धर्मराज भुसाल, नेपाली भाषामा जागिसकेको सूचनाको तलतल संसारको जुन र जस्तोसुकै ठाउँमा बसे पनि अर्को भाषामा प्राप्त सूचनाबाट मात्रै मर्दो रहेनछ । यो कुरा संसारका विभिन्न मुलुकमा रहेबसेका नेपालीका सामुदायिक गतिविधिलाई हेरे पनि पुष्टि हुन्छ । सामुदायिक स्वरुप र आˆनै शैलीमा भए पनि विदेशमा नेपाली अखबारले नेपालीको सूचनाको भोकलाई मेट्ने र मेटाउने प्रयास गरिरहेका छन् । विदेशमा नेपाली छापाको वर्तमान अवस्था कस्तो छ त ? यसको जवाफका लागि प्रस्तुत छ, सञ्चारकर्मी धर्मराज भुसालको खोजी लेख ।
नेपाल बाहिर नेपाली डायस्पोराको निर्माण हुने क्रमसँगै अहिले विभिन्न मुलुकबाट नेपाली भाषामा सामुदायिक पत्रिकाहरू प्रकाशन हुने क्रम बढेको छ । नेपाली भाषाको पत्रकारिताको प्रकाशनको सुरुवात नै भारतीय भूमिबाट भएको इतिहास छ । पछिल्ला दिनमा समुद्रपारका मुलुकमा नेपालीहरूको घनत्व बढ्दै गएपछि ती मुलुकहरूमा पनि अनलाइन, रेडियो तथा टेलिभिजनसँगै छापा पत्रिकाको प्रकाशन पनि बढ्न थालेको देखिएको छ ।
पर्याप्त मात्रामा सूचना प्रविधिको उपलब्धता भएको अमेरिकादेखि प्रविधिको पहुँच अत्यन्तै न्यून रहेको कतार र मलेसियाबाट पनि नेपाली छापा पत्रिकाहरूको नियमित र व्यावसायिक तरिकाले प्रकाशन भइरहेको पाइन्छ । नेपालभन्दा टाढा रहेर पेसा, अध्ययन र रोजगारीमा व्यस्त रहेका नेपालीभाषी समुदायलाई नेपालका राजनीतिक घटनाक्रमबारे जानकारी दिने र समुदायका गतिविधिलाई बढावा दिने काममा छापा पत्रिकाहरू लागिरहेका छन् ।
कहाँ-कहाँबाट ?
अमेरिकामा बस्ने अधिकांश नेपालीहरू इन्टरनेटको माध्यमबाट नेपालमा भएका ताजा घटनाबारे छिनछिनमै जानकारी लिन सक्छन् । त्यतिले नपुगेर त्यहीँको नेपाली समुदायमा चारवटा पाक्षिक पत्रिकासमेत प्रकाशन भइरहेका छन् । हाल अमेरिकामा 'नेपालीखबर', 'एभरेष्ट टाइम्स', 'विश्व सन्देश' र 'विश्व परिक्रमा' पाक्षिक रूपमा प्रकाशन भइरहेका छन् । करिब दुई लाख नेपाली रहेको अनुमान गरिने अमेरिकामा यी पत्रिकाले त्यहाँका नेपालीका सामुदायिक गतिविधिलाई प्रर्बद्धन गर्नुका साथै साहित्य, मनोरञ्जन र नेपालका राजनीतिक घटनाको विश्लेषणसमेत गरिरहेका हुन्छन् ।
नेपालीभाषीको राम्रो जमघट रहेको बेलायतमा पनि चारवटा साप्ताहिक पत्रिका प्रकाशन भइरहेका छन् । बेलायतबाट प्रकाशन भइरहेको नेपालीपत्र साप्ताहिक पाक्षिक रूपमा अष्ट्रेलियाबाट पनि प्रकाशन हुन्छ । बेलायतबाटै 'एभरेष्ट टाइम्स', 'नेपाली सन्देश' र 'नयाँ सन्देश' साप्ताहिक रूपमा प्रकाशन भइरहेका छन् । कुनै बेला ५० हजारभन्दा बढी नेपालीको जमघट रहेको हङकङमा अहिले पनि एभरेष्ट टाइम्स र सनराइज पोष्ट नामका दुईवटा साप्ताहिक पत्रिका प्रकाशन भइरहेका छन् । नेपाली विद्यार्थीको चाप थपिएपछि नेपालीको सङ्ख्या करिव ४० हजार पुगेको अनुमान गरिने अष्ट्रेलियामा 'द नेपाली टाइम्स' र 'अष्ट्रेलियाको नेपालीपत्र' नामक दुई पत्रिका प्रकाशनमा आइरहेका छन् ।
नेपालीहरूको आकर्षक श्रम गन्तब्य मानिने मलेसिया सङ्ख्यात्यक रूपमा धेरै नेपाली पत्रिका प्रकाशन हुने मुलुक हो । अमेरिकाबाट पाक्षिक रूपमा प्रकाशन हुने नेपालीखबर मलेसियाबाट साप्ताहिक रूपमा प्रकाशन हुन्छ । यस्तै नेपाल सन्देश, हाम्रो आवाज, श्रम साप्ताहिक, नेपाल पृष्ठभूमि, नयाँ सङ्र्घष र मङ्गोल भिजनसहित सातवटा पत्रिका साप्ताहिक रूपमा प्रकाशन हुने गर्छन् ।
नेपालीको श्रम गन्तब्यकै रूपमा रहेको कतारमा पनि नेपालका राष्ट्रिय दैनिकहरू कान्तिपुर र राजधानीले साप्ताहिक संस्करण प्रकाशन गरिरहेका छन् । जापानबाट पहिले नेपाली समाचार प्रकाशन भए पनि अहिले त्यसको प्रकाशन अवरुद्ध भएको छ । यस्तै कोरिया, इजरायल लगायतका मुलुकबाट मासिक पत्रिकाहरू प्रकाशन भइरहेका छन् भने खाडीक्षेत्रका अन्य मुलुकबाट साहित्यिक पत्रिकाहरूको प्रकाशन पनि भइरहेको देखिन्छ ।
'ककटेल' विषयवस्तु
विदेशबाट प्रकाशन हुने अधिकांश नेपाली पत्रिकाहरूले नेपालको राजनीतिक घटना क्रमलाई प्राथमिकताका साथ प्रकाशन गरेको पाइन्छ । चाहे ती अमेरिकाबाट प्रकाशन हुने होउन् वा बेलायत, वा मलेसिया र कतार जस्ता इन्टरनेटको पहुँच कम भएका मुलुकमा । नेपाली पत्रिकाका मुख्य पृष्ठ नेपाली राजनीतिक दलका नेताहरूको तस्वीरले भरिएको हुन्छ । नेपालको राजनीतिमा के भइरहेको छ र अब कता जाला भन्ने विश्लेषणमै पत्रिकाको अधिकांश पाना सकिएका हुन्छन् । यति हुँदाहुँदै पनि समग्रताको कुरा अलि फरक पनि छ । सबैजसो नेपाली पत्रिकाले आफ्नो अखवारलाई स्थानीयकरण गर्न प्रयास गरेका पाइन्छन् । कतै त्यो प्रयास सफल भएको देखिन्छ भने कतै सफल हुन सकेको छैन । स्थानीय नेपाली समुदायका गतिविधि र नेपालका राजनीतिक घटना क्रमको 'ककटेल' विषयवस्तु नै अहिले नेपाली डायस्पोरामा प्रकाशन भइरहेका छापा पत्रिकाको स्थापित शैली हो ।
पारखी पाठकलाई थाहा भएकै कुरा हो, मलेसियाबाट प्रकाशन हुने सबैजसो पत्रिकाको मुख्य पृष्ठ नेपालको राजनीतिक समाचारले भरिएको हुन्छ । यस्तो किन गरिन्छ त ? नेपाल पत्रकार महासङ्घ सम्पर्क शाखा मलेसियाका सभापति विपिन राईका अनुसार नेपालको राजनीतिक घटना क्रम थाहा पाउने अन्य बैकल्पिक माध्यम नहुने भएकाले हप्ताभरि नेपालमा भएका मुख्य राजनीतिक घटना क्रमलाई प्राथमिकताका साथ प्रकाशन गर्नु परेको हो ।
साताको छ दिनसम्म नेपालदेखि बेखबर भएर काममा खटिएका नेपाली श्रमिकले हरेक आइतवार मलेसियाका होष्टेल होष्टेलमा पुग्ने नेपाली पत्रिकाहरू छानी छानी पढ्छन् । नेपाली संघसंस्थाका अधिवेशन, नियमित बैठक, सम्मान, विदाई, नेपाली श्रमिकका दुर्घटना, मृत्यु र उद्दारका समाचार मलेसियाका पत्रिकामा भेटिने साझा समाचार हुन् । सामान्यतः घर छाडेका अधिकांश नेपाली कामदार विदेशमा कवि भइसकेका हुन्छन् । त्यसैले उनीहरूले लेखेका राम्रा नराम्रा सबै सिर्जनालाई विना कसाकसी प्रकाशन गर्नु यहाँका पत्रिकाको बजार बिस्तारको रहर र वाध्यता दुबै हो ।
अष्ट्रेलियाबाट प्रकाशन हुने नेपालीपत्रका सम्पादक ऋषि आचार्य भर्खरै स्थापित हुँदै गएको नेपाली समुदायका राम्रा र नराम्रा पक्षलाई उजागर गर्ने खालका विषयवस्तु आˆना अखबारमा प्रकाशन गर्ने गरिएको बताउनुुहुन्छ । 'सकेसम्म अष्ट्रेलियाका नेपाली समुदायसँग सम्बन्धित विषयवस्तुलाई नै आवरण कथाका रूपमा प्रकाशन गर्ने प्रयास गरिने जनाउँदै सम्पादक आचार्यले भन्नुभयो- 'उनीहरूका सुख-दुःखसँग जोडिएका खबर नै हाम्रो पत्रिकाको प्राथमिकतामा पर्छन् ।'
उता अमेरिकाबाट प्रकाशन भइरहेको नेपालीखबर पाक्षिकका सम्पादक उत्तमबाबु श्रेष्ठ नेपाली राजनीतिक घटना क्रमलाई आफूहरूले त्यति प्राथमिकता नदिने बताउनुहुन्छ । स्थानीय नेपाली समुदायमा भएका सामुदायिक घटना क्रम र सामाजिक विषयवस्तुलाई कभरस्टोरीको रुपमा प्राथमिकता दिने गरेको कुरामा जोड दिनुहुने सम्पादक श्रेष्ठले भन्नुभयो- 'नेपालको राजनीति जटिल मोडमा रहेका बेला मात्र हामीले राजनीतिक विषयवस्तुलाई मुख्य पेजमा स्थान दिन्छौँ ।'
आप्रवासी नेपालीहरूको सामुदायिक पत्रिकाका रूपमा सुरू गरिएकाले स्थानीय नेपाली सङ्घ-संस्थाका गतिविधि, नेपालीहरूलाई आवश्यक पर्ने अमेरिकी कानुन तथा नियमबारे जानकारी र नेपाल अमेरिका सम्बन्ध र चासोका विषयलाई आˆनो पत्रिकाले प्राथमिकता दिएको श्रेष्ठको भनाइ छ । अमेरिका बसेर पनि नेपाल र नेपालीका लागि सहयोग गर्न खटिएका तथा नेपाली भाषीको पहिचानका लागि खटिएका 'कम्युनिटी लिडर'हरूका कथा आˆनो पत्रिकाको विषयवस्तु हुने श्रेष्ठले बताउनुभयो ।
बासी राजनीति नबेच्ने फर्मुला
श्रम गन्तब्यका रूपमा रहेका कतिपय मुलुकहरूमा स्थानीय तहमा पत्रकारिता गर्न सक्ने दक्ष जनशक्ति नहुँदा थुप्रै समाचारहरू आउनु पर्ने स्वरुप र शैलीमा प्रकाशन हुन सकेका छैनन् । यसको प्रभाव कतार, मलेसिया लगायतका मुलुकमा प्रकाशन हुने गरेका अखबारमा देखिन्छ । कतिपय समाचारलाई हेर्ने हो भने पहिले काठमाडौँका पत्रिकामा प्रकाशन भइसकेका समाचार साभार गरेको देखिन्छ । सकभर यस्तो नहोस् भन्ने चाहना चाहिँ देखिन्छ । मलेसिया सम्र्पक शाखाका सभापति राईले दिनु भएको जानकारी अनुसार समाचार खोज्न, बुझ्न र लेख्नसक्ने जनशक्ति निर्माणकै लागि हालै मलेसियामा रहेका पत्रकारितामा रुचि राख्ने नेपाली श्रमिकलाई पत्रकारिता तालिमसमेत दिइएको छ । सम्बन्धित मुलुकमा रहेको नेपाली भाषी समुदायको आकार, सामुदायिक गतिविधिको दर र नेपालको खबर थाहा पाउने बैकल्पिक माध्यमको उपलब्धताका आाधारमा ती मुलुकबाट प्रकाशन भएका अखबारको बजार निर्धारित भएको पाइन्छ । अमेरिका, बेलायत, अष्ट्रेलियालगायतका विकसित मुलुकका नेपालीले अनलाइनमार्फत् नै नेपालका समाचार थाहा पाउने भएका कारण ती देशहरूमा छापा पत्रिका माथिको निर्भरता कम देखिन्छ । यही अवस्थालाई बुझेर नै आफुहरू बासी राजनीति बेच्ने फर्मुलाबाट बाहिर निस्किएको बताउनुहुन्छ नेपालीखबरका सम्पादक श्रेष्ठ । अष्ट्रेलियाको नेपालीपत्रका सम्पादक आचार्यका अनुसार स्थानीय नेपालीका समाचारलाई प्राथमिकता नदिने र नेपाली राजनीतिलाई मात्र आवरणकथा बनाउने हो भने अखबार चल्न गाह्रो हुन्छ ।
श्रमिकहरू नियमति ग्राहक
बेलायत, अमेरिका र अष्ट्रेलिया जस्ता मुलुकमा नेपाली पत्रिकाको खुल्ला बिक्री उल्लेखनीय छैन । सबैजसो सदस्यलाई हुलाकमार्फत पत्रिका पठाउनुपर्छ, कतिपय नेपाली तथा दक्षिण एसियाली मूलका मानिसले चलाएका ग्रोसरी, ट्राभल एजेन्सी र रेष्टुराँहरूमा पनि पत्रिका उपलब्ध हुन्छन् । मलेसिया, कतारजस्ता नेपाली श्रमिक बढी भएको मुलुकमा नेपाली रेष्टुरेण्ट, पसल आदिमा पत्रिका उपलब्ध हुन्छ । धेरैजसो पत्रिकाले आ-आˆनै प्रतिनिधि बनाएर होष्टेल-होष्टेलमा पत्रिका पुर्याउँछन । त्यहाँ नेपाली श्रमिकहरू नियमति ग्राहक बनेका हुन्छन् ।
अखबार चल्नलाई चाहिने अधिकांश विज्ञापन नेपाली समुदायबाटै प्राप्त भइरहेको हुन्छ । स्थानीय स्तरमा चलेका रेष्टुराँ, नेपाली तथा दक्षिण एसियाली मूलका मानिसले चलाएका ग्रोसरी पसल तथा ट्राभल एजेन्सी र रेमिट्यान्स सबैजसो मुलुकबाट चल्ने नेपाली पत्रिकाका साझा विज्ञापन स्रोत हुन् । यसबाहेक मलेसिया र कतारजस्ता मुलुकमा स्थानीय मोवाइल सेवा प्रदायक कम्पनीले पनि बजार विस्तारका लागि नेपाली अखबारमा प्रर्बद्धनात्मक योजना सार्वजनिक गरिरहेका हुन्छन् ।
गरिखान नपुग्ने काम
बाहिरबाट झट्ट हेर्दा आर्कषक देखिए पनि विदेशबाट छापा पत्रिका चलाउने काम त्यति सजिलो भने छैन । नेपालीपत्रका सम्पादक आचार्यको अनुभवमा- नेपाली पत्रिकामा मात्र काम गरेर खान बस्न पुग्दैन, बाहिर पनि काम गर्दा समुदायका गतिविधि लिन समय पुग्दैन । उनले पूर्ण रूपमा नेपालीभाषीका लागि पत्रकारिता गरेर अष्ट्र्ेलियामा जीवनयापन गरिरहेको बुझिएको छ ।
तोकिएको काम वा पढाइमा व्यस्त हुनुपर्ने भएकाले पत्रकारितालाई मूल पेसा बनाउनसक्ने अवस्थामा छैनन् विदेशको नेपाली पत्रिकामा काम गर्ने सञ्चारकर्मीहरू । मलेसियामा रहेका अधिकांश स्थानीय संवाददाता र प्रतिनिधिहरू त बिदाको दिन अर्थात् आइतबार मात्र होष्टेलबाट बाहिर निस्कन पाउँछन् । उनीहरूले आˆनो क्षमताले भ्याएसम्म पत्रिकारिताको धर्म निभाउन लागिरहेकै हुन्छन्, नेपालीसँग सम्बन्धित समाचार नछुटुन् भनेर जानकारी लिइरहेका हुन्छन् ।
डिजाइन र सेटिङ काठमाडौँबाटै
विदेशी भूमिमा दक्ष र पूर्णकालीन पत्रकारिता गर्ने जनशक्ति नपाइने समस्याले नेपाली छापालाई निकै प्रभाव पारेको देखिन्छ । सूचना प्रविधिको सुविधाको भने भरपूर उपयोग गरिएको पाइन्छ । पर्याप्त स्रोत-साधन भएको विदेशबाट प्रकाशित हुने पत्रिकाका व्यवस्थापकहरूले नेपालमा अफिस राखेर यतैबाट छपाईपूर्वका कामहरू गर्छन् । युरोप र अष्ट्रेलियाबाट प्रकाशित हुने नेपालीपत्र, अमेरिका र मलेसियाबाट प्रकाशित हुने नेपालीखबर, हङकङबाट प्रकाशित हुने सनराइज पोष्टले काठमाडांैमा कार्यालय र सञ्चारकर्मीहरू राखेका छन् । नेपालीपत्रका काठमाडौँ सम्पादक विज्ञान शर्माका अनुसार नेपालीपत्रका दुवै संस्करणको सम्पूर्ण डिजाइन र सेटिङ काठमाडौँबाटै गरेर पठाइन्छ ।
तर, पर्याप्त स्रोतसाधन नभएका र रहरका भरमा चलाउनुपर्ने अवस्थामा रहेका अधिकांश छापा पत्रिकाहरू नेपालबाट प्रकाशित हुने अनलाइन र दैनिक पत्रिकाका खबरमा भर परेका देखिन्छन् । मलेसियाबाट प्रकाशित अधिकांश पत्रिकामा मनोरञ्जन समाचार हेर्ने हो भने नेपालबाटै छापिएका पत्रिकामा भएकै जस्तो सारिएको पाइन्छ । स्वदेशबाट अनलाइनमा प्रसारित नेपाली भाषाका समाचारलाई 'कपी' गरेर 'पेष्ट' गर्नु र त्यसैलाई पत्रिकाका रूपमा विदेशका बजारमा बेच्नु धेरैजसो नेपाली पत्रिकाको रहर पुर्याउने बाध्यता हो । (gorakhapatra)
Sunday, July 4, 2010
विदेशमा नेपाली छापा
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment