राजेन्द्र फुयाल,काठमाडौ, जेष्ठ १० -'मुलुकका लागि केही गर्न पूर्ण कार्यकाल चाहिन्छ,' एक वर्ष मुलुकको सर्वोच्च कार्यकारी पदको अनुभवले प्रधानमन्त्री माधवकुमार नेपाललाई यस्तो निष्कर्षमा पुर्याएको छ ।
उनले औपचारिक रूपमा पदभार ग्रहण गरेको आज एक वर्ष पूरा भएको छ । संविधानसभाको सबैभन्दा ठूलो दल माओवादीको विरोध र अवरोधकै बीच २२ दलीय गठबन्धनले एक वर्ष मुलुकको नेतृत्व गरेको छ ।
वर्षदिनको अनुभवले प्रधानमन्त्री नेपाललाई 'केही गर्न सकिन्छ' भन्ने आत्मविश्वास बढाएको छ । 'छोटो समयमा पनि तीव्र गतिमा काम गर्न सकिन्छ,' उनले सोमबार कान्तिपुरसँग भने ।
प्रधानसेनापति प्रकरणमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा गरेपछि गठबन्धन सरकार बनेको थियो । संविधानसभाको सबैभन्दा ठूलो दल माओवादीबाहेकको गठबन्धनले सदनमा बहुमत पुर्याएर सरकारै बनाउन सक्दैन, बनिहाले पनि धेरै दिन टिक्दैन भन्नेहरूको निष्कर्ष फेल खायो । बरु पहिलो पटक कम्युनिस्ट नेतृत्वको सरकारले वर्ष दिन पूरा गर्यो । अहिलेकै अवस्थामा संविधानसभाको कार्यकाल विस्तार गरिए सरकारको आयुमात्र बढ्ने आशंकामा छन् । प्रधानमन्त्री नेपाल भने आफू 'पदमा टाँसिएर नबस्ने' बताउँछन् ।
'यो माधव नेपाललाई नचिन्नु हो,' उनी भन्छन्, 'म सत्ताको भोको होइन, यसको दुरुपयोग गर्नु पनि छैन ।' देश र जनताका पक्षमा काम गर्न सकिन्छ भनेर सरकारको नेतृत्व गरेको उल्लेख गर्दै उनले भने, 'राम्रो कामका लागि प्रतिस्पर्धा गरौं, म त्यसका लागि तयार छु ।'
माओवादी आन्दोलनसँगै सत्तारूढ गठबन्धन दलहरूको एकता थप मजबुद भएको देखिन्छ । सडकको दबाबबाट प्रधानमन्त्रीले राजीनामा गर्नु हुन्न भन्ने अडानमा दृढ देखिएका सत्तारूढ दलहरूले नागरिक दलमा माओवादीको रूपान्तरण अघि उसलाई सत्ताको साँचो दिन नहुने निष्कर्षमा छन् ।
'सरकारमा पुग्ने माओवादीको चाहनालाई मैले अन्यथा ठानेको छैन,' उनी भन्छन्, 'यो चाहना पूरा गर्न सबैको विश्वास जित्नु पर्छ ।' दलहरूबीच सहमति जुटाएर वा सदनमा बहुमत पुर्याएरमात्र अर्को सरकार गठन गर्न सकिन्छ भन्नेमा ध्यान पुर्याउन उनी माओवादीलाई आग्रह गर्छन् । 'यसका लागि अरूको विश्वास जित्नु पर्छ,' उनी भन्छन्, 'धाकधम्कीको भरमा सरकारमा पुग्ने आकांक्षा छोड्नु पर्छ । अरूसँग मिलेर अघि बढ्न तयार हुनु पर्छ ।'
प्रधानमन्त्री नेपाल नागरिक दलमा रूपान्तरण भएर माओवादीले सरकार बनाए आफूलाई आपत्ति नहुने बताउँछन् । 'तर खेलका केही नियमलाई स्वीकार गर्नुपर्छ, उनी भन्छन्, 'सहकार्य अघि बढाउन उनीहरूको रूपान्तरण आवश्यक छ ।' अधिनायकवादी चरित्रबाट मुक्त भएर कम्युनिस्ट आन्दोलन लोकतान्त्रीकरण भएको हेर्न चाहेको उनले बताए । संविधानसभा निर्वाचन अघिदेखि नै उसलाई नागरिक दलका रूपमा हेर्न चाहेको उल्लेख गर्दै प्रधानमन्त्री नेपालले भने, 'भइहाल्छन् भन्नेमा विश्वास गर्दै समय बित्यो । सामान्य आलोचना र सुझावले माओवादी रूपान्तरण भएनन् ।'
नेपाल प्रधानमन्त्री भएदेखि नै प्रमुख विपक्षी माओवादीले निरन्तर सरकारविरुद्ध कुनै न कुनै आन्दोलन जारी रोखेको छ । प्रतिपक्षीको व्यवहारप्रति उनी दुःखी देखिन्छन् । 'प्रतिपक्ष सुसंस्कृत भइदिएको भए,' 'कसैको बानी नै त्यस्तै भएपछि के गर्नु ?' व्यक्तिप्रतिको विरोधले राम्रो संस्कृति नबन्ने उनको भनाइ छ । 'जुन व्यक्तिका नाममा सहमति हुन्छ (प्याकेज सहमतिमा), म उसलाई सहयोग गर्न तयार छु,' उनी भन्छन्, 'म माथि सुरुदेखि नै गरिएको क्षुद्र प्रहारले उनीहरूलाई नै घाटा हुन्छ ।'
प्रधानमन्त्री नेपाललाई आफ्नो नेतृत्वमा शान्ति, विकास र स्थायित्वका लागि 'महत्त्वपूर्ण' काम भएका छन् भन्ने लागेको छ । संविधानसभाको कार्यकाल सकिने बेला परेकाले सरकारले औपचारिक रूपमा वर्षगाँठ भने मनाउँदै छैन । आफ्नो नेतृत्वको सरकारले एक वर्षमा काठमाडौंलाई तराईसँग जोड्ने दु्रत मार्ग र मेलम्ची खानेपानीको सुरुङमार्गको निर्माण काम सुरु गरेको उल्लेख गर्दै उनले वैकल्पिक विमानस्थलको अध्ययन र क्षेत्रीय विमानस्थल निर्माण कार्य आरम्भलाई विकासका क्षेत्रका भएको प्रगति ठानेका छन् । तराईमा ६ सय किलोमिटर हुलाकी सडक निर्माणका लागि टेन्डर प्रक्रिया सुरु गरिएको उल्लेख गर्दै उनले सिमौनगढ- लगायतका स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विकास, ठूला जलविद्युत् परियोजना, विश्वविद्यालय स्थापना, दुर्गम क्षेत्रमा खाद्यान्न आपूर्ति, गरिबी निवारण र रोजगारी प्रवर्द्धनलाई प्राथमिकताकासाथ अघि बढाएको बताए ।
सरकारका कामलाई लिएर उनी आफैं पनि पूर्ण सन्तुष्ट भने छैनन् । 'सरकारी कामको गति सुस्त छ,' उनी भन्छन्, 'गणतन्त्र स्तम्भ निर्माणका लागिसमेत कागजी काममै धेरै समय लाग्यो । सबै मन्त्रालयलाई सिंहदबारभित्र ल्याउने, विभागहरूलाई निश्चित क्षेत्रमा राख्ने, संसद्भवन, सांसद आवास, संग्रहालय निर्माण, सर्जक आश्रम निर्माणलगायका काम आफ्नो 'स्पि्रट' अनुसार अघि बढ्न नसकेको उनको मूल्यांकन छ । माओवादी नेतृत्वको सरकारको तुलनामा भने यो सरकारको उपलब्धि उल्लेख्य भएको उनी बताउँछन् ।
Tuesday, May 25, 2010
सरकारको १ वर्ष
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment