मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, July 15, 2010

सरकारको नेतृत्वबारे कांग्रेसमा मतभेद

विश्वमणि पोखरेल, काठमाडौं, असार ३१- कांग्रेस केन्द्रीय समितिमा पार्टी नेतृत्वमा सरकार गठनसम्बन्धी विवाद सुरु भएको छ। बुधबारको बैठकमा कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालाको सरकारको नेतृत्वसम्बन्धी प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले प्रारम्भमै विरोध गरे।
संसदीय दलका नेता रामचन्द्र पौडेलले सरकारको नेतृत्व गर्ने प्रस्तावमा केन्द्रीय सदस्यले विमति जनाएपछि बैठक बिहीबारसम्म स्थगित गरिएको छ।

बैठकमा कोइरालाले प्रस्ताव छलफलमा ल्याउनेबित्तिकै केन्द्रीय सदस्य गोविन्दराज जोशी र सुजाता कोइरालाले सरकार गठनको औचित्यमै प्रश्न उठाए। जोशीले सरकारमा जानुपर्ने कारण नीतिगत रुपमा स्पष्ट गर्न माग गरे भने सुजाताले हतारिएर सरकारको नेतृत्व लिन नहुने धारणा राखिन्।

‘बहुमतीय सरकारको नेतृत्व लिनेबारे दसचोटि सोच्नुपर्छ,' बैठकपछि सुजाताले संवाददातासँग भनिन्, ‘माओवादीलाई पन्छाएर संविधान बन्दैन।'

माओवादीसँग आफ्ना अडान यथावत राख्दै सम्पर्क बढाउनुपर्ने उनको भनाइ थियो। ‘मलाई कांग्रेसबाट को प्रधानमन्त्री हुन्छ भन्ने सरोकार छैन,' उनले भनिन्, ‘कांग्रेस नेतृत्वको सरकारबाट संविधान लेखिन्छ कि लेखिँदैन भन्ने मात्र हो।'

कार्यवाहक सभापति कोइराला र पौडेल कांग्रेस नेतृत्वको सरकार गठनको गृहकार्यमा जुटिरहेका बेला नेतृत्व लिने या नलिने सैद्धान्तिक निर्णय गर्नुपर्ने चुनौतीपूर्ण अवस्था आएको छ।

‘पार्टी सरकारमा सहभागी हुने कि नहुने सैद्धान्तिक बहस सुरु भएको छ,' पार्टी प्रवक्ता अर्जुननरसिंह केसीले संवाददातासँग भने, ‘पार्टीले सरकार निर्माणको नेतृत्व लिने कि नलिने टुंगो लागेपछि मात्र व्यक्तिको टुंगो लाग्छ।' सहमति हुन नसके पार्टी र संसदीय दलको विधानअनुसार निर्णय लिने उनले बताए।

एक महिनायता कांग्रेसमा सरकारको नेतृत्व कसले लिने भन्ने विवाद चलिरहेको छ। कार्यवाहक सभापति कोइरालाले संसदीय दलका नेता रामचन्द्र पौडेलको पक्षमा लबिङ गर्दै आएका छन् भने बरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कुलबहादुर गुरूङले समेत नेतृत्वको दाबी गरिरहेका छन्। पौडेलविरुद्ध देउवा र गुरूङको सहकार्य कायम छ।

केन्द्रीय समिति र संसदीय दलमा पौडेलको पकड छ भने कांग्रेसको अर्को निर्णायक निकाय संसदीय बोर्डमा देउवा र गुरूङको गठबन्धन बहुमतमा छ। बुधबार केन्द्रीय समिति बैठक क्रममा देउवा र गुरूङबीच पटकपटक देउवा कार्यकक्षमा भेटवार्ता गरेका थिए।

पौडेलको नाम प्रधानमन्त्रीमा प्रस्ताव गर्ने गृहकार्य बुधबार बिहानमात्र भएको स्रोतले जनाएको छ। कोइराला निवास महाराजगन्जमा सुशील, पौडेल र नजिकका केही नेताले केन्द्रीय समितिमा प्रस्ताव राख्ने रणनीति बनाएका थिए।

‘कांग्रेस नेतृत्व सरकारको मुद्दा बेमौसमको बाजा जस्तै भयो,' उपसभापति गोपालमान श्रेष्ठले भने, ‘बल्ल सरकारमा जाने कि नजाने भन्ने आधिकारिक छलफल सुरु भएको छ।'

पालैपालो नेतृत्व: बास्तोला
केन्द्रीय समितिमा सुरु भएको छलफलबाट कांग्रेसको नेतृत्वका सरकार नबन्ने अवस्था बनेको केन्द्रीय सदस्य चक्रप्रसाद बास्तोलाले बताए। ‘आजको बैठकका आधारमा भन्ने हो भने कांग्रेसको सरकार बन्दैन,' बास्तोलाले नागरिकसँग भने, ‘म अर्को बैठकमा सरकार निर्माणको चक्रीय अवधारणा राख्छु।'

माओवादी, कांग्रेस र एमालेले मिलेर सरकार बनाउनुपर्ने र पालैपालो नेतृत्व लिने उनको अवधारणामा छ।

‘यसरी सरकार बन्यो भने ४ सय ६० सभासद्को समर्थन हुन्छ,' बास्तोलाले भने, ‘दुई तिहाइको त्यस्तो सरकार दिगो पनि हुन्छ।' (nagariknews)

0 comments: