासम्म पनि सर्वसम्मत प्रधानमन्त्री चुन्न प्रयत्न गर्ने निर्णय गरेका मुख्य तीन दलले सहमतिको साझा आधारबारे भने कुनै छलफल गरेका छैनन्।
माओवादीले अध्यक्ष पुष्पकमल दाहाल नै भावी प्रधानमन्त्रीको उम्मेदवार भनी पटक-पटक निर्णय गरे पनि त्यो आन्तरिक विवादमुक्त छैन भने एमाले-कांग्रेस, मधेसवादी र अरू केही साना दल पनि माओवादी प्रधानमन्त्री स्वीकार्न तयार छैनन्। ‘पार्टीले विकल्प दिए पनि माओवादी नेतृत्वको सरकारमा अरू दल नजाने भएकाले अरू नेतालाई प्रधानमन्त्रीको उम्मेद्वार तोक्नुको अर्थ छैन,' माओवादीका एक स्थायी समिति सदस्यले बताए।
माओवादीको केन्द्रीय सचिवसमेत रहेका मुख्य सचेतक पोष्टबहादुर बोगटीले अन्य दलको निर्णय हेरेर माओवादीले निर्णय गर्ने बताए। उनले भने, ‘अध्यक्ष नै प्रधानमन्त्री भन्ने पुरानो निर्णय कायमै छ, परिस्थितिको मूल्यांकन गरी सम्भव भएसम्म चुनावअघि स्थायी समितिले निर्णय गर्नेछ।'
कांग्रेसभित्र पनि प्रधानमन्त्री को हुने भन्ने विषयमा तीन धार देखिन्छ। केन्द्रीय समितिको बुधबारको बैठकले पनि यसबारे निर्णय गर्न सकेन।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले पार्टी केन्द्रीय समितिले अहिलेसम्म सरकारमा जाने कि नजाने भनेर निर्णयसमेत नगरेको जानकारी दिए। उनले भने, ‘बहुमतीय प्रणालीमा जाने भएपछि मुख्य दलले आफ्नो नेतृत्व वा अरुको नेतृत्वमा भए पनि सरकारमा जाने/नजाने भन्ने निर्णय गर्न ढिलो गर्नुहुँदैन।'
सरकारको नेतृत्व गरेर के गर्ने मुद्दा पनि प्रष्ट हुनुपर्ने बताउँदै उनले भने, ‘पारदर्शी ढंगले ठूला दलबीच कुरा नभएकाले अन्योल भएको हो।'
कांग्रेसमा संसदीय दलका नेता रामचन्द्र पौडेलको नेतृत्वमा सरकारमा जानुपर्छ भन्ने मत सबैभन्दा बलियो देखिन्छ। कार्यवाहक सभापति सुशील कोइराला पनि यसको पक्षमा छन्।
सरकारको नेतृत्व कांग्रेसले लिने र पार्टीको विधान अनुसार, संसदीय दलको नेता प्रधानमन्त्री बन्ने केन्द्रीय सदस्य शेखर कोइरालाले नागरिकलाई बताए। उनले भने, ‘संसदीय दलको नेता प्रधानमन्त्री बन्ने संसदीय परिपाटी पनि हो, हुँदैन भन्नेले व्यवस्था पनि मान्दिनँ भन्न सक्नुपर्छ।'
पार्टीबाहिर भने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा समर्थन बढ्दै गएको छ। आफ्नो पक्षमा समर्थन नजुटे माओवादी पनि देउवाको पक्षमा हुने अनुमान गरिँदै छ भने एमालेभित्रको माधव नेपाल पक्ष पनि देउवालाई प्रधानमन्त्री बनाउन सकारात्मक रहेको सो पक्षको दाबी छ।
कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले बहुमतीय आधारमा बनेको सरकारले शान्तिप्रक्रिया टुंगोमा पुर्याउन नसक्ने बताए। उनले भने, ‘सकेसम्म सहमति गरी निर्विरोध प्रधानमन्त्री चयन गर्नुपर्छ, त्यो नसके पनि दुईतिहाइ सभासद्को समर्थनको सरकार बनाउन पहल गर्नुपर्छ।'
सरकारको नेतृत्वबारे केन्द्रीय कमिटीले निर्णय गर्ने एमाले प्रचारविभाग प्रमुख प्रदीप ज्ञवालीले बताए। ‘चालु केन्द्रीय कमिटीले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने र एमाले त्यसैमा केन्द्रित हुने निर्णय गरेको थियो, राष्ट्रिय सहमति नभए के गर्ने भन्ने निर्णय गर्न पुनः बैठक बस्नुपर्छ,' ज्ञवालीले नागरिकसँग भने।
बहुमतीयमा गइसकेकाले एमाले केन्द्रीय कमिटीले कम खराब विकल्प रोज्ने ज्ञवालीले बताए। उनले भने, ‘आफ्नै नेतृत्वको सरकार हटाएर अर्को बहुमतीय सरकारमा जानु कति ठीक हुन्छ, केन्द्रीय समितिले निर्णय गर्छ।'
गणितीय हिसाबले दुईतिहाइभन्दा बढीको समर्थनमा माओवादी अध्यक्षको नेतृत्वमा सरकार बने पनि कांग्रेस बाहिर रहेकाले शान्ति र संविधानको काम अघि नबढेको उदाहरण दिँदै ज्ञवालीले भने, ‘माओवादी, कांग्रेस, एमाले र मधेसी दललाई समेट्न सक्नुपर्छ।'
एमालेको २ वा ३ गते केन्द्रीय समितिको बैठक बसेर भावी सरकारको नेतृत्वबारे निर्णय गर्नेछ। यसअघि असार २३ गते बसेको बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाल र अध्यक्ष झलनाथ खनालबीच चर्काचर्की भएपछि स्थगित भएको थियो, जुन जारी छ।
एमाले मुख्य सचेतक भीम आचार्य भने एमालेले सहमतीय प्रणाली मन नपराउने बताए। ‘जसमा सहमति हुन्छ, उसैको पक्षमा उभिन्छौँ,' आचार्यले भने, ‘अध्यक्षको नेतृत्वमा राष्ट्रिय सरकारको पक्षमा एमाले उभिन्छ।'
माधवकुमार नेपालकै नेतृत्वमा पुनः सरकार बनाउनुपर्ने मत पनि एमालेभित्र छ। प्रधानमन्त्रीका लागि पार्टीको विवाद मिलाउन हम्मे-हम्मे परेको कांग्रेसको संस्थापन पक्ष पनि नेपालको पक्षमा भए पनि अहिले नै त्यो सतहमा आएको छैन।
फोरममा पाँच घण्टा छलफल
मधेसी दल पनि सरकार गठनमा क्रियाशील देखिएका छन्। मधेसी जनअधिकार फोरमका सहअध्यक्ष जयप्रकाश गुप्ताले बुधबार पार्टीका सभासद्हरूलाई संसदीय दलको कार्यालयमा भेला गरी करिब पाँच घन्टा अनौपचारिक छलफल गरेका छन्। यसमा पार्टी अध्यक्ष उपेन्द्र यादव भने उपस्थित थिएनन्। फोरम सचेतक अभिषेकप्रताप साहले उनी बिरामी भएकाले अनुपस्थित भएको बताए। अर्का सभासद् आत्मारामप्रसाद साहले भने ‘कार्टर सेन्टर' सँग भेट परेकाले आउन नसकेको बताए।
फोरम सहअध्यक्ष गुप्ता पनि माओवादी नेतृत्वको सरकार अस्वीकार गर्ने मत राख्दै आएका छन्। महन्थ ठाकुरको नाममा बहुमत जुटाउने पहल भएको पनि चर्चा छ। तमलोपा, फोरम र सद्भावना यसका सकारात्मक देखिए पनि फोरम लोकतान्त्रिकका अध्यक्ष रहेका उपप्रधानमन्त्री रहेका विजयकुमार गच्छदारले आफूलाई प्रधानमन्त्रीको दाबेदार घोषणा गरेका छन्। ठाकुरको पक्षमा माओवादीको ‘ग्रिन सिग्नल' रहेको पनि अनुमान सुरु भएको छ। (nagariknews)
Thursday, July 15, 2010
प्रधानमन्त्रीको खोजी जारी
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment