नयाँ पत्रिका, इलाम, ९ जेठ, ठगीको आरोपमा युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक पक्राउ परिरहेका वेला इलाममा अर्को नेटवर्किङ व्यवसाय वल्र्डटप इन्टरनेसनलले आइटी विश्वविद्यालय स्थापना गर्ने सपना देखाउँदै रकम असुल्न थालेको तथ्य फेला परेको छ । युनिटीकै सिको गर्दै सो नेटवर्किङले एकपछि अर्को सदस्य बनाएर त्यसबाट नाफा कमाउने र कम्प्युटरसम्बन्धी शिक्षासमेत दिने प्रलोभन देखाउँदै सदस्य विस्तार सुरु गरेको छ ।
सदस्य बनाउँदै जाने वल्र्डटपले प्रतिव्यक्ति ११ हजार तीन सय रुपैयाँ लिने गरेको छ । आफू सदस्य बनेपछि अन्य तीन सदस्य बनाउँदा दुई हजार पाँच सय रुपैयाँ कमिसन दिने बताउँदै सो नेटवर्किङले ग्रामीण भेगमा सदस्य विस्तार गर्न थालेको हो । सदस्य बनेपछि कम्प्युटरको डिप्लोमा कोर्ससम्म निःशुल्क अध्ययन गर्न पाइनेसमेत सो संस्थाले बताउने गरेको छ ।
काठमाडौँको कलंकीमा मुख्य कार्यालय रहेको संस्थाको १४ भन्दा बढी जिल्लामा शाखा रहेको, इलामको गोदक र श्रीअन्तुबाट रकम उठाइरहेको र पञ्चकन्या गाविसमा सदस्य विस्तारका क्रममा रहेको वल्र्डटप इलामका राजकुमार खातीले बताए ।
संस्थाका ८० प्रतिशत कार्य र योजना यसअघि प्रशासनले प्रतिबन्ध लगाएको अग्नि इन्फोकमनामक नेटवर्किङ बिजनेससँग मेल खान्छ । एकपटक सदस्य बनिसकेपछि रकम फिर्ता गर्न नमिल्ने नियम रहेको सो संस्थामा देेशभरिबाट करिब सात हजार र इलाममा ७० भन्दा बढी सदस्य रहेको संस्थाले जनाएको छ ।
युनिटीको ठगीबाट त्रास फैलिरहेको वेला इलाममा सो संस्थाको शाखा कार्यालय खोज्दा नभेटिएको गोदकका भाष्कर भारद्वाजले बताए । वैधानिकताबारे खोजी गर्दा संस्था दर्ताको प्रमाणपत्र देखाउने, इलाममा भएका प्रतिनिधिले संस्था आधिकारिक भएको जिकिर गर्ने र संस्था नेटवर्किङ बिजनेस नभएकोसमेत दाबी गर्ने गरेको भारद्वाजले जानकारी दिए ।
संस्थाको वैधानिकताबारे बताउन नसकेर वल्र्डटपका स्थानीय 'लिडर' सम्पर्कविहीन हुन थालेपछि गोदकका स्थानीय सदस्यले सो संस्थाले सञ्चालन गरेको गोदकस्थित इन्स्िटच्युटमा बिहीबार नै तालाबन्दी गरिदिएका थिए । 'संस्थाको वैधानिकताबारे शंका लागेपछि बताउनमात्र हामीले आग्रह गरेका थियौँ,' पीडित सदस्य जीवन न्यौपानेले भने, 'तर, यहाँ भएका जिम्मेवार पदाधिकारी नै सम्पर्कविहीन भएपछि तालाबन्दी गर्नुपरेको हो ।'
यता, ठगीको शंका भएपछि जिल्ला प्रशासन कार्यालय इलामले आइतबासम्ममा सम्पूर्ण कागजातसहित प्रशासनमा उपस्थित हुुन वल्र्डटपलाई निर्देशन दिएको इलामका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । विभिन्न सपना देखाएर नेटवर्किङ व्यवसायले रकम असुल गरिरहेकाले संस्थाबारे बुझेरमात्र खर्च गर्न निरौलाले सर्वसाधारणलाई आग्रह गरेका छन् । (nayapatrika)
Monday, May 24, 2010
युनिटीजस्तै अर्को नेटवर्किङ व्यवसाय
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment