मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, July 12, 2010

राजीनामापछिको सहमति : प्रदीप नेपाल

नचाहिँदो कुरो बोल्न र तत्काल त्यसलाई बिर्सिएजस्तो गर्ने एमाओवादीका अध्यक्ष प्रचण्डको विशेषता हो । तर, यो राजनेताजनित गुण होइन ।

प्रधानमन्त्री माधव नेपालले राजीनामा दिएको समाचार मैले रुसको राजधानी मस्कोमा सुनेँ । के भएको यस्तो भन्ने सबैलाई लागेको थियो । तर, मैले त्यो समाचारलाई स्वाभाविक रूपमा लिएँ, र उपस्थित नेपाली साथीभाइसमक्ष राजीनामालाई सहजरूपमा स्वीकार्न आग्रह गरेँ । माधव नेपालको मनोभावनासँग परिचित भएको हुनाले उसै पनि मलाई प्रधानमन्त्रीले कुनै पनि बेला राजीनामा गर्छन् भन्ने लागिसकेको थियो भने पार्टीभित्रैबाट माधव नेपालको सरकारलाई कामचलाउ भन्ने अभियोग लागेको र एमालेका अध्यक्ष स्वयंले माधव नेपालले राजीनामा दिएर मुलुकको राजनीतिक गतिरोध हटाउनुपर्छ भन्ने भाषण गरेपछि अब माधव नेपालको प्रधानमन्त्रीत्वको समय लामो छैन भन्ने कुराको टुंगैमा पुगेको थिएँ म । माधव नेपालले राजीनामा दिनु ठीक थियो कि थिएन भन्ने बहस नेपालमा चलिरहेकै छ, तर मैले त्यता जान खोजेको होइन । मैले मूलतः माओवादी नेताहरूको माधव नेपालले राजीनामा नदिएका कारण राजनीति अघि बढ्न नसकेको भन्दै माधव नेपालले राजीनामा नगरेसम्म बजेट पेस गर्न नदिने, नीति कार्यक्रम छिर्नै नदिने जस्ता असंवैधानिक भाषण र क्रियाकलाप गर्दै हिँड्ने माओवादी नेतालाई सम्झाउन खोजेको मात्र हुँ । माओवादी नेताहरूले सायद अहिले बिर्सिए पनि होलान् । तर, उनीहरूले 'माधव नेपालले राजीनामा दिएको पाँच घन्टामा राष्ट्रिय सहमतिको सरकारसम्बन्धी निर्णय गरिने' जस्ता ठूलाठूला भाषण गरेको पनि स्मरण होस् भन्ने चाहना राखी यो टिप्पणीलेखनको आरम्भ गरेको हुँ ।

एकीकृत माओवादीका स्थायी कमिटीका सदस्यहरूले माधव नेपाललाई कुर्चीबाट झार्न राजनीतिक नैतिकताका सबै बार भत्काइदिए । विरोधावरोधको कुरो त सहनु पनि पर्छ । तर, तिनले नेकपा एमालेभित्रै उपाध्यक्ष वामदेव गौतम र अध्यक्ष झलनाथ खनाललाई समेत उचालेर माधव नेपाललाई कोतरेको सन्दर्भ पनि मैले उक्काउनुपरेको छ यतिबेला । प्रधानमन्त्री बन्ने हक झलनाथ खनालको हो भन्ने एमालेका महासचिव ईश्वर पोखरेल तथा माधव नेपालको सरकारले केही गर्न सकेन भन्ने संस्थापन पक्षका नेता-कार्यकर्ताको सार्वजनिक बोली सुन्दा यस्तो लाग्थ्यो - मानौँ माधव नेपाल गैरएमाले हुन्, र तिनलाई प्रधानमन्त्रीको कुर्चीबाट झारेर त्यहाँ नेकपा एमालेका अध्यक्षलाई स्थापना गरिनुपर्छ ।

गठबन्धन सरकार सञ्चालन संसारभरिकै अप्ठ्यारो काम हो । जहिले पनि प्रधानमन्त्रीलाई भ्यागुताको धार्नी पुर्‍याउनै महाभारत ! तर, नेपालमा भने अनौठो दृश्य देखियो, वर्तमान सरकार गठन भएको दिनदेखि नै । सहकर्मी पार्टीहरू प्रधानमन्त्रीको पक्षमा अनि प्रधानमन्त्रीको आफ्नै पार्टीचाहिँ सरकारका विरुद्धमा उभिएको दृश्य सायद नेकपा एमालेबाहेक, संसारको कुनै पनि पार्टीमा देख्न अथवा सुन्न पाइँदैन होला । कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने आहानको व्यावहारिक पुष्टि भनेको पनि यस्तै होला ।

यस्ता सबै दुर्गतिको सञ्चालक एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालभित्र ढुंगो भएर जमेको सत्तालिप्सा नै हो भन्न मलाई अलिकति पनि गाह्रो लाग्दैन । माधव नेपालको सरकार गिराउन कुन फोहोरी खेल खेलेनन् तिनले ! उपत्यका नाकाबन्दी गरेर सरकारलाई हल न चल गराउने भने - तर सरकार हल्लिइरह्यो र चलिरह्यो, तर हल न चल भए नेपाली नागरिक । माओवादीको अनिश्चितकालीन आमहडताल पनि सरकार होइन, जनताकै विरुद्धमा ठडिएर समाप्त भयो । माधव नेपालको विकल्पमा पुष्पकमल दाहालले एकै पटक गिरिजाप्रसाद कोइराला, झलनाथ खनाल, उपेन्द्र यादव र बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको सुनौलो मालाको सपना पनि देखाइदिएकै हुन् ।

आफ्नै पापकर्मका कारण प्रधानमन्त्रीको राजीनामा आएको पाँच घन्टामा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने माओवादी अध्यक्षको घोषणा फासफुस भएको हो । किनभने माधव नेपालका विरुद्ध राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीको जागिर बाँड्दै हिँड्ने पुष्पकमल दाहाल प्रचण्डको वास्तविक अनुहार त त्यतिबेला देखियो, जतिबेला उनी आफैँद्वारा प्रस्तावित प्रधानमन्त्रीका एकजना उम्मेदवार बाबुराम भट्टराईलाई धारेहात लगाएर भारतीय एजेन्ट भन्दै सरापिरहेका थिए ।

नचाहिँदो कुरो बोल्न र तत्काल त्यसलाई बिर्सिएजस्तो गर्ने एमाओवादीका अध्यक्ष प्रचण्डको विशेषता हो । तर, यो राजनेताजनित गुण होइन । पुष्पकमल दाहाल अहिले नेपालको सबैभन्दा ठूलो पार्टीका नेता हुन् । उनीसँग सशस्त्र लडाकाहरूको एउटा ठूलो फौज पनि छ । उनको चेतनामा बन्दुकले आमजनतालाई मुक्ति दिन्छ भन्ने आपराधिक प्रकृतिको भ्रम पनि छ । यस्तो अवस्थामा उनले जथाभावी बोल्नु भनेको नेपालको गम्भीर क्षति हुने काम पनि हुनसक्छ भन्ने तिनलाई थाहा हुनु जरुरी भएको छ ।

मस्कोमा छँदै माओवादी अध्यक्षले भारतीय माओवादीलाई आफ्नो पार्टीको समर्थन रहेको भाषण गरे भन्ने सुनेको थिएँ । सानासाना कुराले प्रचण्डजी हौसिन्छन् भन्ने सामान्य ज्ञान त नेपालमा राजनीति गर्ने सबैलाई थाहा भएकै विषय हो । सायद भारतीय माओवादीले दन्तेवाडामा पाएको सफलतापछि माओवादी अध्यक्षले भारतीय माओवादीलाई समर्थन गर्ने निष्कर्ष निकालेका होलान् भन्ने लाग्यो । यसमा आफूले साह्रै टाउको दुखाउने विषय पनि थिएन ।


मस्कोबाट उडेको प्लेन एक घन्टा ढिलो भएको हुनाले दिल्लीबाट काठमाडौँ आउने जेट एयरको पहिलो उडान छुटेपछि अर्को उडान पर्खिनै पर्‍यो । अचानक उत्तराञ्चलका एकजना माओवादी नेताको हत्याको समाचारमा आँखा गयो । त्यहाँ माओवादी लेखक भाराभारा रावलाई उद्धृत गर्दै लेखिएको थियो, "We accept that after several of our senior leaders were elicinated and arrested a vaccum has heen created the party" (हाम्रा थुप्रै वरिष्ठ नेताहरू या त मारिए, या पक्राउ परे । यसले हाम्रो पार्टीभित्र एउटा रिक्तता पैदा गरेको छ ।)


हाइलाइट गरिएको एउटा वाक्य पढेपछि समाचार सिंगै पढ्न मन लाग्ने भैहाल्यो । रावका भनाइअनुसार भारतीय कम्युनिस्ट पार्टी माओवादीमा ४९ जनाको केन्द्रीय कमिटी रहेछ । त्यो केन्द्रीय कमिटीका २३ जना सदस्य या त मारिएका रहेछन्, या गिरफ्तार भैसकेका रहेछन् ।

भाराभारा रावको यो भनाइ कुनै उत्साहको सन्देश दिने खालको छैन । त्यसमाथि उनी आफ्नो निष्कर्षमा भन्छन्, "पछिल्ला दिनमा पार्टीमा भएको तीव्र भर्तीले पार्टीको तल्लो तहमा धेरै गलत तत्त्वले प्रवेश गरेका छन् । त्यसैले तल्लो तहका कार्यकर्तामा हाम्रो बलियो पकड पनि छैन । उनको भनाइलाई पुष्टि गर्दै सम्पर्कमा आएका तर नाम खोल्न नचाहने भारतीय माओवादी पार्टीका अर्का एक केन्द्रीय कमिटी सदस्यलाई उदृत गर्दै अखबारमा लेखिएको छ, "पहिले हाम्रो पार्टीमा एक जना कार्यकर्ता, एक जना वास्तविक लडाकु तयार गर्न वर्षौं लाग्थ्यो । तर, आजभोलि एउटा सामान्य गाउँले केही महिनामै स्थानीय कार्यकर्ता या एउटा लडाकु बन्छ । जब कि उसलाई हामी किन लडिरहेका छौँ भन्ने पनि थाहा भएको हुँदैन ।"

नेपालको माओवादी पार्टीको विगत पनि भारतीय माओवादी पार्टीका नाम बताउन नचाहने केन्द्रीय सदस्यको जस्तै थियो । कतिपय लडाकाले यो सच्चाइ ओकलिसकेका छन् भने पछिल्लो कालमा 'इयान मार्टिनले सय डलर दिन्छ रे' भन्ने लहैलहैमा क्यान्टोनमेन्टमा बस्न आउने नक्कली लडाकाको संख्या बाह्र हजार रहेको सत्यको उद्घाटन स्वयं माओवादी अध्यक्ष प्रचण्डले गरेका हुन् । यस्ता अबुझ कार्यकर्तालाई सम्हाल्न भारतीय माओवादीको नेतृत्वलाई गाह्रो भएजस्तै नेपालका माओवादी नेताहरूलाई पनि गाह्रै भएको होला । दिउँसोको घाममा चर्कीचर्की भाषण गर्ने माओवादीका नेताहरू रात परेपछि आफ्ना अराजक कार्यकर्ताबाट आतंकित भएर अनिदो निद्रा निदाउँदा हुन् ।

प्रचण्डजी, बन्दुकले आखिरमा आफैँलाई मुक्ति दिन्छ, घाट लैजाने गरी । पाँच घन्टाको सहमतिजस्ता थाङ्ने भाषण गर्न छाड्नूस्, राजनीति भन्नु फगत सत्ता मात्र हो भन्ने अज्ञानी सोचबाट मुक्त हुनूस् । अन्यथा, अहिलेको रुसी युवा पंक्तिले स्टालिनलाई सरापेजसरी भोलिका नेपाली युवाले तपाईंलाई सराप्नेछन् । (nayapatrika)

nepal.pradip@gmail.com

0 comments: