मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, May 5, 2010

युनिटीले पैसा फिर्ता दिने l

रोशन साँवा, इलाम, वैशाख २२- जिल्ला प्रशासन कार्यालय इलामको रोहवरमा एस्योरेन्स युनिटी लाइफ इन्टरनेसनल प्रालिको इलाम शाखा र पीडित पक्षबीच निवेदन दिएको एक साताभित्र शतप्रतिशत रकम फिर्ता गर्ने सम्झौता भएको छ ।

युनिटीका इलाम अध्यक्ष तीर्थ ढकाल र पीडित पक्षको तर्फबाट रोशन श्रेष्ठले पैसा फिर्ताका लागि निवेदन दिएको एक हप्ताभित्र शतप्रतिशत रकम फिर्ता गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्। यसअघि युनिटीले ६५ प्रतिशत मात्र फिर्ता दिने बताउँदै आएको थियो।

युनिटी गैरकानुनी रूपमा सञ्चालन भएको थाहा पाएपछि सदस्यहरूले रकम फिर्ता माग्दै शाखा कार्यालयमा निवेदन दिएका थिए। उनीहरूले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा पहल गरिदिन अनुरोध गरेका थिए।

जिल्लामा अस्पताल, नर्सिङ कलेज, डिपार्टमेन्टल स्टोर, रिसोर्ट, चिया उद्योग खोल्नेजस्ता योजना सुनाउँदै युनिटीले इलाममा २ हजार २ सय र मेचीका अन्य जिल्ला गरी ४ हजार ३ सय सदस्य बनाएको थियो। युनिटीले १० हजारदेखि १५ हजार ७ सय ७५ रुपैयाँ लिएर सदस्य बनाएको थियो। सदस्य बनेबापत लिएको रकम शाखाले सोझै काठमाडौंस्थित फिना वर्ल्ड बहुउद्देश्यीय सहकारी संस्थाको खातामा जम्मा गर्दै आएको छ। त्यस संस्थाको शाखा इलाममा छैन।

युनिटीको शाखा कार्यालयमा पैसा फिर्ता माग्दै निवेदन दिनेहरूको संख्या दिन प्रतिदिन बढिरहेको छ। गाडी नचले पनि विभिन्न गाउँका व्यक्तिहरू पैदल हिँडेर निवेदन दिन आइरहेका छन् । 'राम्रा सपना देखाएपछि गाई बेचेर सदस्य बनेको थिएँ, तर ठग्न खोजेका रहेछन्,' सोयाङ- ९ बाट आएका भानु सुवेदीले बताए। अहिलेसम्म ५ सयभन्दा बढीले पैसा माग्दै कार्यालयमा निवेदन दिएका छन्। 'युनिटीको सदस्य बन्दा लिएको ऋणको ब्याज तिर्दैछु। युनिटी गैरकानुनी भएको थाहा पाएपछि निवेदन दिन आएको हुँ,' बरबोटे- ३ का गोविन्द ढुंगेलले भने।

यसैबीच केही सदस्यले युनिटीका सञ्चालक भाग्न सक्ने सम्भावना भएको भन्दै पक्राउ गरेर राख्न जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सातादिनमा रकम फिर्ता गर्ने प्रतिबद्धता गरेकाले केही दिन पर्खने बताएका छन्। 'सम्झौताअनुसार रकम फिर्ता गरेनन् भने कानुनी कारबाहीको प्रक्रियामा जान्छौं,' उनले भने।

इलाममा पैसा फिर्ता माग्दै निवेदन दिने क्रम बढेपछि काठमाडौंबाट स्रोत व्यक्ति खिबराज दाहालसहितको टोली सोमबार साँझ इलाम आइपुगेको छ। पैसा फिर्ता माग्न आउनेहरूलाई भेला पारेर दाहालले मंगलबार कम्पनी रजिस्ट्रार कार्यालयमा संस्था दर्ता भएको बताए। नेटवर्किङ व्यवसायका लागि वाणिज्य विभाग, बैकिङ कारोबारका लागि नेपाल राष्ट्र बैंक र बिमाका लागि बिमा बोर्डको अनुमति लिनुपर्छ, जुन अनुमति युनिटीसँग छैन। दहालले नागरिक दैनिकमा छापिएको युनिटी अस्पतालसम्बन्धी समाचारलाई गलत तरीकाले व्याख्या गर्दै सदस्यहरूलाई भ्रममा पार्न खोजेका थिए।

इलाममा रेखा गौतमले युनिटी भित्र्याएकी थिइन्। युनिटीको इलाम शाखा अध्यक्ष तीर्थ ढकाल यसअघि नेटवर्किङ व्यवसाय गर्ने मोदीकेयरमा आबद्ध भएर सदस्य बनाउँदै हिडेका थिए। मोदीकेयरबाट पनि इलाममा धेरै व्यक्ति ठगिएका थिए। मोदीकेयर हाल प्रतिबन्धित छ।

यसैबीच युनिटीले स्थानीय रेडियोहरूलाई दैनिक आधा घन्टा कार्यक्रम चलाउनका लागि समय माग्न थालेका छन्। ' गल्ती ढाकछोप गर्न युनिटीले समय मागेकाले हामीले समय नदिने भनेका छौं,' रेडियो नेपालवाणीका स्टेसन म्यानेजर सोमनाथ सुसेलीले भने। (नागरिक)

0 comments: