युथफोर्स विघटन हुनुपर्छ-
काठमाडौं, जेठ ३ (नागरिक)- एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले नेपाली कङ्ग्रेस र एमालेसँग सहमतिको सम्भावना समाप्त भएको दाबी गर्दै माओवादी सङ्घर्षको तयारीमा लागेको घोषणा गरेका छन्। उनले युथफोर्स विघटन हुनुपर्ने माग पनि राखेका छन्।
रिपोर्टर्स क्लब नेपालद्वारा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ नेता वैद्यले सरकारको राजिनामा र संविधान संशोधन गरी सहमतीय प्रणाली अपनाउने निर्णय गर्न प्रमुख दलहरु सहमत नभएसम्म सहमति नहुनेसमेत स्पष्ट पारेका छन्।
'जेठ १५ भन्दा पछाडि पनि सङ्घर्षको विकल्प हामीले देखेका छैनौँ, त्यसको विस्तृत विवरण केन्द्रीय समितिको बैठक बसेर तयारी गर्छौँ''- उनले भने। तर, माओवादीलाई समेत मान्य हुनेगरी र सरकारको राजिनामासहितको पूर्व सर्त मान्न अन्य दल सहमत भए सहमतिको नयाँ आधार तयार हुने पनि उनको भनाइ छ।
संविधानसभा माओवादीको एजेन्डा भएको दाबी गर्दै नेता वैद्यले त्यसलाई माओवादीको हातबाट खोस्न कङ्ग्रेस र एमाले उद्दत भएको आरोप लगाए। 'अब यथास्थितिमा संविधानसभा हुनु वा नहुनुको औचित्य पूर्ण हुन सक्दैन', उनले भने- बरु हामी आवश्यक परे लडाईँमा जान तयार छौँ, तर लत्रेर सहमतिका लागि जानेवाला छैनौँ।
उनले १५ जेठमा घोषणा गर्ने जनसंविधान संविधानसभाका विभिन्न समितिहरुमा भएका छलफलमा आधारित रहेको र त्यसमा माओवादीका धारणा समेटिने दाबी गरे। 'संविधानसभाबाट संविधान जारी गर्न नसकिएको हुनाले खुल्लामञ्चबाट जारी गर्न लागेका हौँ'- उनले भने।
घोषणा भएको संविधानअनुसार अघि बढ्न माओवादीले प्रयत्न गर्ने तर तत्कालै माओवादीको जनसंविधान लागू नहुने नेता वैद्यले स्पष्ट गरे।
माओवादी सैद्धान्तिकरुपमा जनविद्रोहमै जाने तर शान्ति प्रक्रियाप्रति पनि प्रतिबद्ध रहने उनको भनाई थियो। कङ्ग्रेस र एमालेले माओवादीलाई कमजोर पार्न सर्तहरु थपिरहेको आरोप लगाउँदै नेता वैद्यले अब सबै लडाकुलाई सुरक्षा निकायमा समायोजन गर्नुपर्ने र एमालेसम्बद्ध युथफोर्स विघटन गर्नुपर्ने सर्त राखे।
'क्यान्टोन्मेन्टमा भएका सबैलाई समायोजन गर्नुपर्छ, हाम्रो धारणा यही हो', वैद्यले भने- युथ फोर्स विघटन गर्नुपर्छ, वेपत्ताहरुको छानविन गर्न आयोग बनाउनुपर्छ र सरकारले द्वन्द्वपीडितलाई क्षतिपूर्ति दिनुपर्छ। अब हाम्रो सर्त यही हो।
वरिष्ठ नेता वैद्यले प्रधान मन्त्री माधवकुमार नेपालले संविधान संशोधनका लागि प्रस्ताव ल्याएमा त्यो मान्य नहुनेसमेत बताए। 'अब सम्मानजनक सहमति र माधवजीको राजिनामा नभएसम्म कुरा मिल्दैन'- उनले भने।
माओवादीमा प्रधान मन्त्रीका लागि हालसम्म अध्यक्ष दाहाल नै प्रस्तावित भएको दाबी गर्दै नेता वैद्यले आवश्यक परे विकल्प दिन पनि पार्टी तयार रहेको बताए। 'हाम्रो पार्टीमा प्रधान मन्त्री बन्न योग्य धेरै साथी छन् तर अहिलेचाहिँ अध्यक्ष मात्रै सम्भावित उम्मेदवार हुनुहुन्छ'- उनले भने।
Monday, May 17, 2010
सहमतिको सम्भावना समाप्त : माओवादी
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment