मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Tuesday, July 13, 2010

मधेसवादी समीकरण बदलिने

काठमाडौं, असार २९ (नागरिक)- सहमतीय सरकार गठनको सम्भावना अन्त्यसँगै बहुमतीयमा ‘सत्ताको साँचो' मानिएका मधेसवादी दलबीच समीकरण फेरबदल हुने संकेत देखिएको छ। सरकार गठन प्रक्रियामा सधैँ आपसी कलहमा उत्रिने मधेसवादी दलहरूको मोर्चा अहिले अलपत्र देखिन्छ।
राष्ट्रपति रामवरण यादवले सहमतीय सरकारका लागि आह्वान गरेको म्याद सोमबार सकिएपछि मधेसवादी दल आ-आफ्ना अडानमा छन्। मधेस मुद्दामा एक हुने उनीहरूले सार्वजनिक गरे पनि एकले अर्कोको अस्तित्व स्विकार्न तयार देखिन्नन्।

पार्टीभित्रकै गुट, उपगुटमा उत्रिने मधेसवादी दलहरूबीच ठूला तीन दलले पुनः सत्ताको कार्ड फ्याँक्ने स्पष्ट छ। मधेसवादी दलसँग एकीकृत माओवादीले सरकारको नेतृत्वमा मधेसवादीलाई स्विकार्ने ‘नयाँ कार्ड' फालिसकेको छ।

माओवादी आन्तरिक रूपमा मधेसवादीसँग गठबन्धन सरकार निर्माण गर्न सक्ने निष्कर्षमा छ। मधेसवादी दलसँग गठजोड गरे संघीयताको मुद्दामा एकता हुने निष्कर्ष उसको छ। कांग्रेस, एमाले यथास्थितिवादी भन्दै आफूसँग मधेसवादी मिल्नुपर्ने माओवादी प्रस्ताव छ।

‘मधेसवादी दलहरू संघीयतामा स्पष्ट रहेकाले मुद्दा मिल्न सक्छ। सरकार निर्माणका लागि मधेसवादी दलसँग पहल जारी छ,' माओवादी स्थायी समितिका एक सदस्यले भने।

सत्तारुढ मधेसवादीले भने सेना समायोजनको प्रक्रिया सुरु गरे माओवादीलाई सरकारमा लिन सकिने निर्णय भएको बताएका छन्। अहिले नै माओवादीलाई नेतृत्व दिन नसकिने सत्तारुढ मधेसवादी मोर्चाले बताएको छ।

सरकारमा रहेका मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), तराई-मधेस लोकतान्त्रिक पार्टी र सद्भावना (महतो) समूहबीचको मोर्चाले त्यस्तो निर्णय गरेको हो। ‘प्रक्रिया सुरु भएपछि मधेसवादी दलको मोर्चालाई बृहत बनाएर छलफल गर्छौं', फोरम (लोकतान्त्रिक) का मुख्य सचेतक रामजनम चौधरीले भने।

बहुमतीय सरकारको प्रक्रिया सुरुसँगै पार्टीले नयाँ निर्णय लिने सद्भावना (महतो) का राष्ट्रिय अध्यक्ष तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले बताए। तीन दलबीचको मोर्चाले यसअघि गरेको निर्णय मुख्य एजेन्डा हुने उनले बताए। महतोकै संसदीय दलका मुख्य सचेतक अनिल झाले भने सरकार गठन प्रक्रियामा पार्टीको भूमिका केही थाहा नभएको बताए। ‘मलाई केही थाहा छैन। सरकार गठनबारे राजेन्द्र महतोजीलाई मात्रै थाहा हुन्छ,' झाले नागरिकसँग भने।

मोर्चाकै एक घटक तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीले संविधानको धाराअनुसार बहुमतीय भए पनि मधेसवादी दलले सहमतीयकै पहल गर्ने बताए। ‘बहुमतीय धारा भए पनि केही हुँदैन। बृहत् छलफलपछि सहमतीयलाई व्यवहारमा लागू गरेर जान मधेसवादी दलले पहल गर्ने हो,' त्रिपाठीले भने।

प्रतिपक्ष मधेसी जनअधिकार फोरमले भने बहुमतीय सरकार गठन प्रक्रियाले शान्ति प्रक्रिया र संविधान निर्माण हुन नसक्ने बताउँदै आएको छ। सरकार नेतृत्व जसले गरे पनि सबैलाई स्विकार्य हुने व्यक्ति हुनुपर्ने फोरमले बताउँदै आएको छ।

सद्भावनाका अर्का सभासद् सरिता गिरीलाई आइतबार पार्टीबाट निष्कासन गरेको भनी राष्ट्रिय अध्यक्ष आनन्दीदेवी सिंहले सार्वजनिक गरेकी छन्। गिरीले भने सरकार निर्माण हुने क्रममा आफूविरुद्ध षड्यन्त्र भएको बताएकी छन्।

0 comments: