मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, May 17, 2010

८२ वर्षको उमेरमा तेस्रो बिहे !

बद्रीकुमार न्यौपाने, (नागरिक) काठमाडौं, जेठ ३- ८२ वर्षे बयोवृद्धको इच्छा र दिनचर्या के होला? तीर्थव्रत, मन्दिर धाउने, भजन गाउने अथवा नातिपनाति खेलाउने। तर भक्तपुर, लोकन्थलीका कर्णबहादुर कार्कीले भने आइतबार आफूभन्दा झण्डै ४८ वर्षले कान्छी यशोदा खड्कासँग बिहे गरेका छन्। बेहुला कार्की जग्गेमा बसिरहँदा उनका नाति आवश्यक सरसामानको जोहो गर्न व्यस्त थिए।

आफ्नै घरको छतमा आइतबार बिहान स्वयंवर गरेका कर्णबहादुरका ४ छोरा र ५ छोरी, १७ नाति-नातिना र ११ पनाति-पनातिना छन् भने पनाति नै कक्षा १२ मा पढ्छन्। बेहुलाको पुर्ख्यौली संखुवासभा चैनपुर हो भने, बेहुलीपनि चैनपुरकै हुन्। कर्णबहादुरको यो तेस्रो बिहे थियो भने खड्काको पहिलो ।

१३ वर्षकै उमेरमा कर्णबहादुरले १९९९ सालमा पहिलो बिहे गरेका थिए भने २०१० सालमा दोस्रो। उनको पहिलो श्रीमतीको २०१६ र दोस्री श्रीमतीको गत वर्ष निधन भएको थियो। कर्णबहादुरका दुई छोराको समेत मृत्यु भइसकेको छ।

'के गर्नु पत्रकारबाबु, आ-आफ्नो लेखान्त हुँदोरहेछ,' अलि गम्भीर हुँदै बेहुला कर्णबहादुरले नागरिकसँग भने, 'गत साल दैवले श्रीमती पनि खोसे।'

दोश्री श्रीमतीको निधनपछि एक्लो महसुस गरेको बताउने कर्णबहादुरले बिहे गर्ने इचता भए पनि उमेर र समाजका कारण मन मारेर बसेको बताए। बेहुली यशोदा भने सानैमा आमाको मृत्युभएपछि भाइहरू हुर्काएर बसेकी थिइन्। दुवै भाइको बिहे भइसके पनि उनले बिहेबारे सोचेकी थिइनन्।

बेहुलीका पिता र बेहुला मित्र हुन्, उनीहरूबीच टाढाको नातासमेत पर्दथ्यो। बेहुली कर्णबहादुरलाई 'बडा बा' भनेर सम्बोधन गर्थिन्। बेहुलीका पिता 'आफ्नो पहिलो बिहेमा पनि जन्ती गएको' उनले बताए।

बेहुलीका पिता उपचार गर्न काठमाडौं आएपछि कर्णबहादुर उनलाई भेट्न गएका थिए। त्यसैबेला यशोदाको हात मागेको उनले बताए। छोरीको भविष्य सोचेर हो वा मित्रको दुःख देखेर हो उनले निर्णय गर्ने अधिकार छोरी यशोदालाई नै छाडिदिए।

सुरुमा अक्क न बक्क परेर प्रस्ताव अस्वीकार गरे पनि आफन्त र साथीहरूले बिहेका लागि हौस्याएको यशोदाले बताइन्। गत मंसिरमै बिहेको कुरा पक्क भए पनि दोस्री श्रीमतीको वार्षिकी नफुकाएकाले ढिलो हुँदै अक्षय तृतीयाको साइत जुरेको कार्कीका आफन्तले बताए।

पण्डितले पाँच घन्टा लगाएर बिहे सक्नै लाग्दा बेहुला कर्णबहादुर 'बेहुलीको कन्यादान भएकै छैन नि' भन्दै थिए। बिहेको सरसामान किन्न कर्णबहादुर आफैं सक्रिय रहेको उनका आफन्तहरूले बताए। उनको बिहेमा आफन्त मात्र होइन, रमितेहरू पनि थिए। तर बेहुला कर्णबहादुर जो कोहीलाई पनि प्रसाद नखाई नजान भन्दै थिए।

एक्लोपनको महसुस गरी साथीको खोजीमा बिहे गरेको बताए भने बेहुलीले आफन्तको आग्रहलाई अस्वीकार गर्न नसकेको जानकारी दिइन्। बिहेपछिको योजनाबारे दुवैले केही बताउन नचाहे पनि कर्णबहादुरले छोराको रहर व्यक्त गरे। 'छोरा मान्छेको ९० वर्षसम्म सन्तान हुन्छ भन्छन्, म त बल्ल ८२ त हो नि,' उनले जोस्सिँदै भने, 'अब छोरा पाइयो भने पाँच छोरी र पाँच छोरा बराबर हुन्छन्।'

1 comments:

Balman said...

बुढाले त गजब गरेछ, म पति ८२ बर्षमा तेस्री भित्र्याउने जोश चल्यो हा हा हहाा हा......