प्रचन्डले उनका आफ्नै भन्नेहरूले उनका विरूद्ध घेराबन्दी गरेको कुरा सार्वजनिक गरेका छन्। उनको भनाई छ, उनका आफ्ना साथीहरूले कुरा नबुझेर त्यसो गरेका छन्। वास्तविकता यो हो कि माओवादी संगठनभित्र प्रचन्डमा व्यक्तिवाद, क्यारिरिष्ट प्रवृत्ति, पदलोलुपता वा व्यक्ति पूजाको प्रवृत्तिले लामो समयदेखि घर जमाएको छ। उनको त्यस प्रकारको प्रवृत्तिले त्यो संगठनको सम्पूर्ण संरचनालाई अधिनायकवादी ता बनाएको छ नै। त्यो संगठनमा देखापरेको त्यस प्रकारको प्रवृत्तिले देशको राजनीतिमा पनि गम्भीर समस्या पैदा गरेको छ। उनको व्यक्तिवादी कार्यशैलीको निचोड यो हो : "म"। आफ्नो संगठनभित्र र देशको राजनीतिमा पनि उनले "म" लाई नै स्थापित गर्न चाहन्छन्। त्योभन्दा बाहिर उनी केही पनि हेर्न असमर्थ भएको देखिन्छ। उनले आफ्नो संगठनभित्र सम्पूर्ण शक्ति आफ्नो हातमा केन्द्रित गर्ने प्रयत्न गरेका छन्। देशमा पनि उनी बाहेक अरू कोही प्रधानमन्त्री हुन हुन्न भन्ने अडान लिंदै आएका छन्। आफ्नो संगठनभित्र अन्य कुनै व्यक्तिलाई प्रधानमन्त्री बन्न नदिन उनी स्वयं प्रधानमन्त्री नबनेमा प्रतिपक्षमा बस्ने नीति अपनाउने कुरामा जोड दिने गरेका छन्। आफ्नो फोटाहरूका पोष्टरहरू देशव्यापी रूपमा प्रचार गर्दछन्। पहिले सशस्त्र संघर्षको कालमा उनीसित मतभेद देखाउने नेता वा कार्यकर्ताहरूलाई सैनिक शिविरमा राख्ने, यातना दिने वा हत्यासम्म गर्ने गरिन्थ्यो। उनको त्यो सम्पूर्ण कार्यप्रणाली मार्क्सवादी�लेनिनवादी संगठनात्मक प्रणालीका विरूद्धको कुरा थियो। स्वयं उनीहरूका कैयौं भाईचारा पार्टीहरूले पनि उनको त्यस प्रकारको व्यक्तिवादी कार्यप्रणाली वा व्यक्तिपुजाको प्रवृत्तिको आलोचना गरेका छन्।
यो स्वागतयोग्य कुरा हो कि प्रचन्डको त्यस प्रकारको व्यक्तिवादी कार्यशैलीका विरूद्ध माओवादीको शीर्षस्थ नेतृत्व तहमा नै विरोध हुन थालेको छ। माओवादीहरूसित हाम्रा कैयौं गम्भीर प्रकारका सैद्धान्तिक र राजनीतिक मतभेदहरू छन्। अहिले त्यो समूहका कतिपय शीर्षस्थ नेताहरूद्वारा उनको (प्रचन्डको) व्यक्तिवादका विरूद्धको संघर्ष वा त्यसमा उनीहरूको सफलताले पनि माओवादीसित भएका हाम्रा सैद्धान्तिक वा राजनीतिक मतभेदहरूलाई समाधान गर्ने छैनन्। ती बेग्लै छलफलका विषयहरू हुन् र अहिले हामी तिनीहरूको चर्चा गर्नेपट्टि लाग्दैनौं। तर अहिले त्यो समूह भित्र देखापरेको विरोध, जसलाई सञ्चार माध्यमहरूले उनका विरूद्धको धु्रविकरण र स्वयं उनले आफ्नै मानिसहरूद्वारा उनका विरूद्धको घेराबन्दीको संज्ञा दिएका छन्, द्वारा त्यो संगठनभित्र घर जमाएको प्रचन्डको व्यक्तिवादी शैलीमा सुधार वा नियन्त्रण हुन सक्यो भने त्यसले स्वयं त्यो संगठन र देशको राजनीतिलाई पनि महत्वपूर्ण योगदान पुग्न सक्दथ्यो। तर प्रश्न यो छ, के प्रचन्डका विरूद्धको त्यो संघर्ष सफल हुन सक्ला?
पहिले पनि उनको (प्रचन्डको) व्यक्तिगत कार्यशैलीको विरूद्ध त्यो संगठनभित्र आवाज उठ्ने गरेको छ। तर उनले त्यसलाई दवाउने गरेका छन्। त्यसरी उनको व्यक्तिवादी शैलीका विरूद्ध उठ्ने आवाज बारम्बार असफल हुने गरेको छ। त्यस प्रकारको पृष्ठभूमिमा अहिले त्यो प्रयत्न सफल हुनेछ वा छैन? त्यसबारे निश्चित रूपले भन्न सकिन्न। माओवादी भित्र जसरी प्रचन्डको व्यक्तिवादी कार्यशैली विकसित हुन सक्यो, त्यो लामो समयसम्म कायम रहन सक्यो, त्यसका विरूद्ध सशक्त रूपमा आवाज उठ्न वा संघर्ष हुन सकेन, त्यसले उनीहरूको संगठनको सम्पूर्ण संरचनामा गम्भीर वैचारिक र संगठनात्मक कमजोरी भएको कुरालाई बताउँछ। तैपनि पहिलेको तुलनामा अहिले त्यसबारे केही सशक्त रूपले आवाज उठेको छ। त्यो सकारात्मक कुरा हो। लामो समयदेखि संगठनमा कायम भएको प्रचन्डको प्रभूत्व, मुख्यतः सैन्य शक्तिमाथि भएको उनको प्रभावका कारणले उनको व्यक्तिवादी शैलीका विरूद्ध संघर्ष सजिलो हुनेछैन। प्रचन्डका अभिव्यक्तिहरूबाट यो कुरा पनि प्रष्ट भइरहेको छ उनको व्यक्तिवादी कार्यशैलीका विरूद्धको स्वयं उनको संगठनभित्रको नेतृत्व तहबाट उठेको विरोधका विरूद्ध �लामो संघर्षका लागि तयार� हुनका लागि आह्वान गरेका छन्। आज जसले उनको व्यक्तिवादी शैलीलाई चुनौती दिने प्रयत्न गरेका छन्, उनीहरूमा आवश्यक सैद्धान्तिक स्पष्टता, दृढता र नैतिक आँट भएमा प्रचन्डको त्यस प्रकारको प्रत्याक्रमणको सामना गरेर उनको व्यक्तिवादी शैलीलाई पराजित गर्न सकिनेछ र सक्नुपनि पर्दछ।
त्यो संगठनभित्र प्रचन्डको व्यक्तिवादी शैलीका विरूद्ध आवाज उठ्नुको साथै उनले (प्रचन्डले) त्यसका विरूद्ध खुला प्रकारले नै बदलाको कारवाही वा आक्रमण प्रारम्भ गरेका छन्। उनले सार्वजनिक रूपले दिएमा अभिव्यक्तिहरूबाट त्यस प्रकारको आभाष मिल्दछ। त्यस सन्दर्भमा उनले भनेका छन्, उनका आफ्नै भन्नेहरूको स्वर �दुश्मनको स्वरसित मिलेजस्तो� देखिएको छ। यो कुरा उनका लागि �पीडादायक� भएको छ। वास्तवमा उनका विरूद्धको त्यो घेराबन्दी उनको व्यक्तिगत समस्या मात्र नभएर त्यो सम्पूर्ण देशका �लागि चुनौती� हो। उनी स्वतन्त्रतका पक्षमा उभिएकाले वा उनले जनता र देशलाई मुक्त गर्ने कुरा थालेकाले उनलाई चारैतिरबाट घेराबन्दी गरिएको हो। आफ्ना विरूद्धको आफ्नै साथीहरूको विरोधलाई उनले �मुख्य नेतृत्वलाई प्रहार गरी पार्टी कमजोर पार्ने रणनीति� सम्म घोषित गरेका छन्। त्यसरी उनले आफ्नो गैर�मार्क्सवादी�लेनिनवादी, अराजकतावादी वा अत्यन्त तल्लोस्तरको व्यक्तिवादी प्रवृत्तिलाई सम्पूर्ण देश र जनताको मुक्ति तथा स्वतन्त्रतासित जोडेर प्रस्तुत गरेका छन्। त्यसरी उनले यो बताउन खोजेका छन् कि उनको त्यस प्रकारको कमजोरीको विरोध वास्तवमा देश, जनता र स्वतन्त्रताको समेत विरोध हुनेछ। आफ्ना त्यस प्रकारका अभिव्यक्तिहरूबाट उनले आफूभित्र घर जमाएको व्यक्तिवादलाई अत्यन्त भद्दा र हास्यास्पद रूपमा पनि प्रकट गरेक छन्। उनका ती अभिव्यक्तिहरूबाट उनले कुनै पनि आलोचना वा विरोधलाई सहन नसक्ने, त्यसबाट उत्तेजित हुने वा उनको आलोचना गर्ने आफ्नो संगठन भित्र वा बाहिरको कुनै पनि पक्षमाथि शत्रुतापूर्ण आक्रमण गर्ने प्रवृत्तिलाई पनि बताउँ छ।
उनले सार्वजनिक गरेका यी अभिव्यक्तिहरू त्यो संगठनभित्र उनका व्यक्तिवादी शैलीका विरूद्ध जुन विरोध देखापरेको छ, त्यसका विरूद्धको प्रत्याक्रमण हो। सही कुरा यो हुन्थ्यो कि उनको समितिका साथीहरूले उनका विरूद्ध त्यस प्रकारको आलोचना गरेपछि उनले आफ्नो चिन्तन र कार्यप्रणाली माथि गम्भीरतापूर्वक विचार गर्नुपर्दथ्यो, आफूमा भएको कमजोरी बारे आत्मआलोचना गरेर त्यसलाई सुधार्ने प्रयत्न गर्नुपर्दथ्यो। तर त्यसो गर्नुको सट्टा उनले आफ्ना साथीहरूको विरोधलाई उनीहरूले कुरा नबुझेको, दुश्मनको स्वरसित स्वर मिलाएको, सम्पूर्ण देशका लागि चुनौती भएको, मुख्य नेतृत्वलाई कमजोर पार्ने रणनीति भएको, उनी स्वतन्त्रता तथा देश र जनताको मुक्तिका पक्षमा भएकाले उनलाई घेराबन्दी गरेको, त्यस प्रकारको घेराबन्दीका विरूद्ध लामो संघर्षका लागि तयार हुनुपर्ने आदि अभिव्यक्ति दिएका छन्। त्यसले, एकातिर, उनीभित्र व्यक्तिवादले गहिरो घर जमाएको र, अर्कातिर, उनको मार्क्सवादी�लेनिनवादी सैद्धान्तिक स्तर अत्यन्त निम्न भएको कुरालाई पनि बताउँछ। त्यसले यो पनि बताउँछ : एकातिर, माओवादी भित्र प्रचन्डको व्यक्तिवादका विरूद्धको संघर्षले त्यो संगठनका लागि मात्र होइन, सम्पूर्ण देशको राजनीतिमा निर्णयात्मक महत्व राख्दछ भने, अर्कातिर प्रचन्डको प्रत्याक्रमणको नीतिका कारणले त्यो संघर्ष सजिलो हुने छैन।
जस्तो कि माथि भनियो प्रचन्डको व्यक्तिवादी शैली त्यो संगठन र देशको राजनीतिका लागि पनि गम्भीर समस्या बनेको छ। उनको व्यक्तिवादी दृष्टिकोणको परिणामस्वरूप उनले देशको राजनीतिमा प्रधानमन्त्री पदलाई केन्द्रमा राखेर नै सम्पूर्ण देशको राजनीति सञ्चालन गर्ने नीति अपनाएको देखिन्छ। आफू प्रधानमन्त्री नहुँदासम्म संविधान बन्न नदिने, त्यही नारालाई मुख्य बनाएर देशव्यापी आन्दोलन वा अनिश्चितकालीन आम हडताल संगठित गर्ने, जनविद्रोहको बाटो समात्ने, २०५२को, अर्थात् सशस्त्र संघर्षको, बाटो समात्ने, संविधानको म्याद थप्न नदिने, आफू प्रधानमन्त्री नभएमा आफ्ना संगठनको अन्य कुनै व्यक्तिलाई पनि प्रधानमन्त्री बन्न नदिने र प्रतिपक्षमा बस्ने आदि उनका नीतिहरू व्यक्तिवादी र पदलोलुप प्रवृत्तिका नै प्रकट रूपहरू हुन्। उनको त्यस प्रकारको दृष्टिकोण र त्यसका आधारमा बनेका नीतिहरूको परिणामस्वरूप देशमा राजनीतिक गत्यावरोधको स्थिति उत्पन्न भएको छ र त्यसबाट संविधानको निर्माण र गणतन्त्रलाई संस्थागत गर्ने काममा समेत गम्भीर बाधा पुग्ने खतरा छ। देशमा कसको नेतृत्वमा सरकार बन्ने? को प्रधानमन्त्री बन्ने? त्यो सहमति वा बहुमतको आधारमा निर्णय हुने कुरा हो। त्यही प्रजातान्त्रिक प्रणाली पनि हो। तर सहमति वा बहुमतीय प्रणाली जे अपनाए पनि उनको जोड यही कुरामा छ र हुन्छ : उनी प्रधानमन्त्री बन्नु पर्दछ। आफ्नो संगठनले सरकारको नेतृत्व गर्ने सहमति भएपनि उनको जोड यही कुरामा हुन्छ : उनी नै प्रधानमन्त्री बन्नु पर्दछ। उनी प्रधानमन्त्री नभए संविधान नबनेपनि वा गणतत्र नै समाप्त भएपनि उनलाई कुनै चिन्ता हुन्न। आफ्नो व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न उनी राजासित छद्म कार्यगत एकता गर्न तयार हुन्छन्, भारतीय दुतावासमा गएर ६�६ पल्ट गोप्य भेटघाट गर्न तयार हुन्छन्, लन्डन, सिंगापुर र द्वारिका होटलमा दौडधूप गर्न तयार हुन्छन् वा जुनसुकै शक्तिहरूसित पनि साँठगाँठ गर्न तयार हुन्छन्। उनको त्यस प्रकारको व्यक्तिवादी वा पदलोलुपता केन्द्रित कार्यप्रणालीलाई स्वयं त्यो समूहले नै नियन्त्रित गर्नसकेमा त्यसले देशको सम्पूर्ण राजनीतिमा नै सकारात्मक योगदान दिन्थ्यो। त्यो दिशामा त्यो समूहभित्र सकारात्मक पहलकदमी प्रारम्भ भएको छ। त्यसको परिणाम के हुनेछ? त्यसले त्यो संगठन र देशको भविष्यलाई पनि एक वा अर्को प्रकारले काफी हदसम्म प्रभावित गर्नेछ।
Wednesday, July 14, 2010
प्रचन्डका विरुद्ध घेराबन्दी : मोहनविक्रम सिंह
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment