मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, May 27, 2010

अपहरणकारीबाट फुत्किएका कामदार काबुलमा अलपत्र

१३ जेठ, काठमाडौं । अफगानिस्तानमा अपहरणकारीको पञ्जाबाट उम्किन सफल ४ जना नेपाली कामदार राहदानीविहीन भएपछि स्वदेश फिर्न सकेका छैनन् । उनीहरू दुई महिनादेखि काबुलमा लुकेर बसिरहेका छन् ।

पासपोर्ट र पैसा अपहरणकारीसँगै भएपछि उनीहरू बिचल्लीमा परेका हुन् । अफगानिस्तानस्थित एक अमेरिकी कम्पनीको ‘बाघराम क्याम्प’ तर्फ जाने क्रममा बाटैबाट उनीहरू अफगानी एक समूहको अपहरणमा परेका थिए । ‘हामीलाई अपहरण किन र कुन उद्देश्यका लागि गरियो भन्ने पत्तो भएन,’ सर्लाहीका शक्तिबहादुर तामाङले भने, ‘नियन्त्रणमा लिइएको सात दिनपछि हामी भाग्न सफल भयौं ।’

अपहरण पर्नेमा सर्लाहीका तामाङ, झापाका शिवकुमार भण्डारी, गोविन्दकुमार धिमाल र वसन्त सिग्देलसहित अरू तीन जना थिए । तर ती तीनको विषयमा भने उनीहरूलाई जानकारी छैन । उनीहरू कामका लागि अन्तरवार्ता दिन कम्पनीतर्फ गइरहेका थिए । ‘हामीसँग भएका पासपोर्ट र १५ सय डलर उनीहरूकै साथमा छ,’ तामाङले भने, ‘हामीसँग २० हजार अमेरिकी डलर बेलाबेलामा माग्ने गरेकाले पैसाका लागि अपहरण गरेको भन्ने हाम्रो अनुमान छ ।’

उनीहरू दलाललाई चार लाख २० हजार रुपैयाँ बुझाएर भारतीय बाटो हुँदै आठ महिनाअघि अफगानिस्तानमा पुगेका थिए । अफगानिस्तानमा पुगेको लामो समयपछि मात्रै नेपालीले रोजगार पाउने गरेका छन् । राहदानी साथमा नभएकाले पक्राउ परिने डरले उनीहरू लुकेर होटलमा बस्दै आएका छन् । उनीहरूले उद्धार गरिदिन काबुलस्थित राष्ट्रसंघीय मानव अधिकारको कार्यालय, स्थानीय रेडक्रससमक्ष अनुरोध गरे पनि सुनुवाइ हुन सकेको छैन । ‘उद्धारका लागि ओएचसीआर, रेडक्रसमा गयौं,’ अर्का पीडित झापाका भण्डारीले भने, ‘ती निकायले आफूहरूबाट उद्धार हुन नसक्ने जनाउँदै नेपाल सरकारलाई गुहार्ने बताए ।’

भण्डारीका अनुसार परराष्ट्र मन्त्रालयले ‘ट्राभल डकुमेन्ट’ बनाइदिए उनीहरू स्वदेश फिर्नेछन् । ‘दुई महिनाअघि स्थानीय रेडक्रसमार्फत पाकिस्तानस्थित नेपाली दूतावासमा ‘ट्राभल डकुमेन्ट’ पठाइदिन अनुरोध गरेर आवश्यक कागजात पठाए पनि सुनुवाइ भएको छैन,’ भण्डारीले भने, ‘दूतावास भने परराष्ट्रबाट अनुमति नआएसम्म डकुमेन्ट बनाउन नमिल्ने बताइरहेको छ ।’

आफगानिस्तानमा नेपालीहरूलाई बढी निगरानी र धरपकड गर्ने कार्यलाई प्रहरीले तीव्र बनाइरहेको छ । मंगलबार उनीहरू बसेको होटलबाटै पनि सात जना नेपाली कामदारलाई प्रहरीले पक्राउ गरेको छ । ‘हामी नेपाली र अफगानीद्वारा सञ्चालित होटलमा बसेका थियौं । मंगलबार त्यहाँबाट नेपाली कामदार पक्राउ गर्नुका साथै होटल बन्द गरेपछि हामी अफगानीले सञ्चालन गरेको होटलमा दैनिक १० अमेरिकी डलर दिने गरी लुकेर बसेका छौं,’ उनी फोनमा भन्दै थिए, ‘हामी भने बाथरुममा लुकेर बसेकाले पक्राउ हुनबाट जोगियौं ।’ उनीहरूले पैसा सकिएकाले समस्यामा परेको बताए । कान्तिपुर दैनिकबाट

0 comments: