११ जेठ, काठमाडौं । उत्तर अफ्रिकी राष्ट्र लिबियामा तीन महिनादेखि अलपत्र ९४ जना नेपाली कामदार ‘नाजुक अवस्था’मा रहेको भन्दै तत्काल उद्धार आवश्यक रहेको नेपाली दूतावासले जनाएको छ । लिबियाका लागि नेपाली राजदूत श्यामलाल तबदारले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै नेपाली कामदारको विषयमा सरकारलाई जानकारी दिएका हुन् ।
उनले ‘तत्काल उद्धार गर्न आवश्यक जरिवानासहित हवाई टिकटका लागि प्रतिव्यक्ति १५ सय अमेरिकी डलर पठाउन वा त्यहीँबाट पहल गर्न’ अनुरोध गरेका छन् ।
लिबियाको एन्जरासभास्थित सिकेजी कम्पनीमा कार्यरत उनीहरू नौ महिनाको तलब र घरफिर्ती टिकट नपाएपछि तीन महिनादेखि बिचल्लीमा परेका हुन् । पीडितका आफन्तले पनि उनीहरूलाई उद्धारका लागि पहल गर्न परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभाग तथा मानव अधिकारकर्मीलाई उद्धारका लागि पहल गरिदिन अपिल गरेका छन् ।
‘नाजुक अवस्थामा रहेका कामदारलाई खान र बस्न निकै कठिनाइ छ, साथमा पैसा पनि छैन,’ परराष्ट्र मन्त्रालयलाई राजदूत तबदारले पत्रमा भनेका छन्, ‘गर्मीका कारण बिरामी पर्ने क्रम बढेकाले तुरुन्त उद्धार गर्न आवश्यक छ ।’ पीडित आफन्तले यसबारे सरकारलाई महिना दिनअगाडि जानकारी गराउँदा पनि ठोस काम हुन नसकेकाले केही भएमा सरकारले जिम्मेवारी लिनुपर्ने बताएका छन् । दूतावासका अनुसार उनीहरू कार्यरत कम्पनी विघटनको अवस्थामा रहेकाले हाल कम्पनीले उपलब्ध गराएको हलमा बस्दै आएका छन् । ती कामदार धौलागिरी इन्टरनेसनल म्यानपावर मार्फत करिब दुई वर्षअघि ‘स्टिल फिक्चर’ मा काम गर्न गएका थिए ।
‘कम्पनीले कामदारको फिर्ता गर्न आवश्यक टिकट सबकन्ट्याक्टरले फिर्ती टिकट उपलब्ध गराउने करार भएको छ । तर सबकन्ट्याक्टर (तेजप्रकाश पुन)ले टिकट उपलब्ध गराएका छैनन्,’ कामदारको भनाइ उद्धृत गर्दै दूतावासले पत्रमा भनेको छ । पुनले नै उनीहरूलाई काममा लगाएका थिए ।
‘लिबियामै रहेका पुनले सिकेजी कम्पनीबाट सम्झौताअनुसार रकम नपाएको दूतावासलाई जानकारी गराएका छन्,’ राजदूत तबदारले पत्रमा भनेका छन्, ‘पुनले केही कामदारलाई रकम दिए पनि कामदारले भने अस्वीकार गरेका छन् ।’
वैदेशिक रोजगार विभागले धौलागिरी इन्टरनेसनल म्यानपावरका सञ्चालकलाई पत्र काटे पनि सम्पर्कमा आएका छैनन् । ती कामदार गएदेखि नै गैरकानुनी छन् ।
३० कामदारको उद्धार
रोजगारदाता कम्पनीले सम्झौता गरेअनुसार काम नदिएपछि साउदीमा पठाएको २९ जना कामदारलाई निड इम्प्लोइमेन्ट सर्भिसले उद्धार गरी स्वदेश ल्याएको छ । साउदी दूतावासका अनुसार काठमाडौंस्थित निडले साउदीमै आएर कम्पनीविरुद्ध श्रम अदालतमा मुद्दा हाली २९ जना कामदारलाई स्वदेश लिएर गएको हो । त्यसका लागि आवश्यक खर्च म्यानपावर आफैंले बेहोरोको छ ।
म्यानपावरले विमानस्थलको काममा पठाए पनि कामदारलाई सडक र होटलको सफाइमा लगाइएको थियो । ‘विमानस्थलको सफाइ काममा गएका थियौं,’ पीडित नुवाकोटका दोर्जे लामाले भने, ‘तर त्यहाँ सडक र होटलका काममा लगाइयो ।’ सात महिनासम्म होटल र सडकको सफाइको काम गरेका उनीहरूले तलब र सुविधा पनि भनेअनुसार पाएनन् । ‘यसमा कम्पनीले थोका दियो,’ निड इम्प्लोइमेन्टका प्रबन्धक निर्देशक तेजेन्द्रबहादुर श्रेष्ठले भने, ‘कामदार पठाएपछि सम्पूर्ण जिम्मेवारी म्यानपावरको हुन्छ । त्यो जिम्मेवारी पूरा गर्यौं ।’ कान्तिपुर दैनिकबाट
Thursday, May 27, 2010
लिबियामा ९४ जना नेपाली कामदार ‘नाजुक अवस्था’मा
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment