अनमोलमणि पौडेल, काठमाडौं, जेष्ठ १४ - राजधानीको सामाखुसीस्थित एउटा निजी विद्यालयको छात्रबासबाट चार विद्यार्थी बेपत्ता भएका छन् । प्याराडाइम पब्लिक स्कुलको छात्रबासबाट जेठ २ गते रातिदेखि बेपत्ता उनीहरूको अवस्था अज्ञात छ ।
विद्यालयको छात्रबास बस्ने कक्षा ३ का अजय श्रेष्ठ, कक्षा ५ का राजेन्द्र पुन, कक्षा ८ का सुवास तामाङ र कक्षा १० का सरोजराज धामी छन् । उनीहरू १२ देखि १८ वर्ष उमेरका हुन् । दुई सातादेखि विद्यालय सञ्चालक, अभिभावक र प्रहरीले गरेको खोजी निष्फल भएको छ ।
विद्यालयका होस्टल इन्चार्ज निकम श्रेष्ठले पछाडिको ढोकाबाट हाम फालेर भागेको हुनसक्ने बताए । 'राति १० बजेसम्मको ट्युसन कक्षा सकेर सुत्न गएका थिए, बिहान विद्यार्थी कक्षामा थिएनन्,' उनले कान्तिपुरसित भने । उनीहरू एकजोर लगाउने कपडा र जुत्ता लिएर बेपत्ता छन् । राति १२ देखि १ बजे बीच बेपत्ता भएको अनुमान छ । छात्रबासमा १२ विद्यार्थीले पनि उनीहरू भागेको पत्ता नपाएको बताएका छन् ।
'राजधानीका सम्भावित सबै ठाउँ खोज्दा पनि भेटिएन,' विद्यालयका प्रिन्सिपल गुणराज खड्काले बिहीबार कान्तिपुरसित भने, 'उनीहरू भागे वा स्कुललाई बदनाम गराउने कसैले बन्धक बनाएर राखेको छ केही पत्ता लगाउन सकिएन ।'
बेपत्ता १२ वर्षीय अजय श्रेष्ठ भोजपुरबाट डेढ वर्षअघि प्याराडाइमको होस्टलमा आएका हुन् । विद्यालय सञ्चालक खड्काले गाउँले भएकाले उनलाई होस्टल राखेको बताए । पढाइ समान्य थियो । 'परिवारलाई काठमाडौं बसेर पढि्दन भन्थ्यो रे,' उनले भने । अजयका अभिभावक भोजपुरमै छन् ।
गुल्मीका पन्ध्र वर्षीय राजेन्द्र यसैपालादेखि विद्यालय प्रवेश गरेका थिए । उनी होस्टल बसेको सात दिनमात्रै भएको थियो । पढाइमा सामान्य थिए । उनकी काकाकी छोरी पनि यही विद्यालयको छात्राबास बसिरहेकी छन् । नुवाकोटका १५ वर्षीय सुवास तामाङ तीन वर्षदेखि छात्रवास बसिरहेका थिए । उनी कक्षा ८ का चौथो विद्यार्थी थिए ।
'त्यस्तो नराम्रो व्यवहार भएको मान्छे होइन,' प्रिन्सिपल खड्काले भने, 'केही अटेरी थियो । तर पढ्नमा खराब थिएन । कसैको लहै लहैमा लागेर हिँडेको हुनुपर्छ ।' उनीहरू बेपत्ता भएको खबर अभिभावकले पाइसकेका छन् ।
ललितपुर इमाडोलका १८ वर्षीय सरोजराज धामी करिब १ वर्षदेखि छात्रबासमा थिए । पढाइमा ध्यान नदिने उनलाई परिवारले पनि कम वास्ता गरेको थियो । बेपत्ता सबै कालो वर्णका छन् ।
विद्यालयले खोजीका लागि सोह्रखुट्टेस्थित प्रहरीलाई लिखित उजुरी दिएको छ । प्रहरीले खोजी कार्य भइरहेको बतायो । बेपत्ता विद्यार्थीबारे प्रहरीले सामान्य जानकारीसमेत पाएको छैन । सिविनलाई समेत खोजीका लागि अनुरोध गरिएको छ । 'दई सातासम्म उनीहरू अभिभावकको सम्पर्कमा पुगेका छैनन्,' प्रिन्सिपल खड्काले भने । (कान्तिपुरबाट)
Friday, May 28, 2010
छात्रबासका ४ विद्यार्थी दुई सातादेखि बेपत्ता
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment