गंगा बीसी, काठमाडौ, अषाढ २० - माओवादीले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बनाउने निर्णय गरे पनि प्रधानमन्त्रीमा अध्यक्ष पुष्पकमल दाहालको विकल्प खुला गरेको हो वा होइन भन्ने विषयमा विवाद सुरु भएको छ ।
संस्थापन पक्षीय नेताहरूले विकल्प खुला नभएको तर्क गरेका छन् भने उपाध्यक्ष बाबुराम भट्टराईनिकट नेताले विकल्प खुलै भएको दाबी गरेका छन् । पछिल्लो पोलिटब्युरो बैठकले पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो । तर नेतृत्व कसले गर्ने भनेर तोक्दा विवाद उत्पन्न हुने भन्दै 'पार्टीले नेतृत्व गर्ने' उल्लेख गरिएको थियो । माओवादी नेतृत्वको सरकार बन्ने आधार नहुँदै माओवादीमा सरकार नेतृत्वबारे पुनः विवाद बल्भिmएको हो ।
राजधानीमा शनिबार आयोजित कार्यक्रममा स्थायी समिति सदस्य वर्षमान पुनले सरकारको नेतृत्वबारे पार्टीले विकल्प खुला नगरेको दाबी गरे । 'नेतृत्वको विकल्प खुला नगरेकै हो,' उनले भने, 'संसदीय दलका नेताको हैसियतले अध्यक्ष दाहालले सरकारको नेतृत्व गर्ने हो, अरूले होइन ।'
पुनले पार्टी निर्णय पनि अध्यक्ष दाहालको पक्षमा भएको दाबी गरे । 'संसदीय दलका नेता एकातिर, सरकारको नेतृत्व अर्कोतिर हुँदा माधव नेपालको सरकार असफल भएको उदाहरण हामीसँग छ,' उनले भने । माओवादी सेनाको इञ्चार्जसमेत रहेका पुनले 'संसदीय दलका नेताले सरकारको नेतृत्व गर्ने कुरा राजनीतिशास्त्रको सामान्य ज्ञान' भएको बताए ।
भट्टराई पक्षका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले भने पोलिटब्युरो बैठकले सरकारको नेतृत्वका लागि दाहालको विकल्प खुला गरेको तर्क राखे । 'बैठकले व्यक्तिको नाम नतोक्नु नै विकल्प खुला गर्नु हो,' उनले कान्तिपुरसँग भने, 'सरकारको नेतृत्व जसले पनि गर्न सक्छ भनेको हो, प्रचण्ड, बाबुराम वा अन्य जो पनि हुन सक्छ ।'
उपाध्यक्ष मोहन वैद्य पक्षका स्थायी समिति सदस्य देव गुरुङले संसदीय दलका नेताले नै सरकारको नेतृत्व गर्ने परम्परा भएको उल्लेख गर्दै विकल्प खुला भएको भन्न नमिल्ने बताए । 'अध्यक्ष नै संसदीय दलका नेता हुनुहुन्छ, उहाँले नै सरकारको नेतृत्व गर्ने हो,' उनले कान्तिपुरसँग भने, 'उहाँले अरू कुनै नेतालाई प्रस्ताव गरेमात्र विकल्प हुन सक्छ ।' उनले हालसम्म अध्यक्षले आफूले सरकारको नेतृत्व नगर्ने नभनेको बताए । दुई दिनअघि उपाध्यक्ष वैद्यले हालसम्म सरकारको नेतृत्व दाहालले गर्ने निर्णय भएको भए पनि विकल्प खुलै रहेको बताएका थिए ।
अर्का उपाध्यक्ष भट्टराईले पार्टीको नेतृत्वमा सरकार हुनुपर्ने विषयलाई प्राथमिकता दिएको निकट स्रोतले बतायो । विगतमा झैं कांग्रेस, एमालेले प्रधानमन्त्रीमा आफ्नो नाम प्रस्ताव गरे पछाडि नहट्ने संकेत उनले दिएका छन् ।
सचिव सीपी गजुरेलले पार्टीले सरकारको नेतृत्व पाउने निश्चित नभइसकेको अवस्थामा नेतृत्वको विकल्पबारे छलफल गर्नु औचित्यहीन भएको टिप्पणी गरे ।
उनले सरकारको नेतृत्व गर्ने अवसर आएर जो नेता पनि पठाउन सकिने बताए । 'सरकारको नेतृत्व गर्ने अवस्था बनिसकेको छैन,' उनले भने, 'त्यो अवस्था आयो भने त्यस बेलाको परिस्थितिमा जो नेताले पनि नेतृत्व गर्न सकिन्छ ।' (ekantipur)
Sunday, July 4, 2010
प्रधानमन्त्रीको विकल्पबारे माओवादीमा विवाद
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment