श्रीमती सोनी हङकङ उच्च अदालत जाने-
पूर्ण बस्नेत, (नागरिक) हङकङ, जेठ १२- हङकङ कोरोनर्स अदालतले प्रहरीको गोलीबाट गत वर्ष मारिएका दिलबहादुर लिम्बुको हत्या कानुन सम्मत भएको फैसला गरेको छ। 'प्रहरीले हङकङको कानुन अन्तर्गत रहेर ड्यूटी गर्ने क्रममा उनीमाथि आक्रमण भएकाले ज्यान जोगाउनका लागि गोली चलाउँदा दिलबहादुर लिम्बुको मृत्यू हुन पुगेको' अदालतको ठहर छ।
मृत्यूको कारण निरुपण गर्ने कोरोनर्स अदालतले मंगलबार सुनाएको फैसलाबाट आफू निराश भएको भन्दै लिम्बुकी श्रीमती सोनीले पुनरावलोकनका लागि उच्च अदालत जाने बताएकी छन्। फैसला लगत्तै अदालत परिसरमा सञ्चारकर्मीलाई बाँडिएको लिखित प्रतिक्रियामा उनले भनेकी छन्, "स्वतन्त्र आयोग बनाएर घटनाको छानविन गरी वास्तविकता पत्ता लगाउन म सरकारसँग पुनः आग्रह गर्छु।"
सञ्चारकर्मी र सुभेच्छुकहरूले भरिएको अदालतमा फैसला सुनाउँदा आँशु झारेकी सोनीलाई कोरोनर्सका न्यायाधिश विलियम सिन वाईले प्रहरीको गोलीबाट दिलबहादुरको मृत्यू हुन पुगेकोमा सहानुभूती प्रकट गरेका थिए।
दिलबहादुरको मुद्दामा ७५ दिन लामो सुनुवाईको क्रममा घटनासँग सम्बन्धित करिब ६० जनाको बयान लिइएको थियो। पाँच जना रहेको जुरीले सुनाएको फैसलामा सरकार र प्रहरीलाई कुनै सुझाव दिइएको छैन। फैसला लेख्नु अघि न्यायाधिशले जुरीलाई निर्देशन दिएका थिए।
गत वर्ष मार्च १७ मा होमान्तिङ डाँडामा हङकङका प्रहरी जवान होईकाकेईले हानेको गोलीबाट हङकङमा जन्मिएका ३० वर्षीय लिम्बुको मृत्यू भएको थियो। प्रहरीले परिचय पत्र माग्दा काठको लाठीले आक्रमण गर्न खोजेपछि पहिला चेतावनी दिएको र पछि प्रतिरक्षाका लागि गोली चलाउँदा लिम्बुको मृत्यू भएको बयान अदालतमा दिएका थिए। तर दिलबहादुरका वकिलले साक्षीहरूको बयानको आधारमा प्रहरीले अनावश्यक तरिकाले गोली हानेर हत्या गरेको तर्क गरेका थिए।
लिम्बुको मृत्यूपछि छानविनको माग गर्दै गत वर्ष प्रदर्शन गरेको हङकङ नेपाली महासंघले उच्च अदालत जान सोनीलाई सहयोग गर्ने जनाएको छ। "कोरोनर्सको निर्णयबाट हामी पनि सन्तुष्ट छैनौँ, अब न्यायका लागि उच्च अदालतमा जान्छौँ", महासंघका अध्यक्ष प्रदिप थापाले भने।
Wednesday, May 26, 2010
दिलबहादुरको हत्या कानुनसम्मत भएको अदालतको फैसला
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment