नयाँ पत्रिका, काठमाडौं, ११ जेठ
पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी राजदरबारबाट निकालेर सरकारले आफूमाथि अन्याय गरेको टिप्पणी गरेका छन् । दुई सय ४० वर्षको राजतन्त्र अन्त भएको दुई वर्षपछि सार्वजनिक अभिव्यक्ति दिँदै ज्ञानेन्द्रले अन्याय भए पनि स्वीकार गरेर अदालत नगएको बताएका छन् ।
आइतबार बागेश्वरी मन्दिरको दर्शन गर्ने र समर्थकहरूलाई दर्शन दिन नेपालगन्ज पुगेका पूर्वराजा ज्ञानेन्द्रले त्यहाँ इमेज च्यानललाई विशेष अन्तर्वार्ता दिएका थिए । च्यानलले मंगलबार साँझ प्रसारण गरेको अन्तर्वार्तामा ज्ञानेन्द्रले अदालत जान शुभचिन्तकले तत्कालै सल्लाह दिएको खुलासा पनि गरे ।
'म पनि सर्वसाधारण हुँ, अदालतमा जाने अधिकार थियो,' उनले भने, 'मलाई सल्लाह पनि दिइएको थियो, तर सरकारको मर्यादा राखेर अदालत गइनँ,' उनले भने ।
नारायणहिटी छाडेर नागार्जुन (र पछि निर्मल निवास) गएपछि आफूलाई बत्ती, पानीको समस्या भएको गुनासो उनले टेलिभिजनबाटै पनि गरेका छन् । 'मेरो निवासमा केही पनि छैन । लोडसेडिङ तपाईंहरूले जस्तो भोगिरहेको छु । पानी, बत्ती केही छैन,' उनले भने । ज्ञानेन्द्रले नेपालगन्ज पुगेको बेला शुभचिन्तकहरूसँगको गोप्य कुराकानीमा बत्ती, पानीको अभावमा आफूलाई दुःख भएको गुनासो गरेको समाचार नयाँ पत्रिकाले सोमबार नै प्रकाशित गरेको थियो ।
नारायणहिटीबाट हटे पनि देशका लागि आफूले 'केही गर्ने' समय आउने र त्यसका लागि पर्खिरहेको पनि उनले बताए । अहिले भने त्यो बेला भइनसकेको उनले बताए । 'त्यो समय आउँदै छ, अहिले चाहिँ भएको छैन । आउला भन्नेजस्तो लाग्छ मलाई,' उनले आशा व्यक्त गरे ।
च्यानलले अहिलेको राजनीतिक अवस्थाबारे तपाईंको के भूमिका हुन्छ ? भन्ने प्रश्न पनि राखेको थियो । जवाफमा ज्ञानेन्द्रले भने, 'त्यो पनि उनीहरू (राजनीतिक दलका नेताहरू) मा भर पर्छ, चुप लागेर बस् भन्छन् भने हामी चुप लागेर बस्छौँ ।'
पूर्वराजाले हिन्दूराज्य र राजसंस्थाबारे सोचेर निर्णय नगरिएको पनि बताएका छन् । उनका अनुसार ८० प्रतिशत जनता हिन्दूराज्य र राजसंस्थाको पक्षमा थिए । तर, राजसंस्थाले राष्ट्रिय एकतामात्र खोजेको उनको भनाइ छ । 'राजसंस्थाले कहिल्यै पनि पपुलारिटी चाहेको थिएन, युनिटीमात्र खोजेको हो,' उनले भने । हिन्दूराज्य र राजसंस्था हटाउँदा जनताको मन दुखेको पनि उनले बताए ।
जनआन्दोलनको अन्तिम दिन ११ वैशाखमा दल र आफूबीच समझदारी भएको र पछि तोडिएको संकेत गर्दै उनले असन्तुष्टि पनि पोखे । 'त्यो बेला भएको सहमति धेरैलाई थाहा भइसकेको छ, मैले भनिरहनुपर्दैन ।'
देशदौडाहामा लागेका ज्ञानेन्द्रले राजनीतिमा सक्रिय हुन खोजेको आशंका पनि मेटाउने प्रयास गरेका छन् । उनले सर्वसाधारण नेपालीका रूपमा मन्दिर घुम्न पाउनु आफ्नो अधिकार भएको पनि प्रष्ट पारेका छन् । 'म त सर्वसाधारण नेपाली हुँ । जनताको भावना बुझ्न हिँडेको होइन, सर्वसाधारण भएर मन्दिर जान त पाउँछु नि,' उनले भने ।
यसअघि जनकपुर गएको बेला उनले राजतन्त्र गयो भन्नु 'हाइपोथेटिकल' भएको टिप्पणी गरेपछि विवाद भएको थियो । जनकपुरको विवादास्पद अभिव्यक्तिबारे पनि ज्ञानेन्द्रले नेपालगन्जबाट प्रष्टीकरण दिन खोजे । 'मैले सर्वसाधारणले यसो पनि भनेका छन् है भनेर सुनाएको कुरा भनेको थिएँ । कतिले दिवास्वप्न देख्यो भने, कतिले धमिलो पानीमा माछा मार्यो भने । बोल्नु अधिकारमात्र होइन, सुन्नु पनि नेताको कर्तव्य हो,' उनले भने ।
राजतन्त्र गए पनि जनताको आफूप्रतिको आकर्षण देखेर ज्ञानेन्द्रले आश्चर्य प्रकट गरे । 'अझै पनि जनता मलाई छुनै चाहन्छन्, ढोग्नै चाहन्छन्, तर हामीले यस्तो कहिल्यै चाहेका छैनौँ । नेपालगन्जमा पनि देखिहाल्नुभयो,' उनले भने ।
तर, राजसंस्था फालिनुमा अरूलाई दोष नदेखाउने पनि उनले स्पष्ट पारे । 'दोष मैले लिनुपर्छ । अरूलाई पन्छाएर, दोष देखाएर पन्छिने अवस्था छैन,' उनले भने ।
उनले देशदौडाहा जारी राख्ने संकेत पनि गरेका छन् । 'धेरै ठाउँबाट बोलाइएको छ । हेर्दै जाऊँ । जनतामाझ जान पहिले पनि अप्ठयारो थिएन, अहिले पनि छैन ।' उनले भने ।
उनले आफ्नो दैनिकीबारे पनि केही जानकारी दिएका छन् । बिहान ६ बजेतिर उठेर पाठ गर्ने र नाति/नातिना स्कुल जानुअगाडि केही समय उनीहरूसँग बिताउने गरेको बताउँदै उनले त्यसपछि सर्वसाधारणसँग भेट गर्ने गरेको जानकारी दिए ।


0 comments:
Post a Comment