मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, May 27, 2010

मेघालयबाट नेपालीभाषी लखेटिँदै

सुव्रत न्यौपाने
खासी समुदायले कुटेर र जिउँदै जलाएर मार्न थालेपछि नेपालीभाषी रातारात भागेर नेपाल आइरहेका छन्


नयाँ पत्रिका
झापा, १२ जेठ

भारतको आसामस्थित मेघालयमा मजदुरी गरिरहेका नेपाली घर र्फकने क्रम तीव्र भएको छ । स्थानीय खासी समुदायको धम्कीपछि मजदुरी गर्न गएका नेपाली घर र्फकन थालेका हुन् । घर र्फकनेमा झापा, मोरङ, सुनसरी, भोजपुर, धनकुटा, ओखलढुंगा, इलाम, रूपन्देहीका नेपाली कामदार छन् ।

पूर्वी नेपालको काँकडभिट्टा नाका हुँदै नेपाली घर र्फकन थालेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । बुधबारसम्ममा चार सयभन्दा बढी नेपाली मजदुर काँकडभिट्टा आइपुगेका छन् । खासी समुदायले नेपालीभाषीमाथिको आक्रमण तीव्र पारेपछि ज्यान जाने डरले भागेर आएको भोजपुरको कुलुङका मानबहादुर विष्टले बताए ।

उनले भने, 'खासीले समूह-समूह बनाएर आक्रमण गर्न थालेपछि नभागी भएन ।' उनी १६ वर्षदेखि त्यहाँको कोइलाखानीमा काम गर्दै आएका थिए । भारतको मेघालय र आसामको सीमावर्ती लाङ्पीमा चर्किएको सीमा विवादका कारण नेपालीभाषी आक्रमणको निसाना बन्दै आएका छन् । दुई सातायता नेपालीभाषीलाई कुटेर र जिउँदै जलाएर मार्न थालेपछि रातारात भागेर आएको विष्ट बताउँछन् । लाङ्पीमाथि दुवै पक्षको दाबीका कारण त्यहाँ तनाव भएको हो ।

तनाव नियन्त्रणका क्रममा त्यहाँको प्रहरीले गोली चलाउँदा सातजना खासीको मृत्यु भएको थियो । सातजना खासी मारिएपछि सो जातीय संगठनका अध्यक्ष प्रयांकी खारुमनुइदलेले २४ घन्टाभित्र सो स्थान छोड्न नेपालीभाषीलाई चेतावनी दिएका थिए । घटनापछि नेपालीभाषीमाथि आक्रमण हुनुका साथै नेपालीभाषीका घरमा आगो लगाउन थालिएको थियो । तीनजना नेपालीभाषी जिउँदै जलाइएका थिए । 

तनावयता खासीको आक्रमणमा १७ जना नेपालीभाषीको ज्यान गएको आसामको सपरिवार मासिकका सम्पादक रोहित गौतमले जानकारी दिए । खासीको आक्रमणको डरले लुकेकामध्ये नवजात शिशुसहित नौजनाको कोइलाखानीभित्रै मृत्यु भएको थियो । घटनापछि ४० हजार बढी नेपालीभाषी विस्थापित भएका छन् । मेघालयको कोइलाखानी क्षेत्रका रूपमा चिनिएका लाथरुमवाही, गारोहिल्स, जयन्सिलाहिल्सलगायतका क्षेत्रमा खासी समुदायले बढी आक्रमण गरेका छन् । यी क्षेत्रमा नेपालीभाषीको अत्याधिक बसोबास छ ।

कोइलाखानीमा काम गर्ने नेपालीलाई मार्नकै लागि खासीले आक्रमण गरेको विस्थापित भएर फर्किएका बुटवलका नेत्रबहादुर विश्वकर्माले बताए । 'जथाभावी कुटपिट गर्न थालेपछि मरिने डरले सपरिवार नेपाल आएँ,' ५७ वषर्ीय विश्वकर्माले भने, 'घर-घरमा छिरेर खोजी-खोजी मार्न थालेपछि भाग्नुको विकल्प रहेन ।' उनले गाडीमा कोइला लोड गर्दागर्दै खासी समुदायका दुईजनाले आफूलाई ढुंगाले हानेर मार्न खोजेको बताए । छातीमा ढुंगाले लागेपछि उनी अचानक काम छोडेर भागेका थिए ।

खासी समुदायको अत्याचार सहन नसकेर फर्किएका बचपन लामाले सहरी क्षेत्रमा भन्दा पनि गाउँमा बढी तनाव रहेको बताए । मेघालयको कोइलाखानी क्षेत्र भनेर चिनिने जयनशीला हिल्स, गारोहिल्स, लाथरुमवाही, नङस्टिनलगायतका क्षेत्रमा खासी समुदायले आफ्नो आक्रमण केन्दि्रत गरेका छन् । दुई दिनयता त्यहाँको स्थिति सामान्य बन्दै गए पनि भित्रभित्रै धम्कीका घटना नरोकिएको सम्पादक गौतमले बताए ।

यसैबीच प्रवासी नेपाली संघ भारतले गैरकानुनी रूपमा नेपाली कामदारलाई आसामको मेघालय क्षेत्रमा नपठाउन आग्रह गरेको छ । सीमावर्ती काँकरभिट्टा क्षेत्रका केही होटलले गैरकानुनी रूपमा नेपाली कामदारलाई प्रलोभनमा पारेर मेघालय पठाइरहेको भन्दै संघले आपत्ति जनाएको हो । संघका केन्द्रीय महासचिव तिलबहादुर विश्वकर्माले आर्थिक प्रलोभनमा पारेर कामदार पठाउने कार्य अविलम्ब रोक्न स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।

0 comments: