रासस, काठमाडौ, अषाढ २९ - प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली भाषा-साहित्यका क्षेत्रमा अद्वितीय योगदान पुर्याएका आदिकवि भानुभक्त एउटा युगकै चम्किलो नक्षत्र भएको बताएका छन् ।
भानु प्रतिष्ठानद्वारा १९६ औं भानु जयन्तीको उपलक्ष्यमा मंगलबार राजधानीमा आयोजित भानु प्रतिमामा माल्यार्पण र श्रद्धाञ्जलिसभामा नेपालले संस्कृतिको बोलवालाको त्यस युगमा भानुभक्तले रामायणजस्तो महाकाव्य रचना गरी नेपाली भाषालाई काव्य भाषाका स्तरमा समुन्नत तुल्याई महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे ।
भानुभक्तले प्रश्नोत्तरमाला, भक्तमाला, बधुशिक्षाजस्ता लघुकाव्य र अन्य तीन दर्जनजति फुट्कर कवितासमेत रचेर साहित्यमा नेपाली भाषा प्रयोगको क्षेत्रमा नयाँ अध्यायको सुरुवात गरेको चर्चा गर्दै उनले भने , 'नेपाली जनजिब्रोमा वास्तविक प्रतिबिम्बका रूपमा उदाएको रामायणले नेपाली भाषालाई विभिन्न भाषाभाषीबीच सहज सम्पर्क भाषाका रूपमा स्थापित गर्न अतुलनीय योगदान गर्यो ।'
आदिकविबाट प्रयोग गरिएका शब्द, छन्द र लय हिमाल, पहाड, तराईका कुनाकन्दरामा मात्र फैलिएको नभई दार्जलिङ, खर्साङलगायतका नेपाली भाषीमाझसमेत विस्तार भएको बताउँदै प्रधानमन्त्री नेपालले नेपाली भाषा, साहित्य र संस्कृतिमा आदिकविको योगदान सदा अमर रहने उल्लेख गरे ।
प्रधानमन्त्री नेपालले नेपाली भाषा र साहित्यप्रति नयाँ पुस्तामा अनुराग पैदा गर्न तथा विश्वभर छरिएका नेपालीबीच आपसी प्रेम, सद्भाव र राष्ट्रिय एकताको सन्देश छर्ने काममा जुट्न सबैलाई आह्वान गरे ।
भानुभक्तसम्बन्धी वेबसाइटमा सम्बन्धित सूचना समावेश गर्ने, भानुको जन्मस्थल घाँसीकुवामा राष्ट्रिय सङ्ग्रहालय स्थापना गर्ने, काठमाडौमा अन्तर्राष्ट्रियस्तरको नेपाली भाषा र साहित्य तथा संस्कृतिसँग सम्बन्धित अध्ययन केन्द्र स्थापना गर्नेलगायतका भानु प्रतिष्ठानका योजना कार्यान्वयन गर्न आˆनो पूर्ण सहयोग र समर्थन रहने बचन प्रधानमन्त्री नेपालले दिए ।
समारोहमा सभामुख सुवास नेम्वाङले मुलुक र नेपाली भाषाको विकासका लागि आदिकवि भानुभक्तले जेजस्तो आधार बनाए, त्यसलाई समुन्नत बनाएर श्रद्धाञ्जलि अर्पण गर्नु आजको आवश्यकता भएको बताए ।
संविधानसभा सङ्घीय मामिला तथा संस्कृतिमन्त्री डा मीनेन्द्र रिजालले नयाँ नेपाल निर्माण गर्ने नाउँमा मुलुकका संस्कृति र धरोहरका रूपमा रहेका कला, साहित्य र भाषालाई बिर्सन नहुने बताए ।
समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती, समारोहका सभापति प्रा डा व्रतराज आचार्य, साहित्यकार रामदयाल राकेशलगायतले भानुभक्तले नेपाली भाषाको श्रीवृद्धिमा पुर्याएको योगदानको चर्चा गरे ।
समारोहमा १९६औं भानुजयन्तीका अवसरमा आयोजित प्रभातफेरी कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने भानुभक्त मेमोरियल उच्चमाध्यमिक विद्यालय-पानीपोखरी, नेपाल एपिएफ स्कुल-कीर्तिपुर, अन्नपूर्ण उच्चमावि-असन, सरस्वती मावि-क्षेत्रपाटी र नन्दी मावि-नक्साललाई पुरस्कार प्रदान गरियो ।
समारोहमा चुँदीरम्घामा भानुभक्त स्मृति सङ्ग्रहालय निर्माणका निम्ति एनआरएनका पूर्व अध्यक्ष उपेन्द्र महतोले प्रधानमन्त्रीमार्फत भानु प्रतिष्ठानलाई उपलब्ध गराएको रु ५० हजारको चेक हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा नेपाली भाषा र साहित्यमा विशिष्ट योगदान पुर्याउने कवि तथा व्याकरणकार मुकुन्दशरण उपाध्याय र समालोचक तथा संस्कृतिविद् रामदयाल राकेशलाई सम्मान गरियो ।
त्यस अवसरमा भानुभक्तका कविताहरू वाचन गरिएको थियो । समारोहमा भानु प्रतिष्ठानसम्बन्धी सूचना समावेश गर्न बनाइएको वेबसाइटको प्रधानमन्त्रीले शुभारम्भ गरे ।
यसअघि नेपाल प्रज्ञाप्रतिष्ठानमा रहेको भानुभक्तको पूर्णकदको सालिकमा प्रधानमन्त्रीलगायत विशिष्ट महानुभावले माल्यार्पण गरेका थिए ।
कार्यक्रमपछि भानु प्रतिष्ठानले सम्मानित साहित्यकारद्वय उपाध्याय र राकेशको रथारोहण तथा प्रभातफेरीसहित नगर परिक्रमा कार्यक्रम गर्यो ।
प्रभातफेरी कार्यक्रम प्रज्ञाप्रतिष्ठानबाट सुरु भई बागबजार, रत्नपार्क, भानुप्रतिमास्थल रानीपोखरी, त्रिचन्द्र क्याम्पस, घण्टाघर हुदै प्रज्ञाप्रतिष्ठान पुगेको थियो ।
भानुजयन्ती-र्याली
विराटनगर
आदिकवि भानुभक्तको १९७औं जयन्तीको उपलक्ष्यम मंगलबार यहाँ बृहत् र्यालीको आयोजना गरियो ।
स्थानीय संसारीमाइस्थानबाट सुरु भएको सो र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै कोणसभामा परिणत भएको छ ।
कोणसभामा साहित्यकार एवम् वक्ताहरूले आदिकवि भानुभक्तले नेपाली भाषा र साहित्य क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै त्यसको अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन् ।
भानुकला केन्द्रद्वारा आयोजित सो र्यालीमा स्थानीय विद्वान, साहित्यकार, व्यवसायी, बुद्धिजीवी, प्रशासनिक कर्मचारी, पत्रकार तथा सर्वसाधारणको सहभागिता थियो ।
यसअघि सोही उपलक्ष्यमा कविगोष्ठीको आयोजना गरिएको थियो ।
Tuesday, July 13, 2010
भानु जयन्ती/भानुभक्त युगकै चम्किलो नक्षत्रः प्रधानमन्त्री
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment