मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, May 16, 2010

महिलाको ब्लफ कलले प्रहरी हैरान

कमल रिमाल
जब रात चकमन्न हुन्छ, मानिसको चहलपहल बन्द हुन्छ । सबै सुतिसकेका हुन्छन् । जनताको सुरक्षामा खटेका प्रहरीलाई पनि निन्द्राले छोप्न थाल्छ । मोरङ जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रूपमा बसेका प्रहरी पनि शून्य रातमा कुर्सीमै झकाउन थालेका हुन्छन् । अनि टेलिफोनको घण्टी बज्छ, झस्कँदै ब्यूँझिएका प्रहरीले फोन उठाउँछन् । मलिन स्वरमा महिलाको आवाज आउँछ । प्रहरीले सोध्छ, 'कस्लाई खोज्नुभएको ?' मीठो स्वरमा महिलाको जवाफ आउँछ- 'मैले तपाईंलाई नै खोजेको ।'

महिलाको स्वरका कारण ड्युटी गरेर रात काट्नुपर्ने कन्ट्रोल रुमका प्रहरीको आँखाबाट निन्द्रा भाग्छ । फोनमा लामो कुरा हुन्छ । अपरिचित महिला र फोन उठाउने प्रहरीबीचको कुरा धेरै खालका हुन्छन् । भोलिपल्ट पनि त्यसैगरी फोन आउँछ तर फोन उठाउने प्रहरी अर्कै हुन्छन् । जसले फोन उठाए पनि महिलासँगको कुराकानी उस्तै खालको हुन्छ । उनीहरूबीच जीवन, प्रेम, यौनजस्ता विषयमा कुराकानी हुन्छन् ।

निन्द्राले रात कटाउन गाह्रो भैरहेको प्रहरीका लागि फोन साथी हुने गरेको छ, तर त्यही फोन अहिले प्रहरीका लागि घाडो हुन थालेको छ । त्यस्ता फोन धेरै आउन थालेका छन् । मीठो र लामो कुरा गरेर रात बिताउने प्रहरीहरू अहिले र्झकन थालेका छन् । अनावश्यक फोन गरेर प्रहरीलाई दुःख दिने काम बढ्न थालेपछि उनीहरू र्झकन थालेका हुन् । राति मात्र होइन, अहिले मोरङ प्रहरीको कन्ट्रोल रुमलाई चौबीसै घण्टा ब्लफ कलको समस्याले सताउन थालेको छ ।

'हाम्रै साथीहरूले पहिले-पहिले लामो गफ गरेकैले अहिले हामीले दुःख पाएका हौं', कन्ट्रोल रुपमा फोन उठाउने एक प्रहरी हवल्दारले भने- 'जति फोहोरी गाली गररे हप्काए पनि फोन गर्न छाड्दैनन् ।' प्रहरीको १०० नम्बरमा निःशुल्क फोन गर्न पाइने भएकाले पनि यसरी ब्लफ कल आउने क्रम बढेको हो । कोसी अञ्चलबाट निकालिएको मोबाइल फोनबाट १०० नम्बरमा डायल गर्दा मोरङ प्रहरीकै कन्ट्रोल रुममा घण्टी बज्छ । लगातार ब्लफकल आउन थालेपछि प्रहरीले त्यस्ता नम्बरहरू संकलन गरेर टेलिकमबाट कल डिटेल निकालेको छ । जिल्ला प्रहरीको १०० नम्बरमा फोनका तीनवटा लाइन छन् । ब्लफ कलका कारण कहिले काहीँ तीनवटै लाइन व्यस्त हुन्छन् ।

एक प्रहरी अधिकृतका अनुसार, टेलिकमबाट कल डिटेल निकालेर फोन गर्ने महिलाहरूका बारेमा बुभmदा उनीहरू धेरैजसो रेस्टुराँमा काम गर्ने र श्रीमान् विदेश गएका महिला भएको पत्ता लागेको छ । 'फोन गर्नेहरू धेरैजसो विराटनगर बाहिरका छन्', प्रहरी निरीक्षक लालध्वज सुवेदीले भने- 'उनीहरू महिला भएकैले कारबाही नगरी फोन गरेर सतर्क गराउने काम गरिएको छ ।' रातभरि प्रहरीलाई फोन गरेर दुःख दिने ती महिलाहरूले मदिरा सेवन गरेर टाइम पास गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरीको कन्ट्रोल रुममा राखिएको खाताको दुई पाना ब्लफ कल आउने नम्बरहरूको टिपोटले भरिएको छ । खातामा टिपोट राखिएका नम्बरहरू देखाउँदै कन्ट्रोल रुममा फोन उठाउने प्रहरी शान्त पाण्डेले भने- 'मनपरी गाली गर्दा पनि फोन गर्न छाड्दैनन्, बरु नबोली सुनिरहन्छन् ।' पुरुष प्रहरीलाई जिस्क्याउने महिलालाई गाली गर्न महिला प्रहरीको सहयोग लिँदा पनि उनीहरूले मानेका छैनन् । ब्लफकलले हैरान भएको प्रहरीले आक्रोशमा मनपरी र फोहोरी गाली गर्दा पनि उनीहरू सुनिरहन्छन् । प्रहरीलाई अनावश्यक फोन गरी दुःख दिने अधिकांश फोन युटीएलबाट आएको प्रहरी निरीक्षक सुवेदी बताउँछन् ।

विराटनगरस्थित बारुणयन्त्रमा ९७२२१५४९२५ नम्बरको युटीएल फोनबाट एउटा कल आयो । आगलागी भएकाले छिट्टै आउनु भनियो । दमकलका कर्मचारीले सोधे- 'आगो कहाँ लाग्यो ?' जवाफ आयो-'कानेपोखरीमा', कर्मचारीले थपे- 'कसको घरमा ? जवाफमा भनियो-'कानेपोखरीको पोखरीमा ।' मध्यरातमा दमकलका कर्मचारीलाई जिस्क्याएको कुरा उनीहरूले प्रहरीलाई जानकारी गराए । उक्त नम्बर प्रहरीलाई कारबाहीका लागि दिइयो । ब्लफकल आउनेमध्येको लिस्ट हेर्दै जाँदा उक्त नम्बर पहिले नै प्रहरी कन्ट्रोल रुमको खातामा उल्लेख भैसकेको थियो ।

प्रहरी मात्र होइन, दमकललाई समेत दुःख दिनेलगायतका १० वटा युटीएल फोनको लाइन काट्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेअनुसार टेलिकमले फोन लाइन काटिसकेको छ, जसमध्ये आफ्नो फोनबाट प्रहरीलाई दुःख नदिएको भन्दै काटिएको लाइन खुलाइदिन आग्रह गर्न एक जना शिक्षक प्रहरी कार्यालयमा आएका थिए । बाँकी नौवटा नम्बर काटिए पनि फोन सञ्चालक प्रहरी सम्पर्कमा नआएको प्रहरीले बताएको छ । गत सोमबार पनि मोरङ प्रहरीले ३० वटा युटीएलका फोन लाइन काट्न युनाइटेड टेलिकमलाई पत्र पठाएको प्रहरी नायव उपरिक्षक रेवती ढकालले बताए । प्रहरीलाई ब्लफकल गर्ने केहीलाई कार्यालयमा बोलाएर सचेतसमेत गराइएको ढकालले जानकारी दिए ।

मोरङका प्रहरी उपरीक्षक दीपक थापाले प्रहरीको फोन बिजी गराएर अपराध पनि गर्न लागेको हुनसक्ने बताउँदै ब्लफकल गर्नेलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । 'सार्वजनिक नम्बरबाट फोन गरेको हो भने कुरा अर्कै हुन्छ तर निजी फोन प्रयोग गरेको पाइए सार्वजनिक मुद्दा हाल्न सकिन्छ' थापाले भने- 'प्रहरीलाई ह्यारेशमेन्ट गर्नेहरूमाथि कारबाही हुन्छ ।' प्रहरीको फोन एक मिनेट ब्यस्त हुँदा एक जनाको ज्यान जान सक्ने भएकाले फोन बिजी गराउन पनि ब्लफ कल गरिएको हुन सक्ने आशंका पनि प्रहरीको छ । (साप्ताहिक)

0 comments: