- आफ्नै नाम समेत सिफारिस
- जनआन्दोलन दबाउने पनि सूचीमा
- सरकारी कर्मचारी बढी
कति जना र कस्ता व्यक्तिलाई दिने भन्ने ठोस मापदण्ड र आधार नबनाई हचुवाका भरमा ठूलो संख्यालाई विभूषण दिइएको छ ।
बलराम बानियाँ/केदार ओझा
काठमाडौ, जेष्ठ १६ - मुलुकमा लोकतन्त्र बहाली भएको चार वर्षपछि विभिन्न क्षेत्रमा विशिष्ट योगदान गरेका साढे २ सयभन्दा बढी व्यक्तिलाई पहिलोपटक राष्ट्रका तर्फबाट सम्मानस्वरूप दिइएको विभूषण विवादमुक्त रहन सकेन ।
दोस्रो गणतन्त्र दिवसका दिन पारेर शनिबार दिइएको मानपदवी, अलंकार र पदक (विभूषण) पाउने व्यक्तिहरूको सूचीले पञ्चायतकालमा तत्कालीन राजाबाट चाकरीदारहरूलाई दिइने विभूषणको झझल्को दिएको टिप्पणी सरकारी अधिकारीहरूले नै गरेका छन् ।
यसले राष्ट्रिय सम्मानको मर्यादा घट्ने उनीहरूले बताए ।
सरकारले विभूषण पाउने व्यक्तिले गरेको योगदान प्रस्ट रूपमा उल्लेख गरेको छैन । सबैले विभूषण पाउनुको कारण एउटै खालको भाषामा 'इमानदार, कर्तव्यनिष्ठ र दिइएको जिम्मेवारी पूरा गरेको, उल्लेखनीय योगदान पुर्याएको' मात्र उल्लेख छ । कति जना र कस्ता व्यक्तिलाई दिने भन्ने ठोस मापदण्ड र आधार नबनाई हचुवाका भरमा ठूलो संख्यालाई विभूषण दिइएको छ ।
विभूषण दिइएकामध्ये कतिपय व्यक्तित्व सम्मानका लागि योग्य भए पनि सिफारिसकर्तामध्ये धेरैजसोले आफैं पदक लिएर 'आफ्नो हात जगन्नाथ' गरेको पाइएको छ । राष्ट्रको सम्मान पाउनेको सूचीमा जनआन्दोलन २०६२/६३ मा दमन गर्न भूमिका निर्वाह गरेको भनेर रायमाझी आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिहरूसमेत छन् ।
अचम्म त, मुलुकको सबभन्दा ठूलो उत्सव गणतन्त्र दिवसमा घोषित विभूषण पाउनेमा गणतन्त्र र संघीयताको विरोध गर्दै राजतन्त्रको वकालत गर्दै आएका व्यक्तिसमेत छन् । विभिन्न मन्त्रालय वा निकायको आकर्षक ठाउँमा बस्दै आएका पुरस्कृत व्यक्तिलाई नै मानपदवी दिइएको छ । विभिन्न विधा र पेसा व्यवसायमा रहेर मुलुकलाई योगदान पुर्याइरहेका व्यक्तित्वहरूमध्ये कमैलाई मात्र राष्ट्रको विभूषण दिइएको छ । विभिन्न सरकारी सेवामा रहेकालाई भने ठूलो संख्यामा विभूषण दिइएको छ । उपप्रधानमन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा गठित विभूषण छनोट समितिले संवैधानिक निकाय, मन्त्रालयहरु, सुरक्षा निकायका मुख्यालय, अरू केन्द्रीय कार्यालय तथा ७५ वटै जिल्ला प्रशासन कार्यालयमा राष्ट्रलाई उल्लेखनीय सेवा गर्ने व्यक्तिको नाम सिफारिस गर्न पत्रचार गरेको थियो ।
तर ती निकायका धेरैजसो प्रमुखले आफ्नै नाम सिफारिस गरी मानपदवी लिएका छन् । साथै उनीहरूले आफ्नो मातहतका उपप्रमुख या आसेपासेको नाम सिफारिस गरी मानपदवी दिलाएका छन् ।
मानपदवी २ सय १८, अलंकार १५ र पदक ३६ गरी २ सय ६९ जनालाई विभूषण दिइएको छ । पहिलो नेपाल रत्न, दोस्रो राष्ट्र गौरव र र तेस्रो उज्ज्वल कीर्तिमय राष्ट्रद्वीप मानपदवीका लागि छनोट गरिएका १० व्यक्तित्व भने सम्मानका लागि योग्य छन् । चौथो ठूलो सम्मान सुकीर्तिमय राष्ट्रद्वीप (तृतीय श्रेणी) मानपदवीदेखि तलका सबैमा आफ्ना हात जगन्नाथमात्र गरिएको छैन, उल्लेखनीय काम गरेको व्यक्तिलाई भन्दा आआफ्ना आसेपासेलाई मानपदवी, अलंकार र पदक दिएर खुसी पार्ने काम गरिएको छ । यो मानपदवी पाउनेमा विभिन्न कार्यालयमा बस्दा आर्थिक अनियमितता गरेको र विवादमा परेकामा व्यक्तिसमेत छन् ।
आश्चर्यलाग्दो कुरा, मानपदवी पाएका सूचीको अग्रपंक्तिमा विभूषण छनोट समितिका सदस्यसचिव गृहसचिव गोविन्द कुसुम हुन् । सुकीर्तिमय राष्ट्रद्वीप -तृतीय श्रेणी) पाउनेमा मुख्यसचिव माधव घिमिरे, प्रधानसेनापति छत्रमान सिंह गुरुङ र गृहसचिव गोविन्द कुसुम, पूर्वसेनापति रुक्मांगत कटवाल, पर्वतारोही आप्पा शेर्पा र संगीतकार अम्बर गुरुङ छन् । मुख्यसचिव घिमिरे, प्रधानसेनापति गुरुङ र गृहसचिव कुसुम आफैं आआफ्नो कार्यालयका तर्फबाट विभूषणका सिफारिसकर्ता हुन् ।
जनआन्दोलन २०६२/६३ मा दमन गरेकामा रायमाझी आयोगद्वारा कारबाहीका लागि सिफारिस गरिएकाहरू कतिपयले मानपदवी पाएका छन् । रायमाझी आयोगले दोषी ठहर्याए पनि पदक पाएकामा पूर्वप्रधानसेनापति कटवाल, सशस्त्र प्रहरीका डीआईजी दुर्जकुमार राई, मानव अधिकार आयोगले मानव अधिकार उल्लंघन गरेकामा कारबाहीका लागि सफारिस गरेका नेपाल प्रहरीका डीआईजी कुवेरसिंह रानालगायत छन् । गृह मन्त्रालय, मन्त्रालय मातहतका तीन सुरक्षा निकाय प्रमुखले आफूले मात्र मानपदवी लिएका छैनन् कि आफू निकटका व्यक्तिलाई समेत दिलाएका छन् । आआफ्ना निकायबाट सिफारिस गर्दा उनीहरूले आफ्नो नाम र निकटका व्यक्ति सिफारिस गरेकाले उनीहरूले विभूषण पाएका हुन् ।
मानपदवी पाएकाको सूचीमा गृहका आकर्षक महाशाखामा बसेका सहसचिवद्वय जयमुकुन्द खनाल र प्रेमकुमार राई तथा उपसचिव एकमणि नेपाल छन् । आफैंलाई सिफारिस गरेर सुप्रबल जनसेवाश्री मानपदवी पाएकामा नेपाल प्रहरीका महानिरीक्षक रमेशचन्द ठकुरी, सशस्त्र प्रहरीका महानिरीक्षक सनतकुमार बस्नेत र राष्ट्रिय अनुसन्धानका प्रमुख अशोकदेव भट्ट छन् । कामको मूल्यांकन गरेरभन्दा आफूनिकट भएका कारण ठकुरीले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकद्वय मदनकुमार खड्का र किरण गौतम, बस्नेतले सशस्त्रका अतिरिक्त प्रहरी महानिरीक्षक किशोरकुमार लामा र शैलेन्द्रकुमार श्रेष्ठ, भट्टले राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक मोतीबहादुर गुरुङलाई समेत मानपदवी दिलाएका छन् ।
नेपाल प्रहरीका उपत्यकाका तीनवटै जिल्लाका प्रमुख एसपी रमेश खरेल (काठमाडौं), विक्रम थापा (ललितपुर), पुष्प रञ्जित (भक्तपुर), भोपालकुमार भण्डारी (सुनसरी), श्याम खत्री (सर्लाही), बलराम शर्मा पौडेल (भरतपुर तालिम केन्द्र), केदारमानसिंह भण्डारी (१ नं. गण) लाई मानपदवी दिइएको छ । पौडेल प्रधानमन्त्री माधवकुमार नेपालका नातेदार हुन् भने भण्डारी पर्यटनमन्त्री शरदसिंह भण्डारीका भाइ हुन् । अरू एसपीलाई पनि आफ्नो संगठनका अरू सहकर्मीभन्दा के उल्लेखनीय कार्य गरेको भन्ने नखुलाई मानपदवी दिइएको छ । रक्षा मन्त्रालय र मातहतको नेपाली सेनामा समेत आफू र निकटका व्यक्तिलाई सिफारिस गरेर मानपदवी दिलाइएको छ । मानपदवी पाएकामा रक्षा मन्त्रालयका सचिव नवीन घिमिरे, प्रधानसेनापति गुरुङ र सेनापतिको रोलक्रममा रहेका उपरथी गौरवशमशेर राणा छन् ।
संवैधानिक निकायमध्ये निर्वाचिन आयोगका कार्यवाहक प्रमुख आयुक्त नीलकण्ठ उप्रेती, कायममुकायम महालेखा परीक्षक बद्रीबहादुर कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव भगवतीकुमार काफ्लेले मानपदवी पाएका छन् । उनीहरूले संवैधानिक आयोगका तर्फबाट आफ्नो नाम आफैंले सिफारिस गरेका कारण पाएका हुन् ।
आफैं सिफारिसकर्ता, आफैं मानपदवी लिनेको सूचीमा सचिवहरूको संख्यासमेत ठूलो छ । सचिवहरू माधव पौडेल -कानुन मन्त्रालय), वामनप्रसाद न्यौपाने -राष्ट्रपति कार्यालय), पूर्णप्रसाद कडरिया -भौतिक योजना तथा निर्माण), पुण्य न्यौपाने -शान्ति तथा पुनर्निर्माण, उमाकान्त झा -सिँचाइ मन्त्रालय), कृष्णहरि बाँस्कोटा -राजस्व, अर्थमन्त्रालय), नवीनकुमार घिमिरे (रक्षा मन्त्रालय), गोविन्द कुसुम (गृह) र मोदराज डोटेल (संस्कृति मन्त्रालय) छन् । यीसहित विभिन्न सचिवले आआफ्ना मन्त्रालयमा राम्रो काम गरेकालाई भन्दा आफू निकट रहेका कर्मचारीलाई विभूषण दिलाएका छन् ।
विभूषण छनोट समितिका सदस्यले नै व्यवस्था परिवर्तन भए पनि मानपदवी, अलंकार र पदक पाउनुपर्ने व्यक्ति छान्ने प्रक्रियामा कमजोरी रहेका कारण आफूहरूले सिफारिस गरेका व्यक्तिमध्ये कतिपय सम्मानका लागि योग्य पर्न नसकेको स्वीकार गरेका छन् ।
'पहिलैकै परम्पराअनुसार सिफारिस आयो र त्यही सदर भयो । सिफारिस गर्ने ढाँचा र मानसिकतामा परिवर्तन भएको देखिएन,' विभूषण छनोट समितिका सदस्य तथा पूर्वएआईजी डा. गोविन्द थापाले कान्तिपुरसित भने, 'सरकारी कार्यालयबाट मुलुक राजतन्त्रबाट संघीय लोकतन्त्रमा पुग्दा पनि योग्य व्यक्तिका सट्टामा आफ्नै नाम र निकटका व्यक्तिहरूलाई सिफारिस गर्ने मानसिकता नहटेको देखियो ।
यो विषयमा समितिमा गम्भीरतापूर्वक कुरा उठ्यो, तर फरक निर्णय र सूची परिवर्तन गर्न सकिएन ।'
सबभन्दा ठूलो सम्मान गणेशमानलाई
जनआन्दोलन २०४६ सालका कमान्डर स्व. गणेशमान सिंहलाई राष्ट्रका लागि उल्लेखनीय योगदान पुर्याएको सम्मानस्वरूप राष्ट्रका तर्फबाट एक जनालाई मात्र दिइने सबभन्दा ठूलो विभूषण नेपाल रत्न प्रदान गरिएको छ ।
जनआन्दोलन २०६२/६३ का कमान्डर एवं पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला र लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व पूर्वप्रधानमन्त्री स्व. मनमोहन अधिकारीलाई राष्ट्रका लागि उल्लेखनीय योगदान पुर्याएको सम्मानस्वरूप दोस्रो ठूलो सम्मान राष्ट्र गौरव प्रदान गरिएको छ । सिंह, कोइराला र अधिकारीलाई मृत्युपर्यन्त राष्ट्रका तर्फबाट सम्मान प्रदान गरिएको हो । (ekantipur)
0 comments:
Post a Comment