मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Tuesday, May 18, 2010

रेडलाइट एरियामा गुलाबी सपना : दीपक सापकोटा

दिल्ली रेल स्टेसननजिकको चोकबाट पाँच मिनेट पश्चिमतर्फ लागेपछि एउटा थोत्रो पिचबाटो दाहिनेतिर मोडिन्छ । दुईवटा बाटो छुट्टनि मोडसँगै लहरै जोडिएका ठुल्ठूला घर छन्, जहाँ यौन व्यवसायमा लागेका युवती भेटिन्छन् । यस बाटोको नाम जिपीरोड हो, जो दिल्लीमा 'रेडलाइट एरिया'को नामले प्रख्यात छ । एउटा यस्तो ठाउँ जहाँ विना कुनै बन्देज यौन व्यापार हुन्छ । दिल्ली सरकारले पनि यौन व्यापारका लागि यो 'एरिया'लाई गन्तव्यका रूपमा छुट्टयाइदिएको छ । यहाँ यौन व्यापारकै लागि भारत र नेपालका गाउँबाट युवती ल्याइन्छन् ।

आरोहणका नाटयकर्मीसँग गएको हिउँदमा राष्ट्रिय नाटय विद्यालयको महोत्सवमा दिल्ली पुगिएको थियो । यसै मौकामा एक साँझ हाम्रो एक टोली रेडलाइट एरियाको जीवन बुझ्न हिँडेको थियो ।

त्यही जिपीरोडमा कसैलाई कुरिरहेको जस्तो, मैला लुगा लगाएर पल्याकपुलुक यताउता हेरिरहेको कुनै चलाख अनुहार देख्नुभयो भने चिन्नुहोस्- ऊ यौन व्यापार गर्ने अखडाको एजेन्ट हो । उसले बाटोमा भेटिएका सबैलाई सोध्नेछ, 'आपको माल चाहिए ? कैसा चाहिए ? मेरे पास अच्छा माल है ।'

यौन तिर्खा मेटाउन पाइने यस्ता प्रत्येक घरको पुछारमा नम्बर लेखिएको हुन्छ- ५०, ५१, ५२...। नम्बर पढ्दै हिँडिरहेका वेला एकजना एजेन्टले हाम्रो ध्यान आफूतर्फ खिच्दै सोधेको थियो- आपको कैसा माल चाहिए, मे आपको सबसे अच्छा माल दिलादुंगा । तर, यसपालि एजेन्टको प्रश्न सुन्दा संवाददातासँगै रहेका नाटयकर्मी कमलमणि नेपाल खुब जंगिए, 'आज रात मेरेको कैट्रिना कैफ चाहिए । दिला सकते हे आप ?' उनी यसरी कड्किएपछि सायद त्यस एजेन्टको सातोपुत्लो उडेको थियो । र, ऊ त्यहाँबाट कुलेलम ठोक्यो ।

'घरको नम्बरमात्रै पढेर कति हिँड्ने, कतै उक्लिएर हेराँै न,' नाटयकर्मी रामहरि ढकालले भने । ५८ नम्बरको घरको ठाडो उकालो भर्‍याङ उक्लियौँ । भर्‍याङको प्रत्येक खुड्किलोमा बैँस छउन्जेल 'धन्दा'मा लागेका वृद्धा महिला केही पाइने आसमा कचौरा थापेर बसेकी थिई । सबै खुड्किलोमा दुई रुपैयाँका सिक्का फाल्दै रवीन्द्र बानियाँले सुनाए, 'यी बूढी आइमाईहरू पनि बैँसका वेला यही एरियामा यौन व्यापार गर्दै बस्थे । बूढी हुँदै गएपछि साहुले यिनीहरूलाई त्यहाँबाट निकालिदिए र यहाँ यसरी माग्दै बसेका ।' यसरी कचौरामा केही सिक्का हालिदिएपछि हात पसार्दै मागिरहेका बूढीहरू भनिरहेका हुन्थे, 'भगवान् आपका भला करे ।'

०००

सिसा र काठको ढोका भएको यौन व्यापार हुने यो 'पसल'मा छिर्‍यो भने कहिल्यै त्यहाँ नपसेका नवआगन्तुकलाई भित्रको दृश्य साह्रै भद्दा लाग्छ । पान पसलजस्तो काउन्टरमा कुनै गाढा रातो सर्ट लगाएको पुरुष बसेको छ । टाइट जिन्स पाइन्ट र रातै टिसर्ट लगाएकी किशोरीले उसको गाला, गर्दन र छाती मुसार्दै छे । केटो छिनछिनमा त्यो किशोरीको स्तनतिर हात पुर्‍याउँछ । र, ऊ मस्किन्छे ।

म्युजिकको चर्को आवाज, मान्छेको ठूलो भीड र कोलाहल । त्यस भीडमा कति होलान् त्यस्ता युवती जो भित्र पस्ने हरेक पुरुषलाई समाउँछन् र मुसार्न थाल्छन् । सबै आफ्नै धुनमा छन् । कसैलाई कसैको पर्वाह छैन, मतलब छैन । र, आफूलाई मन पर्ने पेसाकर्मीसँग अधर स्पर्शमा लिप्त छन् ग्राहक । मान्छे सरासर काउन्टरमा जान्छन्, दुई सय रुपैयाँ तिर्छन् र आफूलाई मन परेको केटी रोजेर उसलाई गिजोल्दै एउटा सानो कोठाभित्र पस्छन् । त्यस्तै १५ मिनेटपछि केटाकेटी अँगालो हाल्दै त्यस सानो कोठाबाट बाहिर निस्कन्छन् । तर, कहिलेकाहीँ दृश्य खराब पनि हुन सक्छ अर्थात् ग्राहकले जंगली व्यहोरा देखायो भने त्यसलाई अश्लील गाली गरेर मनको तितो पोखिरहेकी पेसाकर्मी पनि देखिन्छ ।

०००

५८ नम्बर ब्लकमा नेपाली युवतीको संख्या अधिक थियो । जसलाई गन्न थाल्नु मूर्खता मात्रै हुन्थ्यो । २० वर्षकी जस्ती देखिने ती युवती आफ्नो साथीसँग नेपाली बोलिरहेकी थिइन् । तर, नजिकै गएर बोलाउँदा बोलिनन् । अर्को साथीलाई मुख छोप्दै भन्दै थिइन्, 'आबुई, यो केटो पनि नेपाली पो रहेछ ।' हामीमाथि 'अश्लील' शब्द-वषर्ा गर्दै मस्किरहेका वेला एकजना कालो वर्णको, देख्दै डरलाग्दो पहलमानी ज्यान भएको केटा आइपुग्यो । भन्दै थियो, 'मुझे नेपाली माल चाहिए ।' हामीलाई गाली गरिरहेकी ती नेपाली केटीलाई तान्दै भन्यो, 'चलो छौडी, मे तुम्हे एक्स्ट्रा पैसे दुंगा ।' त्यसपछि उसले विनासंकोच त्यसको ओठ चुस्न थाल्यो । म अर्कोतर्फ नजर डुलाउन थालेँ । त्यो डरलाग्दो केटो र नेपाली केटी सानो कोठाभित्र पसिसकेका थिए ।

०००

कोठाको कुनामा थकित मुद्रामा एउटी रुपवती युवती बसिरहेकी छिन् । टिलिक्क टल्किने रातोझोला मेचमा छ भने प्लास्टिकको झोलामा आइलाइनर, ब्लु स्याडो, लोसन, लिपिस्टिक, पाउडरका बट्टा छन् । स-साना कोठाको अगाडिपट्ट िबसेकी उनले नीलो कुर्ता-सुरुवाल र कालो स्वेटर लगाएकी छिन् । गोरो वर्णकी उनले गालाको मेकअप गरिसक्दा बलिरहेको बत्तीजस्तै चम्किलो देखिन्छ ।

हेर्दाहेर्दर्ै उनी चुरोट सल्काउँछिन् र उठेर सामुन्नेमा रहेको ऐनामा अनुहार हेर्छिन् । फेरि उठेर पहिल्यैको ठाउँमा बस्छिन् र बेपर्वाह मेकअपमा लाग्छिन् । अझ राम्रो देखिने प्रयासमा उनी रातो लिपिस्टिक दलिएका ओठ चम्काउँछिन्, पेन्टरले आफ्नो पेन्टिङमा दोहोर्‍याएर रंग पोतेझैँ । म उनको अगाडि गएर ढसमस्स बसेँ । मलाई हेरेर हल्का मुस्कुराइन् । सायद मलाई सम्भावित ग्राहक सोचिन् । नियालेर हेर्दा थाहा भयो- उनी पनि नेपाली रहिछिन् । उनी १७/१८ वर्षकी थिइन् होला । सुरुमा मसँग कुरा गर्न अलिक हिच्किचाए पनि पछि उनले खुलेर कुरा गरिन् ।

बहिनीको नाम के हो ?

-अनिता तामाङ

कहाँबाट ?

-धादिङबाट ।

पढ्नुपर्ने उमेरमा किन यता आयौ नि ?

एकछिन उनी चुप बसिन् । बायाँतिरको लामो मेचमा खासखुस गफ गरिरहेका केटाकेटीले टाउको माथि उठाएर पुलुक्क हेरे हामीतिर । नबुझिने भाषाको कुराकानीले सायद उनीहरूलाई डिस्टर्ब भएको थियो । मेरो प्रश्न सुनेर अक्मकिन थालेकी उनले पुलुक्क मेरो अनुहार नियालिन् । अनि टाउको हल्लाइन् । 'दाइ काठमाडौंबाट हो ?' निकैबेर मलाई ट्वाल्ल हेरेर हातको लिपिस्टिक झोलामा राखिवरी उनी बोलिन्, 'कहिले आउनुभएको ?' मलाई उनको शिष्टताभन्दा कथा चाहिएको थियो ।

नाम अनिता । घर सिन्धुपाल्चोक, चौतारा । उमेर १८ वर्ष । सात कक्षा पढ्दै गर्दा घरमा सौतेनी आमाको टोकसो र दिन-रातको कुटाइ सहन नसकेर दुई महिनाअघि गाउँका अरू साथीको लहैलहैमा माओवादीसँग जंगल यात्रा गरेकी । जंगलबाट भागेर धादिङस्थित सानीआमाको होटलमा काम गरेकी । दुई वर्षपछि गोरखपुर हुँदै मावलीगाउँका दाइ पर्नेसँग कोलकाताको एउटा राम्रै होटलमा खाना सर्भ गर्ने काममा प्रवेश । त्यहाँको कमाइले चित्त नबुझेपछि होटलमा सधैँ आउने एकजना ग्राहकसँग भागेर दिल्लीको यौन व्यापार गर्ने यो ५८ नम्बर 'पसल' मा एक वर्षअघि प्रवेश ।

अनिता यहाँका अरू पेसाकर्मीभन्दा केही फरक देखिन्थिन् । भावुक स्वभावकी होलिन् जस्ती । 'अब गाउँ फर्किन्न होला,' आफ्नो कुर्ताको एकछेउ टोक्दै अनिताले सुनाइन्, 'घरमा पनि मलाई माया गर्ने को छ र ? आफ्नी आमा सानैमा मरिहालिन् । सौतेनी आमाबाट बहिनी जन्मेपछि बाउले पनि मलाई वास्तै गर्न छाडे । जाँड खाएको वेला कस्तो छौ छोरी ? भनेर टाउको सुम्सुम्याउँथे । सौतेनी आमा भनाउँदीले जहिल्यै पनि सुम्ला उठ्नेगरी कुट्थी । अनि किन, कसका लागि घर जानु ?' आफ्नो सारा कथा सुनाइसक्दा बत्तीको गाढा उज्यालोमा उनका आँखामा आँसु टिल्पिलाएको देखिन्थ्यो ।

आफ्नो शरीर कसैलाई सुम्पनुपर्ने बाध्यताका पछाडि केही स्पष्ट र केही अस्पष्ट कारण हुन सक्छन्, मानौँ यो पेसा कोलाज हो एउटा । तर, अनिताको मामलामा के भन्न सकिन्छ भने गाउँले किशोरीको ठूलो महत्त्वाकांक्षाले डोर्‍याएर उनलाई रेडलाइट एरिया पुर्‍याएको थियो । धेरै पैसा कमाएर सुखी र सुविधापूर्ण जिन्दगी बिताउने उनको सपना थियो । उनले कति कमाइन् होला त ? 'अलिकति कमाएकी छु,' उनले भनिन्, 'धेरै त के कमाइन्थ्यो र ? यहाँ एउटा ग्राहकले दुई सय रुपैयाँ मात्रै तिर्छन् ।' उनको कुरा सुन्दा यस्तो लाग्थ्यो यौन सन्तुष्टिको साह्रै कम मूल्य तिरिरहेका छन् ग्राहकहरू ।

दिल्ली घुम्न आएकादेखि लागूपदार्थका दुव्र्यसनीसम्मलाई आफ्नो शरीर सुम्पँदा उनले भनेजति पारिश्रमिक पाएकी छैनन् । 'के-के न होला भन्ने लोभले यहाँ आइहालियो, अब दिक्क लाग्न थालेको छ,' उनले भनिन् । तर, जति दिक्क लागे पनि आफ्नो शरीरको पसल थापेर अर्काे एक वर्ष उनले यहीँ बस्नुपर्छ । सुरुमा यहाँ आउने वेला साहूले अनितालाई दुई वर्ष, यहाँ काम गर्नैपर्ने गरी 'कन्ट्रयाक्ट पेपरमा साइन' गराएको थियो रे ।

'एक दिनमा १०/१२ जनासँग सुत्न जानुपर्छ,' प्रश्नपछि लजाएकी उनले निकै अप्ठयारो मानेर भनिन् । आफ्ना यी सारा कहानी भनिसक्दा उनका आँखा भुइँमा झुकेका थिए । आज हल्का पाठेघर दुखेकाले उनले शरीर सुम्पने कामबाट केही छिन (एक घन्टाजति)लाई फुर्सद पाएकी रहिछन् । 'एकछिनपछि सधैँ आउने ग्राहक आएर तान्न थाल्छन्, गएर सुत्नैपर्छ,' उनले सुनाइन् । मासिक श्राव भएको वेलासमेत यौनसम्पर्क राखेकाले अहिले उनको पाठेघर हल्का दुख्न थालेको छ रे । 'मिन्स हुँदा जान नमाने पनि साहुले जबरजस्ती पठाउँछ । पैसा महिनाको चार हजार पाँच सय पाइन्छ,' उनले भनिन्, 'ग्राहक सन्तुष्ट भए उनीहरूले छुट्टै पैसा दिन्छन् ।'  

०००

अरू केटीलाई बाहिर काउन्टरमा दुई सय दिएपछि छुट्टै पैसा नदिए पनि आफूलाई 'भोग्ने' धेरैले खुसी भएर तीन/चार सय रुपैयाँ 'टिप्स' दिने गरेको उनले सुनाइन् । यहाँ प्रत्येक १५ दिनमा स्वास्थ्य जाँच हुन्छ रे । 'यहाँ काम गर्ने तीनजनालाई एड्स लागेको थाहा पाएर साहूले दुई-चार महिनाको 'तलब' दिएर उनीहरूलाई हटायो,' बत्तीको मधुरो उज्यालोमा झनै सुन्दर देखिन थालेकी अनिताले सुनाइन्, 'मैले त कन्डम नलगाई छुन पनि दिने गरेकी छैन ।'

०००

अनितासँग गफ गर्दैगर्दा उनीसँगै टाँस्सिन आइपुगिन् सप्तरीकी बच्चु यादव । उनले यहाँ काम गर्न थालेको दुई वर्ष भएछ । कालोवर्णकी हिस्सी परेकी बच्चुले हातमा हरियो चुरा लगाएकी छिन् । कालो ज्याकेट र रातो लङप|mकमा उनी कुनै सुकुमारीभन्दा कम थिइनन् । उनको अनुहारको कोमलता र निर्दाषपन जोसुकैलाई कायल बनाउनसक्ने खालको थियो ।

दुई वर्षपछि यहाँबाट फर्केर के गर्लिन् अनिताले ? 'राम्री छँदै छु । यहाँ कमाइ भएको पैसा जोगाएर राख्छु । पहिले दिल्ली सहर छाड्छु ।

उनको लालीओठमा हाँसो देखियो, त्यसपछि कोलकाता जान्छु । त्यहाँ कुनै चोकमा एउटा केकसप खोल्छु । अनि कोही केटा पट्टयाएर बिहे गर्छु ।' सोचीसोची यसो भनिरहेकी अनिता फेरि भावुक बनिन्- दिल्ली सहर छाडेपछि कहिल्यै यो पेसा गर्ने छैन । अनिताको आशावादिता लोभलाग्दो छ । भनिन्छ, 'यस्ता यौनबजारका कटुसत्यले यौनकर्मी महिलाका सारा सपना चकनाचुर पारिदिएका हुन्छन् । तर, अनितासँग अझै पनि केही सपना छन्, जिउँदाजाग्दा र गुलाबी सपना । हामी कुरा गरिनसक्दै भीडबाट छुट्टएिर आएको एकजना बलिष्ठ पाखुरा भएको केटोले अनिताको हात समात्यो । अनिता मुसुक्क मुस्काइन् र उसको गाला मुसारिन् । 'जाउँ भित्र,' काउन्टरमा पैसा तिरेर आएपछि केटोले अनितालाई संकेत गर्‍यो । अनिताले लजाउँदै मतिर हेर्दै भनिन्, 'एकछिन पर्खिनूस् है दाइ, म २० मिनेटमै आइहाल्छु ।' मैले हात हल्लाउँदै 'बाई' भनेँ ।

मसँगै यता आएका रवीन्द्र र कमलमणि एउटी सुन्दरीसँग अर्को छेउमा गफ चुट्दै थिए । रामहरि भने यहाँ बस्न दिक्क मानेर बाहिरिसकेका रहेछन् । 'अनितासँगको गफ सम्झना छ ?' रवीन्द्रले सोधे । 'उसको दुःखी जीवनकथा दिमागमा कहिल्यै नहट्नेगरी सेट भएको छ,' मैले भनेँ ।

०००

नेपाली चेलीहरू बम्बईमा बेचिएको दृष्टान्त खुब सुनिएको/पढिएको थियो । आफ्नै इच्छाले शरीर बेचिरहेका नेपाली चेली पनि हुँदारहेछन् । उसो त, अनिताजस्ता 'योजनाबद्ध' तरिकाले काम गरिरहेकाहरू निकै कम छन् यहाँ । 'सबै बेचिने होइन रहेछन्, आफ्नै इच्छाले शरीर बेच्ने नेपाली केटी पनि रहेछन्,' बाहिर निस्किसकेपछि मैले यस्तो निष्कर्ष निकाले । पहिलोपटक 'रेडलाइट एरिया'को दृश्य अवलोकन गर्दै गर्दा साँझ झमक्क परिसकेको थियो । आजकै साँझ हामी नेपाल फर्किनु थियो । झमक्क साँझमा हाम्रो पाइला होटलतिर सोझियो । हामी सबैको मन एकतमासको भएको थिय । (नयाँ पत्रिकाबाट) 

0 comments: