एमाले केन्द्रीय कमिटी बैठक आजदेखि
,'१३ महिनासम्म सरकारमा बस्दा शान्ति प्रक्रिय, संविधान लगायत बिषयमा के भूमिका निर्वाह गर्नुभयो जवाफ चाहिन्छ ।'
दुर्गा खनाल
काठमाडौं, अषाढ २२ - सरकार र पार्टी नेतृत्वको भूमिकाको समीक्षा तथा भावी सरकारका बिषयमा धारणा तय गर्न एमाले केन्द्रीय कमिटीको बैठक मंगलबारदेखि सुरु हुँदैछ ।
बैठकमा सरकारलाई संस्थापन पक्षले असहयोग गरेका बिषयमा अध्यक्ष झलनाथ खनाल र गठबन्धनकारी दललाई समेत थाहा नदिई अकस्मात् पदबाट राजीनामा दिएकोबारे कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपालसँग जवाफ माग्ने गृहकार्यमा केन्द्रीय सदस्यहरु छन् ।
दुबै नेताका क्रियाकलापप्रति कडा रुपमा प्रस्तुत हुने राणनीतिमा ओली पक्षधरहरु छन् । प्रधानमन्त्रीलाई सहयोग गर्दै आए पनि ओली पक्षका नेताहरु पर्याप्त छलफलविनै राजिनामा दिएकोमा प्रधानमन्त्री नेपालसंग असन्तुष्ट छन् । शान्ति र संविधानको कार्ययोजना सहित भावी विकल्प तयार नहुन्जेल पद छाड्न नहुने अडानमा ओली पक्ष थियो । तर प्रधानमन्त्री नेपालले त्यो बिषयमा टुंगो नलाग्दै सहमतिका लागि मार्गप्रशस्त गर्न भन्दै राजिनामा दिएका थिए ।
पार्टी केन्द्रीय समिति बैठकले सरकारबाट फिर्ता हुने निर्णय नगर्दै पद छाडिहाल्न नहुने धारणा ओली पक्षका नेताहरुको छ । उनीहरुले गठबन्धनकारी दलहरुसंग छलफल नगरी राजिनामा दिनु धोकापूर्ण भएको टिप्पणी गरेका छन् । 'केन्द्रीय कमिटीको निर्णय बेगर राजिनामा किन दिनुपर्यो ? त्यसको जवाफ चाहिन्छ, पार्टीको निर्णयबाट प्रधामन्त्री बनेको व्यक्ति पार्टीकै निर्णयबाट राजिनामा दिनुपर्ने थियो' केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले भने- 'गठबन्धनका दलहरुलाई कम्तिमा थाहा दिनुपर्ने थियो, धोका दिनु हुँदैनथ्यो ।'
अर्का केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पनि बहुमत हुँदाहुँदै प्रधानमन्त्रीले राजिनमा दिनुको कारण स्पष्ट बाहिर आउनुपर्ने बताए । बैठकमा त्यो बिषयले प्रवेश पाउने उल्लेख गर्दै उनले भने ,'१३ महिनासम्म सरकारमा बस्दा शान्ति प्रक्रिय, संविधान लगायत बिषयमा के भूमिका निर्वाह गर्नुभयो जवाफ चाहिन्छ ।'
अध्यक्ष खनाल पक्षधरहरु भने नेतृत्वको आलोचना कडा रुपमा हुने सम्भावना देखिएपछि भावी सरकारको स्वरुपको बिषयमा मात्र बैठक केन्दि्रत गर्ने रणनीतिमा छन् । राजिनामाका लागि संस्थापन पक्षधरले प्रधानमन्त्री नेपाललाई दबाब दिदै आएका थिए । 'मुख्य ऐजेण्डा भावि सरकारको स्वरुप र त्यसमा पार्टीको पोसिजन के हुने भन्ने नै प्रमुख हो' केन्द्रीय सदस्य घनश्याम भूषालले भने- 'आन्तरिक घटनाहरु भन्दा पनि बैठक अब के गर्ने भन्नेमा केन्द्रिय हुनुपर्छ र त्यसैमा हाम्रो जोड रहनेछ ।'
माओवादी नेतृत्व स्पष्ट नहुन्जेल राष्ट्रिय सहमतिको सरकार नबन्ने भएकाले त्यसबारे धारणा तय गर्नुपर्नेमा उनीहरुको जोड छ । सहमति नबनेर बहुमतीयमा जाने परिस्थिति आए के रणनीति अपनाउने भन्ने बिषयलाई प्राथमकिता दिने भूषालले बताए । तर बैठकमा भावि सरकारको बिषयमा मात्र नभइ माधव नेपाल सरकार संचालनमा नेतृत्वले शुरु देखि नै असहयोग गरेको बिषयले पनि चर्को रुपमा उठ्ने स्थिति छ ।
प्रधामन्त्रीको राजिनामाका लागि नेतृत्व खुलेरै लागेको, जेठ १४ को सहमति लगत्तै सरकारका कामचलाउ मात्र भएको लगायत टिप्पणी नेतृत्वले गर्दै हिडेकाले त्यसको स्पष्ट जवाफ अध्यक्ष खनालसंग खोज्ने उनीहरुले बताए ।
त्यस्तै पार्टी सभासद्हरु अनुशासनहीन भएर जथाभावी गर्दै हिड्दा समेत अध्यक्षले नियन्त्रणको पहल नगरेको लगायत बिषयमा पनि बैठकमा उठाउने तयारीमा नेताहरु छन् । 'अध्यक्षले संविधानसभा भित्र सभासद्का अराजक गतिवधिलाई रोक्न के गर्नु भयो' केन्द्रीय सदस्य खतिवडाले भने,'सरकारलाई असहयोग र आक्षेप लगाउदै किन हिँडियो भन्ने जवाफ दिनु पर्छ ।' बामदेव गौतम पक्षधर सभासदले प्रधानमन्त्री नेपालविरुद्घ हस्ताक्षर अभियान संचालन गरेको सार्वजनिक भएको थियो । संसदीय दलको काम आफ्नो सरकारको रक्षा गर्नु भए पनि त्यो भूमिका नदेखाएको नेता श्रेष्ठले बताए । तेस्रो केन्द्रीय कमिटीले विष्णु पौडेललाई उपनेता बनाउने निर्णय गरे पनि अहिलेसम्म उनले उपनेताको जिम्मेवारी नपाएको बिषय पनि बैठकमा उठ्ने छ । (ekantipur)
Monday, July 5, 2010
एमाले अध्यक्ष र प्रधानमन्त्री निशानामा
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment