मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, May 24, 2010

जिब्रो लट्पटियो: प्रधानमन्त्री

काठमाडौं, जेठ १० (नागरिक) प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभाविरोधी आफनो अभिब्यक्तिप्रति आत्माआलोचना गरेका छन्। सत्ता साझेदार दश दलको वैठकमा प्रधानमन्त्री नेपालको अभिब्यक्तिलाई लिएर आलोचना भए पनि उनले आत्माआलोचना गरेको तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ह्देयश त्रिपाठीले बताए।

त्रिपाठीका अनुसार प्रधानमन्त्री नेपालले वोल्दै जाँदा 'टङ स्लिप' भएको बताएका थिए। त्यसप्रति प्रधानमन्त्री नेपालले गल्ती महसुस गरेको उनले संचारकर्मीहरूलाई जानकारी दिए । वैठकमा सहभागीहरूले प्रधानमन्त्रीको भनाईले अरूलाई सरकारको प्रतिवद्धताप्रति नै शंका गर्ने ठाउँ दिएको भन्दै आलोचना गरेका थिए। तमलोपाका उपाध्यक्ष त्रिपाठी, राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनी, नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेल, मालेका महासचिव सीपी मैनालीले प्रधानमन्त्रीको अभिब्यक्तिप्रति असन्तुष्टी जनाएका थिए।

बैठकले संविधानसभाको म्याद थप्ने सम्वन्धी विधेयकलाई पारित गर्न र राष्ट्रिय सहमतिका आधारमा अघि बढ्न एकीकृत नेकपा(माओवादी) लाई आग्रह पनि गरेको छ। व्यवस्थापिका-संसदमा रहेका सवै दल र सभासदहरूलाई संविधानसभाको म्याद थपका लागि सहयोग गर्न पनि वैठकले आग्रह गरेको छ।

संविधानसभाबाट नयाँ संविधान निर्माण गर्नु नेपाली जनताले दिएको जनादेश भएको बताउदै यसलाई आत्मसात गरी सहमति र सहकार्यका आधारमा अघि वढनुपर्ने निष्कर्ष वैठकले निकालेको हो। 'संविधानसभाबाटै नयाँ संविधान निर्माण गर्नुपर्दछ', दश दलको निर्णयमा भनिएको छ, 'निर्धारित समयभित्र शान्ति प्रक्रियाको टुंगो लाग्न र नयाँ संविधान निर्माण हुन नसकेको वर्तमान अवस्थामा संविधानसभाको समयावधि थपेर अघि बढ्नुको विकल्प छैन।'

शान्ति प्रक्रियालाई सार्थक निश्कर्षमा पुर्‍याउने, नयाँ संविधान निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दायित्वबोधका साथ व्यवस्थापिका-संसदमा सरकारद्वारा संविधान संशोधनको प्रस्ताव अघि बढाइएको निष्कर्ष वैठकको छ। प्रधानमन्त्री नेपालको अध्यक्षतामा भएको वैठकमा नेपाली काँगेस संसदीय दलका नेता रामचन्द्र पौडेल, नेकपा(एमाले) का नेता के.पी.ओली र भरतमोहन अधिकारी, मधेशी जनअधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठी, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेकपा(माले) का महासचिव सी.पी.मैनाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणा, नेकपा(संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशी, राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र समाजवादी प्रजातान्त्रिक जनता पार्टी, नेपालका अध्यक्ष प्रेमबहादुर सिंहको उपस्थिति थियो।

बैठकमा नेपाली काँग्रेसका नेताहरु महामन्त्री विमलेन्द्र निधि, रामशरण महत र कृष्ण सिटौला, एमालेका सचिव विष्णु पौडेल, मधेशी जनअधिकार फोरम(लोकतान्त्रिक) का उपाध्यक्ष रामेश्वर राय यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता अलाउद्दिन अंसारी र समाजवादी प्र.ज.पार्टी, नेपालका नेता हिक्मतबहादुर देउवाको पनि उपस्थिति थियो। त्यस्तै मन्त्रीहरु विद्या भण्डारी, भीम रावल, मीनेन्द्र रिजाल, दीपक बोहरा, सर्वेन्द्रनाथ शुक्ल, शरदसिंह भण्डारी, डम्बर श्रेष्ठ र लक्ष्मणलाल कर्ण पनि वैठकमा उपस्थित थिए।

0 comments: