निर्मल श्रेष्ठ
हङकङ, जेष्ठ १७ - ग्लोबल ल्याङ्गवेज मोनिटर क्यालिफोर्नियाको विश्वव्यापी सर्वेक्षणमा विश्वको आठौ र दक्षिण एसियामा पहिलो फेसनेबल सहरमा पर्छ, हङकङ । न्यूयोर्क, रोम र पेरिसलाई पछ्याउदै यस्तो मानक स्थापित गरिरहेको हङकङको रंगमा नेपाली युवापुस्ता सरोबर भैरहेको तन्नेरीहरुबीच बर्षेनी आयोजना हुनेे सुन्दरी प्रतियोगिताले प्रष्टयाउँछ । आफुमा निहित प्रतिभा प्रस्फुटन गराउन र व्यक्तित्व विकासमा प्रतियोगिताले सघाउ पुर्याउने सहभागीहरुको धारणा छ । छोटो समयमा पाइने चर्चा- परिचर्चा र समाजमा स्थापित हुने छुट्टै पहिचानले पनि यसप्रति तन्नेरीहरुका आकर्षण देखिन्छ । प्रवासमा थोरैमात्र हुने यस्ता प्रतियोगिता सम्बन्धी समाचारले स्थानीय छापा तथा वेबपत्रिकाहरु त रंगीन्छन् नै नेपालका राष्ट्रिय संचारमाध्यमहरुमा समेत गतिलै छाउछन् ।हङकङे नेपाली समाजमा ग्ल्यामर्स आकर्षणले दशक बढीको अनुभव बटुलेकोछ । सन् १९९८ मा आयोजित 'मिस हङकङ नेपाल' प्रतियोगिता सँगै यहँा फेसन र ग्ल्यामरको जग बसेको हो । चारपटकको सफल आयोजनापछि अस्ताएको 'मिस हङकङ नेपाल' को स्थान गतबर्ष पाचौं संस्करणसम्म आइपुगेको मिस ट्यालेन्ट हन्टले लिएकोछ । अघिल्लोबर्ष देखि मिस पर्ल हङकङ नेपालका नाउमा अर्को सुन्दरी प्रतियोगिता पनि थपिएकोछ । तर समयाअनुकुल व्यवसायिक सम्भावना खोज्दै उभो लाग्नुपर्ने सुन्दरी प्रतियोगिता अहिलेपनि रहरमा मात्र सिमित छ । कतिपयले यसो हुनुमा नेपाली समाजलाई दोषी देख्छन् भने केहीले व्यवसायिक दक्षताको कमीका रुपमा अथ्र्याउछन् । २००६ की मिस ट्यालेन्ट बसन्ती पुन बाहिर निस्केर केही गर्नु पहिले घरपरिवार र समाजको सहयोग हुनुपर्नेमा नेपाली परिवेश त्यो अनुरुप तयार भइनसकेको बताउछिन् । मिस पर्ल हङकङ नेपालकी प्रथम सुन्दरी दीपा गुरुङ र पछिल्ली ट्यालेन्ट हन्टकि बिजेता अन्जु घिसिङ मौका मिले राम्रो गर्न सक्ने आत्मविश्वास भएपनि नेपाली मोडलहरुले यहँा अवसर नै नपाएको बताउछन् । मुलतः यस्ता प्रतियोगिता व्यवसायिक उद्देश्य भन्दा पनि लहड र शौखमा मात्र सिमित रहेकाले मोडलिङको प्रचुर सम्भावना रहेको हङकङमा नेपाली मोडलहरुले स्थानीय बजारको ध्यानाकर्षण गर्न नसकेको जानकारहरुको ठम्याई छ । उसो त आयोजक तथा सम्बन्धित क्षेत्रकाले त्यसतर्फ कुनै पहलकदमी गरेको समेत देखिदैन । बसन्ती प्रतियोगितापछिका उपलब्धि नदेखिएपनि प्रतियोगिताका अवधिमा हासिल भएका ज्ञानले व्यक्तित्व विकासमा सघाउ पुग्ोको बताउछिन् । यसले पनि यस्ता प्रतियोगिता व्यवसायिक मर्म र धर्म अनुरुप चलेका छैनन् भन्ने प्रष्टयाउँछ ।
स्वदेशमा यस्तै प्रकृतिका प्रतियोगिताहरुमा उपाधि जितेका अधिकांश तन्नेरीहरु मोड्लिङ, चलचित्र, विज्ञापन लगायतका क्षेत्रमा राम्रै जमेका छन् । जबकी ग्ल्यामर्सका लागि विश्वमै कहलिएको सहरका उनै नेपाली तन्नेरीहरु भने अवसरविहिन छन् । यदाकदा बन्ने नेपाली म्यूजिक भिडियो र चलचित्र यिनका तिर्सना मेट्ने चौतारी हुन तर छिटफुट रुपमा पाइने त्यस्ता अवसर पनि रहरमै सँाघुरिएका छन् । अहिलेसम्म उपाधि जितेका एउटै सुन्दरीले पनि हङकङेली नेपाली समाजको घेरा नाध्न सकेका छैनन् । सहभागीहरुले भने झै कार्यक्रम अवधिभर सिकाइने विभिन्न कृयाकलापबाट थोरबहुत प्रतिभा प्रस्टुफन गर्ने अवसर पक्कै मिलेको होला । तर त्यसपछिको अवसरविहिनताले अंकुर लाग्न थालेका प्रतिभा झांगिन नपाइ ओइलाइरहेकाछन् ।
प्रतियोगिताका आयोजना संस्थामा नभएर व्यक्तिमा निर्भर भएकाले पनि यसले अप्ठ्यारो झेलेकोछ । केही युवाहरुका सकृयतामा थालिएको 'मिस हङकङ नेपाल' चारपटकको सफल आयोजनापछि एकाएक रोकियो । अर्को सुन्दरी प्रतियोगिता ट्यालेन्ट हन्टलाई चौथो संस्करणसम्म निरन्तरता दिएका आयोजक द्वय लक्ष्मी राई र ममिता गुरुङ -मिस हङकङ २०००) गतबर्ष बेलायत छिरे । त्यसपछि धरमराएको प्रतियोगितालाई संस्थापक तारा लिम्बू लगायत यसै प्रतियोगिताका विजेता सुस्मिता गुरुङ र बसन्ती पुनले आड दिए । सुस्मिता पनि बेलायत भासिएपछि उक्त प्रतियोगिताको बोझ तारा र बसन्तीका कँाधमा आएको छ । प्रतियोगिताका निरन्तरता नै हम्मे-हम्मे भइरहेका बेला यसबाट ठूलो आशा गर्न सकिने अवस्था देखिदैन् ।
अहिलेसम्म आयोजित प्रतियोगिता केवल रमाइलोका लागि भए, जसको खासै लक्ष्य देखिएन । सम्बन्धित विधाका सिद्धहस्तहरुलाई यसै क्षेत्रमा जम्ने आधार तयार नहुदासम्म यस्ता प्रतियोगितालाई श्रृजनात्मक मान्न सकिएला, गुणात्मक हैन । व्यापारका लागि संसारकै उत्कृष्ट थलोमध्येको सहर हङकङमा विश्वप्रसिद्ध सयौं ब्राण्डका प्रवर्द्धनमा खपत हुने सुन्दरीहरुको लाममा नेपाली सुन्दरी एउटै छैनन् । आयोजकहरुका आखँा त्यता पुग्नसकेको पनि देखिदैन । तर भविष्यमा व्यवसायिक लक्ष्य हासिल गर्ने संकल्पका साथ सुन्दरी प्रतियोगिता आयोजना गरिए आश गर्ने ठँाउ प्रशस्त छन् । तन्नेरीका उत्साहमा परिवार र नेपाली समाज सहयोगी बनेर जोश थपिदिए यसक्षेत्रमा पनि नेपालीको बेग्लै पहिचान बन्नसक्ने संभावना छ ।
नृत्य र गायन एकछिनको घामछाया
कलासंस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न उल्लेख्य भूमिका खेलेकाछन् भनि चित्त बुझाउनु बाहेक नृत्य र गायन बिधाले हङकङेली नेपाली समाजमा गर्व गर्ने खासै कुनै डोब छाड्न सकेकोछैन ।
केही समययता सुरु भएको नृत्य र गायन प्रतियोगिताको व्यवसायिक ग्राफ पनि सुन्दरी प्रतियोगिताकै हाराहारीमा छ । मितेरी सेवा समाजले गर्ने भ्वाइस अफ पोखरेली झ्याल र सुदूर पूर्वी प्रवासी नेपाली संघ -फियोना) ले गर्ने डान्स आइडल प्रतियोगिताबाट छानिएका प्रतिभाहरुका समेत सम्बन्धित क्षेत्रमै पनि दरिलो उपस्थिति कही कतै देखिदैन् ।
कतिपय गायकहरु मुलधारका चल्तीकालाई समेत माथ गर्ने प्रतिभाशाली भएको ठोकुवा गर्छन कुनै जमानाका नामी संगीतकार दिनेश सुब्बा । तर तिनका कलाकारिता यहँा रहेका साठीभन्दा बढी संघसंस्थाका बिबिक्यू जस्ता कार्यक्रममा मनोरञ्जन पस्कनुमा मात्र सिमित छन् । राम्रा अवसरका अभाव र राष्ट्रिय संचारमाध्यममा पहुँच नपुग्दा उत्कृष्ट कलाकार ओझेलमा परेको सुब्बाको भनाइ छ । नेपाली कलाकार संघ हङकङका उपाध्यक्ष रविन श्रेष्ठ भने प्रतिभा उजागर गर्न हङकङमा उपयुक्त माहौल नै तयार हुन नसकेको बताउछन् ।
नेपालमा आयोजित 'ब्राइटर तिम्रो सुर मेरो गीत' की विजेता रोषा लिम्बू हङकङमै छिन् । तर उनको चर्चा कतै छैन । परदेशमा प्रतिभा देखाउने प्रयाप्त अवसर नजुर्दा तिर्सना नमेटिएको बताउछिन् उनी । लिम्बू नेपालमै भएकाभए गायनक्षेत्रमा आफ्नो उपस्थिति देखाइरहेकी हुनसक्थिन । तर हङकङमा उनले कला प्रस्फुटन गर्ने मार्ग भेटेकीछैनन् । बजार अभावले हङकङमै व्यवसायिक गायक बन्न गाह्रो भएपनि राम्रो गर्न सके देशविदेशबाट कार्यक्रममा लागि निम्तो आउने सम्भावना रहेको बताउछन् गायक सन्तोष गुरुङ । स्थानीय गायकका सिर्जनाले नेपालमा चर्चा नपाएसम्म अन्य देशका बाटा नखुल्नेमा पनि गुरुङ विश्वस्त छन् । सन्तोषका तर्कमा गायिका सुनिता हिराचनको पनि बिमति देखिदैन । यि दुबैले दर्जनौ प्रस्तुति मार्फत हङकङेली नेपालीका मन जितेका छन् । सन्तोष गतबर्ष आयोजित 'भ्वाइस अफ पोखरेली झ्याल' का विजेता हुन भने सुनिता कुनै जमानामा अरुण थापाको युगल जोडी भएर गाएकी थिइन । परदेशमै रहेपनि नेपाली गीतसंगीतमा रमाउने युवापिढीलाई पुराना कलाकर्मी र स्वदेशी मिडियाहरुले सहयोगी भावनाले हेर्नुपर्ने प्रशिक्षक दिनेश सुब्बा बताउछन् ।
गायनमा मात्र होइनन् नृत्यमा पनि अब्बल मानिन्छन् हङकङेली युवा । मितेरी सेवा समितिले नृत्यतर्फको प्रतिस्पर्धा आयोजना गरेर प्रतिभा प्रस्तुत गर्ने ढोका खोलिदिएको थियो । गतबर्ष देखि फियोनाले लोभलाग्दो नगद पुरस्कारसहित सुरु गरेको अर्को डान्स आइडल प्रतियोगिताले नृत्यपारखीहरुमा अझ जोसजागर थपिदिएको छ । विशुद्ध नेपाली गीतसंगीत पहिलो सर्त रहेको यी कार्यक्रम मार्फत सातसमुद्रपारिका तन्नेरीहरु गाउँठाउँका लोकभाकामा कम्मर मर्काउन समेत सिद्धहस्त देखिएका छन् । तर कलासंस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न उल्लेख्य भूमिका खेलेकाछन् भनि चित्त बुझाउनु बाहेक नृत्य र गायन बिधाले हङकङेली नेपाली समाजमा गर्व गर्ने खासै कुनै डोब छाड्न सकेकोछैन ।
'मोडलिङ आत्मसन्तुष्टिका लागि' ः जुनु पुन - प्रथम मिस हङकङ, नेपाल )
हङकङेली युवाहरुका ग्ल्यामरमा रुचि नभएको होइन तर यो रहरमा मात्र सिमित छ । कुनैबेला कला सुब्बा जस्ता चर्चित मोड्लका प्रशिक्षणमा यहँा र्याम्प मोड्लिङ पनि आयोजना भएका हुन् । तर व्यवसायिक अवसरका अभाव, ग्ल्यामर क्षेत्रप्रति नेपाली समाजको नकारात्मक सोच, हङकङका व्यस्तता लगायतका कारण यसले गति लिन सकेन । यसप्रतिकै लगावले प्रतियोगी र आयोजक समेत भइयो । अभिनयमा समेत लागियो । टाढिएको वा रहर नै नभएको पनि होइन हङकङमा पहिलो प्राथमिकता कामलाई नै दिनुपर्यो । राम्रा भूमिकामा अभिनयका अवसर पाए आत्मसन्तुष्टिका लागि भए पनि गर्ने सोचमा छु ।
अभिनयको प्यास मेट्न सिनेमा
प्रवीन बराइली द्धारा निर्देशित नेपाली चलचित्र 'द प्लान' सम्भवतः हङकङमा बनेको सबैभन्दा ठूलो लगानीको चलचित्र हो । डिजिटल प्रविधिबाट निर्मित उक्त चलचित्र करिब डेढलाख हङकङ डलरमा तयार भएको निर्माणपक्षले बताएको छ । चलचित्रमा स्थानीय कलाकर्मी ध्रुब दत्त, जुनु पुन, सवि्रना श्रेष्ठ, युद्ध पुन, शिव कुमार लिम्बू लगायतले अभिनय गरेका छन् । यी बाहेक झटारो, चुकेको चुरा, कही अध्यारो कही उज्यालो, खोज लगायतका चलचित्रमार्फत स्थानीय अभिनय पारखीहरुले आफ्ना कला पोखिसकेका छन् । तर यस्ता चलचित्र व्यवसायिकता भन्दा पनि कलाकारका अभिनयप्रतिको तलतल मेटने माध्यममात्र बन्न सकेका सम्बन्धित क्षेत्रकै व्यक्तिहरुका भनाइ छ ।
युवाहरुका आकर्षण शारीरिक सुगठन प्रतियोगिता
सन् १९९८ मा आयोजित 'मिस्टर हङकङ नेपाल' युवाहरु बीचका पहिलो ग्ल्यामर प्रतिस्पर्धा थियो । केही बर्ष सेलाएको यसले विगत दुई बर्षदेखि हङकङ नेपलीज् बडीविल्डिङ एसोसिएसनका सक्रियतामा निरन्तरता पाएको छ । गतबर्ष आयोजित मिस्टर हङकङ नेपाल सातौं संस्करण थियो । शारीरिक सुगठनमा रुचि राख्नेहरुका ग्ल्यामर मोह पोख्ने अवसर बनेको छ 'मिस्टर हङकङ नेपाल' । यद्यपि बडीगार्ड र सुरक्षागार्डमा जागिरका लागि थोरबहुत सहयोग पुर्याउने बाहेक यसले पनि कुनै व्यवसायिक अवसर सृजना गर्न सकेको छैन् ।
लगातार चारपटक सहभागिता जनाएका शम्भु तामाङ पछिल्लो मिस्टर हङकङ नेपाल हुन् । प्रतियोगितामा उनले दुईपटक शिर्ष र एकपटक दोस्रो उपाधि जितेका छन् । शारीरिक सुगठनमै शम्भुले एघार बर्ष खर्चिसके । तर उपाधि हत्याउदा हुने केही दिनका चर्चाबाहेक उनका दिनचर्यामा कुनै परिवर्तन छैन् । मिस्टर हङकङ नेपाल भइसकेपछि अघिल्लो फड्को के त ? यसको योजना नत खेलाडी सँग छ नत आयोजक सँग नै । हङकङको व्यस्तताले यसपछिका अवसरबारे सोधखोजका लागि समय दिन नसकेको तामाङ बताउछन् । परदेशमै रहेपनि शारीरिक सुगठनमा रुचि भएकाहरुलाई अगाडि बढ्न प्रोत्साहन दिने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बडी बिल्डिङ एसोसिएसनका अध्यक्ष मेख गुरुङको भनाइ छ । तर यसैमा व्यवसायिकता समेत सिर्जना गर्नसके प्रतियोगिताकै पनि उचाइ थपिनेमा भने आयोजकले सोच्न भ्याएका छैनन् । (ekantipur)
Monday, May 31, 2010
अतृप्त प्यास मेटने आफ्नै शैली
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment