प्रकृति अधिकारी, भक्तपुर, असार १८ गते । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०६६ सालको एसएलसी परीक्षा सकिएको ठ्याक्कै एक सय दिनमा नतिजा सार्वजनिक गरेको छ ।
२०६६ चैत १२ देखि २० गतेसम्म सञ्चालित परीक्षाको शुक्रबार सार्वजनिक गरिएको नतिजा अनुसार दुई लाख ५९ हजार ९१६ परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा चार लाख ५६ हजार ७१९ जनाले आवेदन फाराम भरेकोमा चार लाख २७ हजार ५१ जना परीक्षामा सम्मिलित भएका थिए ।
पनिकाका अनुसार नियमिततर्फ दुई लाख ४७ हजार ६८९ परीक्षार्थी अर्थात् ६४.३१ प्रतिशत उत्तीर्ण भएका छन् । गत वर्ष ६८.४७ प्रतिशत उत्तीर्ण भएका थिए । उत्तीर्णमध्ये छात्र एक लाख ३८ हजार ७१६ जना अर्थात् ६७.५७ प्रतिशत र छात्रा एक लाख आठ हजार ९७३ अर्थात् ६०.५९ प्रतिशत रहेका छन् । नियमिततर्फ १६ हजार ८५९ जना विशिष्ट श्रेणीमा, ९३ हजार ३३९ जना प्रथम श्रेणीमा, एक लाख २८ हजार ७५ जना द्वितीय श्रेणीमा र नौ हजार ४१६ जना तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् ।
यसैगरी, एक्जाम्टेडतर्फ १२ हजार २२७ जना अर्थात् २९.१८ प्रतिशत उत्तीर्ण भएका छन् । यसपटक पनि अधिकतम दुई विषयमा अनुत्तीर्ण हुनेहरूलाई पाँच अङ्क ग्रेसमार्क दिइएको छ । यसरी ग्रेसमार्क दिँदा झन्डै १७ हजार उत्तीर्ण भएका छन् । यसपटक पनि सबैभन्दा बढी अनिवार्य गणित विषयमा अनुत्तीर्ण भएको पनिकाले जनाएको छ । पनिकाले दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि पूरक परीक्षाको व्यवस्था गरिएको जनाएको छ । पूरक परीक्षा आगामी साउन ३० देखि भदौ ६ गतेसम्म सञ्चालन हुने गरी तोकिएको छ । पनिकाका अनुसार केही परीक्षार्थीहरूको उत्तरपुस्तिका हराएका छन् । नियमिततर्फ विथहेल्डमा दुई हजार ८२६ जना र एक्जाम्टेडतर्फ ५३४ जनालाई राखिएको छ । नियमिततर्फ २०६५ सालको भन्दा बढी विथहेल्डमा परीक्षार्थीहरूलाई राखिएको छ । २०६६ सालको एसएलसी परीक्षामा २०६५ को भन्दा ४.१६ प्रतिशत कम परीक्षार्थी उत्तीर्ण भएका छन् ।
अख्तियार र सालेसमा उजुरी
काठमाडौँ, असार १८ गते । परीक्षा नियन्त्रण कार्यालयले २०६६ सालको एसएलसी परीक्षाको नतिजा प्रकाशित गर्न बढी दररेट कबोल गर्ने प्रकाशन गृहको बोलपत्र स्वीकृत गरेकोले त्यसबाट राजस्वमा हानी नोक्सानी पुर्याएको हुँदा त्यसको छानबिन गरी पाउन गोरखापत्र संस्थानले व्यवस्थापिका-संसद् अन्तर्गतको सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष उजुरी दर्ता गराएको छ ।
संस्थानले प्रतिसिम्बोल नम्बर छ रुपियाँमा छाप्ने बोलपत्र पेस गरेको थियो तर पनिकाले प्रतिसिम्बोल नम्बर छ रुपियाँ २० पैसामा छाप्ने बोलपत्र पेस गरेको आप्का नेपालको बोलपत्र स्वीकृत गरेको थियो । संस्थानले २०६६ सालको एसएलसी परीक्षाको नतिजा गोरखापत्रले प्रकाशन गर्न पाउनुपर्ने विभिन्न चारवटा आधारसहितको उजुरी ती निकायहरूमा दर्ता गरिएको संस्थानका महाप्रबन्धक शम्भु श्रेष्ठले बताउनुभयो । उजुरीको बोधार्थ मुख्यसचिवलाई पनि दिइएको छ ।
पनिकाले प्रतिसिम्बोल नम्बरको तय गरेको रकम छ रुपियाँ २१ पैसामा संस्थ्ाानले छ रुपियाँमा छाप्ने प्रस्ताव गरेको, वि.सं. १९९० सालबाट एसएलसी परीक्षाको नतिजा निरन्तर रूपमा प्रकाशित गर्दै आएको, नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सरकारी संस्था भएकोले सार्वजनिक खरिद ऐनका कतिपय प्रावधानहरू निजीस्तरका प्रकाशनका कार्यहरूसँग दाँज्न नसकिने र संस्थानले गत जेठ २० गते पनिकामा परीक्षाफलको नतिजा प्रतिसिम्बोल नम्बर पाँच रुपियाँमा प्रकाशन गर्न सक्ने अनुरोधपत्र दर्ता गराएकोले आफूले प्रकाशन गर्न पाउनुपर्ने आधार संस्थानको छ ।
Saturday, July 3, 2010
एसएलसीको नतिजा प्रकाशित
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment