फुटबलको एक महिना लामो महासंग्राम आफ्नो उत्कर्षमा आइपुगेको छ । भोलि मध्यरात हुने फाइनल भिडन्तले नयाँ विश्वविजेताको टुंगो लगाउनेछ ।
फाइनल जसले जिते पनि दुईवटा कुरा पक्का भइसकेका छन् । पहिलो, विश्वविजेता बिल्कुल नयाँ हुनेछ । दोस्रो, त्यो युरोपेली टोली नै हुनेछ । दुई युरोपेली टोली स्पेन र नेदरल्यान्डबीच हुने फाइनल भिडन्तमा नेपालीको चासो उत्तिकै छ । हामीले खेल क्षेत्रबाहिरका फुटबलप्रेमीहरूलाई सोध्यौं- फाइनल कसले जित्ला ?
मेरो समर्थनका सबै टिम हारे
वामदेव गौतम, उपाध्यक्ष, नेकपा एमाले
टेलिभिजनबाट साँझ आठ बजे प्रत्यक्ष प्रसारण भएका फुटबल खेल मैले नियमित जस्तै हेरेँ । तर, राति १२ बजे हुने खेल भने त्यति साह्रो हेरिनँ । विश्वकप फुटबलमा मेरो समर्थन रहेका सबैजसो देश हारिसके ।
मैले पहिला कोरियाको टिमलाई समर्थन गरेँ । उसले हारेपछि मेरो समर्थन जापानलाई थियो, त्यो पनि हार्यो । पछि ब्राजिललाई समर्थन गरेँ, उसले जित्ला भन्ने थियो, तर हार्यो । ब्राजिलको हारपछि मेरो समर्थन अर्जेन्टिनालाई थियो, उसलाई पनि जर्मनीले हराइदियो । फेरि मैले जर्मनीलाई समर्थन गरेँ, उसले पनि हार्यो । अब फाइनल खेलमा मेरो समर्थन नेदरल्यान्डलाई हुन्छ ।
कोरिया, ब्राजिलले जितेमा म जति खुसी हुन्थेँ, त्यति खुसी अब हुन सक्दिनँ । तर, मलाई अब नेदरल्यान्डले जिते हुन्थ्यो र उसैले जित्छ होलाजस्तो लागेको छ । खेल हो भन्न सकिन्न । स्पेनले पनि राम्रो खेल्दै आएको छ । नेदरल्यान्ड केही अगाडि भए पनि दुवै टिमको राम्रो टक्कर हुनेछ । मलाई नेदरल्यान्डको टिमवर्क र फोर्स राम्रो छजस्तो लाग्छ । अहिलेसम्म मेरो समर्थनका सबै टिमले हारे पनि अब त जित्छ कि भन्ने लागेको छ ।
स्पेनसँग आत्मविश्वास छ
जेपी गुप्ता, सहअध्यक्ष मधेसी जनअधिकार फोरम
मलाई विश्वकप फुटबल हेर्न निकै मन पर्छ । फुर्सद मिलाएर हेर्ने गरेको छु । दुई-चार दिन त समय मिलाएर नै हेरँे । तर, जति मिलाउन खोजे पनि समय नमिल्ने रहेछ । सेमिफाइनलमा स्पेनको खेल हेरँे, खेल निकै मन पर्यो । स्पेनको टिमसँग आत्मविश्वास छ । उनीहरूमा टिमवर्क पनि राम्रो छ । स्पेनलाई यो ऐतिहासिक अवसर पनि हो, त्यसैले यसपटकको विश्वकप स्पेनले नै जित्नेछ ।
स्पेनले जित्छ
नेत्रविक्रम चन्द 'विप्लब' नेता, एकीकृत माओवादी
मैले पहिलो उद्घाटनदेखि नै विश्वकप फुटबल हेरिरहेको छु । खेलाडीमा मनपर्ने भन्ने कुनै खास खेलाडी छैन । तर, मेरो मनपर्ने टिम अर्जेन्टिना हो, उसले हार्दा नमजा लाग्यो । विश्वकपप्रतिको मेरो जति क्रेज थियो, अर्जेन्टिनाले हारेपछि त्यो क्रेज अलि कम भएको छ ।
फाइनलमा पुगेका स्पेन र नेदरल्यान्डमध्ये स्पेनले नै जितोस् भन्ने लागेको छ र जित्छ पनि । स्पेनका टिमको खेल्ने कला मलाई खुब मन परेको छ, उनीहरूको कलात्मक खेलले नै उनीहरूलाई विजयी गराउनेछ ।
स्पेनले जितोस्
पम्फा भुसाल, नेता, एककीृत माओवादी
मलाई मनपर्ने खेल फुटबल हो । समय मिलेसम्म ठूला खालका फुटबल 'म्याच'हरू हेर्न गरेकी पनि छु । यसपटकको विश्वकप पनि उद्घाटनदेखि नै हेरिरहेकी छु । अर्जेन्टिनाका मेसी मेरो मनपर्ने खेलाडी हुन् । उनको खेल्ने कलाबाट प्रभावित पनि छु । अर्जेन्टिनाका प्रशिक्षक म्याराडोना पनि मलाई मनपर्छ । अर्जेन्टिना, ब्राजिल र स्पेन मेरो रोजाइका टिम हुन् । सुरुमा यी तीनमा पनि ब्राजिल र अर्जेन्टिनामध्ये एकले जित्लान् भन्ने लागेको थियो । तर, दुई टिम बाहिरिए । अब बाँकी स्पेन छ, उसले जित्छ भन्नेमा ढुक्क छु ।
नयाँ शक्ति उदय होस्
अजम्बर काङमाङ राई, युवा नेता, एमाले
अहिले विश्वकप फिबर छ । म पनि यसबाट टाढा हुने कुरै भएन । सबै खेल त हेर्न पाइनँ । नाम चलेका टिमबीचको खेल भने हेरेँ । म सुरुदेखि नै महाशक्ति देश र नाम चलेका दुई देश- ब्राजिल र अर्जेन्टिनाको विपक्षमा थिएँ । सेलिबे्रटीको पछाडि मात्रै लाग्ने प्रवृत्तिको म विरोधी हुँ । पहिले विश्वकप जितेकाभन्दा अरू कुनै राष्ट्रले यसपटक जितोस् भन्ने मलाई लागेको थियो । विश्वकपमा पनि नयाँ शक्तिको उदय होस् भन्ने मेरो चाहना हो । सधैँ एउटा राष्ट्रको एकाधिकार राम्रो हुँदैन । मलाई स्पेनमाथि विश्वास छ । स्पेनले यसपटक विश्वकप जित्छ ।
स्पेनको खेल राम्रो छ
दिलीप प्रजापति, महासचिव, वाइसिएल
मेरो मनपर्ने टिम अर्जेन्टिना हो । मेसी मनपर्ने खेलाडी हुन् । तर, उनले त्यति राम्रो खेल प्रदर्शन गर्न सकेनन् । यसपटकको विश्वकप अर्जेन्टिनाले जित्लाजस्तो लागेको थियो । तर, सबै खेल आशा र अनुमान गरेभन्दा विपरीत देशले जिते । अर्जेन्टिनाले हारेपछि अब मेरो समर्थन स्पेनलाई छ । नेदरल्यान्डको भन्दा स्पेनका खेलाडीको खेल निकै राम्रो भएकाले विश्वकप उसैले जित्छ ।
स्पेन नै राम्रो
गोकर्ण विष्ट, नेता, एमाले
म त ब्राजिलको फ्यान हुँ । ब्राजिलले विश्वकप जित्छ भन्ने लागेको थियो । तर, यसपटकको अनुमान विपरीत भयो । नसोचेका र नसुनेका टिमहरूले नाम चलेका टिमहरूलाई हराए । जुन टिमले जित हासिल गरेको छ, सायदै ती टिमहरूले जित्लान् भनेर कसैले अनुमान गरेका थिए । अब स्पेनले नै जितोस् भन्ने लाग्छ । किनभने स्पेनका खेलाडीको खेल्ने कला राम्र्रो छ । स्पेनका धेरै साथीसँग चिनजान र सम्पर्क भएकाले पनि स्पेनप्रति मेरो भावनात्मक सम्बन्ध जोडिएकोे छ ।
नेदरल्यान्डले जित्छ
रेखा थापा, नायिका
ब्राजिल, पोर्चुगल र अर्जेन्टिना मेरो मनपर्ने टिम हुन् । ब्राजिलका काका, अर्जेन्टिनाका मेसी र पोचुर्गलका क्रिस्टियानो रोनाल्डो मेरो फेबरेट खेलाडी हुन् । म यी तीन खेलाडीको फ्यान हुँ । तीनवटै टिममध्ये कुनै एकले विश्वकप जितोस् भन्ने थियो, तर सबैले हारे । आफ्नो मनपर्ने टिम बाहिरिएपछि विश्वकप हेर्दा त्यति रमाइलो लागेको छैन । मनपर्ने टिम फाइनलसम्म आएको भए खेल हेर्दा रोमाञ्चक हुन्थ्यो । त्यसैले पहिलेका खेल हेर्दा जति उत्साह थियो, पछिल्ला खेल हेर्दा त्यत्ति उत्साह छैन । तर, अहिले मेरो समर्थन नेदरल्यान्डलाई छ । उसले जित्छ भन्नेमा म ढुक्क छु ।
स्पेनको खेल आकर्षक
गगन थापा, नेता, कांग्रेस
कहिले घरमा, कहिले साथीभाइसँग बसेर सुरुदेखि नै विश्वकपका खेल हेरिरहेको छु । ब्राजिल र अर्जेन्टिनमध्ये एकले विश्वकप जित्छ भन्ने सुरुदेखि नै लागेको थियो । मेरो समर्थन पनि यी दुवै टिमलाई थियो । सुरुका खेलहरू त उनीहरूकै सशक्त थियो । पछि अप्रत्याशित रूपमा अन्य टिमहरूले हराए । तर, यसपटकको विश्वकपमा सबैको अनुमानलाई गलत साबित गर्दै नयाँ टिम अगाडि आए । अहिलेसम्मको खेल हेर्दा स्पनेले नै विश्वकप जित्छ किनभने स्पेनका खेलाडी बडो कलात्मक ढंगले खेल्छन् ।
नेदरल्यान्ड बलियो
प्रदीप पौडेल, अध्यक्ष, नेपाल विद्यार्थी संघ
विश्वकप सुरु भएयता संगठनको कामले धेरैजसो म उपत्यकाबाहिर बस्नुपरेको छ । तर, साथीभाइसँग बसेर चर्चामा आएका टिमहरूबीचको खेल हेर्दै आएको छु । फाइनल खेल पनि तनहुँमै बसेर हेरिन्छ होला । मेरो मनपर्ने टिम अर्जेन्टिना हो । उसले हारेपछि अब मेरो समर्थन नेदरल्यान्डलाई छ । उसले जित्छ भन्नेमा म आशावादी छु ।
स्पेनले जित्छ
मानुषी यमी भट्टराई, स्वावियु सचिव त्रिवि
फुटबल मलाई मनपर्ने खेल हो । फुटबलको महोत्सव विश्वकप सुरुदेखि नै घरमै बसेर हेरेकी छु । सुरुमा अर्जेन्टिना र ब्रजिलमा एउटाले विश्वकप जित्छ भन्ने थियो, तर दुवै बाहिरिए । यसपटकको विश्वकप आशा गरेभन्दा फरक भयो । कसैले पनि यस्तो खालको हारजित होला भन्ने अनुमान गरेका थिएनन् । फाइनलमा पुगेका स्पेन र नेदरल्यान्डमध्ये खेल राम्रो भएकाले स्पेनले नै विश्वकप जित्छ ।
नेदरल्यान्डले जित्छ
सुरेन्द्र महतो, उपाध्यक्ष नेपाल बार एसोसिएसन
अहिलेसम्मको खेल हेर्दा मलाई नेदरल्यान्डले नै विश्वकपको उपाधि जित्छजस्तो लागेको छ । मैले यसपटकको विश्वकपमा सबै खेल त हेरेको छैन, तर नेदरल्यान्ड, जर्मनी, स्पेनलगायत देशका सबैजसो खेल हेरेको छु ।
त्यही आधारमा मलाई नेदरल्यान्डको खेल मन परेको हो । स्पेनले पनि नराम्रो खेल्ने होइन, तर गोलपोस्टनजिकै पुग्दा पनि वा प्रहार गर्दा पनि स्पेनले गोल गर्छ कि गर्दैन भन्न सकिँदैन । नेदरल्यान्डको 'टोटल फिनिसिङ' राम्रो छ । सोही आधारमा नेदरल्यान्डले विश्वकपको उपाधि जित्नेमा म विश्वस्त छु ।
स्पेन बलियो दाबेदार
शम्भु थापा, पूर्वअध्यक्ष नेपाल बार एसोसिएसन
अहिलेसम्म विश्वकपका खेलहरू हेर्दा स्पेन बलियो दाबेदार हो । स्पेनको खेल एकदमै स्तरीय छ । ऊ युरोकपको विजेता पनि हो । नेदरल्यान्डको तुलनामा स्पेनको खेल निकै राम्रो छ ।
तर, नेदरल्यान्डको खेल नराम्रो नै भन्न खोजेको होइन । उसको खेल पनि राम्रो छ । दुवै देशबीच धेरै कडा प्रतिस्पर्धा भने हुन्छजस्तो लाग्दैन । ठीकै खालको प्रतिस्पर्धामा स्पेनले विश्वकपको उपाधि जित्नेमा म विश्वस्त छु । (nayapatrika)


0 comments:
Post a Comment