Wednesday, May 26, 2010
सभासददेखि पत्रकारसम्म ठगिए
नयाँ पत्रिका, गुल्मी, ११ जेठ युनिटी लाइफ इन्टरनेसनल कम्पनीबाट दलका नेता, सभासद्देखि पत्रकारसम्म ठगिएको तथ्य फेला परेको छ । एमाले नेता एवं सभासद् प्रदीप ज्ञवाली, जिल्ला विकास समिति गुल्मीका पूर्वसभापति कौशल पोखरेल, एकीकृत माओवादी मगरात राज्य समिति सदस्य युवराज केसी, माओवादी गुल्मीका सचिवालय सदस्य भूपाल पोखरेलसमेत युनिटीबाट ठगिएका छन् ।
यस्तै नेपाल पत्रकार महासंघ गुल्मीका पूर्वसभापति हरिकुमार श्रेष्ठ, महासंघ गुल्मी उपाध्यक्ष नवराज भुसाल, प्रेस चौतारी गुल्मीका पूर्वअध्यक्ष हरिप्रसाद पोखरेल, तेजेन्द्रनाथ श्रेष्ठ, नरेश भण्डारीलगायत समेत ठगिएको युनिटीका अगुवा सदस्य युवराज भण्डारीले जानकारी दिए । युनिटीले गुल्मीमा सामुदायिक अस्पताल निर्माण गर्ने प्रचार-प्रसार गरेपछि उनीहरूले सदस्यता लिएका थिए ।
युनिटीको ठगीबारे विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषण भएलगत्तै सो कम्पनीको गुल्मी कार्यालय बन्द छ भने गुल्मीका मुख्य लिडर कोही बुटवल, चितवन त कोही काठमाडौंमा छन् । हाल बुटवलमा रहेको बताउने लिडरमध्येका एक मिलन घिमिरेले फोनमार्फत दिएको जानकारीअनुसार यकिन डाटा नभए पनि गुल्मीबाट करिब एक हजार तीन सयजनाले युनिटीको सदस्यता लिएका छन् । प्रतिसदस्य आठ हजारदेखि १५ हजारका दरले एक हजार तीन सयजनाको झन्डै दुई करोड रुपैयाँ युनिटी लाइफमा फसेको देखिन्छ ।
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment