माधव ढुङ्गेल, काठमाडौं, असार २८- राष्ट्रपति रामवरण यादवले बहुमतीय प्रणालीका आधार प्रधान मन्त्री चयनको प्रक्रिया अघि बढाउन आह्वान गरेका छन्। सहमतीय प्रक्रियाका आधारमा प्रधान मन्त्री चयन गर्न दिएको १२ दिन लामो म्याद सकिएलगत्तै बहुमतका आधारमा चयन गर्ने प्रक्रियाका लागि आह्वान गरेका हुन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार प्रधान मन्त्री चयनको प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई पठाउने पत्र पनि तयार भइसकेको छ। 'सचिवालय खुल्ला भएमा आजै, नभए भोलि कार्यालय खुल्नेबित्तिकै पत्र पुग्छ'- दाहालले भने।
संविधानसभामा प्रतिनिधित्व गर्ने २५ राजनीतिक दलले सर्वसम्मतिले म्याद बढाउने निर्णय गर्दै संयुक्तरूपमा अनुरोध गरेपछि यादवले पाँच दिनअघि सोमबारसम्मका लागि समय थपेका हुन्। त्यसअघि प्रधान मन्त्री पदबाट माधवकुमार नेपालले राजिनामा दिएको भोलिपल्ट असार १७ गते अन्तरिम संविधानको धारा ३८(१) अनुसार असार २३ गते बुधबारसम्म 'राजनीतिक सहमतिका आधारमा प्रधान मन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न' व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने दललाई आह्वान गरेका थिए।
सोमबार दिउसो संविधानसभा भवनमा बसेको ३ दलको बैठकले बहुमतीय प्रणालीमा जाने निर्णय गरेका थिए। प्रधान मन्त्रीको चुनावको प्रक्रिया अघि बढाउने कार्यक्रम बनाउनका लागि सभामुख सुवासचन्द्र नेम्वाङले मङ्गलबार १ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइसकेका छन्। (nagariknews)
Monday, July 12, 2010
राष्ट्रपतिद्वारा बहुमतबाट प्रधान मन्त्री चुन्न आह्वान
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment