रामनारायण विश्वास नयाँ पत्रिका, सप्तरी, १ जेठ, इलाका प्रशासन कार्यालय कञ्चनपुर र भारदह गाविसका कर्मचारीको मिलेमतोमा एक भारतीय नागरिकलाई नेपाली नागरिकता प्रदान गरिएको रहस्य खुलेको छ । सप्तरीको भारदह गाविस-६ निवासी श्यामसुन्दर दासको छोरा बनाएर भारतीय नागरिक भोला दासलाई नेपाली नागरिकता दिइएको हो । गत चैत १ मा भारदह गाविस कार्यालयको सिफारिसमा इलाका प्रशासन कार्यालय कञ्चनपुरले उनलाई नागरिकता प्रदान गरेको थियो ।
सर्वसाधारणको उजुरीका आधारमा प्रशासन कार्यालयले नै गरेको छानबिनबाट सो रहस्य खुलेको जिल्ला प्रशासन कार्यालय मुद्दा फाँटका सुब्बा प्रेम भट्टराईले नयाँ पत्रिकालाई बताए । भारतीय नागरिक दासलाई नागरिकता दिएको भोलिपल्टै प्रशासनमा उजुरी परेको थियो । उजुरीका आधारमा नागरिकतासम्बन्धी सम्पूर्ण कागजात राजविराजस्थित जिल्ला प्रशासन कार्यालय झिकाइएको र गहिरो अनुसन्धान भइरहेको सुब्बा भट्टराईले जानकारी दिए ।
'भारदह गाविसका सचिव कवितलाल यादवले भारदह-६ निवासी श्यामसुन्दर दासको छोरा भोला दास रहेको भनी सिफारिस गरेको पाइएको छ,' प्रशासनका सुब्बा भट्टराईले भने । यसप्रकारको मुद्दाको अनुसन्धान पूरा हुन दुई वर्ष लाग्ने उनको भनाइ छ ।
भोलाका बुबा बनाइएका श्यामसुन्दर दासले जिल्ला प्रशासन कार्यालयमा दिएको बयानअनुसार नक्कली नागरिकता बनाउने काममा भारदह गाविसका सचिव कवितलाल यादव, मुखिया महेन्द्र मुखिया, स्थानीय केही व्यक्ति तथा इलाका प्रशासन कार्यालय कञ्चनपुरको समेत केही कर्मचारीको संलग्नता रहेको छ । उनीहरूले नक्कली नागरिकता बनाउन मोटो रकम लिएकोसमेत स्रोतको भनाइ छ ।
यता, जिल्ला प्रशासन कार्यालय सप्तरीले नागरिकता पाउने भारतीय नागरिक भोला दास र उनका बुबा बन्ने श्यामसुन्दर दासलाई समेत पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको भट्टराईले जानकारी दिए । प्रहरी स्रोतका अनुसार उनीहरू हाल फरार छन् भए पनि खोजीकार्य भइरहेको छ । पैसाको प्रलोभनमा श्यामसुन्दरले भोलालाई आफ्नो छोरा स्विकारेर नागरिकता दिलाउन सघाएको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद घिमिरेले नक्कली नागरिकताको प्रकरणमा अनुसन्धान भइरहेको र दोषी ठहरिने जोसुकैलाई कानुनबमोजिम कारबाही हुने जनाए ।


0 comments:
Post a Comment