मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, May 26, 2010

चौकीमा कुटीकुटी मारिए दलित

प्रवीण ढकाल, नयाँ पत्रिका, काठमाडौं, ११ जेठ, 'विनाकसुर' पक्राउ गरिएका एक दलितको प्रहरीको निर्घात कुटाइबाट ज्यान गएको छ । ललितपुरको गोदाबरीमा स्थायी घर भई पाटनमा बसोबास गर्दै आएका ४६ वषर्ीय सानु सुनारलाई कालिमाटी प्रहरीले हिरासतमै मरणासन्न हुने गरी कुटेको हो । प्रहरीले भने कुटपिट नगरेको दाबी गरेको छ ।

आइतबार दिउँसो प्रहरीले सुनारलाई कालिमाटी चोकबाट पक्राउ गरेको थियो । सुनारसँगै तास खेलेका एक व्यक्तिले लुटेरा भनी लगाएको झूटो आरोपका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको मृतकका परिवारको दाबी छ । हिरासतमै मरणासन्न हुनेगरी कुटेपछि प्रहरीले आइतबार राति नै सुनारलाई उपचारका लागि वीर अस्पताल ल्याएको थियो ।

प्रहरीको कुटाइबाट टाउकोमा गम्भीर चोट लागेका सुनारलाई मंगलबार साँझ डाक्टरहरूले मृत घोषित गरेका हुन् । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार कुटाइबाट सुनारको टाउकोमा रगत जमेको थियो । उनको शरीरभरि निलडाम नै निलडाम देखिन्छ ।

सुनारकी पत्नी गीताका अनुसार आइतबार बिहान उनले साथीहरूसित तास खेलेर २५ हजार जितेका थिए । तास खेलेर टयाक्सीमा घर फर्किने क्रममा उनीसँगै टयाक्सीमा रहेका साथीले कालिमाटी चोकमा आफूलाई लुटेको भन्दै सुनारलाई पक्राउ गर्न लगाएका थिए । उनलाई पक्राउ गराउने व्यक्ति नै तासमा हारेको मान्छे भएको गीताको दाबी छ ।

सुनारलाई पक्राउ गरेपछि प्रहरीले गीतालाई फोन गरेर बोलाएको थियो । आइतबार दिउँसो साढे १ बजे कालिमाटी चौकीमा पुग्दा प्रहरीले श्रीमान्लाई 'तँलाई लुटेरा !' भन्दै लात्तैलात्ताले कुटिरहेको उनले बताइन् ।

'प्रहरीले मेरै आँखाअगाडि लुटेरा भन्दै बुट कुटिरहेका थिए,' गीताले भनिन् । श्रीमान्लाई नकुट्न आग्रह गर्दा प्रहरीले उल्टै प्रहरीले आफूलाई अपशब्द प्रयोग गर्दै गाली गरेको उनले बताइन् ।

प्रहरीले उनलाई केहीबेर श्रीमान्सित भेट्न दिएको थियो । श्रीमान्लाई भेटेर उनी घर फर्किइन् । तर, प्रहरीले श्रीमान्लाई फेरि कुट्ने चिन्ताले उनी फेरि चौकीमा गइन् । तर, त्यतिखेर प्रहरीले उनलाई दुव्र्यवहार मात्रै गरेन, मोबाइलसमेत लुटेर लगेको गीताले बताइन् ।

आइतबार राति करिब १२ बजेतिर सुनारलाई अस्पताल ल्याइएको जानकारी प्रहरीले गीतालाई दिएको थियो । 'मेरो मोबाइल त प्रहरीले नै राखेको थियो । म बस्ने घरमै बस्ने दिदीको मोबाइलमा फोन गरेर वीर अस्पताल ल्याइएको जानकारी प्रहरीले दियो,' उनले भनिन् । अस्पताल पुग्दा श्रीमान्को अवस्था चिन्ताजनक थियो । 'दिउँसो खाजा खुवाएर सकुसल छाडेका श्रीमान् राति अस्पतालमा टाउको तथा जीउभरि चोट लागेर बल्लबल्ल श्वास फेर्ने अवस्थामा थिए,' गीताले भनिन् ।

सुनारलाई राति एक बजे नै काठमाडौं मोडल अस्पताल लगेर सिटी स्क्यान गरिएको थियो । सिटी स्क्यानको रिपोर्ट हेरेपछि मोडेलका डाक्टरले 'गम्भीर चोट लागेका कारण टाउकोभित्र रगत जमेको छ, बाँच्ने सम्भावना कम छ' भन्ने जवाफ दिएको गीताले बताइन् ।

सुनारको लास अहिले वीर अस्पतालमै राखिएको छ । मृतकका परिवारले दोषी प्रहरीमाथि कारबाही नभएसम्म लास नउठाउने बताएका छन् । प्रहरीको कुटाइबाट मृत्यु भएको थाहा भएपछि दलित आयोगका अध्यक्ष विजुलकुमार विश्वकर्मा, सभासद् विनोद पहाडी, नेपाल राष्ट्रिय दलित मुुक्ति मोर्चाका केन्द्रीय सदस्य पदम सुन्दास र माओवादीको नेवाः राज्यसमिति सदस्य विराट वीर अस्पताल पुगेका थिए । उनीहरूले सुनियोजित ढंगले घटना भएको आरोप लगाएका छन् । 'घटना नियोजित तरिकाले भएको छ, यसको यथार्थ जानकारी नआई लास उठाउनुहुन्न,' सभासद् पहाडीले भने ।

दलित आयोगका अध्यक्ष पदम सुन्दासले मृतकको शरीरभरि देखिएको निलडाम र टाउकोमा लागेको चोट हेर्दा प्रहरीले निकै कुटेको प्रष्ट भएको बताए ।

यसैबीच, प्रहरीले भने सुनारलाई हिरासतमा कुटपिट नै नगरेको दाबी गरेको छ । कालिमाटी खसीबजारका स्थानीय बासिन्दाहरूले ठगी गरेको आरोपमा कुटपिट गरी प्रहरीलाई बुझाएको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार, सुनारले केही समयअघिदेखि स्थानीय विष्णु काप्री नाम गरेका व्यापारीसँग अनाथालय बनाउन भन्दै २५ हजार रुपैयाँ चन्दा मागेका थिए । तर, काप्रीले भने पैसा दिन अस्वीकार गर्दै आएका थिए ।

0 comments: