कांग्रेस र एमालेमा पनि छलफल-
उजिर मगर, काठमाडौं, वैशाख ३१- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकार नेतृत्व व्यक्ति, दलको विकल्प खुला भएको बताएपछि कांग्रेस, एमालेले समेत आ-आफ्ना दाबी बारे अनौपचारिक छलफल अघि बढाएको छ।बुधबार दाहालले नागरिक समाजसँगको अन्तक्रियामा त्यस्तो धारणा राखेपछि राष्ट्रिय सहमति सरकारको नेतृत्व कसले गर्ने भन्ने तीन प्रमुख दलहरू र दलहरुको गुटबीच अनौपचारिक छलफल अघि बढेको छ। माओवादीले अध्यक्ष दाहालकै नेतृत्वमा राष्ट्रिय सहमितको सरकार बनाउन प्रयास गर्ने स्थायी समितिको बैठकले निर्णय गरे पनि अन्य दलको समेत विकल्प दिन सक्ने दाहालले नै भनेपछि कांग्रेस, एमालेमा नयाँ छलफल शुरु भएको हो।
'मलाई नै प्रधानमन्त्री बनाउने खेल भनियो। देशको गतिरोध त्यसमा भएको होइन। यसमा भ्रष्टिकरण गरेर तोडमोड भयो। सहमतिका आधारमा गतिरोध अन्त गर्न राष्ट्रिय सहमतिको सरकारको नेतृत्व कुन दल, व्यक्तिले गर्ने विकल्प खुला गर्ने निर्णय गरिसकेका छौं', दाहालले भनेका थिए।
दाहालले भावी सरकार नेतृत्वमा अन्य पार्टीर्ला समेत विकल्प दिने अभिव्यक्तिको भने स्थायी समितिका सदस्य टोपबहादुर रायमाझीको भनाइले खण्डित गरेको छ। 'राष्ट्रिय सहमतिको सरकार पार्टीले गर्ने र त्यसको नेतृत्व अध्यक्षले नै नेतृत्व गर्ने भन्ने हो। अध्यक्षलाई अन्य दलले नस्वीकारे विकल्प दिने निर्णय पदाधिकारीले गर्ने निर्णय स्थायी समितिले गरेको हो', रायमाझीले नागरिकसँग भने।
अहिले अन्य दललाई सरकारको नेतृत्व दिनु घातक हुने भएकाले विकल्प पार्टीभित्रैबाट खोज्नुपर्ने पार्टीमा दाबाब आएको स्रोतले बतायो। पार्टीमा उपाध्यक्ष बाबुराम भट्टराई निर्विकल्प देखिएको बाहिरी र पार्टीभित्रका उनी पक्षधरले चर्चा गर्दै आएका छन्। अहिले दाहालबाट टाढिदैं गएका अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षधरले समेत भट्टराई नै विकल्प हुने बताउँदै आएको छ।
यसअघि दाहाललाई भारतले प्रधानमन्त्री बनाउन दबाब दिएको भनी कार्यकयर्तालाई प्रशिक्षण दिएको सार्वजनिक भएपछि पार्टीभित्र दहाल-भट्टराईबीच मतभेद तीब्र बनेको थियो। साना दस दलले राष्ट्रिय संयुक्त सरकारको नेतृत्व माओवादीले नै गर्नुपर्ने र व्यक्ति बारे को भन्नेमा विवाद नगर्न सुझाव दिएको स्रोतले बतायो।
'नेतृत्व माओवादीकै हुनुपर्छ भनेका हौं। यसमा कांग्रेसलाई समेत सरकारमा लिएर रक्षा मन्त्रालय दिनुपर्छ भन्ने मान्यता हो। यसले सहमतिको सरकारलाई बलियो बनाउँछ। व्यक्ति को भन्नेमा हामीले हस्तक्षेप गरेनौं। यो उहाँहरुको कुरा हो', दश दलमध्ये सद्भावना (आनन्दीदेवी)का अध्यक्ष सरिता गिरीले भनिन्।
दाहालले विकल्प खुला भनेपछि कांग्रेसमा पनि चर्चा चलेको छ। आम हडतालकै क्रममा संसदीय दलका नेता रामचन्द्र पौडेलले नेतृत्वलाई नसोधी दाहाल निवासमा पुगेर भेटेपछि कांग्रेसमा अहिले चर्चाको विषय बनेको छ।
यता कार्यबाहक सभापति शुशिल कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधरले कांग्रेस सरकारको नेतृत्व नगरी संगठन विस्तारमा ध्यान दिने धारणा व्यक्त गर्दै आएको छ। दाहाल-पौडेलबीचको भेट बारे कार्यवाहाक सभापति कोइरालालाई केन्द्रीय सदस्यहरूले जानकारी मागेका थिए।
कोइरालाले दाहाल-पौडेलबीचको भेटघाट बारे आफूलाई जानकारी नभएको बताएका थिए। कोइरालाको निधनपछि संगठन थप कमजोर भएको ठहर गर्दै सत्ता भन्दा संगठन महत्वपूर्ण रहेको कांग्रेसले बताउँदै आएको छ।
पौडेल निकट मानिने सभासद् मोहन प्रसाद पाण्डेले भने सहमति भए सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने जिकिर गरे। 'सहमति हुन्छ भने पार्टीले सरकारले नेतृत्व लिनुपर्छ। पार्टीको विधान अनुसार संसदीय दलको नेताले स्वतः नेतृत्व गर्नेमा विवाद हुँदैन', पाण्डेले भने।
तीन दलबीचको छलफलमा राष्ट्रिय सहमतिको सरकार बारे व्यक्ति दल सबै विकल्प खुला राख्नुस् भन्ने आग्रहलाई दाहालले बुधबार सार्वजनिक गरेको एमाले महासचिव ईश्वर पोखरेलले बताए। एमाले अध्यक्ष झलनाथ खनाल सरकार नेतृत्व गर्ने बारे आफूलाई विकल्पका रूपमा रहेको आन्तरिक छलफल चलाएको पार्टी स्रोतले बतायो।
'तीन दलको धेरै छलफलमा सबै विकल्प खुला गर्नुपर्छ भनेका हौं। प्रचण्ड त्यहीँबाट निचोरिएर त्यो अभिव्यक्ति दिएका हुन। माओवादीले सहमतिको सरकार आफ्नो नेतृत्वमा मात्रै हुनुपर्ने अडान पनि सहमति जुटन सक्दैन', पोखरेलले भने।
राष्ट्रिय सहमति जुटाउने विभिन्न मोडेलमा गएर दल र व्यक्तिको टुंगो लगाउनुपर्ने पोखरेलले बताए। 'तीन दल मध्ये व्यक्तिका बारेमा अनेक मोडल हुन सक्छ। सदनमा जसले बहुमत जुटाउन सक्छ, त्यसैलाई राष्ट्रिय सहमतिको सरकार भन्न पनि सकिन्छ', उनले भने।
माओवादी स्रोतका अनुसार राष्ट्रिय सहमतिको सरकारअघि संविधानसभा म्याद थप गर्न माधव कुमार नेपाल नेतृत्व सरकारलाई नै दिन अनौपचारिक सहमति भएको छ। अहिले त्यही वातावरण बनाउन म्याद थपका लागि प्रधानमन्त्री नेपालले विभिन्न दलसँग परामर्श जारी राखेका छन्।

0 comments:
Post a Comment