संविधानसभाको कार्यकाल यसै साता सकिंदैछ तर म्याद थप्ने सहमति अझै हुन सकेको छैन
पार्टि प्रवक्ता दिनानाथ शर्माका अनुसार माओवादीको केन्द्रिय समितिको बैठकमा बोल्ने मध्ये झिनो संख्याले मात्रै संविधानसभाको म्याद थप्नैपर्ने बताएका थिए।
तीन दिनदेखि राजधानीमा जारी केन्द्रिय समितिको बैठकमा नेताहरुले धारणा राख्ने क्रम आइतबार सकिएको छ।
त्यसरी धारणा राख्ने १२३ जनामध्ये अधिकांशले प्रधानमन्त्रीको राजीनामा नआइ माओवादीले संविधानसभाको म्याद थप्न नहुने विचार राखेको प्रवक्ता दिनानाथ शर्माले बताए।
“यथास्थितिमा शान्ति र संविधानको सुनिश्चितता नगरी संविधानसभाको म्याद थप्न नहुने धेरैको राय आएको छ,” शर्माले भने।
पार्टी नेताहरुले राखेको धारणाबारे सोमबार पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिने बताइएको छ।
आइतबार बसेको सरकार समर्थक दश दलको बैठकले संविधानसभाको म्याद थप्ने प्रस्ताव गरिएको विधेयकलाई समर्थन गर्न माओवादीलाई अपील गरेको थियो।
आफ्नो राजीनामा नभइ संविधानसभाको म्याद थप्न सहयोग नगर्ने माओवादीको अडानका कारण दबाबमा परेका प्रधानमन्त्री माधबकुमार नेपाललाई उक्त बैठकले केही बल मिलेको देखिएको छ।
उक्त बैठकले संविधानसभाको बचाउ गर्ने जिम्मा माओवादीको समेत रहेको ठहर गरेको थियो।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने, “माओवादी लगायत सबै दललाई सरकारको विधेयकलाई समर्थन गर्न हामीले आव्हान गरेका छौं।”
आत्मालोचना
तर आफ्ना समर्थकहरुबीच डाकिएको उक्त बैठकमा समेत प्रधानमन्त्रीले आलोचना खेप्नुपर्यो।
केही दिन अगाडि माओवादीलाई फकाउनको निम्ति मात्रै आफु संविधानसभामा जान राजी भएको बताएका प्रधानमन्त्रीले आइतबारको बैठकमा आत्मालोचना गरेका थिए।
“मैले अर्कै प्रसंगमा बोलेको थिएं, गल्ती भयो भनेर उहाँले आत्मालोचना गर्नुभयो,” बैठकमा सहभागी सद्भावना पार्टिका अध्यक्ष तथा मन्त्री राजेन्द्र महतोले प्रधानमन्त्रीलाई उद्धृत गर्दै बताए।
म्याद सकिन चारदिन मात्र बाँकि रहेका बेला सोमबार संविधानसभाको समय एक वर्ष थप्ने प्रस्ताव गरिएको सरकारी विधेयक संसदमा प्रस्तुत हुँदैछ। (BBC)
Monday, May 24, 2010
‘अधिकांश माओवादी नेता निशर्त म्याद नथप्ने पक्षमा’
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment