मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Tuesday, July 6, 2010

राजनीतिक निकासको बाधक को ?

-शारदाप्रसाद सुवेदी
मनमोहन अधिकारीको सरकारको विघटन र एमालेलाई सिध्याउन इतिहासमा अनेकौँ अपराध गरेको कांग्रेसले अहिले संविधान उल्लंघन गराउँदै एमालेलाई सरकारको नेतृत्व गर्न किन लगायो ?

देशमा अहिले गम्भीर राजनीतिक संकट देखापरेको छ । वामपन्थी पार्टीहरू विभाजित छन् । दक्षिणपन्थीहरूको सहयोगमा नेकपा (एमाले) ले सरकारको नेतृत्व गरिआएको छ । प्रधानमन्त्रीले राजीनामा गरिसकेको भए पनि सहज रूपमा राष्ट्रिय सहमति भने बन्ने लक्षण देखिँदैन । राष्ट्रिय सहमति नबन्दासम्म संविधान बन्न सक्दैन । त्यसका लागि सबैभन्दा बढी बाधक नेपाली कांग्रेस देखिएको छ । कांग्रेसजस्तो कम्युनिस्टविरोधी पार्टीले एमालेलाई सरकारको नेतृत्व गर भनेर उक्साइराख्नु आफैँमा कम आश्चर्यजनक कुरा होइन ।

२००३/०४ सालतिर नेपाली राष्ट्रिय कांग्रेसको सचिव रहेका क.पुष्पलाल कांग्रेसले नेपालका दलाल नोकरशाही पुँजीपतिवर्गको प्रतिनिधित्व गर्दछ, यो किसान, गरिब जनता तथा क्रान्तिकारी भूमिसुधारको पक्षमा छैन भन्ने निष्कर्ष निकालेर त्यहाँबाट अलग भएका थिए । उनले वि.सं. २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरे । त्यसबेलादेखि नै नेपालका कम्युनिस्ट र नेपाली कांग्रेसबीच आधारभूत भिन्नता रहँदै आएको छ । २००७ सालमा नेपाली कांग्रेसले कम्युनिस्टहरूको सहयोग चाहेन, कम्युनिस्टहरू स्वतन्त्र ढंगले २००७ सालको आन्दोलनमा सहभागी भए । २००८ सालमा कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउँदा पनि नेपाली कांग्रेस केही बोलेन । २०१७ सालको घटनापछि पञ्चायतका विरुद्ध आन्दोलन गरंौँ भनेर पुष्पलालले संयुक्त जनआन्दोलनको कार्यनीति अगाडि सार्दा नेपाली कांग्रेसले मानेनँ । २०४३ सालमा गिरिजाप्रसादले माले र मण्डले एकै हुन् भनेर संयुक्त आन्दोलनको विरोध गरे । २०४६ सालको पञ्चायतविरोधी आन्दोलन गर्दा एउटै संघर्ष समिति बनाउन नमानेपछि वामपन्थीहरूले वाममोर्चा बनाए भने नेपाली कांग्रेस छुट्टै बस्यो । तर, आन्दोलनको कार्यक्रम र तिथिमिति भने एकै समयमा पारेर काम गरियो । यत्ति काम पनि गणेशमानको जोडबलमा भएको थियो ।

जब पञ्चायती व्यवस्थाको अन्त्य भयो, नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्यो । यहीँबाट यो देशमा नेपाली कांग्रेसको ताण्डव-नृत्य सुरु भयो । गिरिजा कोइरालाले 'यो जित पञ्चको पनि हो' भनेर सारा पञ्चलाई नेपाली कांग्रेसमा आउन आह्वान गरे । हरेक जिल्लामा कांग्रेसले सिडिओ र प्रहरी अधिकृतलाई आफ्नो हातमा लिएर पार्टी निर्माण गर्‍यो । यिनै प्रशासन, प्रहरी, कांग्रेस र गुन्डाहरू प्रयोग गरेर २०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसले बहुमतसमेत प्राप्त गर्‍यो । २०४६ सालको आन्दोलनमा सडकमा खोज्नुपर्ने र झन्डासमेत कम्युनिस्टले बोकिदिनुपर्ने कांग्रेस २०४८ सालमा निर्वाचन जितेर देशको सबैभन्दा ठूलो पार्टी बन्यो । यसपछि सुरु भयो कांगे्रसी राज ! कर्मचारी आन्दोलन दबाउने, शिक्षकहरूको सरुवा गर्ने, कर्मचारी र शिक्षकका खाली कोटामा व्यापक रूपमा कांग्रेसीहरूको भर्ती गर्ने, हजारौँ कम्युनिस्टमाथि थुनछेक र जाली मुद्दा लगाउनेलगायतका कर्तुत बडो उत्साहपूर्वक गरियो । २०४९ को स्थानीय निर्वाचनमा पनि व्यापक धाँधली गरेर परिणाम आफ्नो पक्षमा पारियो । पञ्चायतको पालामा समेत नाफामा रहेका सरकारी संस्था र उद्योगहरूमा व्यापक भ्रष्टाचार गरी घाटामा लगेर तिनलाई अत्यन्त सस्तो मूल्यमा निजीकरणसमेत गरियो । कांग्रेसले राज्यमा निजी स्वामित्वमा आधारित नवउदारवादी अर्थतन्त्रको स्थापना गराए, सरकारी र सहकारी अर्थतन्त्रलाई हतोत्साहित गरे, धमिजालगायत अनेकौँ कान्डहरू घटाए र भ्रष्टाचारलाई संस्थागत गराए ।

नेपाली कांग्रेसले टनकपुर बाँधलाई वैधानिकता दिन गरेको सन्धिका विरुद्द क.मदन भण्डारीको नेतृत्वमा भएको आन्दोलनमा ५० भन्दा बढी नेपाली जनताको हत्या भएको थियो । मदन भण्डारीको हत्या नेपाली कांग्रेसको सरकारको पालामा नै भयो । उसले दोषी पनि पत्ता लगाउनै चाहेन । भण्डारी हत्याविरोधी आन्दोलनमा पनि कैयौँ मानिसहरू मारिए । भण्डारीको हत्याबाट जनताको सहानुभूति प्राप्त गरेको एमालेले गणेशमान सिंहको विद्रोहसमेतबाट फाइदा उठाएर ०५१ मा सबैभन्दा ठूलो दलको हैसियत प्राप्त गरी अल्पमतको सरकार बनायो र केही राम्रा कामहरूको सुरुवात गर्‍यो । नेपाली कांग्रेसलगायतका यथास्थितिवादी र प्रतिक्रियावादीहरूलाई यो अवस्था असैह्य भयो । उनीहरूले एमालेको सरकार विघटन गराउन सर्वोच्च अदालतसमेतलाई दुरुपयोग गरे । यहाँसम्म आउँदा एमालेलगायतका कम्युनिस्ट र काङ्ग्रेसबीचको वर्गीय, सैद्धान्तिक, कार्यक्रमिक, राष्ट्रियताआदि विषयमा स्पष्ट मतभिन्नता रहँदै आएको थियो ।

जब टनकपुर सन्धिलाई पूर्णतामा पुर्‍याउन महाकाली सन्धिको नाटक मन्चन गरियो, त्यसबेलाबाट एमालेका नेताहरूमा कांग्रेस र विस्तारवादी भनिँदै आएको भारतसँग विचार र व्यवहारमा नरम बन्ने प्रवृत्ति देखिएर आयो । एमालेका तर्फबाट मदन भण्डारीको हत्यारा पत्ता लगाउने विषयलाई पूर्णतः परित्याग गरियो भने राष्ट्रियतासँग सम्बन्धित टनकपुर बाँधविरोधी भण्डारीको आन्दोलनलाई महाकाली सन्धिमा लगेर विसर्जन गरियो । यहीँबाट एमालेमा गहिरो दरार उत्पन्न भयो, र कहिल्यै नमेटिने गरी पार्टीमा अन्तरविरोधहरू पैदा भए । यसमा कांग्रेस र भारतप्रति नेकपा -एमाले) को नेतृत्वले गर्ने व्यवहार दुवै उत्तिकै जिम्मेवार छन् । कांग्रेसले एमालेलाई कहिल्यै मित्र मानेन र कहिल्यै सहयोग पनि गरेन । कांग्रेसका कारण नेपालमा क्रान्तिकारी भूमिसुधार हुन सकेन, व्यापार घाटा बढ्यो, रोजगारीको अवसर सिर्जना हुन पाएन, अर्थतन्त्रमा निजीकरण र उदारीकरण हाबी भयो र भ्रष्टाचार बढेर गयो । कांग्रेसका अनेकौँ प्रतिक्रियावादी व्यवहारकै कारणले माओवादी विद्रोहको सुरुवात भयो । कांग्रेसकै नेतृत्वकालमा राजा वीरेन्द्रको वंशनास भयो । जब राजा ज्ञानेन्द्रले प्रतिगमन लागू गरे, कांग्रेसको समेत अस्तित्वमाथि प्रश्नचिह्न खडा भयो । एमाले र कांग्रेस माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन सहमत भए । संविधानसभाको नामै लिन नचाहने कांग्रेस र संविधानसभा पनि एउटा विकल्प हो भन्न नचाहने क. माधवकुमार नेपाल संविधानसभामा आइपुगे भने सबैभन्दा पछाडि लतारिएर भए पनि गणतन्त्रको मुद्दामा आउन कांग्रेस बाध्य भयो ।

कानुनतः राजतन्त्र अन्त्य भएको भए पनि हाम्रो देशमा सामन्तवाद र प्रतिक्रियावादी राज्यव्यवस्थाको अन्त्य भएको छैन । यस्तो अवस्था रहिरहनुमा नेपाली कांग्रेस नै मुख्य बाधक हो । सेना, कर्मचारी र प्रशासनमा लोकतन्त्रीकरण गर्न कांग्रेस चाहँदैन । क्रान्तिकारी भूमिसुधार गर्न, मिश्रति अर्थतन्त्र निर्माण, रोजगारी सृजना गर्न, व्यापार घाटा घटाउन, भ्रष्टाचार नियन्त्रण गर्न कांग्रेस चाहँदैन । कांग्रेस विदेशी प्रभुत्ववादीहरूको साँठगाँठमा संसद्भित्रका पुनर्उत्थानवादी र दक्षिणपन्थीहरूसँग मिलेर आर्थिक प्रलोभनलगायत अनेकौँ षड्यन्त्र गरेर संसद्मा बहुमत प्राप्त गर्ने, त्यही बहुमतको बलमा आफू अनुकूलका यथास्थितिवादी संविधान र कानुन बनाउने, यिनै संविधान र कानुनलाई लोकतन्त्र र विधिको शासनको हवाला गर्दै पुँजीवादी सत्ता कब्जा गर्ने रणनीति अवलम्बन गर्दै आएको एउटा यथास्थितिवादी पार्टी हो । यो पार्टी हाम्रो देशको परिवर्तनको सबैभन्दा ठूलो बाधक बन्दै आएको छ । सबैभन्दा दुखद् कुरा यही नेपाली कांग्रेसको रणनीतिको भुमरीमा आमूल परिवर्तनकारी पार्टी एमाले अल्भिरहेको छ । क. मदन भण्डारीको हत्या, क. मनमोहन अधिकारीको सरकारको विघटन र एमालेलाई सिध्याउन इतिहासमा अनेकौँ अपराध गरेको कांग्रेसले अहिले संविधान उल्लंघन गर्न लगाउँदै एमालेलाई सरकारको नेतृत्व गर्न किन लगायो ? यो धेरै गम्भीर विषय छ । कांग्रेसको उक्साहटमा एमालेले किन बहुमतीय प्रणालीको सरकारको नेतृत्व गर्न तयार भयो ? यो पनि उत्तिकै गम्भीर विषय छ । वामपन्थी गठबन्धनको विरोध गर्दै दक्षिणपन्थी गठबन्धनमा सामेल भएको एमाले सरकारको रिमोटचाहिँ आफ्नो हातमा नभएर कांग्रेसको हातमा थियो । एमालेले चाहेर केही हुँदैन, कांग्रेसले चाहँदा सरकार रहन र नरहन दुवै सक्छ भन्ने कुरा छर्लंग भैसकेको छ । सामन्ती राजतन्त्र अत्यन्त कमजोर भएर पराजित भएको यो अवस्थामा नेपाली जनवादी क्रान्ति किन सम्पन्न भैरहेको छैन ? जनवादी क्रान्ति सम्पन्न हुन केके हुनुपर्छ र यो पूरा हुन कसले रोकेको छ ? क्रान्तिका बाधक प्रतिक्रियावादी सैनिक अफिसर, प्रहरी अफिसर, नोकरशाह, दलाल पुँजीपति र नेपाली जनताका वैरी विदेशीहरूको संरक्षक र ढाल बनेर को खडा भएको छ ? स्पष्ट नै छ ? यी सबै कामको नेतृत्व कांग्रेसले नै गरिरहेको छ ।
sp.subedi@yahoo.com

0 comments: